हामीले भर्खरैमात्र २०७८ लाई बिदा गर्यौँ । यो वर्षमा देशको अर्थतन्त्र र बजारले मात्र होइन, साहित्य बजारले पनि मन्दी बेहोर्नु पर्यो । “पुस्तकको बिक्री अत्यन्तै सुस्ताएको” भन्ने वाक्य वर्षभरि नै कायम रह्यो । तर यसबिचमा पनि पुस्तकहरू प्रकाशन हुने क्रम रोकिएन । केही पुस्तकहरूले राम्रो चर्चा र पाठक पाए । कतिले चर्चा पाए, तर पाठक पाएनन् । र, केही भने जसरी प्रकाशनमा आए उसै गरी गुमनाम पनि रहे । वर्ष २०७९ मा आइपुग्दा भने पुस्तक बजार केही चलयमान देखिएको छ । केही पुस्तकहरूले चर्चाका साथै पाठकको प्रेम पनि पाइरहेका छौँ । कामना गरौँ, नयाँ सालले पुस्तकको बजारलाई सम्पन्नतातिर अग्रसर गराउने छ ।

हामी यस स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।

यसैक्रममा साताका पुस्तकमा योपटक ५ पुस्तक । ‘दर्शन, शिक्षा र आचरण’देखि ‘मरुभूमिमा डुङ्गा’सम्म ; पुस्तककाे छाेटाे परिचयसहित ।

१. दर्शन, शिक्षा र आचरण – डा. खगराज बराल

डा. खगराज बरालको वौदिक तथा पूर्वीय सभ्यतामाथि लेखिएको महत्वपूर्ण पुस्तक हो, “दर्शन, शिक्षा र आचरण” । निजामती प्रशासन तथा व्यवस्थापनको क्षेत्रमा लामो समय काम गरेका बराल शैक्षिक व्यवस्थापनका विभिन्न विषयमा नीतिगत व्यवस्था र सोको व्यावहारिक कार्यान्वयनलाई पारदर्शी चश्माले रौँचिरा विश्वलेषण गर्ने क्षमता राख्छन् । यसअघि १० वटा कृति प्रकाशनमा ल्याइसकेका बरालले यस कृतिमा पूर्वीय दर्शनमा आधारित रहेर प्रशासन सदाचारिताको खोजी गर्ने प्रयास गरेका छन् ।

“आर्थिक उन्नतिले भौतिक सुख प्राप्त हुन्छ तर मानसिक सुख र सन्तुष्टि प्राप्त हुन सक्दैन ।”, पुस्तकका लेखकका कुरा अन्तर्गत डा. बराल लेख्छन्, “शिक्षा प्राप्त गर्नु, ज्ञान ग्रहण गर्नु भौतिक सुख प्राप्तिका लागि मात्र कदापि होइन, यो त आत्मिक सन्तुष्टिका लागि पनि हो, सबैको हितका लागि पनि हो, मानसिक शान्तिका लागि पनि हो, परोपकारका लागि पनि हो । हिजोआज शिक्षा भौतिक सुख प्राप्तिका लागि मात्र हो भन्ने सोच विकास भएको देखिन्छ, सम्पत्ति आर्जन गर्न सकिँदैन कि भन्ने चिन्ता देखिन्छ । शिक्षा र ज्ञानलाई उत्पादन, श्रम र रोजगारजस्ता पक्षसँग मात्र जोड्दा ज्ञान, नैतिकता र सदाचारको बाटो भुल्ने सम्भावना प्रबल हुन सक्छ ।”

डा. बरालले पुस्तकलाई “दर्शन र आचरण” र प्राचीन तथा अर्वाचीन शिक्षा” गरी दुई खण्डमा प्रस्तुत गरेका छन् । पहिलो खण्डमा “पूर्वीय दर्शन र आचरण”, “सदाचार र सुशासनमा वैदिक पुराणको सन्दर्भ”, “प्रकृति, संस्कृति र संस्कार” र “दर्शन, आचरण र राष्ट्रयसेवक” शीर्षकहरुमा विश्लेषण गरिएको छ । त्यस्तै दोस्रो खण्डमा वैदिक तथा पौराणिक गुरुकुल शिक्षा, आर्ष महाकाव्य र उत्तरवर्ती साहित्यमा गुरुकुल, गुरुकुल र गुरुकुलको दिनचर्या, प्राचीन विश्वविद्यालयलगायत १३ शीर्षकहरुमा चर्चा गरिएको छ ।

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । २ सय २८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ६० रुपियाँ रहेको छ ।

 

२. अन्धकूप – झम्क तिमल्सिना

जनप्रशासनमा स्नातकोत्तर लेखक झम्क तिमल्सिनाको नवीनतम् उपन्यास हो, “अन्धकूप” । उपन्यासमा प्रकृतिमाथिको हस्तक्षेपले मानिसहरु दास्रो पृथ्वीको खोजीमा छन् । चाँडै नै पृथ्वीबाट ठुलो सङ्ख्यामा मानिसहरु दोस्रो संसारमा बसाइँ जाँदै छन्, जुन संसार यस कृतिका कृतिकार समेतले निर्माण गर्दैछन् । जुन संसारमा मानवता, भाइचारा, सद्भाव र प्रेमको परिकल्पना गर्दछन् लेखक तिमल्सिना ।

लामो समयदेखि बैङ्किङ, सहकारी तथा कानुनको क्षेत्रमा क्रियाशील रहेका तिमल्सिना साहित्य लेखनका अलवा गीत, सङ्गीत र समाज सेवाको क्षेत्रमा पनि क्रियाशील छन् । “अन्धकूप” तिमल्सिनाको पहिलो साहित्यिक कृति हो ।

“पृथ्वीको आविष्कारको काममा लागिरहँदा पनि लेखक निरन्तर आफ्नो देश, समाज र यहाँको राजनीतिका कारणले नेपालीले पाइरहेकोमा दुःख त्यसलाई भने भुल्दैनन् ।” पुस्तकको भूमिकामा साहित्यकार कृष्ण धरावासी लेख्छन्, “यस पुस्तकको सबैभन्दा महत्त्वपूर्ण पाटो नै विषयवस्तु जहाँको होस् आफ्नो देशलाई नभुल्नु हो । आफ्नो देशको सौन्दर्यका अघि अनेकौँ पृथ्वी अतुलनीय होलान् प्राकृतिक रुपमा तर राज्य सञ्चालकहरुका लापर्बाही र हेपाहा प्रवृत्तिका कारण हामीले पाइरहेका अनेकौँ दुःखहरुको अत्यन्त सुन्दर ढङ्गले चित्रण गरिएको छ ।”

पुस्तकलाई पैरवी बुक हाउस प्रा.लि.ले प्रकाशनमा ल्याएको हो । २ सय ५१ पृष्ठमा फैलिएको उपन्यासको मूल्य ४ सय ७५ रुपियाँ रहेको छ ।

 

३. मृत्यु उत्सव – सन्तोष सरील

युवा कवि सन्तोष सरीलको नवीनतम् कविताकृति हो “मृत्यु उत्सव” । कवि सरील विज्ञानका विद्यार्थी हुन्, उनका कवितामा विज्ञान र दर्शनको फ्युजन प्रचुर मात्रा रहेको छ । मानव समाजले परम्परागत रुपमा बोक्दै आएका धारणभन्दा फरक विषयबोध कविताहरुले प्रस्तुत गरेका छन् ।

मृत्यु र उत्सव फरक हो तर जब मुत्युलाई उत्सवका रुपमा स्वीकार गर्ने कविचेत प्रकट हुन्छ, त्यहीँनेरको कवित्वमा खास छ । भूमिकामा कवि डा. नवराज लम्साल लेख्छन्, “आममानिस भन्दा सोचाइ र सोचाइ प्रवाहको शिल्पमा फरकपन देखापर्छ र त मानिसको भीडबाट कवि अलग्गै चिनिन्छ । कवि सन्तोष सरील समयको यही फेरमा र लेखनको यही छेकोमा टाढैबाट चिनिने रङमा देखिएका छन् ।”

त्यस्तै सरीलको कवित्वको बारेमा प्रा. जगत्प्रसाद उपाध्याय प्रेक्षित लेख्छन्, “कवि सन्तोष सरीलको प्रस्तुत मृत्यु–उत्सव कवितासङ्ग्रहभित्रका कविताहरु पढ्दा यी कवितामा मैले जीवनको गान र प्रकृतिको निनाद पाएको छु अनि कवि सरीलमा जीवन र जगत्लाई नजिकबाट मर्मका चक्षुले नियाल्ने र मर्मकै त्वचाले स्पर्श गर्ने तथा त्यसबाट प्राप्त सत्यलाई अन्तरहृदयमा पुर्याएर घुलन गर्ने एवम् तीव्रतम अनुभूतिलाई बिम्ब–प्रतीकहरुले युक्त कोमल पदपदावलीले सजाएर सशक्त अभिव्यञ्जना गर्न सक्ने साथै मानवीय मनलाई आह्लादित र मस्तिष्कलाई झङ्कृत गर्न सक्ने काव्यिक सामथ्र्य पाएको छु ।”

पुस्तकलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो । १ सय ५१ पृष्ठमा फैलिएको कवितासङ्ग्रहको मूल्य २ सय ४९ रुपियाँ रहेको छ ।

 

४. मरुभूमिमा डुङ्गा – शरद पोख्रेल

केही समयबाट जापान बस्दै आएको कवि शरद पोख्रेलको नवीनतम कविताकृति हो, “मरुभूमिमा डुङ्गा” । यस कृतिमा कविले जन्मभूमिको नेपाल तथा कर्मभूमि जापानको परिवेश तथा पर्यावरणप्रतिको संवेदनशीलतालाई काव्यिक रुपमा दिएका छन् ।

“शरद पोख्रेल समकालीन नेपाली कविताको नवीन मार्गचित्र प्रस्तुतिमा सक्रिय हस्ताक्षर हुन् ।” पुस्तकको भूमिकामा कवि तथा समालोचक डा. नेत्र एटम लेख्छन्, “समयको आवाज सुनेर वैचारिक विमर्श गर्दै समाजलाई गति दिन उनका कविता सङ्घर्षरत् छन् । मरुभूमिका डुङ्गा कवितासङ्ग्रह हाम्रा अघि उँघिरहेको भग्न अतीत, विडम्बनायुक्त वर्तमान र निराशापूर्ण भविष्यको विशाल अन्धकारमा पनि दूर क्षितिजतिर कतै उडिरहेको लुसिफेरियन प्रकाश पहिल्याउने सुन्दर प्रयास हो ।”

पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । कवि शरदले कृतिलाई “सम्बन्ध र समवेदना”, “देश र दृष्टि” र “आवरण र पर्यावरण” गरी तीन खण्डमा प्रस्तुत गरेका छन् । १ सय ४८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।

 

५. नूतन – ऋषिराम भुसाल

ऋषिराम भुसालको पहिलो कृति हो उपन्यास “नूतन” । “नूतन”मा भुसालले एक महिलाका आँखाबाट संसारलाई हेरेका छन् । गाउँले जीवनका अनेकौँ पाटाहरुसँगै यसमा सरहरमा भोग्नुपर्ने सङ्घर्षशीलता र पीडा आख्यानात्मक स्वादका साथमा प्रस्तुत भएका छन् । समाजिक कुरीति र राजनीतिक अव्यवस्थाका कारण समाजमा सिर्जित बेरोजगारी, शोषण, अभाव, अस्तित्वको सङ्कटलाई उपन्यासले विषय बनाएको छ ।

“उपन्यास कलात्मक ढङ्गमा बिस परिच्छेदसम्म कथा बुुनिएको छ । पात्रहरु चाहिँदो मात्रामा सिर्जना भएका छन् । भाषा–शैली आकर्षक छ ।”, भूमिकामा रामकुमारी पण्डित क्षेत्री लेख्छन्, “पहिलो पुस्तक त्यो पनि आजको परिवेशमा बृहत् विधा मानिने उपन्यासजस्तो क्षेत्रमा उनको लेखनी शैली विशिष्टताले भरिएको छ ।”

पुस्तकलाई तन्नेरी प्रकाशनले बजारमा ल्याएको हो । १ सय ९२ पृष्ठमा फैलिएको उपन्यासको मूूल्य ९ सय रुपियाँ रहेको छ ।