नेपालको जेठो साहित्यिक पत्रिका शारदाको साउन अङ्क प्रकाशित भएको छ ।

नयाँ अङ्कमा गीतकार दिव्य खालिङ र डा. ऋषि बास्ताकोटीको हस्ताक्षरसहितको गीत प्रकाशन भएको छ ।

पत्रिकामा भारतीय कवि मेहता नगेन्द्र सिंहको अनुवाद कविता, नन्दु उप्रेतीको गजल, दिव्य गिरीको कविता, लक्ष्मण थापाको गजल, कृष्ण बाउसेको कविता, निर्मलरमण पराजुलिका मुक्तकहरू, सुमन ‘शिरिष’ पोखरेलको कविता, रमी प्रियाको कविताहरू प्रकाशित छन् ।

नयाँ अङ्कमा श्रीओम श्रेष्ठ र अभि सुवेदीको व्यक्ति निबन्ध, विजयध्वज थापाको नियात्रा, छविरमण सिलवालको संस्मरण, डा. अर्जुनदेव भट्टको अनुभव प्रकाशित छन् ।

त्यसै गरी सानुराजा श्रेष्ठ अञ्जानद्वारा ‘एक पोल्टो बादल’ र ‘सारङ्गी’ पुस्तकको  छोटो परिचय प्रकाशित छ । त्यस्तै मुरारीप्रसाद सिग्देलद्वारा लिखित ‘प्रिय छोरी’ र ‘मेलिनाको डायरी’ को पनि परिचय छापिएको छ । नयाँ अङ्कमा मुरारिराज मिश्रले ‘राजीनामा’ पुस्तकको छोटो परिचय दिएका छन् ।

त्यसैगरी नियात्राकार घनश्याम राजकर्णिकारको सानो परिचय, विनोद खड्का र कमलराजका लघुकथाहरू, कपिल लोहनीको कथा प्रकाशित छन् ।

१९९१ सालदेखि प्रकाशित भएको ‘शारदा’ नेपाली साहित्यको कोसे ढुङ्गा मानिन्छ । हाल यसलाई साहित्यकार विमल भौकाजीले प्रकाशन तथा सम्पादन गर्दै आउनु भएको छ ।

पत्रिका बिएस् बुक्स स्टोर्स, जामे मस्जिद, घण्टाघरको छेउमा उपलब्ध हुने जानकारी सम्पादक भौकाजीले दिएका छन् ।