हरेक दिन पुस्तक प्रकाशन भइरहेका हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रूचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन साहित्यपोस्टले यो स्तम्भलाइ निरन्तरता दिइरहेको छ । यो स्तम्भ राख्नुको कारण पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् ।

हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न ५ वटा पुस्तक प्राप्त भएका छन् ।

===

१. हुरीको इन्द्रेणी उक्लेर – विष्णुविभु घिमिरे

‘बाँच्न जति कष्ट खेप्नु परे पनि
जीवन, बाँच्न मन पराउँदो रहेछ
सायद बाँच्नको अभ्यास भएर होला
मानिस जति ठूलो विपत् भोगेर पनि
बाँच्न रुचाउँदो रहेछ
मृत्युको अभ्यास नभएरै सायद
मानिस मृत्युबाट साह्रै डराएको होला !’
(बगिरहने नदी हो जीवन, पृ. १७)

सुपरिचित कवि विष्णुविभु घिमिरेको नवीनतम कवितासङ्ग्रह हो ‘हुरीको इन्द्रेणी उक्लेर’ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा साझा प्रकाशनका पूर्व अध्यक्ष घिमिरेले यस कृतिमा ४६ कविताहरु सङ्ग्रहित गरेका छन् ।

‘कवि विभुका विचारमा जीवन भाव र अभाव, सुख र दुःखको निरन्तरता हो । क्रान्ति र सङ्घर्षका बाबजुद समाज र व्यवस्था फेरिन नसकेकामा कविलाई दुःख लाग्छ ।’, भूमिकामा बैरागी काइँला लेख्छन्, ‘उनका कवितामा समसामयिक समाज, जीवन र जगत्को चित्रण, वर्तमानको पीडा र देशको दुरावस्थाको मार्मिक चित्रण छ । तथापि कवि निराश भने कहिल्यै छैनन् । समाज र राष्ट्रको निरीहताबाट निराश नभएर बरु उनी त समयले बलेको आगो, आँधी र सुनामीले भएका अभाव र दुःख सहेर यथास्थितिमा बस्नुपर्ने बाध्य भए कायर र दासलाई समाप्त गरी एक युगमा एकपल्ट मात्रै आउने क्रान्तिलाई सलाम गर्न पर्खंदै बस्दछन् ।’

त्यस्तै, पुस्तकमा अशेष मल्ल लेख्छन्, ‘उसका कवितामा मलाई छुने कुरा भनेको हर कवितामा हुने आख्यान तत्त्व नै हो । कतै न कतै कुनै कथ्य, वस्तुविधान र मूर्त अमूर्त चरित्रको उपस्थिति उसका कविताको खास प्रवृत्ति हो । कहीं कुनै वस्तु वा घटनाले छोएपछि स्वतःस्फूर्त पोखिने अनुभूति । मलाई अझै याद छ, मलाई निकै मन परेको कविता त्यो लङ्गडी केटीमा यस्तै आख्यान तत्त्वको प्रबलता छ ।’

माया पब्लिकेसनले प्रकाशनमा ल्याएको कविताकृतिको मूल्य २ सय ९५ रुपियाँ रहेको छ ।

२. हिँड्न बाँकी बाटाहरू – अर्जुनबाबु दाहाल

‘तिमीले दिएका चोटहरु जीवितै छन्
आफन्तका लाञ्छना
र आफ्नैहरुका तिरस्कारहरु
सबै जीवितै छन्
मरेका छैनन् घाउका डोबहरु ।

छैन म कहिल्यै एक्लो
तिनै घाउले मलाई सधैं सधैं
प्रेमपूर्वक अँगालो मारिरहन्छन् ।
(घाउको अँगालो, पृ. २६)

पेशाले आयुर्वेदिक स्वास्थ्यकर्मी अर्जुनबाबु दाहालको पहिलो पुस्तक, कवितासङ्ग्रह हो, ‘हिँड्न बाँकी बाटाहरु’ । सानैबाट गीत तथा कविता सिर्जनामा कलम चलाउँदै आएका दाहालमा कवितामा सरलता र मानवीय संवेदनाहरु प्रशस्त भेटिन्छन् ।

‘उज्यालो खोल्दै गाउँबाट शहर पस्नेहरुको मनोद्वन्द्व र सङ्घर्ष हिजोदेखि आजसम्म उस्तै उस्तै पाउँछु । मनोद्वन्द्वकै दलदलमा सिर्जनाको लत बस्यो भने सिर्जनाकै सिर्कनाले हृदयमा हान्छ र दुख्छ पनि ।’, कविका बारेमा डा. नवराज लम्साल लेख्छन्, ‘अजुर्नबाबु दाहाल पनि एक दशकअघि संखुवासभाबाट उज्यालो खोज्दै शहर पसेका हुन् । शहर पस्दा उनीसँग केही थान गीत र कविताबाहेक केही थिएनन् सायद । शहरमा उनी दुःख र सुखको दोसाँधमा उभिएर अनुभूति र सुस्केरा सँगालिरहेका छन्, सिर्जनाहरुमा ।’

त्यस्तै, लेखकीय कवि दाहाल लेख्छन्, ‘मलाई ठूलो कवि हुँला, बनुँला भन्ने छैन । कविताको मूलधारमै हेलिएर केही नयाँ गरुँला भन्ने त्यति ठूलो महत्त्वाकांक्षा पनि छैन । मनमा लागेको कुरा अभिव्यक्त गरें । आफैं पोखिएँ र यो कवितासङ्ग्रह तयार भयो ।

पुस्तकलाई अम्बर पब्लिकेसन हाउस, नयाँ दिल्लीले प्रकाशनमा ल्याएको हो । लामा छोटा ५६ थान कविताहरु रहेको सङ्ग्रहको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।

३. सपादलक्ष कर्णाली – माधव चौलागाईं

‘ए देश !
मैले पनि बुझें
अब म पनि बिउँझें र उठें !

माण्ठ डराएको जुग रहेन अब
माण्ठ जुर्मुराएको जुग हो यो

मैले चिनेको बाटो म सिकाउँछु तिमीलाई
तिमीले बोकेको सामल देऊ मलाई पनि

र, हिंडौंला हामी सँगसँगै
सपादलक्ष शिखरिणी यात्रामा !’
(अन्तिम कभरपृष्ठबाट)

लेखक माधव चौलागाईंको कर्णालीको इतिहास, सम्पदा तथा कला–संस्कृतिबारे लेखिएको अनुसन्धानमूलक कृति हो, ‘सपादलक्ष कर्णाली’ । कर्णाली तथा खस साम्राज्यलाई आलोचनात्मक दृष्टिकोणबाट हेर्न र बुझ्नका लागि पुस्तक महत्त्वपूर्ण छ ।

‘सपादलक्ष खस साम्राज्यको मुख्य मइडो यात्से अर्थात् सिन्जा हो । बृहत् जुम्लाकेन्द्रित अध्ययन, चिन्तन र विमर्श गरिएका लेखसङ्ग्रहको नाम समपादलक्ष कर्णाली अत्यन्तै मर्मस्पर्शी, इतिहासबोधी नाम हो ।’, सम्पादकीयमा राजकुमार कुँवर लेख्छन्, ‘यस कृतिलाई तीन खण्डमा विभाजन गरिएको छ । पहिलो मइडो खण्ड रहेको छ । मइडो एक घरको चुलोवरिपरिको भाग हो । खस साम्राज्यको मुख्य आँगन यात्से–सिन्जा, बृहत् जुम्ला नै हो । त्यसैले यो खण्डमा खस सभ्यता र त्यसका सामाजिक, आर्थिक, सांस्कृतिक इतिहासँग सम्बन्धित लेख छनौट गरिएका छन् ।’

त्यस्तै, पुस्तकका बारेमा लेखक डा. नवराज केसी लेख्छन्, ‘कथा केवल मान्छेको मात्र हुँदैन, माटोको पनि हुन्छ । माटोको कथाले समयका पाइला बोकेर लामो यात्रा गर्छ । यो पुस्तक कर्णालीको आदिदेखि आद्यसम्म एवम् सुखद् भविष्यसमेतको कथा बुझ्न चाहनेहरुका लागि हो ।’

पुस्तकलाई खस भूमि केन्द्र, जुम्लाले प्रकाशनमा ल्याएको हो । ३ सय ४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ७ सय ९९ रुपियाँ रहेको छ ।

४. कोशी किनारका पाइलाहरु – डा. उद्धव राई

डा. उद्धव राईको संस्मरणात्मक कृति हो ‘कोशी किनारका पाइलाहरु’ । यस कृतिमा राईले कोशी किनारदेखि संसारका विविभ भौगोलिक किनारहरुमा हिंडेका आफ्ना पाइलाका रोचक संस्मरणहरु समेटेका छन् ।

‘समयले कसैलाई पर्खंदैन । प्रत्येक मानिसको जीवनमा अनगिन्ती घटना–परिघटनाहरु हुन्छन् र जीवनभर भइरहन्छन् । आफ्नै विगतलाई पछाडि फर्केर हेर्दा कुनै चलचित्रको रिल घुमेरहे झैं लाग्छ ।’, भूमिकामा साहित्यकार पवन आलोक लेख्छन्, ‘कतिपय घटनाहरु समयक्रममा बिर्सिइन्छन् त कतिपय स्मृतिमा आइरहन्छन् । डा. उद्धव राईको प्रस्तुत कृति उहाँको बाल्यकालदेखि अहिले उत्तराद्र्धसम्म विभिन्न कालखण्डका भोगाइ र अनुभूतिहरुको जीवन्त दस्तावेज हो । यो उहाँको जीवनको प्रोट्रेट हो ।’

त्यस्तै, साहित्यकार कृष्ण धरावासी लेख्छन्, ‘आत्मकथा लेख्नु साहित्यका अरु विधा लेख्नुजस्तो सजिलो कुरा हैन । यसमा कल्पना गर्न पाइँदैन । साँचा कुराहरु कटु पनि हुन्छन् । तिनलाई हटाउन पनि सकिंदैन, राख्न पनि सकिंदैन । यस्ता बेलामा कहिलेकाहीं लेख्दै गरेको कार्य नै नराम्रो गरी प्रभावित पनि हुन्छ । यस पुस्तकमा पनि कतिपय ठाउँमा त्यस्ता सङ्कटहरु उत्पन्न भएको हो कि भन्ने आभास हुन्छ ।’

पुस्तकलाई बुकहिलले प्रकाशनमा ल्याएको हो । ३ सय ७ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ८ सय रुपियाँ रहेको छ ।

५. खुला कैदी – राधादेवी पराजुली भण्डारी

साहित्यकार राधादेवी पराजुली भण्डारीको उपन्यास हो ‘खुला कैदी’ । सामाजिक कथावस्तुमा आधारित यस उपन्यासमा मानिसको आवरणमा देखिने परिवर्तनशीलता तथा मनमा रहेको रुढीवादी सोचका साथ पुरुषले महिलालाई हेर्ने दृष्टिकोणलाई कथाको मूल विषय बनाइएको छ ।

‘हरेक मानिसका आ–आफ्ना भावना र कल्पना मनभित्र लुकेर बसेको हुन्छन् । कसैले भनेको भावनालाई बोलेर व्यक्त गर्दछन् भने कसैले कला र साहित्य सिर्जनामार्फत् आफ्नो भावना बाहिर ल्याउने गर्दछन् ।’, लेखकीयमा उपन्यासकार भण्डारी लेख्छिन्, ‘आज मैले पनि जानी नजानी आफ्नो मनभित्रको भावनालाई कोरेर एउटा पुस्तकमा उतार्ने कोशिश गरेकी छु । यो भावना मेरो नितान्त व्यक्तिगत भावना नभएर लाखौं महिलाहरुको भावनासँग मेल खाने छ जस्तो मलाई लाग्छ ।’

त्यस्तै, पुस्तकको पछिल्लो कभरपृष्ठमा लेखिएको छ, ‘जीवनमा कतिपय सपनाहरु पूरा हुँदैन भन्ने जान्दाजान्दै पनि सपना देख्न मन लाग्छ । कसले देखेको छ, भाग्यलाई ! आज रुने मान्छे भोलि हाँस्न सक्छ । आज हाँस्ने मान्छे भोलि रुन सक्छ । त्यसैले होला, अरुको आँशु देखेर आफूलाई भाग्यमानी सोच्न सकिनँ । कहिल्यै नबुझिने जीवनको अर्थ त आँशुमा पो रहेछ । आँशुको अर्थ नबुझेरै आँशु खसाउँछ मान्छे । चुपचाप मनभित्रै रुन्छ । आँखामा आँशु नदेखाउनेहरु पनि त रोएका छन् नि !’

उपन्यासलाई सहयात्री दर्पण, नेपालले प्रकाशनमा ल्याएको हो । १ सय ९१ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।