समकालका मुद्दा कति कति । गन्न लाग्दा जूनी जान्छ । भो नगनुङ् । अखबारमा छ त !
विश्वलाई नै बटारबुटुर पारिरहेको एउटा मुद्दा चैँ वातावरण पनि हो । जहाँबाट उठे पनि तीन लोक, चौध भुवनलाई बटारिरहेको छ । बटरफ्लाई एफेक्ट भनौँ न । साहित्य पनि के कम ? अनेकानेक प्रभेगमा अचेल वातावरणको सास पसेको छ । राँकेभूत बनेर कुदिरहेको छ कुरो । यत्रतत्र सर्वत्र । ‘टुक्का प्रतिष्ठान’ ले पनि कुनै दिन वातावरणीय विमर्श गर्यो भने आश्चर्य नमान्दा पनि हुन्छ ।
तर यो डढेलोमा एउटा असन्तुलन छ । वातावरणको टड्कारो घाउ मेट्रोपोलिस भनिने महानगरहरूकै वरिपरि घुम्छ । अँ, गाउँ, पहाड, खर्क, वन, हिमाल — यदाकदा जोडिए पनि तिनलाई महानगरको सापेक्षतामै जोड्छन् । अनि कानमै भन्छन्, ‘ए, त्यति बिग्रिहालेको रैनच ।’ अनि फेरि उतै — दिल्ली, टोक्यो, लण्डन, वाशिङ्टन, ढाका, काठमाडौँ । यो विमर्श अलि शहरढल्कु बनिरहेको छ कि?
अर्को असन्तुलन — समस्याको निदानमा पनि महानगर नै हावी । उसैको यन्त्र, उसको संयन्त्र । यसको निदानमा गाउँको ‘लोकप्रज्ञा’ को पनि भूमिका छ कि ? आखिर, प्रदूषणले डामेको शहरमा हम्को लाउने त गावै हो, दूरदराज नै हो । होइन र? तर त्यतातिर ध्यान – कछु नाइँ । म ठान्छु, लोकप्रज्ञालाई यस विमर्शको केन्द्रमा तान्नैपर्छ ।
त्यसको कुरो अन्य कुनै लेखमा गरौँला । यहाँ कुरो अर्कै छ ।
कुरो असम भारतका कवि देवेन सापकोटाको पर्या कविता सङ्कलन ‘परिश्रान्त पृथिवी’ को । मान्छे पशुचिकित्सा क्षेत्रका । काम पढाउने । अनुराग साहित्यको, विशेष गरी कविता र कथाको । ‘सलाद बल अफ द ओपोजिट्स’ भनौँ न ।
उनको कविताले मेरो ध्यान तान्नुका तीन कारण । पहिलो, उनको कुरोकन्थो भित्र ‘मेट्रोपोलिस’ को गन्धे सास पसेको छैन । वातावरणलाई ग्राम्यविन्दुबाट हेर्ने प्रयास छ । त्यसमा केके भेटिन्छ, त्यसको सुराकी गरौँ । दोस्रो, उनी भारतको उत्तरपूर्वमा बस्छन् । कस्तो भने, लामो समयसम्म भारतको केन्द्रलाई नै मोतीविन्दु भएकाले नदेखेको ठाउँ । त्यस ठाउँले दिल्लीको पर्यावरणीय नीतिसँग कस्तो ‘डायलेक्टिक’ सम्बन्धको कल्पना गर्यो, त्यसको सुराकी गर्नु । तेस्रो, एउटा वैज्ञानिकले कवितामा हाम्फाल्दा पाठकका लागि केके पापा ल्याए, र केमा जिल्याए — त्यो पनि सुराकी गर्नुपर्ने मज्जाकै विषय होइन र?
सिद्धान्तको कुरो गरेर दिक्क पार्दिनँ, ल? त्यो किताबहरूमा छ । आफैँ पढुङ् न । विम्ब, प्रतीक, अलङ्कार इत्यादितिर पनि लाग्दिनँ । यो सङ्ग्रहको फोकस त्यतितिर हुँदै होइन ।
एकचालीस थान कविता छन् । एकल कवितासङ्ग्रह यो नै पहिलो । छापेको, अनुराग प्रकाशन गुवाहाटीले, सन् २०२१ मा । भनौँ, ताजै छ सिर्जना ।
उनका कविताको विचरणमा केही प्रस्ट पढाउहरू भेटिन्छन् । उनको प्रवेश प्रलयको आहटबाट शुरु हुन्छ । ‘एपोक्यालिप्टिज्म’ भनौँ न । ‘पृथिवीवाद’ मा उनको त्रास छ— ‘दुखी छ आज पृथिवी÷आफ्नै सन्तानहरूसँग÷ के सबै पर्खिरहेका छन् महाप्रलय आउनलाई÷केही नबुझेको जस्तो स्वाङ पारी?’
यो कुरा महत्त्वपूर्ण किन छ, त्यसको कारण छ । गायावादी भनिने एक थरी चिन्तक भन्छन्— मान्छेले रौँ पनि बिगर्न सक्दैन धरतीको । उनी त, अजन्मा, अविनाशी । आफैँ बौरिने, आफैँ उठ्ने । अर्कातिर छन् प्रलयवादी । ती भन्छन्— प्रलय त अवश्यंभावी छ, र मान्छेले प्रलयको मिति नजिक नजिक तानिरहेको छ । गायावादीको तर्कले सान्त्वना त दिन्छ, तर बढो आदर्शवादी लाग्छ । प्रलयवादी बढी व्यवहारिक छन् कि भन्ने लाग्छ । कवि सापकोटोको मत पनि त्यैतिर लेखिन्छ । नत्र उनले धरतीलाई ‘अविश्रान्त’ नदेख्नुपर्ने । होइन र?
किन प्रलयवाद? कारण अनेक । आकाशको छातामा प्वाल परेको कवि सापकोटालाई हेक्का छ । दिहिङ–पाटकाई जस्ता निकुञ्को अरण्य रोदन छ— ‘चिरिन्छ अरे मेरो छाती ।’ डर छ उसको, ‘निर्वस्त्र पार्ने होलान् मानवले मलाई ।’ पीडक पनि चिनियो, पीडित पनि । प्रलयवाद स्वाभाविक छैन र?
कवि सापकोटाले देखेको यथार्थमा कुनै स्वर्गिक निकुञ्ज छैन, कुनै आर्काडिया छैन । उनले टेकेको यथार्थमा माइक्रोप्लास्टिकको आतङ्क छ, जो कण कण आहार हुँदै हाम्रो जिउमा प्रवेश गरिरहेको छ । अथवा थुप्रिन्छ समुद्रमा र थिच्छ उसको घाँटी । उफ् !
माथि सङ्केत गरिएजस्तो देवेनका आँखा ग्राम्य परिवेशतिर पनि छन् । उनका कवितामा गाउँ आउँछन्, पहाड आउँछन्, वन, उपवन र निकुञ्ज आउँछन्, ताल–तलैया आउँछन्, नदीहरू करुण क्रन्दन गाउँछन् । आतङ्क जसले गरोस्, जहाँ गरोस्, पृथ्वी सर्वत्र तर्सिन्छ । उदाहरण — ‘पहाडको पीडा’ । क्रेनले कोतर्दा कोतर्दा रक्ताम्मे छ ऊ । रोबर्ट फ्रस्टले कतै लेखेका छन्, शहरको अतिक्रमण सहँदासहँदै ‘द फार्म हाउस लिङ्गर्र…’ । लिङ्गर्स, माने जसोतसो, बढो मुस्किलले टिकिरहनु, घस्रिरहनु, अस्तित्वमा रहनु । हाम्रो पहाडको हाल उही । कवि लेख्छन्, ‘अब यहाँ नटराजको ताण्डव नृत्य हुनेवाला छ ।’ यानि, फेरि प्रलयवाद ।
प्रलयवादको ग्रहण रुखहरूमा पनि उत्तिकै । ‘रुख’ शीर्षकको कविताभरि विक्षिप्त वर्णन छ— रुख काट्ने काम सर्वत्र छ, बढिरहेको छ । ‘धारिला बन्चराका निर्मम घातहरू’ बज्रने क्रम बढ्दो छ । परिणामस्वरूप, पृथ्वीको तापक्रम बढिरहेको छ । प्रलयको यस्तै सप्को नदीको छातीमाथि पनि छ । भूमिक्षयले उसको भौगोलिक समीकरण बिग्रिएको छ । त्यसको चपेटमा पर्नेहरू नदीलाई नै सत्तोसराप गरिरहेका छन् । यो सार हो ‘बिचरा बूढो नदी’ शीर्षकको कविताको ।
सापकोटाका कतिपय कविताले परम्पागत मानवकेन्द्री सोचहरूमाथि मुस्ली चलाएका छन् । जनावर मास्ने चैँ मान्छे, बाटो काट्दा अलच्छिनको आरोप भोग्ने बिरालो । यो अन्यायलाई उनले ‘अपशकुन’ शीर्षकको कवितामा उदाङ्गो पारेका छन् । बाढीपहिरोमा मान्छेका लागि राहत शिविर बन्छन् । जनावरहरू बग्छन् वा डेबेर मर्छन् तर तिनको उद्धारको प्रयास खासै हुँदैन । उनको ‘विस्थापन’ शीर्षकको कविताको सार हो यो ।
कवि सापकोटाले अनुभूत गरेको प्रलयको आहट धरतीसम्म मात्रै सीमित छैन । उनी अचेल यस आहटलाई यमपुरीमा पनि अनुमान गर्न थालेका छन् । त्यहाँ पनि, अनेकौँ धर्म गरेर पनि पृथिवीको प्रदूषण नियन्त्रण गर्न नसकेकाहरूलाई शुली चढाइन्छ । त्यो शुलीचाहिँ धरतीबाटै निर्यात गरिएको हुनुपर्छ ।
सापकोटाको केन्द्रीय असन्तुष्टि प्रदूषण हो । यसबाट जन्मिइरहको र जन्मन सक्ने असुन्तुलन हो, र प्रलय हो । उनको प्रलयचिन्तनको तरङ्ग भविष्यमुखी पनि छ । ‘सन् २०५० को पृथिवी’ शीर्षकको कवितामा उनको प्रक्षेपण छ— अबको युद्ध पानीका लागि हुने छ ।
फैलिएको छ कुरा गाइँगुइँ हावामा
तयारीमा छन् अरे पराक्रमी देशहरू
मोल्नलाई तेस्रो विश्वयुद्ध —
खाने पानीकै लागि अब ।
कङ्क्रिटको कारागारजस्तो नागर सम्यतमा पूर्ण प्रकृतिको स्पर्श सम्भव छैन । यानि, हामी ‘परिवेष्ठित चेतना’ मा बाँचिरहनु हो । परिवेष्ठित चेतना कस्तो हुन्छ, त्यो बुझ्न जेरी मेन्डरलाई पढौँ भन्छु ।
पशुविशेषज्ञ हुनुका तानाले कवि सापकोटाले आम मान्छेको सामान्य ज्ञानभन्दा पृथक् कतिपय रोचक वातावरणीय तथ्यलाई पनि सतहमा ल्याएका छन् । ‘कठैबरी मौरी’ कविताको पृष्ठभूमि उनले आफैँ खोलेको छन्, ‘विश्वको ९० प्रतिशत अनाज उत्पादनमा मौरीले भूमिका खेलेको हुन्छ’ । दुःख कहाँ छ भने जुन प्रकृतिमा मौरी बाँच्न सक्छन्, त्यो अक्षुण्ण छैन अब । उसै गरी ‘पुतली’ शीर्षकको कवितामा उनले वातावरण सन्तुलनका लागि पुतलीको भूमिकातर्फ पाठकको ध्यान आकर्षण गरेका छन् । भनिएको छ— उनको ‘वंशपरिवार नै सखाप भयो’ । पुलतीको ठहर छ, ‘जलवायु परिवर्तन नै यसको कारण हो’ र फूलभरि सवार कीटनाशक खानु परेकाले उनीहरूको ‘प्रजनन क्षमता नै मारियो, रसायनको पार्श्वक्रियाले ।’ ‘माछा महान’ शीर्षकको कवितामा कविले विश्व खाद्य शृङ्खालमा माछाको भूमिकातर्फ पाठकको ध्यान आकृष्ट गरेका छन् । ‘अतिक्रमणकारी’ मा उनले खुलाएको छन्— ‘यौनउत्तोजक औषधि’ बनाउनका लागि मानिसहरू गैँडाको खाग काटेर लान्छन् । हात्तीलाई विष्फोटक भरिएको फल ख्वाउँछन् र भित्रबाट पड्काउँछन् र उसको दाँत झिकेर आभूषण बनाउँछन् । ‘जूनकिरीदेखि फायरफ्लाईसम्म’ मा लेख्छन्, वनजङ्गलको फँडानीले जूनकिरीको सङ्ख्यामा ह्रास आएको हो ।
सापकोटाले आफ्ना कवितामा स्पर्श गरेका अन्य वातावरणीय इस्युहरूमा औद्योगिक धुवाँ, अम्लवर्षा, समुद्रमा अम्लीय तत्त्वको सङ्कलन, टिस्युको बढ्दो प्रयोगले प्रोत्साहन गरेको रुख कटाइ, हराउँदै गरेको ग्राम्य स्निग्धता, वनसम्पदामाथि मान्छेको अतिक्रमण, शुद्ध जलवायुमा विशाक्त रसायन वा रेडियोएक्टिभ तत्त्वको मिश्रण आदि प्रमुख छन् ।
कवि सापकोटाकाले आफ्ना कवितामा उठाएका कतिपय कुराले पाठकलाई सोचमग्न बनाउँछन् । बोध गराउँछन् — उनीहरूको मानवकेन्द्री सोच स्वार्थी छ, त्यसले अन्य जीवनजन्तु र जलवायुलाई बेवास्ता गरिरहेको छ । तर प्रकारान्तरले, त्यसले मान्छेकै आयु छोट्याइरहेको छ । दोस्रो, सङ्ग्रहले मानवेत्तर संसार दिनदिन निरीह हुँदै गएको चित्र प्रस्तुत गरेको छ । संग्रहले जीवनजन्तुको कोणबाट, धरतीकै कोणबाट, अथवा पाँच तत्त्वको कोणबाट समग्र सृष्टिलाई हेर्नुपर्ने ‘वायोसेन्ट्रिक भ्यु’ को वकालत गरेको छ । कवि ग्राम्यताको पक्षमा देखिन्छन्, र ग्रामीण चेतना आजको विकसित शहरी चेतनाभन्दा धेरै वातावरणमैत्री भएको उनको ठहर छ । सङ्ग्रहमा यसका केही उदाहरण छन् । शहरियाहरू आफ्नो ग्राम्यस्मृतिमा बाँच्छन् र बेलाबेला गाउँ फर्किरहन्छन् । ग्राम्य बालकहरूमा जूनकिरी वा पानीछेपुवाप्रतिको प्रेम छ । तिनको सोझो उपयोगिता छैन, यद्यपि सृष्टिमा तिनीहरू हुनुको महत्ताको बोध छ यी बालकहरूलाई । भनौँ, या डिप इकोलजीको एउटा ग्रामीण संस्करण । गाउँका बाजेलाई पनि प्रकृतिको सहजीवनमा विद्यमान खाद्यचक्रको ज्ञान छ । यी लोकप्रज्ञाका झिल्का हुन् ।
सङ्ग्रहले झकझक्याउँछ । सुस्ताउन दिँदैन । निदाउन दिँदैन । ग्लानि बोध गराउँछ मान्छे भएर पनि विवेशशून्य र स्वार्थी हुनुमा । विश्व खाद्यशृङ्खला खलबल्याएकोमा । आफ्ना तुच्छ लालसाका लागि बहुमूल्य वन्यजीवन र पशुधन मासेकोमा । मौरी, पुतली, जुनकीरी, माछा, गैँडा, हात्ती वा यस्ता अनेकन मानवमैत्री र प्रकृतिमैत्री प्राणीहरूको सभ्यतालाई मरणासन्न पारेकोमा । सङ्ग्रहले विचार बदल्न प्रेरित गर्दछ । क्रियाकलाप फेर्न अह्राउँछ । स्वार्थ र घमण्ड त्यागेर जमीनमा उभिन इशारा गर्दछ । त्यस अर्थमा, प्रायोगिकताको हिसाबले यो सङ्ग्रह प्रभावशाली छ ।
अध्ययनको गैर–साहित्यिक गोरेटोबाट आएका, र कलाभन्दा पनि मुद्दामा आधारित कविताको पक्षमा उभिएका कवि सापकोटाका कवितामा, त्यसैले, धेरै साहित्यिक मूल्य खोज्नुको त्यति ठूलो औचित्य छैन । त्यसैले, उनका कविताको संज्ञानात्मक विवेचना नै गरिनुपर्छ । यसरी निर्माण गरिएको संज्ञानात्मक सीमाभित्रै बसेर हेर्दा कवि सापकोटाका कवितामा केही प्रस्ट दोषहरू छन् । पहिलो, उनी सपाट अविधा लेख्छन्, विज्ञानको सूत्रजस्ता । त्यसले पाठकलाई त्यति धेरै सोचमग्न बनाउँदैन । दोस्रो, अचेलका धेरै धेरै पर्यालेखकले गरेजस्तो उनी पाठकलाई ‘बेसिक इकोलोजी’ पढाएर हैरान तुल्याउँछन् । कवितामा तर्क दोहोर्याएर वैराग जगाउँछन् । समस्याको उठान गर्छन् र हतारोमा समाधान यति छिटो दिन्छन् कि त्यसको व्यवाहारिकतामा प्रश्न गर्नुपर्ने हुन्छ । उनका कवितामा नाति पुस्ता विज्ञानको विशेषज्ञ छ, हजुरबा पुस्ता ग्राम्य पर्यावरणको विशेषज्ञ छ । एउटा फुच्चे समग्र इकोलोजी फेर्न उभिन्छ । अर्को फुच्चो सबलाई इकोलोजी पढाउँछ । कतैचाहिँ हावादारी समाधान दिन्छ र कवि त्यसलाई अनुमोदित गर्छन्— ‘पालौँ माछा खुवाऔँ अन्डा यिनलाई लामखुट्टेको÷चारोको रूपमा÷बन्द गरौँ वंशवृद्धि लामखुट्टेको ।’ माछाले लामखुट्टेको अन्डा खान्छ, त्यो वैज्ञानिक सत्य हो । तर, मान्छेले माछालाई लामखुट्टेको अन्डा खुवाउने अभियान चलाउन सक्छ, र त्यस बाटोबाट मलेरिया र डेङ्गुको निर्मूलीकरण सम्भव छ, यो अव्यवहारिक कुरा हो । कहाँ कहाँ खन्नु पोखरी ? सम्भव छ शहरमा? बजारमा? महानगरमा जताततै? हैट, मार्छन् यी डाक्टरले । अर्को एउटा कवितामा एउटा फुच्चे हजुरबालाई भन्छ— ‘म ठूलो भएपछि ÷ संरक्षण गर्नेछु वनजङ्गल÷ धेरै माया गरी पाल्ने छु ÷ ल्याइदिनुस् न मलाई तपाईंको जुनकिरी ।’ यति सिम्प्लिस्टिक शिक्षाको पनि खासै सार्थकता देखिँदैन । फेरि, जुनकिरी भनेको कतैबाट समाएर ल्याइदिन मिल्ने, र मान्छेले पाल्दिन मिल्ने जीव हो भन्ने मलाई जानकारी थिएन । छैन । सायद हुँदैन । माफ मागेँ, ल !
म ठान्छु, आजको वातावरणीय समस्या भनेको यति सिम्प्लिस्टिक उत्तर वा समाधान दिन सकिने विषय नै हो । ह्रासोन्मुख जूनकिरीको संरक्षण कसरी हुन सक्छ — यो कुनै श्यामश्वेत उत्तर बोकेर उभिएको प्रश्न नै होइन । हुँदो हो त, केही भइसक्थ्यो । त्यसैले, सपाट र तयारी उत्तर र समाधानले समस्याको गम्भीरता घटाइदिन्छ । जादुको छडीले तान्न खोज्दा भाँचिएला छडी नै । समाधान सुझाउन तातो पिँडालु खाइहाल्नु हुँदैन भन्छु । व्यक्तिगतभन्दा पनि सामूहिक वा सामुदायिक अभियानको आवश्यकता छ । करेसा बारीमा एउटा दुइटा रुख रोप्दै, र आफूजस्तै गृहिणीलाई त्यसको सार्थकता सुनाउँदै वाङ्गरी माथाईले चलाएको ‘ग्रिन बेल्ट मुभमेन्ट’ हाम्रा लागि एउटा प्रेरणा हुन सक्छ । एउटा ‘व्यवहारिक’ र ‘सहभागीमूलक’ प्रजातन्त्र (प्रेग्मेटिक एण्ड पार्टिसिपेटरी डेमोक्रेसी) को आवश्यकता देखिन्छ । थप कुरा, यसमा स्थानीय सरोकारवालाको साथ र विश्वास लिएर अघि बढ्नुपर्ने देखिन्छ ।
कतिपय कविता त साँचो अर्थमा पर्याकविता पनि होइनन् । उदाहरणका लागि कुवामा मान्छे पानी भर्न आउन छोड्नु कुनै टडकारो वातावरणीय समस्या नै होइन । कुवामाथि मान्छेको निर्भरता बुझिन्छ, तर कुवा र मान्छेको ‘सिम्बायोसिस’ वैज्ञानिक कोणबाट प्रमाणित छैन । त्यसैले, कुवाले ‘कोही आउँदैन हिजोआज मछेउ’ भनेर गरेको गुनासोको त्यति वातावरणीय सार्थकता छैन । सम्पूर्ण शहरवासी गलत र असंवेदनशील छन् वा हुन्छन् भन्ने तर्क पनि ‘फ्यालेसी अफ अलनेश’ बाट ग्रसित छ । ‘डिकोडिङ् मसिन’ शीर्षकको कवितामा कोइलेले ‘कति सुन्दर हरियाली चारैतिर वर्ष दिनमा आयो’ भनेर गीत गायो, अथवा मजुरले ‘तिमी मेरो हृदयकी रानी, आऊ सँगै नाचौँ रमाई’ भनेर गायो भन्दिँदा, चराको चिरबिरमा मान्छेको बुझाइ, र मान्छेकै चाहनाअनुरूपको अनुमान लादेको, र त्यसरी आफू पुनः मान्छेकै सौन्दर्यशास्त्र बोकेर उभिएको बुझिन्छ । के थाहा कोइली रोएको पो हो कि? अथवा, असन्तोष पोखेको हो कि? के थाहा मजुर दुखेर छटपटाएको पो हो कि? उनीहरूसँग मान्छेको जस्तो भावैपिच्छे फेर्न सक्ने आवाज कहाँ छ र? ‘पोथी बास्छे’ शीर्षकको कवितामा पनि उनले मान्छेको लिङ्ग–संज्ञानलाई लगेर कुखुराको संसारमा थोपरेका छन् । पोथीले कीरा–फट्याङ्ग्रा खाइदिएर वातावरण सफा राख्छ, त्यसैले उसले बास्न पाउनुपर्छ भन्ने तर्कले यस कवितालाई पर्याकविता बनाउँदैन । कीरा–फट्याङ्ग्रा त भाले पनि खान्छ । बास्नु भालेको इन्सटिङ्क्ट हो, भाले हुनेको ‘संरचनात्मक लाभांश’ होइन । र, यो पर्याकविता हुँदै होइन । यस्ता अरू पनि कविता छन् सङ्ग्रहमा । यस प्रकारको असंवेदनशीलता पर्या विर्माशका लाथि त्यति सार्थक छैन । साथै, लोकप्रिय बन्दै गएको पर्यासाहित्यको घनत्वलाई पनि घटाउन सक्छ ।
कतिपय कवितामा जनावरहरू धम्कीमा उत्रिएका छन् । त्यो उनको प्राकृतिक स्वभाव होइन । अन्यत्र अविधाकै लिक बिछाएका कविले यहाँनिर विम्बात्मक भएको हुँ भन्दा पनि पत्याउने ठाउँ भेटिन्न । कतै चाहिँ यमराज जनावरको दलिल सुनेपछि मात्रै मान्छेको क्रूरता बुझ्छन् । जबकि शास्त्रमा वर्णित यमराजलाई कसैको प्रतिवेदन कुरिरहनु पर्छ र कुरो थाहा पाउनलाई? उनी र सर्वज्ञ हुन्, त्रिकालदर्शी हुन् आफैँमा । एउटा बोकालाई मन्दिर गन्हाउँछ — यसमा कविले आफ्नो मानवीय नाक लगेर बोकाको थुतुनोमा टाँसिदिएका छन् । मन्दिर गन्हाउनुभन्दा बोकाको अबोधता नै बढी प्रभावशाली हुने थियो । त्यो सत्यको निकट हुने थियो ।
अन्तिम मुद्दा । कवि सापकोटाका कवितामा कविहरू मूक दर्शक छन् । ‘बिचरा कवि’ त शीर्षकबाटै समस्याग्रस्त छ । लेख्छन्, ‘तर ऊ त केवल कवि हो ÷घोल्तिइरह्यो ÷सुस्केरा फेर्दै÷आउने पिँढीका लागि आँशु चुहाउँदै÷ समवेदना टक्र्याउँदै÷अक्षर बन्दै ।’ ‘फुकुसिमाको पानी’ शीर्षकको कवितामा लेख्छन्, ‘घोत्लियो कवि निकैबेर… चिन्ताग्रस्त भई नै रह्यो ऊ ÷ अब कस्तो असर पार्ला त जीवको खाद्य शृङ्खलामा?’ मानौँ, घोत्लिनु र चिन्तित हुनु उसको सर्वोच्च क्षमता हो ।
अनेकानेक कवि–लेखकहरू हस्तक्षेपकारी छन् । इन्टरभेन्सनिष्ट छन् । सम्झौँ न — गेरी स्नाइडर, वेन्डेल बेरी, मेरी ओलिभर, अमान्दा गोर्मन, वाङ्गरी मथाइ, टेरी टेम्पेस्ट विलियम्स, सरुभक्त… थपौँ नाम । र मिसिऔँ हामी पनि कविता, चेतना र संरक्षणको हतियार बोकेर मैदानमा ।
मेरो अनुरोध — बेसिक इकोलोजी हामी स्कुलमै सिक्छौँ । अरूले पनि उतै सक्छिन् । सूचना र तथ्याङ्क अखबामा छन् । पर्याकवितालाई दर्शनको तहमा उठाऔँ । जुन सङ्कथनले धरतीमा घाउ लायो, त्यसको विकल्पको उत्खनन् गरौँ । पूर्वमा छ कि, लोकप्रज्ञामा पो छ कि, शास्त्रमा छ कि, आदिवासी चेतनामा छ कि त्यो सञ्जीवनी, खोजौँ । हामी नदीलाई, पहाडलाई वा वनजङ्गलाई नै अध्ययनविधिको नयाँ आधार बनाउन सक्छौँ कि, सिर्जनामार्फत त्यो प्रयास गरौँ । विकासवादको पाश्चात्य वा महानगरीय तर्कमा खोट कहाँ छ, र विकासलाई नयाँ तरिकाबाट कसरी परिभाषित गर्न सकिन्छ, त्यो सोचौँ ।
मलाई विश्वास छ, कवि सापकोटाको अर्को सङ्ग्रहमा मजस्ता ठिस पाठकको अगस्त्य–प्यास मेटिने छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
अनेसास संस्थापक अध्यक्ष सुवेदीलाई ‘नेपाली डायस्पोरा स्वर्ण तारा’बाट सम्मानित
७ कार्तिक २०८२, शुक्रबार 








