साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कवि वा लेखक बन्न पहिले देशले स्वीकार गर्नुपर्छ

बजारमा विविध थरीका एजेन्डा चल्छन् । एजेन्डाको हुरीमा हामी उड्छौँ । कतिपय एजेन्डाले हाम्रा धर्मसंस्कृति, लोक दर्शन, सामुदायिक मूल्य आदि बारे लेखिएको साहित्यलाई निषेध गर्दछ ।

एक जना प्रख्यात बेलायती कवि फिलिप सिड्नीले भनेका छन् — प्रकृतिले धरतीलाई पित्तलको बनाएर छोडेको हो । कविहरूले यसलाई सुनको बनाए ।

यो एउटा लाक्षणिक कथन हो । न धरती पित्तलको छ, न सुनको । उनको भनाइ हो— सामान्य कुराहरूलाई असामान्य कलेवर वा अभिव्यक्ति दिन्छन् कविहरू ।

कुरा कविहरूमा मात्रै सीमित छैन । सबै सर्जकहरूको हकमा यस कुरालाई सामान्यीकृत गर्न सकिन्छ ।

यस समान्य कथनले लेखनको असामान्य प्रयोजन हाम्रोसामु लिएर आउँछु । लेख्नु, त्यसैले, मनमा लागेको कुरालाई व्यक्त गर्नुमात्रै होइन । लेख्न खोजिएको कुरालाई सुन्दरतम अभिव्यक्ति दिनु र निजी अनुभूतिलाई सार्विक चासोको विषय बनाउनु लेखनको एक उच्च आदर्श हो । यस कुराको प्राप्तिका लागि हाम्रो सक्रिय शब्दभण्डार समृद्ध हुनु जरुरी छ ।

म फेसबुकमा युवा पुस्ताका कविलेखकहरूसँग खुब गफगाफ गर्छु । मज्जाले घुलमिल हुन्छु । माया पनि गर्छु, गाली पनि । झगडै पर्छ कहिलेकाहीँ । त्यहाँबाट मैले एउटा निचोड निकालेको छु । माथि उल्लेख गरेको स्वर्णकलाका लागि चाहिने भव्य भाषाको थैली हामीसँग धेरै सानो छ । हाम्रो पुस्तामा, अपवादलाई छोडेर हामी अधिकांश लेखक–कविहरूको शब्दभण्डार कमजोर छ । हामी गाउँको कुरा लेख्छौँ, तर गाउँको लोकचिन्तनमा पस्ने बाटो हामीसँग छैन ।

महेश पौड्याल

सीमान्तहरूको कविता लेख्छौँ, तर तिनको जीवनबोध र विश्वदृष्टि बुझ्ने भाषिक मार्ग छैन । नेपाली दर्शनमा गर्व गर्छौ, तर भाषाका कारण त्यस दर्शनले बनाएको जाज्वल्यवान् ढिकुटीको छेउछाउ पनि पर्दैनौँ । आआफ्नो धर्म, जाति वा समुदायको कुरा टेकेर सामुदायिक र निजी दुवै प्रकारका “पहिचान” निर्माण गर्ने कोसिस गर्छौं, तर हामी आफैँलाई आफ्नै समुदायको धर्म, दर्शन वा लोक विश्वासको विशाल भण्डारको प्रवेशद्वार थाहा छैन ।

यसो हुनुका केही कारण छन्ः

१. बजारमा विविध थरीका एजेन्डा चल्छन् । एजेन्डाको हुरीमा हामी उड्छौँ । कतिपय एजेन्डाले हाम्रा धर्मसंस्कृति, लोक दर्शन, सामुदायिक मूल्य आदि बारे लेखिएको साहित्यलाई निषेध गर्दछ । अनि हामी पनि त्यसै गर्छौं । हामी के बिर्सन्छौँ भने, उक्त साहित्यले वकालत गरेका विचार लिनु वा नलिनु हाम्रो अधिकार हो, तर त्यहाँबाट जुन भाषा, शब्दावली, प्रसङ्ग, विषय, उदाहरण, उद्धरण र दृष्टान्त टिप्न सकिन्छ, त्यसबाट हामीले आफूलाई वञ्चित पारिरहका हुन्छौँ । कुनै पनि आलेखलाई विशुद्ध साहित्यको रूपमा पढ्ने हक हामीसँग छ । हामी त्यसलाई गुमाउँछौँ ।

२. अङ्ग्रेजी पढ्छौँ र अभिमानी बन्छौँ । नेपाली छोड्छौँ । के बिर्सन्छौँ भने, कवि वा लेखक बनेर आउन हामीलाई पहिले देशले स्वीकार गर्नुपर्छ । अपवाद होलान् एकाध, तर जबसम्म आफ्नो भूगोलमा हामी लेखक वा कवि हुनुको सार्थकता स्थापित गर्दैनौँ, दूरदेशको वा विश्वको सपना जमिनविनाको घर हो । जुन नेपाली (वा स्थानीय) भाषाको ज्ञानले हामीलाई यस देशको लेखक वा कवि बनाउँछ, हामी त्यसैलाई तिरष्कार गरिहेका हुन्छौँ । यो ठूलो विडम्बना हो ।

३. हामी नेपाली पढ्छौँ, र अङ्ग्रेजी (वा अन्य विश्वभाषा) कमजोर भएको गाना गाएर थाक्दैनौँ । यसले कमसेकम आजको विश्वव्यापीकरणको युगमा हाम्रो चिन्तनलाई खुम्च्याउँछ । आफैँलाई कमजोरमात्रै होइन परजीवी पनि बनाउँछौँ । आजको जमाना ५० वर्षअगाडिको जस्तो छैन । लखेक वा कवि नै हुनु छ भने, हामी आफूलाई चाहिने न्यूनतम अङ्ग्रेजी (वा अन्य विश्वभाषा) सिक्न हामीलाई बाह्र हातका टाँगाले नछेक्नुपर्ने हो । वास्तवमा छेक्ने हाम्रो मन, जाँगरको कमी र कमजोर आत्मविश्वास हो । बलियो सङ्कल्पना गर्ने हो भने एउटा वयस्क मान्छेले एक वर्षमा प्राञ्जल र विम्बात्मक अङ्ग्रेजी भाषा सिक्न सक्छ । त्यो जाँगर रहेन भने, एउटा सानो कुरा बुझ्न, अथवा आफ्नै रचनाको एउटा अंश अनुवाद गर्न पनि कसैको मुख ताक्नुपर्ने अवस्था आउँछ । यो हामी आफैँले निर्माण गरेको अवस्था हो । यस खरानीको पर्खाललाई एक लात दिएर लाडउन सकिँदैन?

४. भाषा सिक्ने चुनौती जब खडा हुन्छ, हामी जादुको छडी खोज्छौँ । व्याकरण पल्टाउँछौँ, इन्स्टिच्युट धाउँछौँ, “अठ्ठाइस दिनमा अङ्ग्रेजी सिकौँ” जस्ता शीर्षकका पुस्तक किन्छौँ । तर हामीलाई चाहिएको साहित्यिक भाषा हो, सामान्य कामचलाउ भाषा होइन । साहित्यिक भाषाको आवरणमा आउने विचारको उच्चता हो । यो कुरा माथि उल्लेखित कुनै पनि माध्यमबाट आउन सक्दैन । एउटा साहित्यकाकारका लागि समृद्ध भाषाको श्रोत साहित्य नै, र साहित्य मात्रै हो, र यसलाई ग्रहण गर्ने अर्को माध्यम पढाइ हो । अर्को छँदै छैन । विडम्वनै भनौँ, हाम्रा स्कुलमा हामीले पढेको भाषाको पाठ्यक्रमले कहिल्यै पनि पढ्नुको अनिवार्यताको बोध हामीलाई गराएन । फलतः हाम्रो शब्दभण्डार र भाषिक शिल्प कमजोर भएर गयो । जो स्वाभाविक रूपमा साहित्यतिर उन्मुख भए, तिनले कि घरपरिवारको संस्कार र वातावरणबाट भाषा टिपे, कि पाठ्यक्रमको सीमा उल्लङ्घन गरेर, आफ्नै बलले साहित्य पढेँ । यी दुवै सुविधा नपाएको नवपुस्ता आज भाषिक कठिनाइ झेलिरहेको छ । तर पनि, गुनासो गरेर केही हुँदैन । खूब साहित्य पढौँ । लत नै बनोस् । एकडेढ वर्षमा सुन्दर भाषाको उर्वर बाली हुर्कन्छ मस्तिष्कमा । अनि, त्यसमा सुन्दर विचार र भावका बालाहरू झुल्न थाल्छन् ।

मानिसहरू कति र कसरी पढ्थे, त्यसका रोमाञ्चक उदाहरण विश्वसाहित्यमा पाइन्छन् । भनिन्छ, सत्र वर्षको उमेरमा मरेर गएका थोमस चेटरटनले फालिएका पुराना चिल्कटालाई एक एक हेरेर तिनबाट राउली पेपर जन्माए, जसलाई बेलायती साहित्यको अनमोल रत्न मानिन्छ । कवि एस.टी. कलेरिज, केम्ब्रिजमा पढ्दा सधैँ पुस्तकालयमै भेटिन्थे रे । विद्यार्थी छँदै उनले आफ्ना प्राध्यापकले भन्दा बढी पढेका थिए भनेर इतिहासकार विलियम जे लङले लेखेका छन् । पढ्ने बानीले स्वामी विवेकानन्दको स्मरणशक्ति यति तेज बनाएको थियो कि एकचोटि पढेको अखबारलाई बन्द गरेर उनी सबै समाचार उही सिलसिलामा सुनाउन सक्थे रे । आधुनिक बेलायती शिक्षा पद्धतिका निर्माता लर्ड बेबिङटन मेकाले एक प्रतिभाशाली लेखक हुन् । उनका बारेमा उनका समकालीन उपन्यासकार विलियम मेकपिट ठाकडेले भनेका छन्— उनी एउटा वाक्य लेख्न बीसवटा पुस्तक पढ्थे, र एक हरफको विवरण लेख्न बीस माइलको यात्रा गर्थे ।

लोकप्रिय उपन्यासकार चाल्र्स डिकेन्सको पढ्ने बानी ज्याद्रो थियो । त्यस ताका लण्डनका बजारमा प्रकाशित भएर आउने सामग्री उनका आँखाबाट बिरलै छुटेर जान्थ्यो । पढ्दा–पढ्दा उनी यति क्षमतावान् हुन पुगे कि उनी कुनै आलेख उठाइसक्दा भन्न सक्थे— यो कसको भाषा हो । लेखकको नामै नभए पनि महिलाको आलेख हो कि पुरुषको उनी भन्न सक्थे । त्यसताका महिलाहरू लेखनमा खासै थिएनन् । पुरुष उपन्यासकारहरूको भिडमा जोर्ज इलियटको छद्न नाम लिएर एकजना महिला प्रवेश गरेकी थिइन् । जोर्ज इलियटकै नाममा प्रकाशित एउटा उपन्यास पढेर डिकेन्सले भनेका थिए — यो महिलाले लेखेको हुनुपर्छ । यो पुरुषको रचना हुनै सक्दैन । पछि जाँज गर्दा पाइयो — जर्ज इलियटको नामले लेख्ने ती लेखक मेरी आन इभान्स नामकी महिला थिइन् ।

अचेल म बीपी कोइरालाका केही अप्रकाशित पाण्डुलिपिमा काम गरिरहेको छु । ती पाण्डुलिपि पढ्दा लाग्छ, बीपीले जीवनको आधा अंश पढेरै बिताए । कारागारमा रहँदा पनि उनको दिनचर्या पढेरै बित्थ्यो रे । उनले पढेका पुस्तकको सूची लामो र विविधतापूर्ण छ र आफूले पढेका हरेक विधा र विषयका पुस्तकमाथि उनको आलोचकीय टिप्पणी छ । यहाँसम्म कि देशभित्र उपलब्ध पुस्तकहरू नपुगेर क्यालिफोर्निया विश्वविद्यालयका लियो इ. रोजबाट पुस्तक र जर्नल मगाएर पढ्थे । किन बीपी बीपी भए, त्यसको एउटा महत्त्वपूर्ण कारण यही हो । मेरो ठम्याइ छ— नेपाली साहित्य र राजनीतिमा बीपीजस्तो पढनदास अर्को सायदै कोही होला !

लिङ्कन र नेहरू कति पढ्थे, त्यसबारेका किस्सा पनि हामीले सुनेकै छौँ । भनिन्छ, लिंकनले बिहेमा पाएका दुई प्रिय उपहारमा एउटा पुस्तक थियो । सौतेनी आमासँग अथवा छिमेकीसँग उनी सधैँ पुस्तक माग्थे र पढ्थे । पुस्तकै लिन उनी कोसौँको दूरी पार गरेर जान्थे । उनको मृत्युपछि सौतेनी आमाले भनेकी थिइन् रे— जो पायो उही पढ्थ्यो । पढ्दा आफूलाई छोएको अंश काठमा वा भुइँमा उताथ्र्यो, र पछि कागजमा लेख्थ्यो । यसै पढाइले उनको भविष्यको आधार खडा गरेको हो । उता नेहरूले आफैँ लेखेको छन् — कारागारमा रहँदा पुस्तक उनका साथी नभइदिएको भए उनको अवस्था दयनीय हुने थियो ।

भर्खरै एक दिन मैले नेपाली साहित्यका प्रथम विद्यावारिधी, प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीलाई उहाँकै घरमा गएर भेटेँ । कुराकानीको प्रसङ्गमा उहाँले भन्नुभयो— कुनै बेला एक जना पत्रकारले “पूरै पुस्तकालय पढ्ने प्राध्यापक” भनेर उनीबारे लेख लेखेका रहेछन् । यो कुराको सत्यता जान्न मैले उहाँलाई सोधेँ । उहाँले भन्नुभयो — किशोरावस्थामा घरमा तथा गोर्खा र तनहुका समुदायमा, स्कुल वा कलेजमा जति पुस्तक पाएँ, सबै पढेँ । पछि काठमाडौँ आएपछि पनि पुस्तकालयतिरै मेरो समय बढी बित्यो ।

यी उल्लेखित नामहरूले भाषासाहित्यको इतिहासमा जुन चमत्कार गरेका छन् त्यो भनिरहनुपर्ने कुरा होइन सायद ।
पढाइले भाषिक शिल्प, स्मरणशक्ति वा चिन्तनलाई समृद्ध बनाउनेमात्रै होइन, यसले हाम्रो विचार र सिर्जनक्षमतालाई पनि तिखार्छ । पढ्नु महान प्रतिभाहरूसँग मौन संवाद गर्नु हो । तर्क गर्नु हो । एकाध अपवाद होलान्, तर हरेक लोकप्रिय र प्रभावशाली लेखक एउटा कुसाग्र पाठक पनि हुन् । पठनले जीवनको गति परिवर्तन गरिदिन्छ । मेक्सिम गोर्कीको “आमा” पढेकाहरूको विरादरीले रुसको इतिहासै परिर्वतन गरिदिए । पुस्तक दर्जानौँ भाषामा अनूदित भएर करोडौँ प्रति बिकिसक्यो । र “आमा” पढेर क्रान्तिमा होमिएकाहरूको सङ्ख्या कसैले पनि गन्न सक्दैन सायद । आधुनिक चीनको उदयमा लुसुनका साहित्यको योगदन विशाल मानिन्छ । पुस्तकको करामत र पठनले गर्न सक्ने जादु यसैबाट थाहा पाइन्छ ।

मैले आफ्नै बारेमा धेरै ठाउँ भनेको छु— किशोरावस्थामा मैले रवीन्द्रनाथ टेगोर पढ्न नपाएको भए म आज अत्यत्रै हुन्थेँ ।

पढौँ । धेरै पढौँ । मान्छे दुव्र्यसनमा एक प्रकारको क्षणिक र भ्रामक आनन्दका लागि फस्छ । पढाइलाई व्यसन बनाऔँ । हजारौँ गुणा बढी आनन्द यसमा छ । कुनै पनि प्रकारको क्षति छैन । आफ्नै आत्मा र मस्तिष्कको मलजल हो यो । ध्यान हो । थेरापी हो ।

थोरै लेखौँ । समाजिक सञ्जालले उत्पन्न गर्ने “सेलेब्रिटी सिन्ड्रोम” का पछि नलागौँ । कम पढ्ने लेखकले आफ्नै पोल खोलिरहेका हुन्छन् । अझ त्यस्ता रचना अनुवाद गरियो भने त प्वालै प्वाल हुन्छन् । हामीले लेखेको साहित्यका पाठक हाम्रै परिवार र साथीभाइमात्रै होइनन्, जो हाम्रो कमजोरी देखेर पनि “वाउ” भनिदिन्छन् । त्यस्तो कुराले हामीलाई लेखकको रूपमा दीक्षित गर्दैन । हामी लेखकको अनुहार लिएर पाठकहरूको जुन विरादरीमा पुग्छौँ, त्यहाँ हामीभन्दा हजारौँ गुणा प्रबुद्ध पाठकहरू पनि हुन्छन् । उनको परीक्षामा पनि हामीले पास हुनु छ । हामीले पढाइबाट आफैँलाई समृद्ध बनाउन सकेनौँ भने लेखकको रूपमा हाम्रो स्वीकृति सहज हुन सक्दैन ।

त्यसैले, बौद्धिक र कलात्मक दृष्टिले आफूलाई समृद्ध बनाउने अभियानमा पहिले लागौँ । लेख्नुको हतारको कुनै अर्थ छैन । पटक पटक कमजोर लेखक हुनुको पराजयपत्र पोतेर कहिले उठ्नु? उचित तयारीका साथ मैदानमा उत्रनु र जितेर निस्कनु आफैँमा एउटा ठूलो पुरस्कार होइन र?

असफलता नै सफलताको सिँढी हो भन्ने समय गयो । यो हार्नेहरूले आफैँलाई दिने एउटा निम्छरो सान्त्वना हो । असफल हुने समय र सुबिधा आफूलाई दिनु हुँदैन । कमसेकम पूर्ण तयारी गर्नबाट चुक्नु हुँदैन ।

प्रतिक्रिया
Loading...