गृहस्थका विविध झैझमेलाबाट विरक्त एउटा मान्छे घरबार छोडेर वैराग्यको बाटो समाउँछ । कतै कुनै आश्रममा पुग्छ र भक्ति र जनसेवामा लीन हुन्छ । समय बित्दै जाँदा श्रीमान् हराएकी र छोराले छोडेकी कुनै सुन्दर महिलाको आँखामा पर्छ । एक्कासि उसभित्रको दमित तृष्णा वा अतृप्ति जागृत भएर आउँछ, र ऊ पुनः भोगवादको दलदलमा फस्न पुग्छ । ऊसँगै फस्न पुगेकी महिलाको पनि अन्तर्कथा यही हो ।

प्रश्न छ— अध्यात्मको मार्ग आत्माहरूको आत्माको अस्थायी बिसौनी हो ? आवरणमा देखिएको आध्यात्मिक व्यक्तिभित्र सधैँ एक प्रकारको विद्रोह, उथलपुथल र विरोधाभास भेटिन्छ ? आध्यात्मिक मार्गले प्रत्याभूत गरेको पूर्ण संयम, स्थिरता र आनन्दमा मान्छे हत्तपत्त उक्लन किन सक्दैन ? स्वतःस्फूर्त अन्त चेतनाले अध्यात्ममा लागेकाहरूको कथा बेग्लै होला, तर गृहस्थका करले धकेलेर क्षतविक्षत भएकाहरू अध्यात्मकै शरणमा पुगे पनि किन सधैँ खण्डित जीवन बाँचिरहेका हुन्छन् ?

यी प्रश्न जटिल पनि छन् र सङ्गिन पनि । तर यिनका उत्तर सहज छैनन् ।

अध्यात्म र गृहस्थको किनारै किनार दौडने जीवनहरूले जन्माएका प्रश्न हुन् यी । यिनलाई थप बिथोलेको छ माधव बिडारीको उपन्यास ‘अनन्त यात्रा’ले । यात्रा अनन्त भनिएको छ, तर वैराग्यको मार्गमा लागका मुकुन्द शर्माको यात्रा कुनै एउटा अप्रिय दोबाटोमा पुगेर दुर्घटित बनेको छ । न कुनै भव्य ज्ञानोदय छ, न कैवल्यको मार्गमा अगाडि बढेको देखिन्छ । त्यसैले अनन्त यात्रा, व्यवहारतः अन्त्यको यात्रामा परिणत भएको छ । सायद, उपन्यासकार बिडारीको अभिप्राय पनि तथाकथित अनन्ततामाथि व्यङ्ग्य गर्नु हो ।

कथाको अधिकांश भाग काभ्रे, सुनकोशी किनारको भूम्लूनिर, आँपघाटमा घट्छ । ट्युमरबाट ग्रसित गुमाएका र दुई छोराले पनि घर छोडेर पलायनको बाटो रोजेपछि वितरागको बाटो रोजेर हिँडेका मुकुन्द शर्माको बाटैमा प्रेमप्रसाद नाम गरेका एक व्यक्तिसँग भेट हुन्छ । उनको इच्छा बुझेर प्रेमप्रसादले मुकुन्दलाई यसै घाटस्थित एउटा आश्रममा पुर्‍याउँछन्, जहाँ एउटा गुरुकुल खोल्ने तयारी चलिरहेको छ ।

कुनै सार्वजनिक जग्गामा त्यसै अनुरूपको तयारी सुरु हुन्छ ।  मान्छेको चहलपहल नहुने आँपघाटको थुम्कीमा सिकर्मी, डकर्मी र अन्य सहयोगीहरूका साथ निर्माणकार्य सुरु हुन्छ । ‘कौशिकी वैदिक गुरुकुल’ तयार हुन्छ र सञ्चालनमा पनि आउँछ । त्यसको रेखदेखको सम्पूर्ण जिम्मा मुकुन्दले पाउँछन् । भनौँ, समाजबाट भागेको एउटा मान्छे पुनः समाजको जालोमा फस्न पुग्छ ।

यता बटुकहरू छन् । उता सेवासुश्रुसा गर्ने नर्वदा छिन् । नर्वदाको वासस्थान आश्रमकै छेउछाउ छ । कथामा अझ नयाँ मोड त्यो बेला आउँछ, जब मुकुन्दलाई अनायासै नर्वदामा चाख बढ्न थाल्छ । नर्वदा पनि आश्रममा नियमित आउन थाल्छिन् । बिहानै मुकुन्दका लागि गाईको दूध ल्याउनु र दिनमा फुर्सद हुँदा आएर गफ गर्नु उनको दैनिकी बन्न पुग्छ । उनका श्रीमान् बेपत्ता हुनु, उनलाई काँक्रा ज्यादै मन पर्नु र उनी नियमित आश्रम धाइरहनु — यी सबै कुरालाई प्रतीकात्मक रूपमा हेर्नु वाञ्छनीय हुन पुग्छ ।

अर्कातिर वैराग्य अँगालेर हिँडेका मुकुन्द पनि भन्छन्, ‘नर्वादा आश्रममा नआएको दिन कताकता मलाई अलिनु तरकारी खाए जस्तो अनुभूति हुन्छ ।’ यसैबिच नर्वदाका दुई आचरण प्रतीकात्मक छन् । एकचोटि उनले ‘गुरु, तपाईं त दुब्लाउनुभयो’ भनेर मुकुन्दका गालामा हात राख्छिन् । अर्कोचोटि गुप्तेश्वरको मेलाबाट फर्कंदा, थाहा नपाएझैँ गरी उनका हात समाउँछिन् । सङ्केतहरू प्रस्ट छन् ।

यो क्रमिक तर अदृश्य रूपमा बढ्दै गएको आशक्तिमा नयाँ मोडहरू थपिँदै जान्छन् । नर्वदाले कहिले ‘तपाईंलाई माया नै गर्न आउँदैन’ भन्ने, कहिले भने ‘मलाई माया गरेर हेर्नुस्’ भन्ने जस्ता कुरा हुँदै जान्छन् । एक दिन उनले आफ्नो लोग्ने बेपत्ता भएको प्रसङ्ग सुनाउँदा उनका आँखाबाट आँसु झर्छन् । मुकुन्दले ती आँसु पुछिदिन्छन् । मुकुन्दको तर्फको यो पहिलो सचेत स्पर्श पनि अर्थपूर्ण छ । अगाडि फेरि मुकुन्दको कोणबाट भनिएको छ, ‘नर्वदा निकै समय मेरो छातीमा आड लागेर टाँसिइरहिन् ।’ त्यसै दिन नर्वदाले मुकुन्दलाई ‘खाना खाने’ निहुँमा आफ्नो घरमा निम्ता पनि गरेकी छिन् । आफूमा पनि भेटको लालसा दिनदिन बढिरहेको अनुभव गरिरहेका मुकुन्द उनलाई भेट्न जान्छन् र उनी दुई नर्वदाको घरभित्र कुराकानीमा व्यस्त हुन थाल्छन् । गाउँमा मुकुन्द र नर्वदाबीच केही अनैतिक भइरहेको भन्ने गाइँगुइँका बीच उनीहरूलाई यस स्थितिमा भेट्दा गाउँको फटाहा बखतबहादुरलगायत नर्वदाकी सासू, ससुरा र अन्यले औँलो ठड्याउने मौका पाउँछन् । यसबाट झनै बिच्किएकी नर्वदा, केही समयपछि आफैँ आश्रममा पुगेर मुकुन्दलाई भेट्छिन् । यस पछिल्लो भेटमा उनीहरू मर्यादाका सबै सीमा नाघेर एकअर्कासँग शारीरिक प्रेममा लीन हुन पुग्छन् ।

यसपछिको कथा पटाक्षेपतिरको यात्रा हो । आश्रमवरिपरिको जग्गा सम्याउने र प्लटिङ गर्ने काम हुन्छ । पछि, बढ्दो सहरकीकरणको आडमा बखतबहादुरले आश्रमको जग्गा आफ्नो नाममा रहेको दाबी गर्छ । आश्रम पनि दिनदिन मरणासन्न हुन थाल्छ । बटुकहरू एक एक गर्दै आआफ्नो बाटो लाग्न थाल्छन् । शिक्षकको रूपमा राखिएका कर्मचारीहरू पनि आश्रम छोडेर बाटो लाग्छन् ।

यसैबिच नर्वदा आफ्नै कोठामा मृत फेला पर्छिन् । त्यसै दिन, दाहसंस्कारका लागि उनको लास सुनकोशी किनारमा पुर्‍याएका मलामीहरूले किनारमा एउटा मृत लास भेट्छन् । सनाखत गर्दा उक्त लास वर्षौंअघि हराएका नर्वदाका श्रीमान् महेन्द्रको भएको ठहर्छ । संयोग विचित्रको — ती दम्पतीको मिलन मृत्युमा हुन्छ ।

यसको केही समयपछि आश्रम छोडेर अनन्त र अज्ञात यात्रामा निस्किएका मुकुन्दलाई एउटा चिया पसले दुर्गा बस्नेतले सुनाउँछ— उमेरदार नर्वदा र कलिला छोराछोरी छोडेर पैसा कमाउन भारत पसेको उनको श्रीमान् लामो समयपछि शरीरमा एड्स लिएर फर्केछ । घर जाऔँ भने सबैले तिरस्कार गर्ने डर । नजाऔँ भने श्रीमती र छोराछोरीका माया । यस दोधारमा पागल ऊ, अज्ञात भेषमा झाडी हुँदी लुकेर आफन्तजन हेर्दो रहेछ । कहिलेकाहीँ सुनकोशी किनारतिर आएर चिच्याउँदो पनि रहेछ । यसै चिच्याहटलाई मानिसहरू झाँक्री कराएको भनेर डराउँदा रहेछन् ।

सारमा, कथा यही हो । मुकुन्दकी श्रीमतीको ब्रेन ट्युमरका कारण कलिलै उमेरमा मृत्यु, छोराहरूको पनि घर छोड्ने निर्णय, उनको विरक्ति र गृहत्याग, आश्रमप्रवेश, नर्वदासँगको हिमचिम, विवाद र आश्रम त्याग, यो कथाको एउटा पाटो । अर्कोतिर नर्वदाको कथा छ, जसमा रहरलाग्दो उमेरमा लोग्नेको भारत गमन, उनको शारीरिक मानसिक अतृप्ति, आश्रममा सेवाको काम, मुकुन्दसँगको सामीप्य, प्रेम, शारीरिक सम्पर्क र अल्पायुको मृत्यु । उनका लोग्नेको अर्को कथा छ— गृहत्याग, भारतमा एड्सको चपेट, स्वदेश फिर्ती, दकसका कारण घर जान नसक्नु, बहुलाएर हिँड्नु, सुनकोशी निकारतिर राति राति उक्लेर कराउनु, घरछेउका झाडी हुँदी लुकेर श्रीमती-छोराछोरीलाई हेर्नु, अन्त्यमा सुनकोशीमै डुबेर मर्नु । यी कथाहरूको मिलनबिन्दु कहाँ, कतातिर छ, र त्यसले मान्छेको मनोलोकका कुन कुन रहस्यलाई सतहमा ल्याउँछ, यस उपन्यासको ओजन र अर्थ त्यहीँ छ ।

विषयकै कुरा गर्दा व्यक्तिगत असन्तुष्टि, असुरक्षा वा अभावजस्ता कारणले अध्यात्ममा लागेको मान्छेले आफ्नो वासनामाथि वास्तवमा विजय पाएकै हुँदैन । आवरण जे पो होस्, ऊ भित्रभित्र भोक र भोगको आगोले पिसोल्टिइरहेको हुन्छ, र मौका पाउनासाथ ऊ त्यस प्यासको निवारणका लागि तयार हुन पुग्छ । यस अर्थमा, आध्यात्मिक यात्राको बाटो आफैँलाई जितेर अगाडि बढ्नेहरूको हो । आफूलाई एकछिन बलजफती स्थगित गरेर अगाडि आउनेको हुँदै होइन । मन र आत्माभरि अतृप्ति बोकेर मान्छे स्थितप्रज्ञ हुन सक्दैन । अर्को कुरा, समान भोक र वासना बोकेकाहरूलाई समयले कोसौँ परको दूरीबाट पनि एक ठाउँ ल्याउँछ, र उस्तै नियतिमा धकेलेर जान्छ । तेस्रो कुरा, प्रेमले अभिव्यक्तिको कुनै न कुनै माध्यम वा भाषा खोज्न नै, चाहे त्यो सभ्य होस् वा असभ्य । प्रेम लामो समय अप्रकटित भएर बसिरहन सक्दैन । धेरै दमित भयो भने त्यो कुनै कुनै बिघ्नको आकारमा उदाउँछ चाहे त्यो अनैतिक शारीरिक सम्बन्ध होस्, आँसु वा हाँसो होस्, पागलपन होस् अथवा असामयिक मृत्यु होस् ।

शिल्पका दृष्टिले यस उपन्यासमा उल्लेख्य केही कुरा छन् । उपन्यासकारले धेरैजसो अंशको अन्त्य पशुपक्षी जगतका विम्बहरूबाट गरेका छन्, जहाँ पशुपक्षीको व्यवहारले मान्छेको कुनै न कुनै व्यवहारलाई सङ्केत गरेको छ । उपन्यासैभरि सुन्दर प्रतीकहरूको प्रयोग गरिएको छ, जुन गहन पनि छन्, र बहुअर्थी पनि छन् । उदाहरणका लागि समयको चाल र नियतिलाई नारायणको हातको घुमिरहने चक्र, आफ्ना रहरका आँखामा पट्टी बाँधेर बसेकी नर्वदालाई गान्धारी, चराचुरुङ्गी र पशुहरूको चित्रण, साउन र भेल आदि मनोहारी विम्ब र प्रतीकहरूको कुशलतापूर्वक प्रयोग गरिएको छ । रैखिक कथावाचनका बीचबीचमा घरका, विगतका, प्रसूतिका र मृत्युका प्रसङ्गहरूलाई पूर्वदीप्तिमार्फत् देखाइएको छ ।

उपन्यसमा प्रश्न गर्नुपर्ने कतिपय प्रसङ्ग छन् । यथार्थवादी कलेवरमा अगाडि बढेको उपन्यासमा अति अविश्वसनीय संयोगहरूको प्रयोग भएको छ । नर्वदा पनि मर्नु र त्यसै दिन वर्षौंदेखि हराएका उनका श्रीमानकाे लास पनि कोशी किनारमा भेटिनु । तिनको सँगै दाह संस्कार हुनु — यो लेखकले बलात लादेको प्रसङ्ग हो ।

अर्को कुरा, मुकुन्दले घर छोडेर वैरागको बाटो समाउनका लागि कारण पर्याप्त छैन । घरमा मृत्यु हुन्छ, बढेका छोराछोरीले घर छोड्छन् । असामान्य निर्णयका लागि यो अति सामान्य कुरा हो ।

तेस्रो कुरा, चिया पसलेले महेन्द्रको सम्पूर्ण रहस्य थाहा पाएर उसलाई पुनर्स्थापित गर्ने वा उसको सम्बन्धमा परिवारको वा समाजको ध्यानाकर्षण गर्ने प्रयास नगर्नु आफैँमा प्रश्नको घेरामा छ । निरन्तर चलिरहने समयचक्रलाई पटकपटक नारायणको हातको सुदर्शन चक्रसँग तुलना गरिएको छ, जबकि सुदर्शन चक्र अविराम घुमिरहने कुरो हो भन्ने कुरा शास्त्रसम्म छैन । उक्त चक्र एक हतियार हो । प्रयोग गरे चल्न, नत्र चल्दैन ।

भाषाको सम्पादन ज्यादै फितलो छ, र त्रुटिहरू धेरै छन् । आँपघाटमा आश्रमको अवस्थामा ह्वात्तै सुध्रिनु र ह्वात्तै बिग्रनु — यिनमा स्वाभाविक क्रमिकता र विश्वसनीयताको अभाव छ र चिन्तन अलि बढी आदर्शवादी लाग्छ । किताबको भौतिक बुनोट ज्यादै सामान्य छ ।

कृति: अनन्त यात्रा (उपन्यास)

प्रकाशक: समृद्धि अनुसन्धान तथा प्रकाशन

पृष्ठ: १३५

मूल्य: २५०/