प्रसिद्ध नियात्राकार दाजु प्रतीक ढकालले किस्सा सुनाउनुभयो — एउटा नेपाली प्रतिनिधिमण्डल श्रीलङ्का भ्रमणमा गएछ । भ्रमण टोलीमा एकजना हुँनुहुँदोरहेछ नाम‑ ‘रामलाल श्रेष्ठ’ । उता, रामको नाम सुन्यो कि कनपारो तात्ने । महागाली दिनुपर्दा राम । भिलेनको नाम ।

‘मेरो नाम राम हो’ भन्दा ज्यान जोगाउनै गाह्रो । अनि, श्रीलङ्का बसुन्जेल एउटा छद्म नाम राखिदिनुभएछ प्रतीक दाजुले— ‘आरएल श्रेष्ठ ।’

यता राम नाम सत्य हो । उता रामको नामै असती ।

हे रामका दुनियाँ ! अचम्म सुनियाँ, फागुनमा पहिरो गयो !

‘हिन्दू मन्दिर हेर्छौ?’ भनेर कोलोम्बोमा कसैले भनेछ । आबुइ, कोलोम्बोमा हिन्दु मन्दिर हेर्न पाउँदा किन नजाने ? गएछन् सबै । मन्दिरमा देउता कहाँ छन् भनेर खोज्दा खोज्दा त हत्तु ! देउता हुने ठाउँमा त एउटा भुसतिघ्रे, कालो न कालो, अरिमोठे पो देखियो रे ! खोइ त देउता भनेर सोध्दा त उः के हुन् त, कुम्भकर्ण देउता पो भन्छ अरे !

हाय राम ! मरिन्छ कि क्या हो ?

यसो कल्पना गरौँ न नेपालभित्रै कुनै सभाको ।

‘हजुर, मेरो नाम रावण ।’

‘मेरो नाम, कंश, हजुर !’

‘सबैमा नमस्कार । मेरो नाम हिरण्यकशिपु । तपाईंहरूलाई भेटेर खुसी लाग्यो ।’

नाममा के छ र हजुर ? हेनरी लुइस गेट्सले गहिरिएरै लेखे — कुन परिवेशमा कस्तो नामले के अर्थ राख्छ ।

अर्थ त राख्छ, बाइ ।

नामले फरक पार्छ पनि, पार्दैन पनि । पार्दैन, जब नामको कुनै विश्वास वा मूल्यपद्धतिसँग सम्बन्ध छैन । पार्छ, यदि छ भने ।

कहिलेकाहीँ कस्तो होइदिन्छ भने नि, नामले मनोविज्ञानै खराब बनाइदिने रहेछ । एकजना साथी थिए । नाम ‘दुखीराम’ । के छ खबर, खाना खायौ? भनेर सोधियो भने भन्थ्यो, ‘के नै हुनु छ र खबर ? केही पनि छैन । अँ, दुई रोटी खाएर सुत्या हुम् ।’

कहिल्यै गतिलो, बलियो उत्तर आएन । सधैँ गनगन । कहिलेकाहीँ त झोँक पनि चल्थ्यो— साँझको खानमा दुई रोटी नखाएर १५२ वटा रोटी खाने हो त ? कि एक बाल्टी आँपको रस पनि जोड्नुपर्ने ? बात करता है !

अर्को एउटा किस्सा मैले मानेकै गुरुजीले सुनाए । बनारसमा पढ्दा चारपाँच जनाको समूह थियो रे ! लर्कासर्कामै नाम राखेछन् ‘खत्तम–लङ्गड कम्पनी’ । पछि भन्थे, त्यो सम्पनीका कुनै पनि सदस्यले गतिलो जागिर पनि पाएन रे ! कोही स्थापित भएनन् रे !

‘हैट्, यो नहुने कुरा,’ भन्दिनुजस्तो । तर यसमा एउटा कुरा छ । नामले मान्छेको आत्मबलमा प्रभाव त पार्छ । ‘नमस्कार हजुर, म ‘पिप’ उपन्यासको लेखक’ भन्नु र, ‘हजुर, म सौर्यगाथाको लेखक’ भन्नुमा केही फरक त छ, छ । कि छैन?

नामको पनि एउटा राजनीति हुन्छ । नाम एउटा रूपक अलङ्कार हो, र त्यस अलङ्कारले अर्थ भने संस्कृतिबाट टिपेको हुन्छ ।

हैट्, यो अलि चाम्रो कुरो आयो ।

लेखनसँग छेकछन्द मिलेन ।

एकछिनपछि मिल्छ कि?

लेखनमा पात्र र पात्रका नाम — यी दुवै कुरा जोखिमपूर्ण हुन्छन् । हामीले उठाएको पात्र संस्कृतिको भित्री गर्तको सदस्य हो भने, जोखिम हुन्छै हुन्छ । पात्रको नाम ‘अतीत’ वा ‘इरा’ जस्ता भए भने अँ, आँखा चिम्लेर एक लाख वर्ड लेख्न गाह्रै हुँदैन (होला) । तर पात्रका कृष्ण, राधा, अश्वत्थामा वा बुद्ध भइदिए भने त्यति सहजै कलम दुगुर्दैन ।

यिनले गाडीका चक्कामा ओट लाएजस्तै अवरोध लाउँछन् हो ?

हो । होइन । होइन । हो ।

साहित्यले उत्तराधुनिकताको नेटो टेकेपछि अनेक अनेक कुरा भए । तिनमा एउटा चाहिँ मिथकको मूल कथा, वा कुनै पात्रलाई लिएर मिथकीय सङ्कनको विपठन गर्ने काम भयो । अथवा पुनर्पठन गर्ने । यो अभ्यास खूब फेसनमा छ अचेल पनि । ‘यो नगरी हुँदैन’ भन्ने पनि पर्दै गएको छ लेखकहरूलाई ।

‘एस्तैले पुरस्कार पाउँच त क्यार्नु त नि?’ भन्ने पनि देखिए मानौँ लेख्नुको प्रयोजन नै पुरस्कार हो । देख्न पनि देखियो — कि मिथक, कि इतिहासमा टेकेर अलि टेढो टेढो यात्रा गर्ने साहित्य विगतका केही वर्षमा शृङ्खलाबद्ध रूपमै पुरस्कृत भए ।

त्यो हुँदा के भयो ?

एउटा किस्सा सम्झेँ ।

एउटा जँड्याहाले रक्सी खाएर गोठमा आगो लाएछ । साँझको बेला, आगो उठेको टाढैबाट देखियो । एकैछिनमा गाउँले भेला भए । पानी खन्याए, केराका थाम काटेर हाले, सेउलाले हिर्काए, माटो हाले, आगो निभाए ।

गाउँलेहरूमा एकजना पाका मान्छेचाहिँ त्यस जँड्याहाका मास्टर रहेछन् । तिनले त्यसलाई समातेर झ्यामझ्याम बजाएछन् दुईचार झापड । यो हेरिरहको एउटा अर्को गाउँले लठेब्रो पनि नजिक आएछ र झ्यामझ्याम उसै गरी पिट्न लागेछ । भोलिपल्ट छलफल डाकिएछ । जँड्याहाले भनेछ, ‘मलाई मेरै मास्टरजीले पिट्नुभयो । त्यसमा मलाई केही भन्नु छैन तर यो लठेब्राले किन कुट्यो ? त्यसको कारण चाहियो !’

लठेब्रालाई सोधेछ सभाले ।

उसले भनेछ, ‘यसो हेरेको । ठूल्दाजु कुट्तैरचन् । अनि कुट्नु पो रच भनेर मुइँले पनि कुटेँ ।’

भएको सायद यही हो । मिथकमा टेकेपछि उत्कृष्ट साहित्य हुन्छ भन्ने एउटा ठूलो भ्रम नेपाली साहित्यमा वनको आगो सरी फैलियो ।

फैलियो भने फैलियो । कसलाई भारी भयो ?

भएन । तर एक कुरा भयो । आख्यान जति गर्यामगुर्लम दुईमुखे रुद्राक्षजस्तो भयो । एउटा मुख मिथकतिर । अर्को इतिहासतिर ।

जीवनका अन्य पाटा अखबारतिर ।

यो अलि अतिशयोक्तिपूर्ण दाबी भयो । होस्, अहिलेलाई ।

कति पाण्डुलिपि पनि खस्खसाएका हुनुपर्छ यति बेला । दाहिने आँखो फुरफुर फरफुर गरिराछ मेरो ।

मतलब, मिथक र इतिहासको विपठन गरिनु हुन्न भन्ने कुरो होइन । धुमधाम गर्नुपर्छ । तर, यसमा केही सचेतता अपनाउनु जरूरी देखिन्छ ।

सचेतताको कुरा गर्नुअघि केही घटना–दुर्घटनाको कुरा गरौँ ।

नेपाली साहित्यमा यसो हेरौँः

— मिथकले स्थापना गरेका सतपात्रको खोइरो खनिएको साहित्य स्थापित भएन, यद्यपि त्यो काइदा ज्यादै नवीन थियो होला । लेख्ने मान्छे जति ठूलो प्रतिभा होस्, अथवा पुस्तकले जति ठूलो पुरस्कार पाएको होस्, आम जनमानसको रोजाइमा ती किताब निकै कम परे । उदाहरणका लागि, धृतराष्ट्रलाई शास्त्रले खलपात्र नै बनाएर उभ्याएको हो । कुनै कोणबाट हेर्दा पनि धृतराष्ट्रको भूमिकाले महाभारतको कथालाई सुखद अवतरणतिर लगेको देखिँदैन । अँ, तर्कै गर्न त जसोतसो तर्क निकाल्न सकिएला । अब, नेपाली संस्कृतिमै हुर्किएका नेपाली पाठकहरूलाई मध्यनजर गरेर लेखिएको कुनै पनि साहित्यले धृतराष्ट्रलाई धोइपखाली गरेर नायकत्व प्रदान गरेको छ भने ‘वाह, क्या नयाँ सोच’ भन्न त मिल्यो, तर लोक स्वीकृतिको प्रश्नको त्यो धर्मराएकै देखिएको छ ।
अब म लेखकहरूलाई मन नपर्ने केही कुरा लेख्दैछु ।

— घनश्याम कँडेलको काव्य ‘धृतराष्ट्र’ ले मदन पुरस्कार पायो । ठूलो हो नि, कुरो ! काव्यले धृतराष्ट्रलाई नायकत्व प्रदान गर्ने कोसिस ग-यो । शास्त्रले नसकेको धोइपखाली कवि कँडेलले गरे । आम जामानसमा यो कृति खासै लोकप्रिय भएन । प्रकाशन भएको केही वर्ष बित्न नपाउँदै यसको खोजी ठ्याप्पै बन्द भयो । आक्कलझुक्कलको कुरो यहाँ गरिनँ ।

— गोविन्दराज विनोदीको काव्यकौशलले मलाई हायल–कायल बनाउँछ । उहाँको भाषा ज्ञान, शब्द–सामर्थ्य, लालित्य र काव्यकैशल अब्बल दर्जाको हो । तर, उहाँले कैकेयी र सुर्पणखालाई फरक कोणबाट हेरिनुपर्छ भन्ने ध्येयले दुईवटा काव्य लेख्नुभयो । दुवै काव्य, काव्यपारखीहरूको एउटा सीमित घेरो तोडेर लोकमा फैलिन सकेनन् । मानेनन् । होला, प्रकाशनको वा फैलावटको समस्याले पुग्नुपर्ने ठाउँमा पुगेनन् होला । तर पुगेकै भए पनि र हजारौँ प्रति बिकेकै भए पनि खलपात्रलाई नायकत्व प्रदान गर्न खोजेका पुस्तकहरूले युगौँदेखि जनमानसको मनमा अथवा समाजको अवचेतनमा बसेको मूल्यलाई बिथोल्नै गाह्रै पर्छ । सक्दैन, वा गर्नु हुँदैन भनेको होइन । तर मनोविज्ञानको एउटा जब्बर पाटो केलाउन खोजेको । कमजोरी लेखकको होइन । यो उपज समाजको स्वभावको हो ।

— प्रतिभाशाली आख्यानकार कुमार भट्टराईको उपन्यास आयो, ‘अश्वत्थामा’ । लेखन पनि बेजोड छ । महाभारतको विपठन अति नै तीक्ष्ण र लोभलाग्दो छ । कोण अश्वत्थामाको छ, र महाभारतले खलपात्र सिद्ध गरेको दुर्योधनलाई नायक बनाइएको छ । भनौँ न, चलनचल्तीको महाभारतको पूरै ‘उल्टीकरण’ । तर जनमानसलाई सायद यो पचेन । पुस्तकले आर्जन गर्नुपर्ने जति लोकप्रियता आर्जन नगरेको हो कि भन्ने लागिरह्यो ।

टिप्पणी किताबमाथिको होइन । स्रष्टामाथिको पनि होइन ।

टिप्पणी समाजको तरिकाको । मनोविज्ञानको, स्वभावको ।

घोत्लिनुपर्ने कुरा यहाँ छ — कतिपय नाम र कथाले युगौँ लगाएर समाजको दिमागमा अर्थको एउटा पत्र बनाएका हुन्छन् । त्यसलाई समाजले ‘ठीक’ मानेर बसेको हुन्छ । एक्कासि त्यसलाई बेठीक भन्दिँदा, तातेको लाल्टिनको सिसामा एक्कासि चिसो पानी पर्दा सिसा चोइटिएजस्तो लोकविश्वास चोइटिन्छ ।

लालटिनमा पानी पर्नै नहुने पनि होइन हुन त ! लालटिन टुट्नै नहुने पनि होइन ।

लालटिनकै चलन पनि कहाँ रह्यो र ? अँ, उज्यालो लालटिन र रातो लालटिन चैँ छन् है ! खोजेर भेट्टाउनेलाई जलगाउँ दिन्छु ।

जलगाउँ मेरो बिर्ता हो र मनलागी दिनलाई ? हाहा ।

यो मिथकको प्रयोगमाथि तीनवटा कुरा छन् छलफल गरिनुपर्ने ।

‘तीन’ भन्दा पनि श्री ३ को जागित्र आउला कि भन्ने डर !

१. मिथकहरूमा कथा हुन्छन् । (होइन, कुन नयाँ कुरो थाहा पाइयो त यहाँ? हैट्, यो थाहा पाएर बुद्धत्व नै पो आइहाल्छ कि क्या हो ?) अनि कि, सरर रैखिक कथा, जस्ताको तस्तै भन्न त मिथक नै छँदै छ नि ? किन कागजको नाश पार्नु ? वनमुद्दा लाग्ला !

उसो भए गर्ने चैँ के त ? नाम छिरिक्क यताउति गर्न पनि नपाइने । राम्रो भनेकालाई नराम्रो, अथवा नराम्रो भनेकालाई राम्रो भन्न पनि नपाइने । यो के पारा हो ?

हुन त कुनै छुसीले यो गर्न पाइन्छ, त्यो गर्न पाइँदैन भन्दैमा लेखकले गर्ने वा नगर्ने पनि होइन । म आफैँ पनि गर्दिनँ, टेर्दिनँ । तर पनि…

तर पनि, समाजको मनोविज्ञानले काम गर्ने तरिकाको छलफल हो यो ।

मिथकलाई सिर्जनामा प्रयोग गर्ने एउटा विधि हो — ‘मिथोपोइटिक्स’ । भन्नुको तात्पर्य के भने, मिथकको कथालाई आजको समयसम्म जोड्ने विधि । मिथक लेख्ने होइन कि, मिथकको कलेवरमा आजको समय लेख्ने हो ।

यसमा एउटा जोखिम छ । कथा सबै पुरानो । तर कुरो एक्कासि आजको आइदिन्छ कतिपय उपन्यासमा, त्यो पनि अन्तिम पाठमा । पूरै महाभारतको पुनरकथन हुन्छ, र अन्तिम पेजमा द्रौपदी एक्कासि खुला मञ्चमा आएर महिला अधिकारको कुरा गरिपठाउँछिन् ।

मिथकमाथि प्रश्न उठाउँदै लगिएको अथवा त्यसलाई आजको युगसँग जोड्दै लगिएको आभास पहिल्यैदेखि दियो भने पो हुन्थ्यो !

मिथक त आखिर चौतारीको मादल हो । जसले, जहिले, जसरी बजाउँदा पनि हुन्छ । जुन प्रयोजनका लागि पनि हुन्छ । रबरजस्तो । इलास्टिकजस्तो । तर, मादललाई तबला भनेर बजाउन चैँ मिलेन । भनेको, मिथकको प्रयोगमा कपीराइट छैन । तर, यसो भनेर देब्रेलाई दाहिने, दाहिनेलाई देब्रे बनाएर बजाउँदा लोकले खुच्चिङ भन्छ ।

यो लोकले जो माग्छ त्यही गर्ने भनेपछि यथास्थितिवादी हुनु भनेको हो?

होइन । पटक्कै होइन, बाबै । कसरी हुनु ?

के चैँ सत्य हो भने, समाज सधैं प्रगतिशील हुन्छ । तर, जुन मूल्य कालातीत छन्, तिनलाई चलाउँदैन । जुन मूल्यमा कटपको जलप छ, त्यसलाई पोल्टामा हालेर बसी पनि रहँदैन । हामीले ‘रुढीवादी’ भनेको समाज, वास्तवमा समाज होइन । समाजको अग्रगतिलाई विभिन्न बहानामा कुण्ठित तुल्याइरहने थोरै मान्छेको झुण्ड हो । र, तिनकै हैकम चल्ने हुँदा समाजले बाध्य भएर मानिदिएको हो । यस्ता पञ्जा तोड्नु हो भने मानव समाजभन्दा प्रगतिशील मार्क्स आफैँ पनि थिए कि थिएनन्, बहस गर्नुपर्छ ।

उदय अधिकारी भन्नुहुन्छ— प्रगतिशील साहित्य बारे लेख् न । म सोच्छु— पख्नुस्, नयाँ हेल्मेट किनूँ न पहिले ।

कुरो मिथकमै छ । जुन पात्र वा मूल्यलाई चलाउनै पर्दैन, तिनलाई चलाउँदा सुतेको बाघको जस्तै आचरण गर्छ समाजले । तर जुन नङको अलिकति छेउ उक्किएको छ र लुगाहुँदी अल्झिरहेर दुखाइरहन्छ, त्यसलाई फाल्दा समाजले ‘स्याबास’ नै भन्छ ।

मदनमणिले मिथकका पात्रलाई धेरै नचलाई, मूल्यहरण नगरी, चकचकमा उतारे ।

धरावासीका राधा र कृष्ण, ब्रजका राधा र कृष्णभन्दा धेरै फरक छैनन् । ताँदो उही हो । तर, त्यो ताँदो उनले ब्रजबाट तानेर अर्जुनधारातिर, उँभो हिमालतिर, छापामारका युद्ध–मैदानतिर, कताकता कताकता पु-याए । चकचक ज्यादै गराए । उनी अस्वीकृत भएनन् त !

प्रतिभा रायले मूल कथानकलाई बिथोलेको होइन । कोण अलिकति घुमाएको हो । उज्यालो नपुगेका कुनातिर उज्यालो छरेको हो । पुस्तक बेस्ट सेलर भयो, ‘द्रौपदी’ ।

उहिल्यैदेखि चलेको हो नि यो कुरो । मिल्टनले ‘प्याराडाइज लोस्ट’ वा ‘प्याराइज रिगेइन्ड’मा बाइबलका नायक र खलनायकको भूमिका साटफेट गरेनन्, हाम्रा मन्त्रीहरूका भाषणको चिल्कटो साटिएजस्तो बेलाबेला । मूल्यविधान उही हो । तर कथालाई मान्छेको कर्म र नियतिसँग लगेर जोडे । आम मान्छेले बाइबलकै वातावरणभित्र आफ्नो अनुहार देख्न पाए ।

दाँतेको ‘इन्फर्नो’ सम्झन्छु । अलि ठूलो छ किताब ।

जेम्स जोयसको ‘युलिसेस’ सम्झन्छु । तपाईंहरू पनि सम्झनुहोस् न । के जान्छ?

हर्मन हेस्सेको ‘सिद्धार्थ’ सम्झन्छु ।

डा. कविताराम श्रेष्ठको ‘महाभिनिष्क्रमणका अस्वीकृत पाइला’ सम्झन्छु । यो सरल भाषामा बुद्धको जीवनी र विशेष गरी उनको ज्ञान प्राप्तिको कथा हो । अङ्ग्रेजी अनुवाद पनि छ । तर, यसमा मौलिकता भने खासै छैन । कथा उही हो । प्रस्तुति फरक । यो किताब पनि, सरल हुँदाहुँदै पनि खासै पाठकमाझ जमेन । कारण — उही ।

हालसालै बजारमा प्रवेश गरेको एउटा उपन्यास पनि सम्झेँ । हरिबोल काफ्लेको ‘यशोधरा’ । यशोधराको कोणबाट बुद्ध–यशोधराको कथा । मिथकीय परिवेश, उस्तै संवाद । उपन्यासको बैठानमा यशोधरा आजको खुलामञ्चमा उत्रिएकी पो छन् कि ? त्यसमा बहस जरुरी देखेको छु । यो मिथक र वर्तमान परिवेशको गठबन्धन हो कि मिथोपोइटिक्स नै हो — छलफल गरौँ ।

छलफल गरिरहँदा हिन्दी कवि मैथिली शरण गुप्तको काव्य ‘यशोधरा’ लाई पनि पढ्न नछोडौँ । बिल्कुलै नयाँ कोण पाइन्छ, बुद्धकालीन कथाभन्दा, र त्यसको ध्वनि, प्रवेशविन्दुबाटै स्थापित गरेका छन् । जस्तै, बुद्धको गृहत्यागबारे सखीसँग गुनासो गर्दै यशोधरा भन्छिन्—

नयन उन्हें है निष्ठुर कहते,
पर इनसे जो आँसू बहते,
सदय हृदय वे कैसे सहते?
गये तरस ही खाते !
सखी, वे मुझसे कहकर तो जाने
कह तो क्या वे मुझे अपनी
पथ बाधा ही पाते ?

अनुवाद गरिनँ, ल ? हिन्दीबाट नेपाली पनि अनुवाद गरिरहनुपर्ला र ? आउन पनि आउँदैन नढाँटी भन्दा ।

यशोधरा भन्दा, यसै लाइनमा प्रोल्लास सिन्धुलीयको एउटा कविता सम्झन्छु— ‘तिम्रो लोग्नेको नाम के हो, यशोधरा?’ मलाई उनको यो ढाँचा खूबै मनपरेको छ ।

रामलाल जोशीको कथा ‘बौजूको बात’ सम्झन्छु । यो शैली उम्दा छ ।

केशव ज्ञवालीको ‘रामकथा’ सम्झन्छु । पठनीय कथा हो ।

हिन्दीतिर आशुतोष गर्गका दुई किताब ‘सीतायण’ र ‘अश्वत्थामा’ पनि मनमा लिएको छु ।

उतातिर फर्कन्छु । एन्जेला कार्टरको ‘द प्यासनको अफ द न्यू इभ’ सम्झन्छु । ग्रिसेली मिथकीय पात्र टाइरेसिसको प्रयोगद्वारा लैङ्गिकताको प्रश्नमा विद्यमान पुरुष–महिला द्विचरलाई धुलिट्याम पारिएको छ । वाह किताब !

सार्थक प्रयास भएका छन् । यिनको गम्भीर अध्ययन गर्नु आवश्यक छ ।

मिथकलाई साहित्यमा प्रयोग कसरी गर्ने — यस कुराको सैद्धान्तिक बहस नै भएको छैन नेपाली साहित्यमा । मिथकको प्रयोग खूब भयो भनेको चैँ सुनिन्छ । तर पुरानो मिथकको सियो, एक ठाउँबाट अर्को ठाउँ सारे कि सारेका छैनन् लेखकहरूले ? कि सियोको दुलो टुप्पातिर चैँ बनाए? अथवा, नाथ्रीमा धागो होइन दाम्लो छिराए ? सियो–धागोले सिलायो कि सिलाएन कपडा? कि सुरवाल सिलायो र इजार सिलाउने बेलामा भाँच्चियो?

यो गम्भीर बहर आवश्यक छ ।

तीन कुरा भन्छु भनेको थिएँ, पहिलो कुरा भन्दाभन्दै झण्डै बाटै हरायो ।

अब दोस्रो कुरा भन्छु ।

२. मिथकमा कतिपय पात्र अन्यायमा परेका छन् । तिनमाथिको अन्यायमा जनमानस पनि दुखेको छ । मिथकले तिनलाई गौण पात्र बनाएर धूमिल तुल्याइदिएको छ । तिनलाई नायकत्व प्रदान गर्ने साहित्य अब्बल हुन्छ । सम्झौँ न—

— नवराज लम्सालको ‘कर्ण’ । खोजी आज पनि छ ।

— महेश कार्की क्षितिजको कविता ‘सम्बोधित कर्ण’ ।

— गिरि श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, यद्यपि यसभित्र अन्य कविता पनि छन् । तर यो शीर्ष कविताको मूल्य उँचो लाग्छ ।

— ‘सीतायन’ ले गरेको पनि यही हो ।

— बर्बरिकमाथिका सबै साहित्य ।

— अनुजा चन्द्रमौलीको अङ्ग्रेजी उपन्यास ‘अभिमन्यु’ पढ्नै पाएको छैन । रहर छ ।

— अहिल्या–विमर्शका सबै सबै प्रसङ्गहरू ।

— पश्चिमतिर फिसर किङको कथा ।

भनौँ, जानमानसले पनि चुकचुक गरेका पात्रलाई केन्द्रीयता प्रदान गरियो भने ‘पोइटिक जस्टिस’ भएको अनुभव पाठकहरूले गर्छन् । तर सामाजिक अवचेतनले युगौँदेखि नायक मानेकोलाई खलनायक, र खलनायक मानेकोलाई नायक बनाउँदा जोखिम रहन्छ । त्यो मिथोपोइटिक्सको मान्यता पनि होइन । उत्तराधुनिक लेखको रुझान पनि होइन ।

तेस्रो कुरा भन्न बाँकी छ, अब भन्छु । यो चैँ अन्तिम कुरा ।

३. मिथकको कथा प्रायः सबैलाई थाहा हुने हुनाले यस्ता कथामा मौलिकता स्थापित गर्न कठिन छ । यो कुरा ऐतिहासिक उपन्यास अथवा इतिहासको कुनै पक्षमा आधारित सिर्जनाको हकमा पनि लागु हुन्छ । मिथककै कुरा गर्दा, प्राचीन कथाको पुनरकथन अथवा सरलीकृत पुनरलेखन सायद बालसाहित्यमा ठीक हुन्छ । पौढ साहित्यमा तीव्र बुद्धि, उच्च सिर्जनशीलता र फरक शैली भएका लेखकहरूबाट मात्रै सिर्जनशील पुनरप्रयोग सम्भव छ । अथवा भनौँ, मिथोपोइटिक्सको सही प्रयोग सम्भव छ ।

र, फाइनल कुरा रामको र रावणको । मिथकका सन्दर्भको पनि अचेल पोलिटिकल करेक्टनेश हेरिन थालेको छ । लिङ्गे पिङ मच्चिएजस्तै मच्चाइमा बनाइएको कतिपय मिथक अहिलेको सन्दर्भमा ठिकठाक बस्दैनन् । अथवा मान्य हुँदैनन् । राम सबै ठाउँ राम नहुँदा रहेछन् । रावण वा कुम्भकर्ण पुज्ने मुलुक पनि रहेछन् । यसो भए मिथकलाई बिथोल्दा लेखकले आफूले कल्पना गरेका पाठकको मनोलोक, हृदयलोक, आस्थापुरी र भूगोल — सबैलाई एकचोटि सम्झनुपर्ने पनि देखिन्छ ।

नत्र ?

नत्र छयालीस सालकै जस्तो गर्दिन्छु नि, भनेछ श्रीमान्ले ।

अनि श्रीमतीले सोधिन् रे— नत्र के गर्छौ?

नत्र चिसै पानीले नुहाइदिन्छु । विकल्प छ त ? ग्यास सकियो, बत्ती आएन । पानी तानेन ।

विकल्पै रहने भने र कुम्भकर्णको पूजा गरेर पनि फर्कियो त प्रतिनिधिमण्डल !

नत्र सोधौँ न प्रतीक ढकाल दाइलाई ।