
विविध विधामा उत्तिकै दक्ष र सम्मानित व्यक्तित्वलाई अङ्ग्रेजीमा ‘रिनासा म्यान’ भन्ने चलन छ । पश्चिमतिर लियोनार्दो दाभिन्ची, माइकल एन्जेलो, पेट्रर्क आदिलाई ‘रिनासा म्यान’ भन्ने चलन छ । नेपालतिर, यस्ता सर्वमान्य व्यक्तित्वहरूको सूचीमा हामी सायद इतिहासकार योगी नयराज पन्त तथा नहरिनाथ, कूटनीतिज्ञ यदुनाथ खनाल, वेदवेत्ता डा. स्वामी प्रपन्नाचार्यका साथ संस्कृतिविद् सत्यमोहन जोशीलाई राख्न सक्छौँ । यस्ता विशिष्ट विद्वानहरूका बारेमा बोल्नु र लेख्नुमा दुई प्रकारका जोखिम हुन्छन् । पहिलो, यिनका आयामहरूको अध्ययन गरिसाध्य हुँदैन, र दोस्रो, यी ज्यादै लोकप्रिय रहने हुँदा यिनका बारेमा धेरैजसो पाठकलाई धेरथोर कुरा थाहा हुन्छ । त्यसैले, यिनसँग सम्बन्धित नयाँ आयामको उत्खनन् शोधकर्ता वा लेखकहरूका अगाडि ठूलो जोखिम बनेर उभिइदिन्छ ।

शब्दबिम्बमा सत्यमाेहन
लेखक तथा पत्रकार गोपीकृष्ण ढुङ्गानाले आफ्नो पछिल्लो प्रकाशन ‘शब्दबिम्बमा सत्यमोहन’ मा यो जोखिम उठाएका छन् । जीवित रहँदै पनि छापामा सर्वत्र छाइरहने जोशीका बारेमा लेखिएका लेखलाई सङ्कलन गर्नु, र साथसाथै पाठकीय स्वादलाई पनि अक्षुण्ण राख्नु आफैँमा चुनौतीपूर्ण कुरा हो । त्यस चुनौतीलाई उनले सहजै स्वीकार गरेको प्रतीत हुन्छ ।
ग्रन्थमा विभिन्न विद्वानका लेख, उनका केही दौँतरीका दृष्टिक्षेप, उनको देहावसान भएको बेला सञ्चारका विभिन्न माध्यमले उनीबारे लेखेका सम्पादकीय, विविध अध्येताहरूले उनीसँग लिएका अन्तरवार्ताहरू, उनको मृत्युमा विभिन्न शीर्षकमा छापिएका समाचार तथा केही कविहरूले उनीमाथि लेखेका कविता संलग्न छन् । आरम्भमै सङ्कलक तथा सम्पादक ढुङ्गानाले ‘समयले बनायो सत्यमोहन, सत्यमोहनले बनाए समय’ शीर्षकको सम्पादकीय लेखेका छन्, जसमा उनले स्वर्गीय जोशीलाई एक सगरमाथा, शिवजस्तै सत्य र सुन्दर, महामानव, जिउँदो मानव सम्पदा तथा एक पोलिम्याथ भनेका छन् ।
ढुङ्गानाको सङ्कलनमा भैरव रिसालजस्ता पाका साहित्यकारदेखि युवा पुस्तका दिलिप ढकालसम्मका लेख सङ्कलित छन् । यसले के देखाउँछ भने स्वर्गीय जोशी आफ्ना समवयी वा समकालीनदेखि पछिल्लो हाँचका युवा लेखकहरूबीच पनि उत्तिकै लोकप्रिय रहे । यस कुराको पुष्ट्याइँ श्रीओम श्रेष्ठ रोदनको लेखको शीर्षकमै छ— ‘सबैका सत्यमोहन ।’ रोदन लेख्छन्, ‘आउजाउ गर्नेहरू भइरहन्छन् बिहानैदेखि साँझसम्मै । आउँछन् कोही संस्कृतिका कुरा गर्न । कोही आउँछन् लोकसाहित्य बुझ्न । आउँछन् कोही साहित्य र कलाको कुरा गर्न । कोही पुरातत्त्वका, कोही आउँछन् इतिहासका कुरा गर्न ।’ रोदनको ठहर छ— ‘सत्यमोहन नजानेको पनि केही छैन, नबुझेको पनि केही छैन ।’
पुस्तकका प्रायः सबै खण्ड रोचक छन् । त्यसमा पनि सत्यमोहनले आफ्नै बारे लेखेका तीन लेख, र उनका करिब करिब समकालीन माधव घिमिरे र भैरव रिसाल, तथा गजमान गुरुङ र गार्गी शर्माजस्ता पाका साहित्यकारका संस्मरण ज्यादै रोचक छन् । आफ्नै बारे लेखिएका लेखमा जोशीले नेपाली संस्कृतिको स्वरूप अध्ययन गर्न सिँजा उपत्यका जाँदाको अवस्थाको सचित्र वर्णन गरेका छन् । उहिलेको दसैँ तथा र तेस्रोपटक मदन पुरस्कार पाउँदाको उनको अनुभूति पनि यिनै लेखहरूमा समेटिएको छ । पाका पत्रकार भैरव रिसालले जोशीलाई घमण्ड बिल्कुलै नभएको व्यक्तिका रूपमा चित्रण गरेका छन् । भन्छन्, ‘कहिल्यै उहाँले आफू ठूलो मान्छे भनेर घमण्ड गरेको मैले थाहा पाइनँ ।’ जगमान गुरुङले जोशीलाई स्वयं प्रज्ञा मानेका छन् भने गार्गी शर्माका नगरमा उनी सरल र सहज व्यक्तित्व थिए ।
यस ग्रन्थमा राष्ट्रकवि माधव घिमिरेको एउटा पूर्व–प्रकाशित लेखलाई पनि साभार गरिएको छ । यस लेखमा कवि घिमिरेले सत्यमोहन जोशीलाई सांस्कृतिक, साहित्यिक र प्रशासनिक गरी तीनवटा आयाममा हेर्नुपर्ने तर्क गरेका छन् । अर्का लोकप्रिय संस्कृतिविद् तेजेश्वरबाबु ग्वांगःले जोशीलाई आकाशबाट झरेको एक होनहार नक्षत्र भनेका छन् । आफ्ना लागि उनी निबन्ध लेखनको पहिलो प्रेरण भएको पनि उनले स्वीकारेका छन् । संस्कृतिमै ख्याति कमाएका अर्का विद्वान अध्येता तथा कवि तुलसी दिवसले स्वर्गीय जोशीलाई ‘लोकसाहित्यको उज्यालो’ भनेका छन् । उनी लेख्छन्— ‘नेपाली समाज अँध्यारो अवस्थामै रहेका बेला सत्यमोहन जोशीले लोकसाहित्य र संस्कृतिमा गरेका सत्कार्यहरूले हाम्रो समाजलाई उज्यालो प्रदान गर्यो । काठमाडौँ उपत्यकामा जन्मे–हुर्केको मानिसले नेपालका गाउँघरबाट लोकसाहित्यको खोजी गर्नु अभूतपूर्व रह्यो ।’
यस ग्रन्थको एउटा ज्यादै रोचक र महत्त्वपूर्ण पाटो यसभित्र सङ्ग्रहित तीन अन्तरवार्ताको पनि हो । अन्तरवार्ता कमलमणि दीक्षित, देवीदत्त पौडेल तथा छविरमण सिलवालले विभिन्न प्रकाशनका लागि लिएका हुन् । दीक्षितसँगको अन्तरवार्तामा जोशीले शिक्षाप्रतिको आफ्नो सम्पूर्ण बुझाइ अभिव्यक्त गरेका छन् । शिक्षाप्रतिको उनको दृष्टिकोण यहाँबाहेक अन्यत्र खासै पढ्न पाइँदैन । यसमा जोशीले उबेलाको शिक्षा बढी घोकन्ते रहेको र विद्यार्थीको सामान्य ज्ञान ज्यादै कमजोर रहने गरेको बताएका छन् । महिला शिक्षाबारेको आफ्नो अवधारणा भन्दै जोशीले ती दिनहरूमा महिला शिक्षाको अवस्था ज्यादै कमजोर रहेको बताएका छन् । उनी लेख्छन्, ‘कसैले छोरीलाई पढायो भनेपछि सनसनी फैलन्थ्यो । एकचोटि प्रतापशमशेरकी छोरी दरबार स्कुलमा आएकी थिइन्, मात्र पाइभेटको जाँच दिन । त्यो पनि ठूलो कुरा भएको थियो । सिस्नेरीका ज्ञानप्रसादले छोरीलाई पढ्न पढाएको पनि चर्चा भयो । झन् अंगुरबाबा जोशी र बलराम जोशी युवा दम्पतीले बनारसमा सँगै पढे भन्ने खबरले त होहल्ला नै मच्चायो ।’ देवीदत्त पौडेलसँगको अन्तरवार्तामा जोशीले आफ्नो जीवन, शिक्षादीक्षा, जागिर, लेखन, संस्कृतिकर्म, स्वास्थ्य र योगबारे विस्तृतिमै बोलेका छन् भने छविरमण सिलवालसँगको कुराकानी उनको सांस्कृतिक अध्ययन, योगदान र साहित्यमा आधारित छ ।
युवा पुस्ताका लेखक तथा अध्येताका नजरमा पनि स्वर्गीय जोशी उत्तिकै लोकप्रिय र प्रेरक देखिन्छन् । युवा उपन्यासकार तथा पत्रकार दिलिप ढकाले उनलाई एक राष्ट्रभक्त सांस्कृतिक धरोहर तथा एक कर्तव्यनिष्ठ अध्येता बताएका छन् । उनको दीर्घजीवनका पछाडिको रहस्य उनको खानपान र जीवनशैलीसँगै संस्कृतिप्रतिको लगाव र जिज्ञासु स्वभाव नै भएको ढकालको ठम्याइ छ । अर्का युवा अध्येता तथा सञ्चारकर्मी अमृत भादगाउँले भने जोशी ‘पहिला हामी नेपाली’ भन्ने दर्शनका हिमायती तथा समाजका लागि बाँच्ने एक महान् व्यक्तित्व भएको मूल्याङ्कन गरेका छन् ।
यस पुस्तकको पूर्ण अध्ययनले स्वर्गीय जोशीको जीवनका प्रायः सबै आयाम खोलेको छ । उनले सिँजा उपत्यकामा पुगेर गरेको नेपाली लोकसंस्कृतिको अध्ययन, न्युजिल्याण्डमा पुग्ने पहिलो नेपाली बनेर बनाएको इतिहास, उनको चीन गमन र अरनिको अध्ययन, तीन पटकसम्म मदन पुरस्कार विजय, नेपाल प्रज्ञा–प्रतिष्ठान र पूरातत्त्व विभागको प्रशासनमा रहेर दिएको नेतृत्व, तथा कला, साहित्य र संस्कृतिमा उनले दिएको सम्पूर्ण योगदानको वृहत् चर्चा यहाँ सङ्कलित लेखकहरूमा पाइन्छ । धेरैले चासो राख्ने उनको न्युजिल्याण्ड भ्रमण र अनुभवलाई रतन भण्डारी र गणेश राईले आफ्ना लेखहरूमा समेटेका छन् ।
जोशी पाँच वर्षका हुँदासम्म नबोलेको र चिन्तित परिवारले भक्तपुरको सूर्यविनायकको जङ्गलमा एक्लै छोडिदिएपछि उनले एक्कासि ‘माँ, ए माँ’ भनेर पहिलोपल्ट बोली फुटाएको प्रसङ्ग सनम महर्जनको लेखमा छ । नरेन्द्रराज प्रसाईंको ‘सत्यमोहन यसरी शताब्दी पुरुष’ शीर्षकको लेखमा जोशी कसरी वाङ्मय शताब्दी पुरुष बन्न पुगे भन्ने कुराको नालीबेली प्रस्तुत गरिएको छ । जोशीको चिरपरिचित फिक्का टोपीको रहस्य भने नितु घलले ‘शिरमा आमाको सम्झना’ शीर्षकको लेखमा खोलेकी छिन् । आमाको मृत्युमा कुनै न कुनै प्रिय वस्तु त्याग्नुपर्ने रीतअनुसार जोशीले अन्य प्रकारका रङ्गिन टोपी त्यागेर फिक्का टोपी लाउन थालेको कुरा यहाँ उल्लेख गरिएको छ । कालान्तरमा त्यो टोपी जोशीको एक विशिष्ट पहिचान पनि बन्न पुग्यो ।
यस्तो विविध, सुरुचिपूर्ण र सहतमा खासै नआएका जानकारीसमेत समेटेका लेखरचना भएकै कारण यो ग्रन्थ जोशीबारे शोध–अनुसन्धान गर्न चाहने अध्येताहरूका लागि एउटा अनिवार्य सन्दर्भ–सामग्री बनेको छ । यसका लागि सम्पादक ढुङ्गाना बधाईका पात्र हुन् ।
किताबमा कतिपय कुरा भने खड्कन्छन् । कतिपय लेखकका एकभन्दा बढी लेख सङ्कलित छन् । धेरै लेखकहरूका आलेखमा आइसकेका र लोकले थाहा पाइसकेका तथ्याङ्क, तिथिमिति र सूचनाहरू छन् । यस्ता, अन्यत्र पनि सजिलै पाइने सपाट सूचनाभन्दा तिनको सूक्ष्म विश्लेषण अथवा उपादेयताको व्याख्याले यस्तो ग्रन्थहरूको गरिमा थप बढाउने थियो । यत्रो ग्रन्थमा सत्यमोहन जोशीको परिवारका सदस्यको मत खासै छैन, जसका कारण उनको निजी तथा पारिवारिक जीवन उज्यालिन सकेको देखिँदैन । अधिकांश लेख उनको भव्य व्यक्तित्वको महिमा मण्डनमै केन्द्रित छन्, जसले गर्दा ती लेखका रचयिताले उनलाई टाढैबाट हेरेर सपाट मूल्याङ्कन मात्रै गरेको प्रस्ट बुझिन्छ । उनको योगदानको आन्तरिक दर्शनको तहसम्म ती लेखकहरू पुगेको देखिँदैन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

