अचेल नियात्रा पढ्ने तल लागेको छ । पाएसम्म पढ्छु । भ्याएसम्म पढ्छु । पाइनँ भने, अथवा भ्याइनँ भने पढ्दिनँ । तर अतृप्तिले घोचिरहन्छ । चिमोटिरहन्छ ।

तर यो लेख नियात्राका बारेमा होइन ।

नियात्रामा एउटा समान कुरा के भेट्छु भने अप्रतीम प्रकृतिको वर्णन पाइन्छ— हरिया वन–उपवन, नीला दह, निश्छल नदी, उन्नत शिखर, भरिला खेत–खलिहान । यी वर्णनका बीचबीचमा नियात्राकारहरूभित्रको कवि उम्लिएर आउँछ । कि गीत छोडेर जान्छ, कि कविता ।

विशुद्ध कविताको कुरा त छँदैछ — झरनाजस्तो । निर्झर वर्षाजस्तो । मोहक प्रतिकिसँगको साक्षत्कारबाट उठेको रुमानी सिर्जनाको उभार ।

यो एउटा पक्ष हो सिर्जनाको । पूरा होइन ।

तर, यसबाट सिर्जनको एउटा सिद्धान्त जन्मेर उठ्छ — उदात्त प्रकृति उन्नत सिर्जनको एउटा स्रोत भने अवश्यै पनि हो ।

हो नै ।

यो कुरा त महामुनि वाल्मीकिकै समयदेखि प्रमाणित भएर आएको कुरा हो । केलाउँदै जाने हो भने आधाभन्दा बढी साहित्यिक सिर्जनको स्रोत उदात्त र सुन्दर प्रकृति नै हो ।

यसको ठ्याक्कै विपरीत सर्जकहरूको एउटा विरादरी छ, जो प्राकृतिक सौन्दर्यको अन्तिम किल्ला कटेपछि सिर्जना टिप्छ । अक्करमा । भीरमा । मरुभूमिमा । युद्धले क्षतविक्षत कुरुक्षेत्रमा । लाशहरूमा । कङ्कालमा । धुवाँमा । श्माशानहरूमा ।

हुन त रस–सिद्धान्तमा रौद्र वा विभत्स रसको कुरा इतिहासजत्तिकै पुरानो छ । तर, वीभत्स दृश्यले हत्तपत्त सिर्जना फुराउने कुरोचाहिँ अलि ‘जरा हट के’ नै हो । यस्ता विवरण बृहत्तर काव्यका बीचमा आइपर्ने युद्धलाई समेट्न प्रयोग गरियो होला । इलियडमा, एनियडमा, महाभारतमा वा रामायणमा यस्ता दृश्य अथेष्ठ छन् । तर यिनै दृश्य उक्त काव्यका स्रोत होइनन् । ती घुम्तीमा भेटिएका यात्रु हुन् ।

अँ, एउटा कुरा मान्छु । करूणा छचल्क्याउने वीभत्स वा कारुणित दृश्य काव्यका सिर्जनका स्रोत हुन् । यसमा त धेरै विवादै गर्नु पर्दैन । ‘मा निषाद प्रतिष्ठां त्वमगतः शाश्वतीः समाः’ मात्रै सम्झिए पनि जवाफ पुग्छ ।

तर यो खरानीकै डङ्गुरमाथि काव्य उभ्याउने कुरो ?

आगोकै लप्कामाथि कविता उभ्याउने कला ?

जीवनलाई अँध्यारोको कोणबाट हेर्ने कलाकारिता ?

यसको व्याख्या के हो ?

पश्चिमतिर यसो सुराकी गरियो भने, पूर्ण रूपले ज्वालामाथि नै काव्य उभ्याउने लेखक दाँते हुन् । उनको ‘इन्फर्नो’ को यात्रा गर्नु भनेको करिब करिब नर्ककै यात्रा गर्नु हो । तर, उनी धार्मिक भावनाबाट प्रेरित भएका हुन् । उनको सम्पूर्ण काव्यको बुनोट पाप र पुण्यको, अथवा धर्मशास्त्रमा वर्णित कथित स्वर्ग वा नर्कको सन्दर्भमा हो ।

महेश पौड्याल

यसको अर्थ, दाँतेको ‘इन्फर्नो’ को सिर्जनास्रोत खरानी होइन । त्यो एउटा नैतिक भाषण हो ।

जर्जरताबाटै अभिप्रेरित सिर्जनाका कुरा गर्दा हामीले ‘आधुनिक’ भनेर बुझेको वा जानेको समयमा पुग्नुपर्छ । यसो भनिरहँदा पनि टमस हार्डी अथवा डब्ल्यु बी यिट्सका सिर्जनको पुटमा एउटा धर्म–निर्देशित सुधारवाद छ नै । यो त कस्तो भने, भगवान्को शक्ति उत्घाटित गर्नलाई दैत्यको कल्पना गरेजस्तो ।

यो बेग्लै कुरा भयो ।

अलिकति आधुनिक साहित्यको सुराकी गरौँ है त ।

लेक्चर चैँ नहोस् । भइगयो भने, भइगयो ।

पश्चिमतिर फर्कियौँ भने माक्र्स र नित्सेको मसयसँगसँगै मान्छेले दैविक उपस्थितिमाथि औँलो ठड्याउने कला सिके ।

यसो गरिरहनुको एउटा परिणति के भयो भने, मान्छे आफू र आफ्नो अन्त्यहीन सङ्घर्षमा बाहेक अन्यत्र आफ्नो र आफ्नै जीवनको अर्थ पनि देख्न छोड्यो । सारमा मान्छे ‘अस्तित्ववादी’ भयो । यसैको किनारै किनार मान्छे शून्यवाद, निस्सरतावाद, विसङ्गतिवाद…यस्ता अनेक प्रकारका वादहरूको काखमा पछारिन पुग्यो ।

यी वादहरूको चस्मा नै कस्तो भने— भत्केको घरमा कला उभ्याउने ।

खरानीको डङ्गुरमाथि काव्य उभ्याउने ।

अपाङ्गहरूका अतृप्तिमाथि नाटक उभ्याउने ।

लाशहरूमाथि कथाहरूको ठेली उभ्याउने ।

यो पागलपन थियो?

यो अग्घोर हृदयहीनता थियो?

यो संवेदनाशून्य हुनुको द्योतक थियो?

यो के थियो? यो के हो?

कथा सुनिन्छ नि ! मध्ययुगमा प्लेग लागेर हराजौँ मान्छे मरेछन् । मरेका मान्छेका लुगा सर्वत्र । ती लुगा टिपेर तिनमाथि किताब छापियो रे ।

पूर्वीय शास्त्रमा कतै कतै पाइन्छ — मरेको मान्छेको नलीखुट्टाको यन्त्र बनाएर बजाउँदै हिँडे अरे कोही ।

नलीखुट्टालाई पनि एउटा अर्थको स्रोत मान्ने — यो चानचुने मनस्थिति भने पक्कै पनि होइन ।

मान्छेको खप्परबाट पानी खाएको त कति सुनियो कति ।

यो मनोविज्ञान खोदल्नु जरुरी छ ।

यो हृदयहीनता हो भने, यसबाट सिर्जना फुट्नु सम्भव छँदै छैन ।

होइन भने यो लाश–शास्त्र हो चाहिँ के?

यो टेलिस्कोप नेपाली साहित्यतिर फर्कायौँ भने सरुभक्त देखिन्छन् — समयत्रासदीमा । मलामीमा ।

कथामा कतै मनदमणि दीक्षित देखिन्छन् — ग्यास च्याम्बरको मृत्युमा ।

प्रेमा शाह देखिन्छिन्— पहेँलो गुलाफमा । तर, नारीको कोणबाट पुरुषको सीमान्त कुरूपताले यस कथालाई अलि अर्कै मोड लिएको छ ।

पारिजात? मेरो बुझाइ फरक छ ।

इन्द्रबहादर राई? केही कथामा । उपन्यासमा । दम छ ।

अलिअलि जीवनवादको सुरक्षाकवचभित्र धरावसी देखिन्छन् — गेस्टापोमा ।

ध्रुवचन्द्र गौतम देखिन्छन् ।

रोशन थापा नीरव देखिन्छन् ।

टुक्रा टुक्रालाई जोड्नुभन्दा टुक्रालाई नै एउटा विकल्प देख्ने यो समूह ‘नकारात्मक’ भने पटक्कै होइन । यो ‘जरा हट के’ हो ।

त्यो कसरी?

यसको उत्तर उनीहरूले दिन सक्थे । तर, उनीहरू उत्तर दिने समूह नै होइनन् । उत्तर दिनु भनेको कुनै न कुनै मूल्यविधानमा उभिनु हो । यी सर्जक कुनै पूर्वनिर्धारित मूल्यविधानमा उभिँदैनन् । जे निकाल्नु छ, पाठकले निकालून भन्दिएर निदाउँछन् ।

नपत्याए सोधेर हेर्नुस् त?

अन्तरवार्ता पढ्नू । भाषण सुन्नू ।

जति पानाको अन्तरवार्ता होस्, वा जति लामो भाषण होस् — सारमा आफ्नो मूल्यविधान पटक्कै खोल्दैनन् । खोक्दैनन् । हामी भएको भए…हैट । बोलाऊन् न कसैले ।

नाट्य निर्देशक एलेन स्निडरले एकचोटि बेकेटलाई सोधेछन्— तपाईंको नाटकको गोडो, वास्तवमा को हो?

बेकेटले भनेछन्— ‘मलाई थाहा भएको भए नाटकमै भनिहाल्थेँ नि म ।’

यस्तो छ ताल ।

मान्छे एउटा खुट्टो मसानमा राखेर जन्मेको प्राणी हो भन्ने बेकेटलाई गाँठी कुरो बकाउन कसले सक्ने?

भन्ने कुरा भनेर गए बेकेटले । तर नभनीकन ।

उनको श्मशान–शास्त्रले हल्ला गर्नै परेन ।

कसैले चित्रकलाको बारेमा सोध्दा भन्थे रे— अभिव्यक्त गर्नुपर्ने केही छैन ।

अभिव्यक्त गर्ने माध्यम पनि छैन ।

शक्ति पनि छैन ।

इच्छा पनि छैन ।

भन्नैपर्ने बाध्यता पनि त छैन !

हैट !

हामीलाई चैँ केको बाध्यता होला?

बेकेट कस्ता भने — अर्कैतिरबाट सोच्ने । कताबाट हो कताबाट ।

एकचोटि, झलमल्ल घाम लागेको दिनमा एकजना साथीसँग लण्डनको एउटा पर्कमा घुम्न निस्केछन् । हिँड्दाहिँड्दै निकै प्रसन्न देखिएछन् । साथीले भनेछ— दिन कति रमाइलो, बाँच्ने प्रेरित गर्ने खालको, हागि!

बेकेटले जवाफमा भनेछन्— ‘त्यतिसम्म पनि नभनिहालुँ ।’

झट्ट सुन्दामा कस्ता अक्करे । घोइरे । घोर निराशावादी ।

तर ढुकढुकी छाम्न सकियो भने, जीवनको सबैभन्दा निकट यिनीहरू नै छन् ।

उनको मूलभूत कुरा यो हो — किन सुनकै सपना बाँड्नु खरानीमा उभिएर?

मानौँ कोही गम्भीर रोगले ग्रस्त छ । मृत्युशय्यामै छ । घाम झलमल्ल लाग्यो । अब त्यो घामले बचाउँछ भन्नु सत्यको निकट हो त?

कवि विल्फ्रेड ओवेनले एउटा कविता लेखेका छन् — ‘फ्युटाइलिटी’ । यानि, निरर्थकता ।

कवितामा के छ?

युद्ध मैदान । एउटा सैनिक घाइते छ । करिब करिब मरिसकेकै छ भनौँ न । अर्को सैनिक भन्छ— बाहिर घाममा लैजाऔँ । घामले बचाउँछ कि? धरती फोरेर बिउ उमार्छ, रूख हुर्काउँछु । यस मान्छेलाई कसो नबचाउला?

बचाउँदैन नै ।

यस्तोमा, मानाैँ छन्द कविता लेखियो—

मृतलाई पनि जीवन दिन्छौ दिव्य दिवाकर

तिम्रो आलोकमा हामी सास फेर्छौँ निरन्तर ।

वाह भन्नलाई त हो । तर, पत्याउनलाई?

माथि भनिएका लेखकले वाहवाहीको लोभ नगरेका हुन् । नढाँटेका हुन् । सत्य त कठोर हुन्छ नि— चिहानघारीजस्तै । निष्प्राण हुन्छ नि, खरानीजस्तै ।

प्राण भन्ने एउटा अदृश्य तन्तुले जोडेको जिन्दगी । त्यसै जोडनमा फुलेको हाम्रो अभिमान । अहङ्कार । सपना । लोभ । आकांक्षा ।

गुलिभरको यात्रावर्णन सम्झन्छु । अण्डा यो कोणबाट फुटाउने कि त्यो कोणबाट भन्दा भन्दा युद्ध गर्न उभिएका लिलिपुटवासी — हामी मान्छे । गुलिभरले हेर्दा बौना । हामी बौना ।

हामी बौनाको जीवनको यथार्थचहिँ त्यति लेखिएको छैन साहित्यमा ।

लेखे त यिनैले लेखे । तर, यनिलाई हामीले बुझेनौँ सायद । बुझ्ने कोशिस पनि त्यति गरेनाँै ।

वर्जितजस्तै बनायौँ ।

जीवनको सत्य पनि त्यस्तै डरलाग्दो छ । छैन र?

सधैँ मरेर बाँचेको एउटा मान्छे, यात्रामा निस्कन्छ । मानौँ फेवातालको किनारमा पुग्छ । भावविभोर भएर सौन्दर्यको कविता लेखेर ‘साहित्यिक योगदान’ गर्छ र फर्किन्छ । पढ्न पनि त्यही मनपर्छ । यथार्थ पढ्न त अनुहार छँदै छ नि । त्यहाँबाट केही पृथक पढ्न पो कसैको कविता किन्नु । नियात्रा किन्नु । निबन्ध किन्नु । उपन्यास पनि ।

हो आम पाठकीय सोच हो यो । तर यो यथार्थसम्मत भने पटक्कै छैन ।

उसको ३६४ दिनको जीवन–युद्ध चैँ कतै लेखिएन ।

हो, त्यही त लेखियो ब्याकेटहरूका पानामा ।

सुन्न र बुझ्न, तर, साहस चाहिन्छ ।

सायद त्यो हामीसँग छैन । अथवा, अलि कम छ । कि यति धेरै छ कि, यसको अन्धकारले छेलेर हामी मात्रै होइन हाम्रो साहित्य पनि नदेखिने भएको छ ।

यो विसङ्त लेखनमा चुर्लुम्मै डुबेर पनि उज्यालो देखिने नेपाली लेखकचाहिँ, मलाई लाग्छ, इन्द्रबहादुर राई हुन् । बुझेर हो वा नबुझेर, हामीले उनलाई देख्यौँ । उनका गम्भीर पाठकलाई थाहा छ— उनका रचना पढेर शास्त्रले दिनेजस्तो कुनै गम्भीर नैतिक शिक्षा लिन सकिँदैन । तिनमा अगाडिको कुनै उज्यालो भेटिँदैन । इतिहासको कुनै छुटेको पाटो पनि छैन । कुनै उपदेश पनि छैन ।

त्यसो भए किन इन्द्रबहादुर राई त?

हो, गाँठी कुरा यहीँनिर छ । यहीँ नै ।

बालासन र टिष्टाबीचको भूगोलमा ।

हाम्रो चेतना र अपेक्षाको बीचतिर कतै ।

इन्द्रबहादुर राईले हामीलाई के भन्न खोजे?

मोहनराज शर्माका रचनामा त्यसको आंशिक उत्तर सायद पाइन्छ । ध्रवचन्द्र गौतममा पनि ।

यो अँध्यारो, अर्थहीनता, सङ्गतिविहीनता, झट्ट हेर्दा नैराश्यको साम्राज्यजस्तो लाग्ने भूगोलबाट जीवनलाई हेर्न कम आँटिलो मस्तिष्कबाट सायद सम्भव छैन ।

रोशन थापा नीरवको कथा सङ्ग्रह अएको थियो ‘कोष्ठकभित्र हाँसो’ । त्यसको पक्षमा यस्तो भनिएछ— ‘विसङ्ग पात्रहरूको अनिर्णित वर्तमान र अस्पष्ट भविष्यसँग अन्तरक्रिया गर्ने उनका कथाको केन्द्रमा आजको मान्छे छ, र ऊसँगै लय गुमेको वा अस्थिर बन्न पुगेको उसको जीवन छ । सन्देश प्रस्ट छः थापाका कथा आदर्शवादी दृष्टिकोणबाट गरिने जीवनको व्याख्याका बर्खिलाफ छन् । उनी बहुल स्वभावका बीच आ–आफ्ना अग्रह, शक्ति र सीमा बोकेर जीवनको मैदनामा उभिएका मान्छेहरूका बीचमा बलात कुनै सङ्गति थोपर्नु भन्दा, उनीहरूको विविधता र विसङ्गतिमै जीवनको परिभाषा खोज्ने पक्षमा छन् । आदि, मध्य र अन्त्यको सूत्रबाट पृथक् र लेखकीय घुसपेठबाट पर, थापाका कथा मान्छेको मस्तिष्कका विविधातपूर्ण भावतरङ्गका आख्यानीकृति स्वरूप हुन् ।’

यस्तो पो ।

ए, यस्तो पो?

यो पुस्तक आएको केही समयपछि एकजना वयस्क लेखकले मलाई फोनमा भन्नुभयो, ‘सर, मलाई चैँ मन परेनन् कथा । यस्तो निराशै निराशा पनि हुन्छ?’

प्रश्न करोडको हो ।

उत्तर कहाँ छ? विसङ्गति लेख्ने लेखकले उत्तर दिँदैनन् । उनीहरू उत्तरभन्दा अलि पर, अथवा अलि माथि हुन्छन् । ब्याकेटका सन्तान जो हुन् ।

‘विसङ्गत’ मानिएका थुप्रै लेखक छन् । तिनमा, अचेल बजारमा देखिने दुई खाले ।

खाले १ः

लेखनलाई आफैँले ‘विसङ्गत’ भन्छन् । पाठकले भन्दैनन् । लेखन पेस्टिचजस्तो छ । कोलाजजस्तो । तर जीवन? स्टन्टजस्तो । ऐयासी । प्रयोगशील । सङ्गतिपूर्ण । झकास । उत्साहले भरिएको । कुनै नयाँ ‘भोलि’को खोजीमा मस्त । प्रचारमा मस्त । मिडियावाजी डरलाग्यो । अन्तरवार्ता ।

खाले २ः

लेखनमै जस्तो…सङ्गतिविहीन । पानी परे पनि ठिक । घाम लागे पनि ठिक । हिजो उस्तै । आज उस्तै । पुरस्कार पाए पनि माटो । नपाए पनि माटो । पदोन्नति भए पनि पृथ्वी । नभए पनि पृथ्वी । किताब आए पनि उही । नआए पनि । प्रचार भए पनि उही, नभए पनि उही ।

यतिसम्मको निराशा?

होइन सायद ।

निरपेक्षता चाहिँ हो ।

निरपेक्ष मान्छेले जति जीवनको परख कसैले गर्दैन ।

उसले जति जीवनको परीक्षण पनि कसैले गर्दैन ।

जीवनमा होस वा लेखनमा — निरपेक्ष हुनु असाध्यै गाह्रो छ ।

राजनीतिमा पनि ।

जीवनका जटिल प्रश्नमाथि पोखिन सक्ने मस्तिष्क असंवेनशील हो भन्न सकिँदैन । ऊ लालबुझक्कड पनि होइन । ऊ अज्ञानी पनि होइन ।

यस्तो लेखनको केन्द्रमा केही मूलभूत कुरा छन् ।

हामीले मान्छेका रूपमा बनाएको मूल्यविधानले संसारलाई धेरै नै फे¥यो होला । तर, हामीभित्रको मान्छेलाई कति फे¥यो? हामीभित्रको रिस, राग, ईष्र्या, कुण्ठा, स्वार्थ, मोह, लालसा आदि कहाँबाट कहाँ पुगे? कि त्यहीँ छन्? हामीबाट दुर्वासा कति टाढा? विचित्रवीर्य? ‘कन्फेसन्स’ का अगस्टाइन? मिस्टर फस्टस? म्यक्बेथ? कति टाढा?

लोकलाज, र निर्मित विधानको बादल एक निमेषकै लागि मात्रै पनि हट्ने हो भने हामी के के गर्छौं होला? र के के चैँ गर्दैनौँ होला?

त्यो बादलविहीन संसारको चित्रण विसङ्गत लेखनको ध्येय हो । मैले त्यसलाई राम्रो भनेको पनि होइन, नराम्रो भनेको पनि होइन । तर, त्यो हो । र, त्यो सबैभन्दा ठूलो यथार्थ हो ।

किन बाँचेका छौँ हामी? किन बाँचिरहेका छौँ?

एउटै छ उत्तर, खासमा — भोलि त केही हुन्छ कि?

भोलि त केही हुन्छ कि?

भोलि त केही हुन्छ कि?

नभए, भोलिको भोलि त केही हुन्छ कि?

हाम्रो चिन्तनमा एउटा ‘भोलि त केही हुन्छ कि’ भन्ने मृगमरीचिका नहुनु भने हामी सबै लेमिङ हुन्छौँ — वन, टु, थ्री…गो ! छप्लायङ्ङ ! आत्महत्या ।

राम नाम सत्य हो ।

ब्याकेटको ‘वेटिङ फर गोडो’ त्यही अनामिक आगतको पखाइ हो सायद ।

कुरो गाजेमाजे भयो ।

भएको छैन ।

भए पनि होस् ।

विसङ्गतिको कुरो गाजेमाजे नै हुन्छ ।

बालुवा । डढेलो । कङ्काल । अनिकाल । सुख्खापन । हत्या । आत्महत्या । बेलगाम यौन । नपुंसकता । समलैङ्गिक व्यवहार । जलराशिमा खसेर मरेका प्रेत ।

यस्तै यस्तै त लेखेका हुन् टि.एस इलियटले ‘द वेस्ट लैण्ड’ मा । यस्तै यस्तै लेखनको जगमा नोबेलै जित्नुपर्ने के थियो र?

कुराको अनुहारमा एउटा, भावमा अर्कै ।

लेखकलाई सबै सबै सबैभन्दा कठिन कुरा — सभ्यताभरि मान्छेले बनाएका मूल्यविधानलाई ‘इस’ भन्नु हो । कतिपय साथीहरू भन्लान्— हामीले पनि त भन्यौँ नि — इस !

विद्रोह गर्यौँ ।

क्रन्ति गर्यौँ ।

रूपान्तरण गर्यौँ ।

अग्रगमन गर्यौँ ।

गणतन्त्र । प्रजातन्त्र । लोकतन्त्र ।

जिन्दावाद चैँ लेखिनँ । पाठकले आफैँ पनि लेख्लान्, यति भनेपछि त ।

गर्यौँ । तर, यसो गरिरहँदा कसैले बनाएका अन्य मूल्यको पक्षमा गरेका हौँ । कालो दालले खाएको कचौरोलाई मुसुरोको दालले माझेका हौँ ।

न कालो दाललाई नराम्रो भनिएको हो, न मुसुरोलाई ।

तर, एउटा मूल्यविधानलाई विघटित गरेर, वा प्रश्न गरेर, अर्को मूल्यविधान बनाएको त हो नि । यी तमाम क्रान्ति र अग्रगमनका चेत नवनिर्मित हुन् र?

हजार ग्रन्थ लेखिएका छन्, तिनका सार–सङ्ग्रह गरेर ।

दो मूलभूत प्रश्न तो बनते है ।

१. आवरण त फेरियो । मान्छे फेरियो? छैन । र, मान्छे फेर्ने चँै के?

२. हामीले सकी–नसकी बनाइरहेका नयाँ मूल्यविधानले फेर्छ? ग्यारेन्टी छ?
छैन ।

छैन भने, उः त्यो डाँडापारि उज्यालो छ, चढेर हेर भनेर ढाँट्नुभन्दा, ढाँडापारि पनि सारमा ढाँडावारिजस्तै हो भन्नुमा श्रेय छ । छैन र?

फेवाताल हेरेर बटुलेको आह्लाद त्रिसुलीमा खसेको बस हेरेर वा खबर सुनेर सकिन्छ । कतिञ्जेल? कतिञ्जेल?

त्यसैले, यस्ता ताइँ–न–तुइँ जस्ता लाग्ने लेखनको महान दार्शनिक महत्तव तीन कुरामा छः

पहिलो, यिनले भ्रमको खेती नगरेको राम्रो भन्ने आँट गर्छन् ।

दोस्रो, मान्छेको सबैभन्दा ठूलो यथार्थ उसको नाङ्गोपन हो भन्ने सङ्कते गर्छन् ।

तेस्रो, यिनले तटस्थ र निरपेक्ष हुन सिकाउँछन् । उज्यालोमा छेलिएका ताराको अस्तित्व देखाउँछन् । अँध्यारोमा पनि पृथ्वी उसै गरी घुम्छ र स्रृष्टि उसै गरी चल्छ भन्ने कुराको बोध गराउँछन् । भ्रमको दोहोरीलाई स्थगित गरेर मृत्युगीत पनि गाउने आँट देखाउँछन् ।

अर्थात, यिनले जिन्दगीलाई जस्तो छ, त्यस्तै रूपमा छाम्न सिकाउँछन् ।

म विसङ्गतिवादी साहित्य लेख्दिनँ । त्यति बुझ्दिनँ पनि ।

तपाईंहरूमध्ये धेरैले पनि लेख्नुहुन्न होला ।

तर, यिनलाई सलाम गर्ने आँट त छ । यिनीहरू त्यो लेख्छन्, जसको छेउछाउसम्म पनि पुग्ने आँट हामी धेरै गर्दैनौँ ।

लाश, कङ्काल र हड्डीमाथि उभिएर लेख्नु… यो कल्पनै गर्न पनि सानो आँटले सकिन्नँ ।

नलीखुट्टाको यन्त्र बनाएर बजाउँछन् । पुँ ऽऽऽ

स्थगित समयका साक्षी हुन् यी ।

झुल्कँदो र अस्ताउँदो घामलाई उसै गरी पिइदिन्छन् निरपेक्ष आँखाले ।

हामी सक्छौँ?

सक्छाैँ भने हामीलाई पनि सलाम ।