२०६८ सालको जनगणनाअनुसार नेपालमा १२३ ओटा भाषा बोलिन्थ्यो । यसका साथै त्यतिबेला अन्य र उल्लेख नभएको भाषा पनि थियो । सो वर्षको जनगणनाअनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । त्यसमध्ये नेवार भाषा बोल्नेको सङ्ख्या ८ लाख ४६ हजार ५ सय ५७ थियो । त्यति बेला यो कुल जनसङ्ख्याको ३.२ प्रतिशत हुन्थ्यो । नेपाली, मैथिली, भोजपुरी, थारु र तामाङपछि नेवार भाषी छैठौँ स्थानमा पर्थ्यो ।

२०७८ सालको जनगणनाअनुसार नेपालमा १२४ ओटा भाषा बोलिन्थ्यो । यिनका साथै अन्य र अचिह्नित भाषाभाषी समेत थिए । अहिले नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ । यसमध्ये नेपालभाषा (नेवारी) बोल्नेको सङ्ख्या ८ लाख ६३ हजार ३ सय ८० छ । यो सम्पूर्ण भाषाभाषीको ३ प्रतिशत हुन्छ । नेपाली, मैथिली, भोजपुरी, थारु, तामाङ, बज्जिका र अवधीपछि यो आठौँ स्थानमा पर्छ ।

यहाँ एउटा स्मरणीय तथ्य के छ भने २०६८ सालमा १.३५ रहेको कुल जनसङ्ख्याको वृद्धिदर २०७८ सालमा ०.९२ प्रतिशत छ । अर्थात् यी दुई गणना वर्षमा नेपालको जनसङ्ख्याको वृद्धिदर घट्दो क्रममा छ ।

माथि प्रस्तुत दुई जनगणना वर्षको तुलनात्मक अध्ययन गर्ने हो भने नेपालभाषा (नेवारी) बोल्नेको सङ्ख्या घट्दो क्रममा देखा पर्छ । यस किसिमको तुलनात्मक अध्ययन नेपालमा बोलिने प्रत्येक भाषाभाषीका सन्दर्भमा गर्न सकिन्छ । यद्यपि यहाँ नेपालभाषा (नेवारी); त्यसमा पनि सद्य प्रकाशित दोलखाली नेवारी भाषाको शब्दकोश ‘द्वाल्खा खँकुठि’का बारेमा चर्चा गर्ने सन्दर्भमा माथिको तथ्याङ्क प्रस्तुत गरिएको हो ।

काठमाडौँ उपत्यकालाई केही वर्षअघिसम्म नेपाल भनिन्थ्यो । यहाँ बोलिने भाषा नेपालभाषा कहलिन्थ्यो । यही नेपालभाषा नै काठमाडौँ उपत्यकाका नेवारले बोल्ने नेवारी भाषा हो । यहाँ एउटा स्मरणीय तथ्य के छ भने काठमाडौँ उपत्यकाका अतिरिक्त बाहिर पनि नेवारी भाषा बोलिन्थ्यो र बोलिन्छ । काठमाडौँ उपत्यकाबाहिर बोलिने भाषामा यहीँबाट बसाइँसराइ गरेर गएकाहरूले बोल्ने भाषाको सङ्ख्या ठुलो छ । काठमाडौँ उपत्यका र यहाँबाट बसाइँ सरेर गएकाहरूले बोल्ने भाषाभन्दा भिन्न नेवार भाषा बोल्नेको सङ्ख्या पनि उल्लेख्य मात्रामा छ । भन्नुको अर्थ काठमाडौँको नेवार भाषासँग नमिल्ने नेवार भाषा पनि प्रचलनमा छ । यसको मूल थलो द्वाल्खा अर्थात् दोलखा बजार हो । यो दोलखा बजार अहिले भीमेश्वर नगरपालिकाअन्तर्गत २ नम्बर वडामा पर्छ । दोलखामा बोलिने नेवार भाषा काठमाडौँ उपत्यकाको नेवार भाषाभन्दा बिल्कुल भिन्न छ । त्यहाँका नेवारले बोल्ने नेवारी भाषा उपत्यकाभित्रका नेवारले नबुझ्ने गरेका अनेक प्रसङ्ग अद्यावधि विद्यमान छन् । यसबाट एउटा तथ्य के सिद्ध हुन आउँछ भने नेवार भाषाका दुई रूप छन्, एउटा काठमाडौँ उपत्यका केन्द्रित र अर्को द्वाल्खा अर्थात् दोलखा केन्द्रित ।

दोलखामा प्रचलित नेवार भाषाको उत्पत्तिका सम्बन्धमा पाँच पाण्डवले गुप्तवास बस्दा अरूले नबुझोस् भनी सिर्जना गरिएको भन्ने किंवदन्ती छ । यसका साथै नेपालभाषाका पुराना शब्दहरू दोलखाको नेवार भाषामा जीवित रहेको र पचास प्रतिशत नेपालभाषा दोलखा नेवार भाषामा मिल्दो छ भन्ने मत प्रेम सायमीको छ । उनले ‘दोलखाया नेपालभाषा खँपु मुना’ नामक कृतिमा उपर्युक्त विचार व्यक्त गरेका छन् । यसै गरी ‘नेपालभाषा शब्दकोश’को भूमिकामा नेपालभाषाको पुरानो मौलिक भाषा शब्द दोलखाली नेवार भाषामा अझसम्म जीवित रहेको उल्लेख छ । यसबाट के सिद्ध हुन्छ भन्ने दोलखाको नेवार भाषा काठमाडौँ उपत्यकाको भन्दा जेठो हो । यसर्थ नेवार भाषाको सर्वप्राचीन रूप दोलखाली नेवार भाषालाई मान्न सकिनेमा दुई मत रहेन । यसो हुँदाहुँदै पनि यो भाषा बोल्ने वक्ताको बेग्लै र यकिन तथ्याङ्क उपलब्ध छैन । यद्यपि दोलखा बजारका अतिरिक्त चरीकोट, मलेपु, पिखुतीलगायत सिन्धुपाल्चोकका चौतारा, तौथली, लिस्ती, दुती, जेठल मूलतः यी भाषिक वक्ता बस्ने थलो हुन् । यसअतिरिक्त पछिल्लो समयको द्रूत बसाइँसराइले यो भाषा स्वदेश एवम् विदेशका विभिन्न ठाउँमा यिनका भाषिक वक्तासँगै पुगेको छ ।

दोलखाली नेवार भाषाका सम्बन्धमा विभिन्न अध्ययन अनुसन्धान नभएका होइनन् । भएका छन् । स्वदेश एवम् विदेशका विद्वान्बाट यसका विभिन्न स्वरूपलाई लिएर अध्ययन भएका छन् तर शब्दकोशकै प्रकाशन भने दुर्लभ प्रतीत हुन्छ । यद्यपि प्रेम सायमीबाट २०४३ सालमा केही शब्द सङ्ग्रह भएका छन् । वस्तुतः यो विशुद्ध शब्दकोश होइन । वाक्य प्रयोगसँग गाँसेर गरिएको विश्लेषण हो । यी कुनै पनि अध्ययन अनुसन्धान दोलखाकै नेवार भाषीबाट भएका होइनन् छैनन् । दोलखादेखि बाहिरका विद्वान्को अगुवाइमा भएका हुन् । यद्यपि २०६९ सालमा दोलखाकै नेवार भाषी उपेन्द्र प्रधानको सम्पादकत्वमा ‘द्वाल्खा नेपाल भाषाय खँ कुठि’ शीर्षकमा शब्दकोश प्रकाशन भएको छ । वस्तुतः यो नेपाली भाषाका शब्दको अर्थ दिने क्रममा अङ्ग्रेजीका साथै द्वाल्खा नेपाल भाषालाई पनि यसमा समावेश गरिएको छ । यसैले यो नेपाली भाषालाई केन्द्रमा राखेर तयार गरिएको शब्दकोश हो । शब्द छनोटका लागि भने दोलखाली नेवार भाषामा भएका शब्दको नेपाली रूपलाई प्राथमिकता दिएको भने अवश्य हो ।

उल्लिखित विद्यमान परिस्थितिमा दोलखाकै नेवार भाषालाई केन्द्रमा राखेर दोलखाकै नेवार भाषीबाट शब्दकोश प्रकाशन गर्ने काम भरखरै भएको छ । नेपालभाषा एकेडेमिबाट सद्य प्रकाशित ‘द्वाल्खा खँकुठि’ (वि.सं. २०८२ अर्थात् ने.सं. ११४५) का शब्दकोशकार हुन् ८४ वर्षीय यज्ञकुमार प्रधान । उनकै शब्दमा २०४८ सालदेखि उनले यसका लागि शब्दसङ्ग्रह थालेका थिए । झन्डै साढेतीन दशकको भगीरथ प्रयत्नले उनको यस कार्यले सफलता प्राप्त गरेको छ । उनले नै प्रदान गरेको जानकारीअनुसार यसमा करीब ४ हजार ५ सय शब्द छन् । यी दोलखाली नेवार भाषाका शब्द हुन् । यिनका अर्थ नेपालभाषा, नेपाली र अङ्ग्रेजीमा दिइएका छन् । यसले गर्दा यसमा चौभाषिक सम्मिलन फेला पर्छ । शब्दकोशपछि सर्वनाम र क्रियाको रूपायनका साथै कोटिकर शब्दमा वस्तु, माना, पाथी, शरीर, पैसा, रुपियाँ आदिको गन्तीलगायत दोलखाको साधारण खाद्य पदार्थ, पकाउनुपर्ने अन्न, तरकारी, मसला, फलफूल, फूल जनाउने दोलखाली शब्द र तिनका नेपालभाषा, नेपाली र अङ्ग्रेजीमा अर्थ दिइएका छन् । यसका साथै दोलखाली नेवार भाषामा कुरा गर्दाका केही शब्द, प्रश्नवाचक शब्द, साधारण उत्तर दिने शब्द, १० भन्दा माथिका गन्ती, प्रथम पुरुष, मध्यम पुरुष, आदरार्थी रूप, अन्य पुरुष, अप्राणीवाचक सर्वनामका विभिन्न रूपलाई पनि छुट्टाछुट्टै समूहमा दिइएका छन् । यसबाट दोलखाली नेवार भाषाका शिकारुलाई संवाद गर्न सहज होस् भन्ने उद्देश्य राखिएको बुझ्न सकिन्छ । यसका अतिरिक्त आकाश, ऋतु र अन्य, वाद्यवादनका नामका साथै दोलखा भाषाका उखान टुक्का र दोलखामा प्रचलित स्थानीय गाउँ खाने कथालाई स्थान दिइएको छ । यसबाट दोलखाली नेवार भाषाका शब्दलाई बढीभन्दा बढी वैज्ञानिक र सहज तरिकाले बुझाउन सकियोस् भन्ने उद्देश्य कोशकारको रहेको देखिन्छ ।

आजको समयमा जन्मथलो छाडेर बसाइँ सर्ने क्रमले तीव्रता पाउँदै छ । यसरी बसाइँ सर्दा आफूसँगै भाषालाई पनि लिएर जाने प्रवृत्तिमा प्रायः ह्रास आउँदो छ । जहाँ गइएको हो त्यहाँको भाषालाई चाँडोभन्दा चाँडो ग्रहण गरी समाहित हुन सक्दा नै चामत्कारिक प्रगति सम्भव हुने भएका कारण यस्तो प्रवृत्ति र प्रकृति देखापरेको हो । हो, बरु प्रगति प्राप्त गरिसकेपछि पछाडि फर्केर भाषाको आवश्यकताबोध हुने गरेको छ । तर कतिपय प्रसङ्गमा ढिलो भइसकेको हुन्छ । यसले गर्दा भाषाको सग्लो र सङ्लो रूपको सट्टा पिजिन रूपले जन्म लिइसकेको हुन्छ । यस्तोमा रैथाने भाषाका अनुयायी दिन प्रतिदिन घट्दो क्रममा छन् । रैथाने स्थलमै पनि विभिन्न भाषाभाषीको आगमनका कारण विशुद्ध रूप पाउन गाह्रो हुन थालिसकेको छ । यसले गर्दा एक त बसाइँ सरी जाँदा कुनै पनि भाषाभाषीको सङ्ख्या घट्दो क्रममा देखिन्छ भने रैथाने स्थलमा रहेकाहरू पनि अरू भाषाभाषीबाट प्रभावित हुँदै घट्दो क्रममा छन् । फलतः अधिकांश भाषा लोप हुने सँघारमा उभिएका छन् । यो केवल दोलखाली नेवार भाषीको मात्र एक्लो यथार्थ होइन । प्रायशः भूमण्डलीकृत विश्वका तेस्रो मुलुकका बासिन्दाको साझा र तीतो यथार्थ हो ।

अब प्रश्न उठ्छ, पुर्खाले वर्षौंवर्ष लगाएर सिर्जना गरेको भाषा मास्ने अधिकार उनका सन्ततिलाई छ ? निश्चयतः सबैको उत्तर हुन्छ ‘छैन ।’ तर कुनै पनि भाषाको मौलिक रूपको संरक्षणमा अग्रसर हुने कसले ? यो प्रश्न गर्यो भने सम्भवतः अघि सर्नेको क्रम कम हुन्छ । तिनै कममध्येमा पर्छन् ८४ वर्षीय यज्ञकुमार प्रधान । उनको यस उमेरसम्मको सत्प्रयासस्वरूप जन्मेको दोलखाली नेवार भाषाको शब्दकोश ‘द्वाल्खा खँकुठि’ यसको जिउँदोजाग्दो उदाहरण हो । उनकै अनुसार यसका अधुरा पाटाहरू पूरा गर्ने जिम्मेवारी अब भविष्यका पुस्तामा सुरक्षित छ ।

सन्दर्भ सामग्री

प्रधान, उपेन्द्र (सं.). २०६९. द्वाल्खा नेपाल भाषाय खँ कुठि. द्वाल्खा : द्वाल्खा नेपाल भाषा खलक र ग्रामीण सामुदायिक विकास परिषद् ।

प्रधान, यज्ञकुमार. २०८२. द्वाल्खा खँकुठि. काठमाडौँ : नेपालभाषा एकेडेमी ।

https://censusnepal.cbs.gov.np/results/files/main-part-janaganana/janaganana.pdf

https://giwmscdnone.gov.np/media/app/public/36/posts/1692707982_34.pdf

https://nsonepal.gov.np/content/13366/languagesspokeninnepal/