२०३१ साल मङ्सिर २० गते जन्मिएका स्रष्टा मनिषकुमार शर्मा ‘समित’ले ५० वर्ष अर्थात् अर्धशतक उमेर पूरा गरेकै दिन ‘अर्धशताब्दी’ शीर्षकमा लघुकथा सङ्ग्रह प्रकाशित गरे । संयोग यस्तो रह्यो कि सङ्ग्रहमा सङ्गृहीत लघुकथाको सङ्ख्या पनि अर्धशतक नै जु¥यो । उमेर र सिर्जनाका बिचको यो सम्बन्ध वास्तवमै अनुकरणीय छ । सबैले यसै गरी उमेरसँगै सिर्जनालाई जोड्दै लाने हो भने नेपाली साहित्यको भण्डार निश्चयतः समृद्ध हुने छ नै ।
अचेल लघुरचना लेखनको बाढी आएको छ । यसमा पनि काव्य र कथाका लघुरूप बढी मात्रामा सिर्जित हुँदा छन् । समय र प्रविधिले ल्याएको यो एउटा नौलो कोसेली हो । यसलाई बढीभन्दा बढी प्रभावकारी बनाउन सके उपलब्धिमूलक हुने छ । केवल लेख्नका लागि लेख्नेभन्दा पनि स्तरीय सिर्जना गर्नमा ध्यान जान सके अवश्य पनि प्रशंसनीय कदम हुने छ । यसतर्फ सर्जकको ध्यान जानेमा आशावादी हुन सकिन्छ ।
‘अर्धशताब्दी’मा सङ्गृहीत लघुकथाहरूले विविध विषयवस्तुलाई समेटेका छन् । अध्यात्मदेखि लिएर अत्याधुनिक प्रविधिको उपयोग र प्रयोगलाई स्रष्टा मनिषले लघुकथामा प्रवेश दिएका छन् । यी क्षेत्रमा देखा परेका सकारात्मकभन्दा पनि तिनको नकारात्मक उपयोगमा लागेकालाई लघुकथाकारका तीक्ष्ण दृष्टिकोणले भेदन गरेका छन् । साहित्य, राजनीतिक र समाजले पनि उनका लघुकथामा स्थान पाएका छन् । यसका साथै हामी व्यक्तिभित्रका कतिपय आलोच्य पक्षलाई उनले लघुकथामा उतारेका छन् । लेख्ने विषयवस्तुको लगभग लगभग अभाव रहेका बेला उनले यिनै उपलब्ध विषयवस्तुलाई पनि नवीन ढङ्गले प्रस्तुत गर्ने यत्न गरेका छन् । यसले गर्दा यो केही नौलो दिन खोज्ने उनको प्रयास भएको छ । हामी बाहिरबाट हेर्दा जति सुकिलोमुकिलो देखिन्छौँ वास्तवमै अन्तर्हृदयले त्यति नै स्वच्छ छौँ त ? यस्ता प्रश्नको उठान उनले लघुकथाहरूमा गरेका छन् । हामी नयाँपनको माग त गर्छौं तर कसैले कस्तो हुन्छ नयाँपन भनेर एउटा उदाहरण प्रस्तुत गरिदिन भन्दा हाम्रो बातो बस्छ । साहित्यिक कार्यक्रमहरूमा हुनेगरेको जमघटको प्रवृत्तिगत विश्लेषण प्रस्तुत गर्ने मामलामा पनि स्रष्टा मनिष अग्रणी देखा परेका छन् । आध्यात्मिकताभित्र लुकेको स्वार्थलाई उजागर गर्न पनि उनका लघुकथाहरू पछि परेका छैनन् ।
निरन्तर बढ्दो क्रममा रहेको आपराधिकताको बिब्ल्याँटो प्रतिफललाई उनले खुलस्त ढङ्गले लघुकथामा उतारेका छन् । राजनीतिक स्खलन त झन् झन् वृद्धि हुँदो छ । यो छ एउटा तर यसको रूप छ अनेक । भेउ पाउनै नसकिने गरी राजनीतिक क्षेत्रमा देखा पर्दै गरेको असङ्गत र विसङ्गत परिस्थितिलाई लघुकथाकारले भेटेसम्म उजागर गरेका छन् । चुनावी आश्वासनमा रमाउने नेता, कामभन्दा ओठे जबाफ फर्काउन सिपालु मौलाउँदो राजनीतिक वृत्ति, विकृत नीति लागु गर्न खप्पिस राजनेता, कमिसनमा चुर्लुम्म डुबेका अगस्ति प्रवृत्तिका हन्तकाले उच्च पदस्थ राजनीतिज्ञ, विषाक्त मानसिकता र दृष्टिदोषयुक्त व्यवहार आदि यी लघुकथामा देखा पर्छन् । मानव निर्मित प्रविधिका कारणले जन्मिएका समस्यालाई पनि उनका लघुकथाले देखाएका छन् । यसका साथै केही थोरै मात्रामा बालमनोविज्ञानले उनका लघुकथामा प्रकटित हुने अवसर पाएका छन् । यहाँ एउटा उल्लेख गर्नै पर्ने विषय भनेको अन्तरलिङ्गीको बेथा हो । यो एउटै व्यक्तिभित्र अन्तर्निहित रहने द्वैलिङ्गिकता हो । यसले उनको लघुकथामा प्रवेश पाएको छ । यसरी विविध विषयको प्रस्तुतिको सङ्गृहीत रूप बनेको छ मनिषको लघुकथासङ्ग्रह ‘अर्धशताब्दी’ ।
केही लघुकथामा लघुकथाकारले केवल समस्या मात्र प्रस्तुत गरेका छैनन्, तिनको दण्डात्मक समाधान पनि पेस गरेका छन् । विशेषतः ज्येष्ठ नागरिकका गैरजिम्मेवार सन्तानका हकमा यस्ता डन्डा बर्सेका छन् । उनका यी लघुकथाहरू पढ्दा लाग्छ, सर्जक अध्ययनशील र चिन्तनशील छन् । सिर्जनाका तहमा केही पृथक् र नवीन पदचिह्न निर्माणमा लागिरहेका छन् । लेखनको आफ्नै एउटा फरक परिवेशको निर्माण र त्यसैमा आफूलाई समाविष्ट गर्दै छन् । यसैले हुनुपर्छ, अप्रचलित र विशेषतः तत्सम शब्दको प्रयोगमा मोह देखा पर्छ । निजी विम्बको प्रयुक्तिसाथ निर्मित गूढार्थयुक्त लघुकथाले सामान्यभन्दा पनि बौद्धिक पाठकको माग गर्छ । यसले गर्दा सहज र स्वाभाविक सिर्जना अवकुण्ठित भएर कताकति कृत्रिमतातिर अभिमुख भएको हो कि जस्तो लाग्छ । व्युत्पन्न शब्दको प्रयोगमा बढी सहज अनुभूत गर्ने लघुकथाकार झर्रा शब्द पनि प्रयोग गरेर पाठकलाई तर्सिनबाट जोगाउन खोज्छन् । यति हुँदाहुँदै पनि केही लघुकथामा देखा पर्ने खुला समापन अर्थात् ओपन इन्डिङले पाठकलाई नै निर्णयको अभिभारा प्रदान गरेको छ । यद्यपि सर्जक र पाठकका बीचको समापनमा सामानजस्य देखा पर्ने सम्भावना अधिक देखा पर्छ । अन्ततः सिर्जनाका क्षेत्रमा केही फरक गरेर देखाउने चाहना एवम् प्रस्तुतिको सहज लेखनका बीच तारतम्य मिलाउन सके प्रयत्न फलदायी साबित हुनेमा विश्वास गर्न सकिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।