ध्रुवराजा थापा ‘पुरुष’को सपनाको पहाड (लघुकथासङ्ग्रह) लाई निम्नलिखित आधारमा विश्लेषण गर्ने प्रयास गरिन्छ ।

विचलनयुक्त लघुकथा

विचलनलाई ‘आफू हिँडेको प्रचलित बाटो छाडेर अर्को ठाउँमा पुग्ने प्रक्रिया, बाटो बिराउने काम, विपथन’ आदि रूपमा बृहत् नेपाली शब्दकोशले अर्थ्याएको छ । विपथन अर्थात् निर्धारित बाटोभन्दा यताउति लाग्ने कामले बाटो बिराउनुलाई जनाउँछ । हिँडिरहेको बाटोभन्दा फरक बाटो हिँड्नु नै विचलन हो । जीवन र समाजको वस्तुस्थिति जस्तो हुनुपर्ने हो त्यस्तो भइरहेको छैन । यसले बाटो बिराएको अवस्था छ । कतिपय सन्दर्भमा त यसले ठिक उल्टो गति समाएको छ । यही ‘नहुनुपर्ने भइरहेको, बाटो बिराएको, उल्टो गति समाएको’ आदि अवस्थालाई साहित्यिक सन्दर्भमा देखाउने प्रचलन छ । जीवन र समाजमा विद्यमान विचलनलाई साहित्यका विभिन्न विधामार्फत देखाइने गरिएको सन्दर्भमा ‘पुरुष’का उल्लिखित सपनाको पहाडमा समाविष्ट तपसिलका विचलनलाई रेखाङ्कन गर्ने प्रयास गरिन्छ ।

क) शासकीय विचलन :  यस कोटीमा पर्ने लघुकथाहरूमा ‘अख्तियार, प्राथमिकता, अचाक्ली, फुपूको श्राद्ध, तीज, चेक, महाजात्रा, अबिरजात्रा’ आदि हुन् । ‘अख्तियार’मा दण्डित हुनुपर्नेलाई पुरस्कृत गरेर भ्रष्टाचारलाई मलजल गर्ने प्रशासकीय निकम्मापनलाई देखाइएको छ । चोरलाई चौतारो र साधुलाई सुली चढाउने प्रकारको भ्रष्ट प्रशासकीय संयन्त्र यसमा प्रस्तुत छ । ‘प्राथमिकता’मा सडक यातायातमा आवश्यकताका आधारमा भन्दा पनि पदीय आधारमा प्राथमिकता तोक्ने विचलनयुक्त प्रशासकीय चरित्रलाई उदाङ्ग पारिएको छ । यहाँ नियमको विचलन प्रस्तुत छ । ‘अचाक्ली’मा राष्ट्र र राष्ट्रियताप्रति असहिष्णु रहेको प्रहरी प्रशासनलाई प्रस्तुत गरिएको छ । प्रशासकीय फजुल खर्चलाई प्रस्तुत गर्ने ‘फुपूको श्राद्ध’मा नाम र कामका बीचको बेमेलको स्थितिलाई देखाइएको छ । नाम अग्रगामी तर कामचाहिँ पश्चगामी रहेको र उल्टो बाटो हिँडी विपर्यासजन्य कृत्यलाई प्राथमिकतामा राख्ने गरेको विडम्बनाजन्य परिस्थिति प्रस्तुत छ । ‘तीज’ स्थानीय सरकारको फजुल खर्चलाई प्रस्तुत गर्ने लघुकथा हो । यसमा संस्कृतिका नाममा स्थानीय तहले गर्ने गरेको स्रोत र साधनको दुरुपयोगलाई दर्साउने काम गरिएको छ । तीज मनाउन ठूलो रकमको बजेट विनियोजन गरेर स्थानीय तहले बालुवामा पानी खन्याइरहेको वस्तुस्थिति यसमा छ । उच्च पदस्थले नियम मान्नुपर्ने तर सो नभएको स्थितिलाई ‘चेक’मा प्रस्तुत गरिएको छ । ‘महाजात्रा’मा सरकारमा रहेका स्थानीय तहरूका बीच समन्वयको अभावका कारण निर्णय फेरिइरहने प्रशासकीय अकर्ममण्यतालाई विषय बनाइएको छ । ‘अबिरजात्रा’मा सरकारबाटै हत्यारालाई आम माफी दिएको देखाएर प्रशासकीय गैरन्यायिक रूपको प्रदर्शन गरिएको छ । यसमा सरकारको न्यायिक विचलनको रूप देख्न सकिन्छ ।

ख) नैतिक विचलन : ‘आदर्श, पुरुषत्व, चक्मा, छटेल, लुट, नाटक, ट्राफिक, अबिरजात्रा, निर्बुद्धि’ आदि कथाले नैतिक विचलनलाई उजागर गरेका छन् । यीमध्ये आदर्श भाषण गर्ने व्यक्तिको अनादर्श चरित्रलाई ‘आदर्श’ले प्रकटमा ल्याएको छ । यसमा नारीप्रति सम्मानित भाषण दिने व्यक्तिको नारीलाई नै शोषण गर्ने सामन्ती चरित्रलाई उद्घाटन गरिएको छ । यसका साथै उसको बलात्कारी चरित्रलाई सतहमा ल्याएको छ । ‘पुरुषत्व’मा पुरुष अहम्मा ठेस पुर्याएर लैङ्गिक समानताको परीक्षण गरिएको छ । ‘चक्मा’मा एउटाले अर्कालाई झुक्याउने विषयवस्तु प्रस्तुत छ । ‘छटेल’ले भविष्यको ठग राजनीतिज्ञको सम्भावनालाई व्यक्त गरेको छ । प्रारम्भमा यौनिक रूप प्रदान गर्दै गलत विज्ञापनका कारण उपभोक्ता ठगिँदै गरेको विषयलाई ‘लुट’मा उठाइएको छ । मध्य भागबाट भने लघुकथालाई उद्देश्य केन्द्रित बनाइएको छ । जसका नाममा दिवस मनाइएको हो उनीहरूचाहिँ पीडितको पीडित रहने तर जसले दिवस मनाएका हुन् उनीहरूचाहिँ तारे होटलमा कार्यक्रम आयोजना गरेर नाटक प्रदर्शन गर्छन् । यस्ताको अनुहारमा लगाइएको मखुन्डोलाई ‘नाटक’मा उतारेर देखाइएको छ । लागु पदार्थ सेवन गरेबापत कारबाहीमा परी सेचतना कार्यक्रममा ट्राफिकको भूमिका निर्वाह गर्नुपरेको विषयलाई ‘ट्राफिक’मा उठान गरिएको छ । ‘निर्बुद्धि’मा मानिसमा रहेको ध्वंसात्मक प्रवृत्तिलाई पशुमार्फत प्रकट गरिएको छ ।

ग) प्रेमिल विचलन : ‘प्रेमालाप र प्रेमपत्र’ गरी दुईओटा लघुकथामा प्रेमको विचलित रूपलाई देख्न सकिन्छ । ‘प्रेमालाप’मा एक फूल दुई मालीको आधुनिक प्रेमी र प्रेमिकालाई देखाइएको छ भने ‘प्रेमपत्र’मा आफ्नो प्रतिस्थापनमा अर्को उन्नत वस्तु आएपछि प्रतिस्थापितका तर्फबाट लेखिएको गुनासोलाई प्रस्तुत गरिएको छ । यसमा मानवभन्दा पनि मानवेतर पात्र स्कुटीका तर्फबाट स्कुटी धनीलाई प्रेमिल भाषामा पत्र लेखिएको छ । यो मानवेतर वस्तुलाई मानवीकरण गरिएको लघुकथा हो ।

(घ) लैङ्गिक विचलन : लैङ्गिक विचलनलाई प्रस्तुत गर्ने एक मात्र ‘ट्याटू’मा महिलालाई ब्ल्याकमेल गरी गलत फाइदा उठाउन खोज्ने पुरुष र यसका लागि सहज अवसर उपलब्ध गराउने किशोरीको कथा छ ।

ङ) सांस्कृतिक विचलन : ‘टीका र जमरा, विश्व रेकर्ड, सोमबारे औंसी, विकृति, धर्म’ आदि लघुकथाले हाम्रा समाजमा अद्यापि विद्यमान सांस्कृतिक विचलनलाई देखाएका छन् । यीमध्ये ‘टीका र जमरा’मा संस्कृति सिकाउने नाममा अचेलका शैक्षिक संस्थाले कुसमयमा विविविधानरहित विकृति फैलाउँदै गएको विषयलाई उठाइएको छ । ‘विश्व रेकर्ड’मा पुर्खाले वीरताको इतिहास बनाए तर हामीले बढी बिदा दिएर विश्व रेकर्ड कायम गर्यौँ । यस किसिमको सांस्कृतिक विचलनले राष्ट्रलाई अल्छी बनाउँदै छ । ‘सोमबारे औँसी’मा कसैसँग नबोली नुहाउनुपर्ने संस्कारका कारण ढिला भएको विषयलाई उठाइएको छ । ‘विकृति’मा होली, तीज र असार १५ जस्ता पर्वका विषयमा पछिल्ला पुस्तामा विचलनयुक्त छाप पर्दै गएको विषय उठाइएको छ । ‘धर्म’मा बली दिएर गरिने धर्मप्रति विरोध जनाइएको छ ।

ङ) शैक्षिक विचलन : वर्तमानमा शिक्षा क्षेत्र पनि विचलनमुक्त रहन नसकेको स्थिति ‘पुरुष’का केही लघुकथामा छन् । यस्ता लघुकथामध्ये ‘पत्रुखाना’मा भन्ने एउटा गर्ने अर्को प्रकारको शैक्षिक गतिविधिलाई देखाइएको छ । शिक्षकले विद्यार्थीलाई जङ्क फुड नखान भन्ने तर आफै यस्ता खाद्य पदार्थ सेवन गर्ने गरेको यथार्थ यस लघुकथामा प्रकटित छ । ‘गुरु सम्मान’मा कम नम्बर दिने गुरुलाई जुत्ताको माला लगाइदिएर र कालो मोसो दलेर गरिएको सम्मान छ । यसमा शैक्षिक विचलनलाई प्रस्तुत गरेर व्यङ्ग्यात्मकता ध्वनित गराइएको छ ।

च) यौनिक विचलन : ‘रूप’मा पुरुषको भ्रमर चरित्रलाई देखाइएको छ । यसमा घरमा श्रीमतीलाई ढाँटेर सुन्दरी युवतीसँग पल्केको श्रीमान्को कथा छ ।

छ) राजनीतिक विचलन : ‘सुगर फ्री’मा राष्ट्रिय समस्याको समाधानभन्दा पनि त्यसबाट पलायन रोज्ने राजनीतिक विचलन छ । कुनै कुरोको अभावलाई आपूर्तिद्वारा समाधान होइन कि आवश्यकतै नहुने भनी जबाफका लागि जबाफ दिने प्रवृत्ति विकसित हुँदो छ । टाउको दुख्यो भने टाउको नै काट्ने जस्तो विचलन यसमा छ । चिनीको अभाव पूर्ति गर्न राष्ट्रलाई नै सुगर फ्रि घोषणा गर्ने जस्ता कुतर्क पेस गर्ने राजनीतिज्ञलाई यस लघुकथामा देखाइएको छ ।

ज) वचनको विचलन : ‘पशुवध’मा कथनी र करनीको भिन्नतालाई उजागर गरिएको छ । ‘विश्वासघात’मा भन्ने एउटा तर गर्ने अर्को मानवीय स्वभाव प्रस्तुत छ । राजनीतिक विचलन द्योतन गर्न खोजेको भाव यस लघुकथामा आउँछ । ‘विडम्बना’मा बौद्धिक चोरी गर्ने व्यक्तिले नै यससम्बन्धी लेख लेखेर विद्वता प्रदर्शन गरिरहेको देखाइएको छ । ‘अर्ती’मा डाक्टरले बिरामीलाई रक्सी नखान भन्ने तर आफै चुरोट खाने गरेको घटनालाई देखाएर भन्ने एउटा गर्ने अर्को रूपलाई देखाइएको छ । ‘भुसप्रसाद’मा कथनी र करनी भिन्न भएको साहित्यकारको चरित्रलाई प्रस्तुत गरिएको छ ।

झ) दायित्व विचलन : ‘पीडा’मा अभिभावकप्रति कर्तव्यविमुख सन्तानका कारण उत्पन्न पीडालाई देखाइएको छ । यसमा ज्येष्ठ नागरिकको वेदना प्रस्तुत छ ।

ञ) चारित्रिक विचलन : ‘उचित सम्मान’ व्यङ्ग्यात्मक छ । सम्मानित व्यवहार प्रदर्शन नगर्ने भ्रष्ट राजनीतिज्ञलाई पशुलाई पूजा गरिने दिनमा सम्मान गर्ने भनेपछि लघुकथाले नाटकीय मोड लिन्छ । यसमा व्यङ्ग्यात्मकता सशक्त छ । भ्रष्टको सम्मान चाहने चरित्रलाई समुचित रूपमा पेस गरिएको छ ।

ट) सोचको विचलन : ‘गर्भाधान’मा पतिको अभावमा पत्नीको गर्भउपर शङ्का प्रकट गरिने सामाजिक संस्कारका पृष्ठभूमिमा प्रविधिले गर्दा यो सम्भव हुने कथ्य प्रस्तुत गरिएको छ ।  ‘दृष्टिकोण’मा महिलामा रहने पुरुषप्रतिको नकारात्मक दृष्टिलाई प्रस्तुत गरिएको छ । यसमा पुरुषले महिलालाई केवल सौन्दर्यका दृष्टिले मात्र हेर्छन् भन्ने सोचको खोलुवा गरिएको छ । यही गलत सोचका कारण आफ्नो सौन्दर्यसँगै उदाङ्ग भइरहेको कुरूपताबाट अनभिज्ञ रहन्छन् भन्ने कथ्य यस लघुकथामा प्रस्तुत छ । ‘आसन ग्रहण’मा मानसम्मान खोज्ने र आम सर्वसाधारण हुन नचाहने सोचको विचलनलाई प्रस्तुत गरिएको छ । ‘चोर समाज’मा सन्तान हुनै पर्ने सोचले असामाजिक गतिविधि गर्न उत्प्रेरित गराएको विषयलाई उठाइएको छ । ‘देखासिकी’मा अरूको नक्कल गर्ने मानवीय मनोविज्ञान प्रकटित छ । ‘अजासु’मा आफैलाई जान्नेसुन्ने ठान्ने र अरूको कर्मलाई महत्त्व नदिने मानवीय स्वभावलाई उतारिएको छ । ‘सोच’मा आश्रम भनेको केवल साधुसन्त र वृद्धवृद्धाका लागि मात्र हो भन्ने सोचको विचलनलाई प्रस्तुत गरिएको छ । यहाँ आश्रमलाई साहित्यिक विमर्श गर्ने थलोका रूपमा विकसित गरिएको छ ।

ठ) संज्ञानको विचलन : ‘श्रद्धाञ्जली’मा शाब्दिक द्वैअर्थकताका कारण उत्पन्न भ्रमलाई प्रस्तुत गरेर प्रचलित अर्थका साथै अन्य अर्थ पनि रहने विषय प्रस्तुत छ । श्रद्धाञ्जली केवल मृत व्यक्तिका लागि मात्र प्रकट गरिने  शब्द नभई सम्मानित व्यक्तिका लागि पनि उपयोग गरिने शब्द हो भन्ने खुलासा गरिएको छ । आकस्मिक सुरुआत र सहज समाधान प्रस्तुत गरिएको लघुकथा हो यो ।

ड) मानसिक (साहित्यिक) : ‘कुतूहल’ले मानसिक विचलनलाई देखाएको छ । समालोचकको आलोचनापछि मानसिक रूपले विक्षिप्त बनेको साहित्यकारको विचलित क्रियाकलाप यसमा प्रस्तुत छ । ‘यन्त्र मस्तिष्क’मा मौलिक लेखनबाट भन्दा कृत्रिम बौद्धिकतामार्फत साहित्यकार बन्दै गरेको युवाको वास्तविकतालाई प्रकट रूपमा ल्याइएको छ ।

विचलनमुक्त लघुकथा

‘एक मुट्ठी तोरी’मा शब्दको शाब्दिक अर्थभन्दा पनि त्यसले प्रकट गर्ने ध्वनित अर्थ गहन हुन्छ भन्ने कथ्य प्रस्तुत छ । यसमा विलचनभन्दा पनि बुझाइको कमजोरी देखा पर्छ । ‘मिथ्याभास’मा अनुहार मिलेकाहरूमध्ये एकको उपस्थितिलाई अर्कोको उपस्थिति ठानी झुक्किएको विषय प्रस्तुत छ ।

प्रस्तुतिको पृथकता

क) यौनिक प्रारम्भ गैरयौनिक समापन भएका लघुकथा

‘रहस्य’मा वाइफाइको पासवर्ड मागेको विषयलाई यौनिक जामा पहिर्याउँदै लेखेर रहस्यात्मक अन्त्य प्रदान गरिएको छ । यसमा अन्त्यमा मात्र रहस्य खुल्छ । फरक कोणबाट औत्सुक्य सिर्जना गरेर सामान्य विषयमा पुर्याई लघुकथालाई समापन दिने शैलीलाई यसमा अङ्गीकार गरिएको छ । ‘लुट’ यौनिक संवादमार्फत प्रारम्भ गरिएको छ । लघुकथाको मध्यविन्दुतिर पुग्दा उद्देश्य केन्द्रित बनाउँदै अन्त्यमा गलत विज्ञापनका कारण उपभोक्ता ठगिँदै गरेको विषयलाई उठान गरिएको छ ।

ख) द्वैअर्थी रहस्यात्मक समापनयुक्त लघुकथा

लोग्ने र स्वास्नीका बीचको झगडालाई ‘अशान्ति’मा देखाउँदै शान्ति ल्याएका कारण अशान्ति भएको रहेछ भनिएको छ । यो समापनले शान्ति (दोस्री श्रीमती) ल्याएको कारणले अशान्ति मच्चिएको हो कि शान्ति (अमनचैन) ल्याएकोले अशान्ति मच्चिएको हो भन्ने द्वैअर्थी रहस्यात्मक समापन प्रदान गरेको छ ।

ग) यौनिक आकर्षण विकर्षित समापनयुक्त लघुकथा

विपरीत लिङ्गी यौनिक आकर्षणले डोरिएर जाँदा समलिङ्गी भएको रहस्योदघाटन ‘झट्का’मा हुन्छ । यससँगै लघुकथालाई समापन प्रदान गरिएको छ ।

सामान्य

‘चटक, विडम्बना, दुखेसो, संघर्ष, अर्ती, लज्जाबोध, सोमबारे औँसी, अजासु, ज्याद्रो’ आदिलाई सामान्य लघुकथाको कोटीमा राख्न सकिन्छ । ‘चटक’ आकस्मिक सुरुआत तर सामान्य समापनसहित सकिएको लघुकथा हो । ‘विडम्बना’मा विवरणात्मकता छ । यसमा कथात्मकतालाई प्रवेश दिन थाँती राखिएजस्तो बुझिन्छ । ‘दुखेसो’मा सहिदको सपनाका विपरीत भएका कार्यहरूप्रति दुखेसो पोखिएको छ । ‘संघर्ष’मा शारीरिक अस्वस्थतासँग पौँठेजोरी खेलिरहेको विषयलाई यौनिक विम्ब प्रदान गरिएको छ । ‘अर्ती’मा यसअघि नै विभिन्न माध्यमबाट उपयोग भइसकेको ढाँचा र शैलीलाई अङ्गीकार गरिएको छ । भारतमा नेपाली भाषामा नबोली टुटेफुटेको हिन्दीमा बोल्दाको लज्जाबोध ‘लज्जाबोध’मा छ । ‘सोमबारे औंसी’मा परम्परागत विषय नै प्रस्तुत छ । ‘अजासु’मा आफैलाई जान्नेसुन्ने मान्ने घमन्ड छ भने जानी जानी धुम्रपान गर्नेलाई ‘ज्याद्रो’मा ठाउँ दिइएको छ ।

प्रविधि केन्द्रित

‘क्यू.आर.’ प्रविधिकेन्द्रित लघुकथा हो । यसले प्रविधि प्रयोगलाई बढावा दिने विषयवस्तुको उठान गरेको छ । नयाँ पुस्ता अब लेनदेनको परम्परागत तरिकाभन्दा प्रविधि केन्द्रित हुन चाहन्छन् भन्ने कुरा यसमा छ ।

व्यङ्ग्यात्मकता ध्वनित हुने लघुकथा

‘उचित सम्मान, दृष्टिकोण, ‘निर्बुद्धि, गुरु सम्मान’ आदि शीर्षकका लघुकथामा व्यङ्ग्यात्मकता ध्वनित भएको छ । यसकारण यी अन्यका तुलनामा सशक्त लाग्छन् । यिनको सङ्गठन सशक्त देखा पर्छ । यी चोटिला र पोटिला दुवै छन् । यिनमा औत्सुक्यताले क्रमशः उचाइको यात्रा तय गरेको छ र विश्रान्तिमा व्यङ्ग्यात्मकता ध्वनित भएको छ ।

मानवेतर पात्र प्रयोग

‘प्रेमपत्र, अस्तित्व, जिन्दावाद’ आदि लघुकथामा मानवीय पात्रका बदलामा मानवेतर पात्र प्रयोग भएका छन् । पहिलोमा स्कुटी र दोस्रोमा रानीपोखरी र घण्टाघर पात्र रूपमा आएका छन् । यी दुवै जीव नभई निर्जीव हुन् । यिनका विपरीत ‘जिन्दावाद’मा मानवेतर पात्र प्रयोग त भएको छ तर ती जीव हुन्, चराचुरुङ्गी एवम् लोखर्के । ‘स्कुटी’मा स्कुटीको प्रतिस्थापनमा आएको चारपाङ्ग्रेका कारण आफू ओझेलमा पर्दै गएको प्रेमिल गुनासो छ । ‘अस्तित्व’मा अस्तित्वको सङ्कट भोगिरहेका रानीपोखरी र घण्टाघरका बीचको संवाद छ । यसमासङ्कटमा परेको घण्टाघरको अस्तित्वलाई प्रकट गरिएको छ । लघुकथाकारको कल्पनाशीलता यसमा देखा पर्छ । एकतामा शक्ति हुन्छ भन्ने स्थापित कथ्यलाई पुनर्पुष्टि गर्न ‘जिन्दावाद’ लेखिएको छ । यी बाहेकका लघुकथामा मानवीय पात्र नै प्रयोग भएका छन् । तिनको भिडबाट ‘पुरुष’का लघुकथा बचेका छन् ।

भाषिक प्रसङ्ग

सामान्य भाषिक गठनमा अघिकांश लघुकथा लेखिएका छन् । तिनमा यदाकदा उखानटुक्काको प्रयोग गरिँदा भाषा चखिलो र चम्किलो बन्न मद्दत पुगेको छ । यसै पनि जुनसुकै लेखनमा उखानटुक्काको यथास्थान प्रयोगले भाषामा सौन्दर्य उत्पन्न हुन्छ । यस्ता उदाहरण ‘पुरुष’का लघुकथा लेखनमा पाइन्छन् । जस्तै लुटको धन फुपूको श्राद्ध (फुपूको श्राद्ध), कान थापेर (विश्वासघात) आदि आदि । अप्रचलित शब्द प्रयोग कम छ तर शीर्षकमै भेटिन्छ (अजासु) । यसै गरी संवादका क्रममा कथ्य नेपालीको प्रयोग गरिएको पनि भेटिन्छ । यिनले स्थानीयतालाई प्रकटमा ल्याउँछन् । जस्तै : आइजोन यार (प्रेमालाप) ।

केही अनुत्तरित प्रश्नहरू

क) व्याकरणिक विचलन : यसअन्तर्गत वर्णविन्यासीय र पदक्रम विचलनलाई अगाडि सार्न सकिन्छ । उसो त नेपाली भाषाको लेखनमा निर्विवाद मानक वर्णविन्यासीय नियमको अभाव छ । यसर्थ बहुविध वर्णविन्यासीय नियम अद्यापि प्रचलनमा छ । यसले गर्दा पनि नेपाली भाषाको लेखनमा एकरूपता भेट्न मुस्किल पर्छ । अन्योल विद्यमान छ । यद्यपि ‘पुरुष’को लेखनमा केही वर्णविन्यासीय विचलनलाई सङ्केत गर्न सकिन्छ । उदाहरणका लागि ‘अँ साँच्ची’लाई  ‘पुरुषत्व, तीज’ आदि लघुकथामा विस्मयादिबोधकका रूपमा प्रयोग गरिएको छ तर लेखन क्रियाविशेषण वा विशेषण पाराको छ । यसै गरी ‘अबिरजात्रा’मा पदक्रमिक विचलनलाई यहाँ नमुनाका रूपमा सङ्केत गर्न सकिन्छ । यसमा प्रयुक्त ‘बेसरी छोरीलाई अँगालो’ कि ‘छोरीलाई बेसरी अँगालो’ भनी प्रश्न गर्ने ठाउँ बाँकी रहन्छ ।

ख) प्रसङ्ग विलचन : अप्रासाङ्गिक प्रसङ्गहरूको गठजोडले लघुकथाको खुकुलोपनलाई प्रस्तुत गरेको बोध हुन्छ । ‘अचाक्ली’मा यस्ता प्रसङ्गेतर प्रसङ्गहरूको सम्मिलन देख्न सकिन्छ ।

ग) शब्दप्रयोग : केही शब्द प्रयोगले अन्योल उत्पन्न गराउँछन् । जस्तो कि स्थानीय तहमा आउने सरकारी बजेटलाई लुटको धन भन्न मिल्ला र ? यो प्रशासकीय फजुल खर्ची र बजेटको दुरुपयोग हो कि त ? (फुपूको श्राद्ध) जानी जानी धुम्रपान गर्नेलाई ज्याद्रो (अटेरी, कठोर, साह्रो, जिराहा, परिश्रमी) भन्ने कि अम्मली ? यस्ता द्विविधा बाँकी रहन्छन् ।

घ) चामत्कारिक समापन प्रस्तुत गर्ने प्रयोजनका लागि एक्कासि फरक पृष्ठभूमिको सन्दर्भलाई प्रवेश दिँदा पाठकीय सन्तुष्टिभन्दा पनि अनौठो अनुभूति हुने सम्भावना प्रबल रहन्छ । ‘आदर्श’मा सामन्तीलाई अन्त्यमा एक्कासि बलात्कारी रूपमा प्रस्तुत गरिन्छ । यसका लागि यहाँ पृष्ठभूमि सिर्जना गर्दै गएको भए हुन्थ्यो कि ?

ङ) समुचित समापनको आवश्यकताबोध केही लघुकथामा देखा पर्छ । उदाहरणका लागि ‘चक्मा’ पाठकीय औत्सुक्यता जगाउन सक्षम छ तर त्यसको समुचित समापन आवश्यक छ । यो नहुँदा पाठक अन्योलमा छाडिन सक्छ । यसले गर्दा झुटो सूचना दिएर अरूलाई छक्याई आफूले फाइदा लिन हुन्छ भन्ने सन्देश प्रवाहित हुन सक्छ । साहित्यमा सकारात्मकताको अपेक्षामा यसले क्षति पुर्याउन सक्छ । ‘पशुवध’मा पशुवध गर्न हुँदैन भन्नेको मांशाहार चरित्रलाई उदाङ्ग पारिएको छ । यहाँ बलीप्रथाको विरोध गर्ने तर यातना दिएर पशुवध गर्नु महापाप हो भन्ने जस्ता विरोधाभाषी कुरो लघुकथामा परेका छन् । यसबाट यातना नदिई पशुवध गर्न हुन्छ भन्ने स्वर ध्वनित हुन्छ कि ?

‘पुरुष’को लघुकथा लेखन प्रशंसनीय छ । उनले सामान्यभन्दा व्यङ्ग्यात्मकता ध्वनित हुने सङ्गठित लेखनमा आफूलाई साधनाशील बनाउने हो भने उनीबाट धेरै आशा गर्न सकिन्छ । यसका साथै सम्पादनमा ध्यान पुर्याउन जरुरी छ । अरू कुरो विकसित हुँदै जालान् । अन्त्यमा पचासको दशकदेखि यस क्षेत्रमा सक्रिय रहेर स्वयम्को जन्मोत्सवको ५८ औँ वर्षमा पहाडको सपना निकाल्नु प्रेरणाप्रद छ । जन्मोत्सव मनाउने यो विधिले सिर्जनाको क्षेत्र अझ सुवासित हुने छ ।