साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई लामो समयदेखि साहित्यिक पत्रकारिता र साहित्य लेखनमा सक्रिय वरिष्ठ साहित्यकार धीरकुमार श्रेष्ठद्वारा लेखिएको स्रष्टापरक समालोचनात्मक कृति “नेपाली साहित्यकाशमा हेमचन्द्र पोखरेल” प्राप्त भएकाे छ ।

प्रस्तुत पुस्तक हेमचन्द्र पोखरेकको जीवनी तथा व्यक्तित्व  र कृतित्वमा आधारित  छ ।

प्रथम परिच्छेद ‘व्यक्ति’मा पोखरेलको जन्म र बाल्यकाल, घर र घरायसी साथै जीवन दर्शन र पेसा बारे उल्लेख गरिएको छ भने द्वितीय परिच्छेद ‘कृति’ र तृतीय परिच्छेद ‘मूल्याङ्कन’मा हेमचन्द्रका निजी स्वभाव, प्रवृत्ति र व्यक्तित्व र उनले के कस्ता साहित्यिक कृति लेखे र ती कस्ता छन् भनी विवेचना गरिएको छ ।

प्रा. डा. गोविन्दराज भट्टराई लेख्छन्, “धीर भाइको यो कृतिको उद्देश्य ता एम. ए स्तरीय शोधको पूर्णता थियो । यस पालि अत्यन्तै गरिहो गरी पढेपछि लाग्यो हेमचन्द्र गुरुलाई छुनुपर्ने सम्पूर्ण तत्त्व र पक्ष यसमा समावेश रहेछन् । अरू धेरै भन्नु लेख्नुपर्दा अब ता उहाँको कृति पढेर तिनको विस्तारका प्रक्रिया मात्र बाँकी रहलान् तर उहाँलाई चिन्ने चिनाउने मूल कुरा यिनै हुन् ।”

“प्रस्तुत पुस्तक प्रकाशनको विषयसँगै स्मृतिको मेरो पुरानो ग्रन्थबाट धीरकुमार सतहमा उत्रिए । कुनै समयमा पढेर थन्क्याएको रुचिकर किताबजस्तो । न त कतैबाट हाम्रा नातेदार न त धनकुटासँग उनको कुनै पुर्ख्यौली रगत न त मेरा बुबाको प्रत्यक्ष विद्यार्थी । यो विविधताको अपवाद कुनै अदृश्य शक्तिले मेरा बुबासँग जोडिएका धीरकुमार ।” भारती गौतम लेख्छिन्, “यसै अर्थले पदेन धीरकुमार मेरो परचक्री भएनन् । मैले पढ्ने अवसर नपाएका मेरा बुबाको व्यक्तित्वका गहन पक्षहरूभित्र पौडिन सक्षम धीरकुमारलाई मेरो हृदयले टाढा देख्ने कुरै भएन । बाकै चेतनाले सायद हामीलाई भावनाको एउटै गुच्छामा समेट्यो ।”

पुस्तकलाई समकालीन साहित्य प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । १ सय २३ पृष्ठमा फैलिएको यस पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।