जीवनमा सिकाइ चलिरहन्छ । जीवन प्रारम्भ भएदेखि अन्त्य नभएसम्मको निरन्तरको क्रम हो यो । यसका लागि उपयुक्त पात्रहरूसँग भेट भइरहन्छन् । एउटा जान्छ अर्को आउँछ । यो प्रकृतिको नियम हो । जीवनमा यिनीहरूले कुनै न कुनै कुरो कुनै कुनै तवरले सिकाइरहेका छन् । कति सिकाइ जानकारीबिना भइरहेका हुन्छन् । कति सिकाइ जानकारीमा आउँछन् र तिनले अनुभव तथा अनुभूतिका माध्यमबाट अभिव्यक्तिने अवसर पाउँछन् । केवल यस्ता सिकाइलाई पर्यवेक्षण गर्न सक्ने दृष्टि आवश्यक पर्छ । यसो भयो भने सिकाइ देखाउन लायक हुन्छ ।
यस्तै देखाउन लायक सिकाइ लिएर आएका छन् ज्ञानेन्द्रराज काफ्लेले नौला शिक्षकहरू (२०८१) मार्फत् । यसमा स्वदेशदेखि विदेशका भूमिमा भेट भएका पात्रहरूले काफ्लेलाई केही न केही सिकाइरहेका छन् । तिनै सिकाइलाई आख्यानीकृत गरेर प्रस्तुत गरेका हुन् यिनले यस कृतिमा । केन्द्रीय पात्रीकृत रूपमा नायकलाई लामो आख्यानमा प्रस्तुत गरे पनि कतिपय सन्दर्भमा काफ्ले आफै पनि समाहित भएका छन् । यिनको आफ्नै अनुभव र अनुभूति पनि नायकमा घुलनशील रूपमा प्रस्तुत छ । यो स्विकारोक्ति स्वयम् काफ्लेको हो । स्वदेश, परदेश र पुनः स्वदेशको स्थानिक परिवेश एवम् २०४६ सालपूर्व र पश्चात्को समयविन्दुमा अभिलिखित नौला शिक्षकहरू जीवनको सारलाई दार्शनिक एवम् बौद्धिक रूपमा प्रस्तुत गर्न उद्दत छ । जीवन अडबाङ्गे छ । यसले मानिसलाई सिकाउँछ । यो सिकाइ जन्मदेखि मृत्युसम्म जारी रहन्छ । जगत् मिथ्या र भ्रमयुक्त छ । यद्यपि बाँच्नका लागि सङ्घर्ष अपरिहार्य छ । जीवन मृगतृष्णायुक्त भए पनि यसलाई सुखपूर्वक जिउने यत्न हुनुपर्छ । यस्ता जीवनदर्शन यस कृतिका केन्द्रीय स्वर हुन् । यसदेखि बाहेक पनि अनेकौँ जीवनदर्शन र वैचारिकताहरू छन् । यसले गर्दा लाग्छ यो वैचारिक शृङ्खलाहरूको दस्तावेज हो । साहित्यलाई सर्वाधिक महत्त्व प्रदान गर्दै स्वदेशलाई यसको भण्डारका रूपमा प्रस्तुत गरिएको छ ।
लक्ष्मीप्रसाद देवकोटाले ‘के नेपाल सानो छ ?’ मा वाग्नर कोदालो खनिरहेछन्, शेक्सपियर हलो जोत्दा हुन, टर्नर भेडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान् भनेझैँ काफ्ले पनि नेपालमै राजनेता, दार्शनिक, कवि, कलाकारहरू यहीँ गाउँमा छरिएर बसेको पाउँछन् । यसै गरी काफ्लेको नौला शिक्षकहरूमा नायक र नायिकाका बीचको प्रेमसम्बन्ध पढ्दै गर्दा लैनसिंह वाङ्देलको माइतघरको सम्झना हुन्छ । माइतघरमा दाजुबहिनीको सामाजिक नाताभित्र हुर्किरहेको प्रेमीप्रेमिकाका बीचको सम्बन्ध वियोगमा गएर टुङ्गिन्छ । यहाँ संयोगमा टुङ्गिन्छ । फरक यति छ ।
पात्रबहुल रूपमा अभिलिखित कृति जीवनीपरक देखा पर्छ । केन्द्रीय पात्रको आत्मन्यास त छँदै छ । यसका साथै यसमा प्रयुक्त कतिपय पात्रका जीवनी सङ्क्षिप्त रूपमा एकपछि अर्को गर्दै आउँछन् र तिनले पूर्णता प्राप्त नगर्दै बिचैमा टुङ्गिन्छन् पनि । यिनै पात्रहरू नै वास्तवमा कुनै न कुनै रूपका शिक्षक अर्थात् गुरु हुन् । किनभने तिनले जीवनको एउटा न एउटा दिशानिर्देश गर्छन् । सात खण्डमा खण्डीकृत कृतिमा पहिलो र अन्तिममा आख्यानकार स्वयम् देखा पर्छन् भने बाँकी खण्डमा केन्द्रीय पात्रको आत्मवृत्तान्तलाई वर्णनात्मक रूपमा प्रस्तुत गरिएको छ । आख्यानको गति देख्दा पहाडी भिरपाखा छिचोलिसकेर समथर मैदानमा पुगेको नदी जसरी स्थिर, गम्भीर र भलादमी पाराले अघि बढ्छ उसै गरी यो आख्यान अगाडि बढेको छ । चुनौति उपस्थित गर्ने द्वन्द्वको अभाव छ । तनावले पनि गम्भीर समस्या उत्पन्न गरेको छैन ।
खलपात्रीयताको प्रवेश नाम मात्रको छ । त्यसले विस्तृति प्राप्त गर्न सकेको छैन । यसको प्रारम्भ र अन्त्य लगभग सँगसँगै भएको छ । विदेशी भूमिमा बस्न आवश्यक पर्ने अनुमति प्राप्त गर्न एकपछि अर्कोसँग विवाह गरेकीसँग कागजी विवाह गरी यातनापूर्वक बस्न बाध्य हुनुपर्दाको कष्टजन्य परिस्थितिका कारण द्वन्द्वजन्य परिवेशले कृतिमा प्रवेश पाएको त छ । तर यस प्रसङ्गले आवश्यक आयतन प्राप्त गर्न सकेको छैन । यद्यपि स्वदेश एवम् विदेशका कतिपय प्रसङ्गका सन्दर्भमा प्रस्तुत तर्कशील अभिव्यक्तिले पाठकलाई सोचनीय अवस्थासम्म पुर्याउँछ । देशीय र ग्रामीण एवम् शहरी भिन्नतालाई प्रस्तुत गर्ने सन्दर्भको तुलनीयता भने यस कृतिमा प्रस्तुत छ ।
यिनै कतिपय कारणले गर्दा यस कृतिको विधानिर्धारणमा एकरूपता देखा पर्दैन । कृतिकार कथान्यास भन्छन् । भूमिकाकार आख्यान भन्न रुचाउँछन् । कृतिको प्रारम्भमै कृतिकार पाठकलाई दैनिकी पढ्ने आग्रह गर्छन् । कृतिभित्रै प्रवेश गर्दा भने निबन्ध, संस्मरण, दैनिकी, प्रतिवेदन, आत्मन्यास, कविता, लोककाव्य आदिका विविध रूप फेला पर्छन् । एउटै कृतिभित्र यतिविधि विधागत उपस्थिति देख्दा भने सहजै बोध हुन्छ, यहाँ विधामिश्रण छ । अन्तर्विधात्मक मिश्रणको समन्वित रूप हो यो कृति । यद्यपि कृतिको प्रारम्भदेखि अन्त्यसम्म आख्यानको अस्तित्व कुनै न कुनै रूपमा जीवन्त छ । यसर्थ आख्यानकै कोटीमा राख्नु समीचीन हुन्छ । बरु यसभित्र समाविष्ट बहुल पात्र र तिनका फरक फरक आख्यानका कारण केन्द्रीकृत आख्यानका साथै ती प्रत्येकबाट एक एकओटा कृति निर्माण हुन सक्छ । यही कारण यसलाई महाआख्यान भन्दा पनि युक्तिसङ्गत हुन्छ ।
यी आदि सबलताका अतिरिक्त शुद्धाशुद्धि र व्याकरणका कतिपय नियमको अनुपालना बेला कुबेला ठाउँ कुठाउँ खट्किन्छन् । लेखनमा रागात्मकताले प्रवेश पाएको भए कृतिको पठनमा प्रवाह कायम हुन्थ्यो भन्ने लागिरहन्छ । आख्यान भनिए पनि आख्यानीकरणले पूर्णता पाउन सकेको भए कृति अझ दमदार हुने थियो । द्वन्द्व विकास र त्यसको समुचित व्यवस्थापनका प्रयत्नतर्फ अग्रसर भएको भए कृतिमा औत्सुक्य सिर्जना भएर आकर्षण थपिने थियो । ठाउँ ठाउँका पुनरुक्तिउपर कुचो लगाउन सके कृतिको आँगन सफा चम्किन्थ्यो । यद्यपि कृति प्रकाशन र सार्वजनिक गर्नकै लागि विदेशदेखि स्वदेशको भूमिमा पाइला टेक्न आउनुले साहित्यिक पर्यटनको ढोका उघारिदिएको तथ्य सम्झन लायक छ । यसका साथै कृतिकारको कृति निर्माण र प्रकाशनको प्रयत्न प्रशंसनीय छ । आगामी दिनमा अब्बल कृति निर्माण हुन अवश्य पनि यसले आधारभूमि प्रदान गर्ने नै छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
३१ जेष्ठ २०८३, आईतवार 









