‘मिसामी’ द्वाल्खा (दोलखाली) नेवार भाषाको शब्द हो । यसको अर्थ हुन्छ ‘स्वास्नीमान्छे’ । लेखन र प्रदर्शनको झन्डै आधा शताब्दीपछि मिसामी र स्वास्नीमान्छे शीर्षकमा द्वाल्खाली नेवार भाषा र नेपाली भाषामा नाट्य कृति प्रकाशित छ । २०३० सालको दशैंमा दोलखा बजारमा द्वाल्खाली नेवारी भाषामा लेखिएर मञ्चन गरिएको नाटक इतिहासको गर्भमा झन्डैझन्डै विलुप्त हुन लागेको थियो । त्यो भरखरै २०८१ सालमा प्रकाशित छ । यो एक किसिमले इतिहासको अन्धकूपमा करिब करिब हराइसकेको भानुभक्तलाई युवाकवि मोतीराम भट्टले त्यहाँबाट निकाली उज्यालो प्रदान गरेजस्तै हो ।

नाटककारकै शब्दमा २०३० सालमा दोलखा बजारमा प्रदर्शन भएको मिसामी द्वाल्खाली नेवार भाषाको दोस्रो नाटक हो । त्यसभन्दा अघि २०२२ सालमा मञ्जु शीर्षकको नाटक प्रदर्शन भएको थियो । यसका नाटककारको नाम कतै उल्लेख छैन । यसैले द्वाल्खाली नेवार भाषामा लेखिएर दोलखाकै माटोमा प्रदर्शन भएको नाटकमा पहिलो मञ्जु र दोस्रो मिसामी हो । यो यसकारण महत्त्वपूर्ण छ कि नेपालमा बोलिने सबै भाषा नेपाली र नेपालको भाषा हो । यो हामी सबैको सम्पत्ति हो । यसैले जुनसुकै भाषामा लेखिए पनि त्यसलाई जोगाउने साझा दायित्व हाम्रो हो ।

द्वाल्खाली नेवार भाषा दोलखा बजारका अतिरिक्त सिन्धुपाल्चोकको तौथली, काभ्रेको लिस्ती र दुतीमा बोलिन्छ । सीमित भाषिक वक्ताका बिच प्रचलित यो भाषा काठमाडौँ उपत्यकाको नेवार भाषाभन्दा सर्वथा भिन्न छ । दुवैले एकअर्काको भाषा बुझ्दैनन् । केही शब्दमा आंशिक समानता देखिए पनि पूरापूर बुझ्न मुस्किल छ । एउटै जातिको भाषामा यस्तो भिन्नता कसरी देखा पर्यो यो छुट्टै अध्ययनको विषय हो । भौगोलिक दुरी एउटा कारण हुन सक्छ । तर यो मात्रै मुख्य कारण हुन सक्तैन । किनभने काठमाडौं उपत्यकाबाट निकै टाढाटाढा पुगेका नेवारको भाषामा सीमित स्थानीय प्रभावका अतिरिक्त धेरै समानता भेटिन्छ । यस्तो कुनै समानता द्वाल्खालीसँग काठमाडौंको नेवार भाषाको देखिन्न । यसैले यसको महत्त्व खास छ ।

द्वाल्खाली नेवार भाषाको साहित्य सम्पन्न छ । दुःखलाग्दो के मात्र हो भने सम्पन्न साहित्यको अभिलिखित र मुद्रित रूप कमै फेला पर्छ । भएका पनि छरिएर रहेका छन् । कृतिगत स्वरूप प्राप्त गर्ने अवसर कमैले प्राप्त गरेका छन् । यसैले लेखन र प्रदर्शनको आधा शताब्दीपछि भए पनि छापिएर मिसामीले इतिहासलाई संरक्षण गरेको छ । त्यसमा पनि यसले द्वाल्खाली नेवार र नेपाली गरी द्वैभाषिकतालाई अँगालेकोले दुवै भाषाका पाठकको पठन आवश्यकतालाई यसले हृदयङ्गम गरेको छ । यो यसको अर्को खास विशेषता हो । यसले गर्दा यसको पाठकको दायरा सीमितबाट असीमित भएको छ ।

मिसामी अर्थात् स्वास्नीमान्छेले प्रस्तुत गरेको विषय सामाजिक छ । यो समाज दोलखा बजारवरपरकै हो । यहींको सामाजिक यथार्थलाई प्रस्तुत गर्दै नाटकलाई आदर्शमा पुर्याएर विश्रान्ति दिइएको छ । यो प्रवृत्ति कथाकार गुरुप्रसाद मैनालीले कथामा प्रस्तुत गरेजस्तै हो ।

सासू, बुहारी र छोराको त्रिकोणात्मक द्वन्द्वमा नाटक संरचित छ । सासूले बुहारी, त्यसमा पनि निःसन्तान बुहारी नसहने । यसैको पीडामा बुहारी बुहार्तन खप्न बाध्य छे । सासू सौतेनी हो तर द्वन्द्वको कारण यो होइन । यसको प्रभाव आमाछोराको व्यवहारमा देखिंदैन । केवल आफ्ना कुरा मनाउन सौतेनी नाताको सन्दर्भलाई अगाडि सारिएको छ । यो एक किसिमले सौतेनी नाताको दुहाई दिएर भावनात्मक रूपले छोरालाई ब्ल्याकमेल गर्न खोजिएको जस्तो मात्र देखिन्छ ।

छोरा आमाको आज्ञाकारी छ । सौतेनी भए पनि आमालाई वंश निरन्तरताको चिन्ता छ । यसका लागि उनी बुहारीउपर सौता हाल्न खोज्ने तर छोरा नमान्ने । सासू र बुहारीको द्वन्द्वले छोरामा विचलन देखा पर्ने र बुहारीले घर छाड्ने । एकातिर आमाछोराको बेहाल हुँदै गर्दा अर्कोतिर जुन कारणले बुहारीले घर छाड्नुपरेको हो, त्यही आवश्यकता बुहारीले छोरा पाएर पूरा भइसकेको हुने । यति हुँदाहुँदै पनि द्वन्द्व समाधानतिर नगएर झन्डै झन्डै दुर्घटनामा पुग्न लागिसकेको हुन्छ । यस्तैमा आमामा सद्बुद्धि पलाएर पश्चात्ताप गर्दा सबैको पुनर्मिलन हुने अवस्थामा नाटक टुङ्गिन्छ ।

नाटकको वस्तु सामान्य र यथार्थपरक छ । यो अहिले पनि समसामयिक छ । यसले प्रस्तुत गरेको समस्या सार्वजनिन र सार्वकालिक छ । सीमित पात्रको प्रयोग गरेर प्रायशः संवादमार्फत अधिकांश घटनालाई प्रस्तुत गरिएको छ । यो यसकारण स्वाभाविक लाग्छ किनभने यो त्यतिबेला लेखिएको नाटक हो जतिबेला न त नाट्य मञ्चनका लागि अहिलेको जस्तो स्रोत, साधन र प्रविधिको सुविधा थियो न त महिला पात्रको भूमिका महिलाले नै गर्न सक्ने अवस्था थियो । दुर्गममा जति गरियो त्यो नै पर्याप्त थियो । अतः यसलाई अहिलेको सुविधासम्पन्न दृष्टिले हेरेर न्याय गर्न सकिन्न ।

यसर्थ मिसामीका नाटककार प्रा.डा. श्याम प्रधान र प्रकाशक प्रा.डा.इ. हरिदर्शन श्रेष्ठ धन्यवादका पात्र छन् । उहाँहरूको कृत्य सर्वाधिक स्तुत्य छ । यद्यपि नेपाली भाषामा प्रस्तुत स्वास्नीमान्छेको भाषा सम्पादनमा ध्यान दिन सकेको भए फूलको सौन्दर्यमा सुगन्ध थपिन्थ्यो भन्ने चाहना भने संवरण गर्न सकिएन । भविष्यमा यसको अभावपूर्ति हुने नै छ भन्नेमा द्विविधा छैन ।