मनिषकुमार शर्मा

ब्राह्मण पुत्र ऊ । पढ्न तेज । डक्टर पढ्ने ठूलो रहर थियो । भारीमात्राको चन्दा मागले उसको रहर बाधक भयो । सरकारी जागिर खान टुप्पी कसेर पढ्यो । यहाँ समावेसी बाधक भयो । बल्ल बल्ल प्राइभेट जागिर पायो । यहाँ चाप्लुसी बाधक भयो । चाप्लुसी गर्न जानेन, पछि पर्‍यो । ऊसरह र ऊभन्दा तलका माथिल्लो पदमा पुगे । बिहान बेलुकै उसले प्रणाम गर्नु पर्ने । मनले मानेन, जागिर छडिदियो ।

नयाँ सोच बनायो र आफ्नै व्यवसाय गर्न उत्सुक भयो र थोरबहुत पैसा जोहो गरेर सुरु पनि गर्यो, अब भूकम्प बाधक भयो । उसले व्यवसाय राखेको घर व्यवसायसहित जमिनमा भासियो । तैपनि हिम्मत हारेन अर्को व्यवसाय सुरु गर्यो, फेरि नाकाबन्दी बाधक भयो । अझ हिम्मत टुटेन, जेनतेन ४-५ वर्ष व्यवसाय चलायो ।

अब उसको हिम्मत टुटेको छ । उसको कारोबारमा कोरोना बाधक बनिदियो । विगत पाँच महिनायता उसले राम्ररी व्यवसाय सञ्चालन गर्न सकेको छैन । केही सीप लागेन, व्यवसाय बेच्ने तरखरमा लाग्यो ।

सुन्दैछु, आज उसले पुरानै पेसा अपनाउँदैछ- पितापुर्खाको पेसा । कर्मकाण्डको किताब घोक्दै छ । किताब घोक्दै ऊ सोच्दै छ, “ मेरो यो पेसामा अब केही पनि बाधक हुने छैन ।”

ठिमी, भक्तपुर