
यतिखेर डा. गोविन्दराज भट्टराईलाई म एक दृष्टान्तमा पढ्दैछु । नेपाली वाङ्मयमा नवोदित मान्यता स्थापित गर्न उनले निकै सङ्घर्ष गरे । विशेषतः समीक्षा समालोचनाका क्षेत्रमा नयाँ सिद्धान्त ल्याउन खूबै चुनौती भोगे । उत्तरआधुनिकताका विषयमा लेख्दा, बोल्दा— धेरै कठिनाइ उनले सामना गरे ।
त्यसो त यस्ता कठिनाइहरू समय समयमा अग्रगामी स्वरहरूले सामना गर्नैपर्ने हुन्छ । पृथ्वी निरन्तर गतिशील छ भनेकै कारण ग्यालिलियोले दण्ड भोग्नु परेको थियो । अपमान सहनु परेको थियो । अज्ञानताको भुमरी उनीमाथि त्यसरी आक्रामक भएको थियो ।
त्यसरी आक्रामक हुन्छ भनेर हामी समाजसँग डराउनु हुँदैन । डराएर नवीनता देख्न छोड्नु हुँदैन । जेहोस् मानिससँग एउटा हिम्मत चाहिन्छ । अहिले त्यही हिम्मत निकालेर विशिष्ट समालोचक गोविन्दराज भट्टराईको पुस्तकमाथि म केही लेख्दैछु । स्वयं समालोचकको कृति माथि बोल्नु कति कठिन कुरा छ । परन्तु मलाई कठिनता स्वीकार्य छ । कठिनतासँग म भाग्ने गर्दिनँ । आफूलाई लागेको कुरा व्यक्त गर्न किन भाग्नु ? हरेकका आआफ्ना बुझाइ हुन्छन् भने आफ्नो बुझाइसँग किन कसको डर ?
अहिले स्रष्टा तथा द्रष्टा व्यक्तित्व भट्टराईका बारेमा बोल्नु मेरो लेखन अभिप्राय होइन । त्यसो त उनको साहित्यिक व्यक्तित्वका सन्दर्भमा केही लेख्न बुझ्न कम्तीमा एक वर्ष त उनलाई अध्ययन गर्नै लाग्छ । नेपाली वाङ्मयमा उनको त्याग भनौँ या समर्पण जे भनौँ त्यो ठूलो छ । अघिल्लो पुस्ता र पछिल्लो पुस्ताबीचको दूरी हटाउन— एक सेतुको भूमिका उनले निर्वाह गर्दै आएका छन् । नयाँ पुस्तालाई आफू सँगसँगै हिँडाउने, दिशा निर्देश गर्ने अभियानमा उनी छन् । अघोषित अभियानमा । उनले गरेको दिशा निर्देशमा— साहित्यको अनुयायी हुनेहरूमध्ये म पनि एक हुँ । सम्भवतः लाग्छ उनको मार्ग निर्देशन नपाएको भए मलाई साहित्यको विषयमा थोरै पनि ज्ञान हुने थिएन ।
म अहिले भट्टराईको पछिल्लो नियात्रा कृति ‘नयाँ भूटानको छाँया चित्र’को प्रसङ्गमा छु । उनका उपन्यास, निबन्ध तथा नियात्रा, सिद्धान्त तथा समालोचना, कविता कृति अनि त्यस्तै नेपाली र अङ्ग्रेजीमा अनूदित, सम्पादित गरी असीवटा कृति पाठक माझ आइसकेका छन् । त्यस्तै प्रकाशोन्मुख कृति एक दर्जनभन्दा केही बढी रहेका छन् ।
सरकारको चरम अत्याचार तथा अमानवता भोगेका भूटानी नेपाली । पुनर्वासको क्रममा विभिन्न मुलुक पुगेका छन् । तिनै पुनर्वासित भूटानीको साहित्यिक निमन्त्रणामा लेखक भट्टराई अमेरिका पुगेका छन् । त्यहाँ साहित्य परिषद् भूटानद्वारा आयोजित एक अन्तर्राष्ट्रिय सम्मलेनसँगै— ‘जीवीएलो’को कार्यक्रममा ‘की–नोट स्पिकर’का रूपमा उनी निमन्त्रित छन् । त्यस उद्देश्यले उनी अमेरिका पुगेका छन् । त्यस्तै देश विदेशका अन्य सम्मानित व्यक्तित्वहरू त्यहाँ निम्त्याइएका छन् ।
यसरी अमेरिकामा निर्मित यनाँ भूटानको जनजीवनसँग निकट भएर गरिएको यात्रा हुँदा कृतिको नाम नै ‘नयाँ भूटानको छाँया चित्र’ राखिएको छ । वास्तवमा यस कृतिलाई नियात्राका दृष्टिले मात्र हेरियो भने यथोचित न्याय दिन सकिने छैन । यदि पाठक वैचारिक भएन भने यसमा खाएको, हिँडेको, बसेको अनि विभिन्न ठाउँहरूको दृश्य बाहेक अरू कुरा देख्ने छैन । यसको लेखन ध्येय त्यति मात्र होइन । विद्यमान समयको वैश्विक चेत यसमा प्रमुख भएर आएको छ । परन्तु पाठकले त्यसलाई ठम्याउन सक्नुपर्छ । नठम्याउँदा उसले फेरि त्यस्तो केही पाउने छैन । आफ्नो बौद्धिकता अनुसार उसले कृतिको अर्थ लगाउने छ । आखिर कृतिको प्रधान लक्ष्य त भाषा, साहित्य, कला, संस्कृतिको मूल्य बोध गराउनु रहेको छ । यसलाई भाषिक, साहित्यिक, सांस्कृतिक यात्राको रूपमा हेर्न सकिन्छ ।
अहिले जगत् अत्यन्तै अस्थिर हुँदै गएको छ । आजको मानिस अस्थानिक हुँदैछ । टाइम र स्पेश खुम्चिएर एकै विन्दुमा संयोजन भएको बेला छ— जहाँ पुग्दा पनि उसलाई उक्त ठाउँ जगत्को केन्द्रविन्दु लाग्न थालेको छ अर्थात् केन्द्रविन्दु हराएको छ । विकेन्द्रीकृत हुँदैछ । उता परादेशीय तथा पराराष्ट्रिय समाज निर्माण हुँदैछ । डायास्पोरिक गतिविधि तथा साइबर संस्कृतिले मानिस प्रतिदिन वैश्विक हुँदैछ । उसको उपस्थिति सर्वव्यापी हुन लागेको छ । डा. भट्टराईले यी यस्ता कुरालाई कृतिमा विशेष ख्याल दिएका छन् । आफ्नो कार्यपत्रमा यिनै कुरा उल्लेख गरेका छन् । उनको यात्रा डायरीमा नेपाली जाति खुशी हुनका लागि केही उल्लेख्य कुराहरू रहेका छन् ।
यतिखेर विद्यमान अवस्थिति अर्कै छ । विश्व समुदायसँगै नेपाली जातिको चरित्र प्रतिदिन बदलिँदैछ । सम्भ्रान्त मुलुकको नागरिकजस्तै गरी नेपाली जाति पनि अब वैश्विकरण हुँदैछ ।
आफ्नो पहिचानको लागि सचेत हुँदा, नागरिक हकहित तथा स्वतन्त्रताको पक्षमा उभिँदा भूटानी नेपालीले जस्तो अपमान भोग्नु पर्यो, जस्तो उपेक्षा सहनु पर्यो अनि शरणार्थी हुनु पर्यो, त्यसको कहिल्यै हिसाबकिताब हुन सक्दैन । त्यसको क्षतिपूर्ति कुनै तवरले हुन सक्दैन । तर पनि पुनर्वास पश्चात् भूटानी नेपाली विश्वव्यापी भएको देख्दा केही राहत अनुभूति हुन्छ । रहरले होइन बाध्यताले डायास्पोरिक भएका उनीहरू केवल डायास्पोरा शब्दले सम्बोधित हुन सक्ने छैनन् । त्यस्तो सम्बोधनमा उनीहरू अटाउन सक्दैनन् । डबल डायास्पोरिक जीवन भोगेका उनीहरूलाई बुझ्न—हामीले ग्लोबल डायास्पोराको अवधारणा थाहा पाएको हुनुपर्छ । अनि भिक्टिम डायास्पारोको पनि ज्ञान हुनुपर्छ । तब मात्र उनीहरूको सम्बोधन पूर्ण हुनेछ । डा. भट्टराईको कृति पढेपछि म यिनै यस्तै धेरै कुरासँग अवगत हुँदैछु । अब यस्ता नवीन कुरासँग विदित नभई विद्यमान विश्वलाई जान्न सकिने पनि त छैन !
शिविरको कष्टकर जीवन भोगेर सम्पन्न मुलुक पुगेका भूटानी नेपालीको सङ्घर्ष आज पनि त्यही पहिचानको निम्ति भइरहेको छ । समृद्धि तथा सुखी जीवन भन्दा पनि उनीहरूका लागि अस्तित्वको समर मूल्यवान छ । त्यसैको निम्ति उनीहरू सङ्घर्षरत छन् ।
भाषा, साहित्य, संस्कृतिप्रति भूटानी नेपालीको त्याग र समर्पण कति विशाल अनि कति प्रबल ! म त्यसलाई शब्दमा व्यक्त गर्न असमर्थ छु । जीवित हुनलाई प्राणको जति मूल्य छ त्यस्तै मूल्य उनीहरूको अस्तित्वको खोजमा छ । यस्तो लाग्छ साँच्चै नेपाली जाति भएर अहिले कोही बाँचिरहेको छ भने त्यही भूटानी नेपाली बाँचिरहेको छ । स्रष्टा भट्टराईको कृति पढ्दा पटक–पटक त्यस जातिप्रति म नतमस्तक भइरहेँ । श्रद्धानत भइरहेँ ।
कृतज्ञ हुन जान्नु पनि एक महत्त्वपूर्ण कला रहेछ । जीवनमा नभई नहुने कला । डा. भट्टराईको पुस्तकमा त्यो कला ठाउँ ठाउँमै भेटिन्छ । भूटानी नेपालीको आतिथ्यमा उनी एकदम आभारी छन् ।
अमेरिकाको दुई महीने बसाइमा लेखक दम्पतिले भूटानी नेपालीको सुख, दुःखमा सहभागी हुने मौका पाएको छ । निकट रही त्यस जीवनलाई जान्ने अवसर पाएको छ ।
डा. भट्टराईले अमेरिकी भूटानी नेपालीको साहित्यिक, सांस्कृतिक, आर्थिक, राजनैतिक, धार्मिक तथा मनोवैज्ञानिक जीवनलाई आफूले बुझेसम्मको देखाउने प्रयास गरेका छन् । त्यस्तै शैक्षिक तथा साइबरीय जीवनलाई बुझ्ने कोशिश गरेका छन् । अमेरिकामा भूटानी जीवन कसरी बाँच्दैछ ? आफ्नो भाषा संस्कृतिलाई कसरी संरक्षण गर्दैछ ? साहित्य, कला, सङ्गीतमा कसरी लागेको छ ? आफ्नो जातीय चिनारीप्रति कति सचेत छ ? जातीय गौरवप्रति कति आस्थावान छ ? ‘नयाँ भूटानको छायाँ चित्र’ले यस्तै धेरै कुरा ख्याल राखेको छ । एक किसिमले भनौँ भने ग्लोबल भूटनिज नेपालीको जीवन अध्ययन गरिएको छ यसमा । यसै प्रसङ्गमा अमेरिकी जे.एन. दाहालले भनेका छन्, ‘भूटानी नेपालीको खोज अनुसन्धान गर्न चाहनेलाई डा. भट्टराईको प्रस्तुत कृति निकै उपयोगी सामग्री बनेको छ ।’
एउटै परिवार छिन्नभिन्न भएर कोही कता कोही कता पुगेको भूटानीको जीवन साँच्चै कति मार्मिक छ, कति जटिल ! एउटै घरको सदस्य कोही अस्ट्रेलिया, कोही नर्वे, कोही अमेरिका, कोही भूटान, त्यस्तै कोही नेपालको शरणार्थी क्याम्पमा विभक्त छ । आफ्नो भूमिबाट उच्छेदित भई उनीहरू जहाँ जहाँ गए त्यहाँ आफू मात्र गएनन् सँगै आफ्नै चिनारी पनि लिएर गए ।
ब्याडमा राम्रोसँग जरा टेक्न नपाएको बिरुवा कहीँ सर्न खोज्छ, उखेलिन्छ, फेरि सर्न खोज्छ, उसै गरी उखेलिन्छ । कति क्रूर नियति भूटानी नेपालीले भोगे । भूटान, नेपाल हुँदै पुनर्वासमा पुगेका उनीहरू अहिले तीन आशिंक भूमिको परिचय र स्मृति लिएर बाँच्दैछन् । अब उनीहरू नेपाली मात्र होइनन्, भूटानी मात्र पनि होइनन्, अमेरिकी मात्र त झन् हुँदै होइनन् । यसरी अनेक भूमिसँग जोडिएर उनीहरूको परिचय निर्माण हुँदैछ, हाइब्रिड संस्कृति बनिँदै गएको छ । अतीतको स्मृति र वर्तमानसँग उनीहरू एकसाथ बाँच्दै आएका छन् ।
अमेरिकाको नयाँ भूटान पुगेका लेखकले डायास्पोरिक नेपाली जातिलाई एक सूत्रमा बाँध्ने प्रयास गरेका छन् । त्यस्तै ग्लोबल नेपाली डायास्पोरालाई एकीकृत भएर अगाडि बढ्न आह्वान गरेका छन् । विशेषतः भूटानी नेपाली समाज, स्रष्टा साहित्यकार तथा कवि कलाकारबारे चिनारी दिने जमर्को उनले गरेका छन् । साहित्यमा, कलामा उनीहरू के कस्तो उन्नति गर्दैछन् ? अग्रगामी हुन कस्तो प्रयास गर्दैछन् ? आफूलाई कसरी उठाउँदैछन् ? त्यसको अर्थात् उनीहरूको योगदानको संक्षिप्त मूल्याङ्कन गरेका छन् । त्यस्तै स्वच्छाले डायास्पोरिक भएका नेपाली र पुनर्वासमा डायास्पोरिक भएका भूटानी नेपालीको संस्कार संस्कृतिप्रतिको आस्थामा कति ठूलो अन्तर छ । त्यो पनि उनले सचित्र देखाएका छन् । शब्दान्तरमा भन्नुपर्दा छोटो अवधिमा आफूले देखेको, भोगेको भूटानी नेपालीको अमेरिकी समाजको प्रतिविम्ब उनले उतारेका छन् ।
कुनै पनि व्यक्ति, जाति, समुदायको हरेक युगमा आआफ्नो अस्तित्व हुनेगर्छ । कामना छ प्रत्येकको अस्तित्वलाई न्याय मिलोस् । कतै कोही अन्यायमा नपरोस् । अस्तित्वहरूको न्यायिक सम्बोधन गर्दै बहुलतावादी सिद्धान्तको पक्षमा रहेको वैश्विक मान्यताले यही भन्छ । तर अधिनायकवाद तथा निरङ्कुशतावादी शासक प्रस्तुत सिद्धान्तसँग मञ्जुर हुनसक्दैन । त्यही मञ्जुर नहुँदा हरेक युगमा सोझा नागरिकहरू राज्य विहीन स्थिति भोग्ने गर्छन् । तब आफू जन्मिएको माटो आफ्नो हुन सक्दैन । त्यतिखेर एउटा सम्मानित जीवन बाँच्न नपाउँदाको क्षतिपूर्ति स्वरूप—पहिचानको लडाइँ नै जीवनको अन्तिम प्राप्ति हुँदोरहेछ । आखिर निरङ्कुशताले झिल्स्याए पनि चेतन शक्ति कहाँ झिल्सिँदो रहेछ र ? अस्तित्व बोध कहाँ डामिँदो रहेछ र ? बरु झन् प्रखर भएर आउँदो रहेछ । अमेरिकी भूटानी—नेपाली जनजीवनले यही कुरा देखाएको छ । आज उनीहरू विश्वसँग प्रतिस्पर्धा गर्दैछन् । भलै त्यो प्रतिस्पर्धा विश्वले नदेखेको होस्, मूल्याङ्कनमा नआएको होस्, विश्वको समकक्षी नभएको होस् त्यो अलग कुरा । जेहोस् उनीहरूको समाजमा आफ्नै कलाकार छन्, साहित्यकार छन् । चिन्तक, विश्लेषक छन्, समाजशास्त्री छन्, अनुसन्धाता तथा इतिहासकार छन् । यसो हुनु निकै गौरवको कुरा हो । हामी सम्पूर्ण नेपाली जातिको—गौरवको कुरा हो ।
अक्षर मार्फत लेखकले नयाँ भूटानको यात्रामा भेटिएका स्वजन, मित्र, आफन्तलाई चिन्दै चिनाउँदै— आफू सँगसँगै हिँडाएका छन् । उनको लेखनमा यस्तो प्रखरता छ कि— ती भेटिएका, भेट भएका पात्रहरू पूर्व परिचितझैँ लाग्छन् अर्थात् ती पात्रहरू नबिर्सिने गरी पाठकको मनमा गडेर बस्न लाग्छन् । अमेरिका पुगेको पहिलो दिन उनी र उनकी श्रीमती डा. अञ्जना वस्ती भट्टराई जे.एन. दाहालको आवासमा अतिथि बन्दछन् । सम्भवतः अमेरिका बसाइमा लेखक दम्पति भूटानी नेपालीहरूको निवासमा रहेका छन् । त्यसो त विश्व बैंकमा काम गर्ने आफ्नी छोरी ऋचा तथा भाइ बुहारीको परिवार पनि अमेरिकामा रहेको छ । त्यस्तै अरू पनि धेरै स्वजन रहेका छन् । केही समय आफन्तको निकटतामा त्यतै रमाउँछन् ।
डा. भट्टराई जहाँ जहाँ अतिथि हुन पुगेका छन् संयोगले ती सबै कवि कलाकार तथा साहित्य सेवीकै निवास रहेका छन्, ती प्रायः भूटानी नेपालीहरू साहित्य सेवामै समर्पित देखिन्छन् । उनलाई भेट्न आउनेहरू पनि प्रायः स्रष्टा साहित्यकार नै रहेका छन् । ती सबैले केही न केही कृति उनलाई उपहार गरेका छन् । बडो आदरका साथ लेखकले ती कुरा उल्लेख गरेका छन् । त्यस दृष्टिले हेर्दा ‘नयाँ भूटानको छायाँ चित्र’ कतै स्रष्टा चिनारीको अभिप्रायले लेखिएको त होइन भनूँझैँ लाग्छ । यसमा विशेषतः भूटान छ । भूटानी नेपालीको जीवन शैली छ, उनीहरूको संस्कार र संस्कृति छ । अहिले उच्च समृद्धि भोगे पनि उनीहरूको मनमा कदापि नमेटिने अतीतको मोह छ । त्यस्तै मातृभूमि (भूटान), आश्रय भूमि (नेपाल) र डायास्पोरिक जीवन बाँचिरहेको भूमि (अमेरिका) यी तीन ओटै भूमिको छाँया चित्र मिसिएको उनीहरूको मनोविज्ञान निकै दुरूह छ ।
आफ्ना शुभेच्छुकको मन राख्न लेखक दम्पति जतिसक्दो— धेरैभन्दा धेरै स्वजनको आतिथ्यमा पुगेका छन् । जे.एन. दाहाल, भक्त घिमिरे, गंगाराम लामिटारे, खेम रिजाल, डेन्जोम साम्पाङ, कर्ण गुरुङ, खडक गजमेर लगायतका निवासमा पाहुना भएका छन् । आश्चर्य लाग्छ, कुन तत्त्वले हाम्रा यी बन्धुबान्धव (भूटानी नेपाली) हरू भाषा साहित्यमा समर्पित भएका होलान् ? भूमिहीन अवस्थामा पुग्दाको पीडा कस्तो हुन्छ उनीहरूले कहिल्यै भुल्न सकेका छैनन् । अस्तित्व विहीन हुँदाको असुरक्षित भाव पनि उनीहरूले भुलेका छैनन् । त्यसैको क्षतिपूर्ति गर्न प्रगाढ अस्तित्व चेतले उनीहरू सक्रिय जीवन बाँच्दैछन् । ‘नेपाली जातिलाई नेपाली भाषाले मात्रै बचाउन सक्छ’ उनीहरू यही सिद्धान्तमा गतिशील छन् ।
ओहायो राज्यस्थित कोलम्बसमा आयोजित साहित्य परिषद् भूटानको महासम्मेलन— साँच्चै एउटा गौरवयोग्य महोसत्व बनेको छ । यस्तो खुशियालीमा हर्ष सँगसँगै अलिकति नमज्जाको अनुभूति पनि हुन्छ । आखिर भूटानी नेपालीको सङ्घर्ष त आफ्नै जातिको लागि थियो नि ! त्यसलाई अरू नेपालीले किन बुझेन ? किन बुझ्ने चेष्टा गरेन ? विश्वका अनेक मुलुकमा रहेका भूटानीले कत्रो उत्साहमा आयोजना गरेको सम्मेलन ! जसमा अनेसासको उपस्थिति नहुनु कति खिन्नताको कुरा छ ! जो जहाँ रहे पनि आखिर हामी एउटै जाति हौं नि ! होइन र ? उही भाषा संस्कृतिको ढुकढुकीमा हामी चलेका छौँ नि ! त्यसो हो भने किन कोही नेपालीमाथि अर्को नेपालीले पराई व्यवहार गर्छ ? यसै प्रसङ्गमा लेखक दुःखी हुँदै भन्छन्, ‘… यसपालिको महासम्मेलनमा विश्वव्यापी बनेकै अनेसासको उपस्थिति नदेख्दा अलिक दुःख पनि लागेको छ । उही भाषा–संस्कृतिको उत्थालने मात्र जातीय गुमान र अस्तित्व कायम हुन्छ भन्ने विश्वासले लडिरहेको भूटानी–नेपाली समुदायलाई अनेसासले पनि सहयोगी हात दिनुपर्थ्यो । यहाँ कुनै पदाधिकारीको उपस्थिति हुनुपर्थ्यो, कम्तीमा पनि एउटा शुभकामना पत्र पठाउनु पर्थ्यो तर कुनै इशारा देखिएन । यो मन अलिक खिन्न छ, अझ साहित्य परिषद् भूटान बचाउन कठोर प्रयत्न गर्नेहरूको कति चित्त दुखेको होला (पृ–३४) ।’
साहित्यकार भट्टराई आफ्नो नियात्रामा ससानो दृश्यलाई पनि बडो ख्याल राख्ने गर्छन् । अनि त्यस दृश्यसँगै दृष्टि निर्माण गर्छन् । उनको लेखनमा वर्तमान कला साहित्यको नवीन चेत पाइने गर्छ ।
वैश्विक धारणासँगै स्रष्टा भट्टराई नूतनताको आह्वानमा छन् । नवीनतालाई स्वीकार्न सक्नुपर्छ, विश्व परिस्थितिलाई बुझ्नुपर्छ उनको मान्यता छ । डायास्पोराको सन्दर्भमा उनी एक ठाउँ भन्छन्, ‘… नेपाली जातिले त्यस्तो ग्लोबलताको चेतना स्थापना गर्न सकेको छैन— हामी सङ्कीर्णताप्रेमी र साम्प्रदायिक छौँ कि ? यो ‘ग्लोबल नेप्लिज’को धारणा विकसित नगरे हामी एक्लाएक्लै हुन्छौँ र पहिचानको युद्धमा हार्न सक्छौँ । सर्वप्रथम विश्वका नेपाली बसेका अनेक देशलाई एक देश मानेर त्यसमा नेपालीत्वको ग्लोबल चेतना हुर्काइनु पर्दछ । अहिलेको एआईयुक्त साइबर चेतनाले त्यही भन्छ (पृ–३५) ।’
डायास्पोरा भन्ने सन्दर्भ आफैँमा कति संवेदनशील विषय रहेछ । कति अस्थिर कति व्यापक पनि । ‘डायास्पोरा भनेको आधुनिक कला साहित्य राजनीति आदिका सिद्धान्तमा ‘माइनोरिटी’ समूह हो, मार्जिनल, सीमान्तकृत, अल्पभाषी र एक प्रकारको उपेक्षित सांस्कृतिक समूहजस्तो पनि । जति नै सुख सम्पन्नता भए पनि समायोजन र सर्वविलयनको सङ्घारमा यो नित्य कम्पायमान हुन्छ (पृ–३५) ।’
साहित्य परिषद भूटानको कार्यक्रम पश्चात् भट्टराई दम्पति वाशिङ्ग्टन डी.सी. पुग्छ— जहाँ छोरी ऋचा र ज्वाइँ अजित बराल रहेका छन् । नेपालीको लागि समेत अब यसरी नाता कुटुम्ब तथा आफन्त भेट्न विदेश जानु एउटा परम्परा बन्न लागेको छ । विश्वको चलायमान गतिमा नेपालीले पनि पाइला मिसाउँदैछ । भूमण्डलीकरणको अघोषित अभियानमा नेपाली जाति पनि संलग्न भएको छ । प्रत्येक घरका कति सदस्य परदेशमा जीवन खोजिरहेका छन् । त्यसो त अब मुलुक नै रित्तिन लागेको छ । तर पनि हाम्रा कतिपय नेता कार्यकर्ता तथा बामपन्थीहरू अमेरिकालाई हमेसा विरोध गर्न पछि पर्दैनन् । पूँजीवादी देशको रूपमा उछित्तो काढ्न उसै गरी अग्रसर भइरहन्छन् । फेरि उनीहरूले नै छोरा छोरीलाई अमेरिका नपठाई भएको छैन । कस्तो विरोधभासमा छन् तिनीहरू, ‘घर घरका छोरी–ज्वाइँ, छोरा–बुहारी अमेरिकाभरि छन्, ती फैलेर अलास्का, अफ्रिका, अन्टार्कटिका कहाँकहाँ पुगेका छन् । विश्वग्रामीकरणले कसरी छोप्यो, हुत्यायो, पोख्यो त्यो कुरा सार्वजनिक छ । अमेरिकी साम्राज्यवादको जीवनभरि विरोध गर्नेहरूका सन्तान त्यहीँ छन्; विरोध गर्दा–गर्दा गलेर थाकेका बाबु–आमा झन् धेरै त्यहीँ छन् । यहाँ आउन नभ्याउनेहरू सत्तामा छन् । नेपालीहरू त्यहीँ बसेर साम्राज्यवादको घोर विरोध गर्छन् । फेरि मनमनै यहीँ टेक्ने प्रार्थनामा छन् (पृ–४१, ४२)।’
दुई महीने अमेरिकी बसाइमा लेखक भट्टराईको समय कसरी व्यतीत भयो ? निश्चय पाठकमा यस्तो उत्सुकता हुनुपर्छ । उनको हर निमेष साहित्यमय भएको छ । मानौँ उनी साहित्यबाट अलग रहनै सक्दैनन् । हिँड्दा डुल्दा बस्दा जतिखेर पनि उनको मनमा साहित्यले बास गरेको छ । अस्तित्व चेत तथा समय चेतले उनलाई व्यर्थ भुल्न दिएको छैन । फुर्सद हुँदा उनी कि लेख्न थाल्छन् कि पढ्न ।
भ्रमण, डायरी, साहित्यिक कर्म यस्तै अनेक थोक मिसिएको ‘नयाँ भूटानको छायाँ चित्र’ अन्य कृतिभन्दा केही भिन्न लाग्छ । यसरी भिन्न हुनुमा डा. भट्टराईका आफ्नै विशेषता छन् । यस कृतिलाई विविध दृष्टिकोणबाट अध्ययन गर्न सकिन्छ । पढ्दै जाँदा बीचबीचमा कतै यो समीक्षा समालोचनाको पुस्तक त होइन भनूँजस्तो पनि लाग्छ । यात्राका क्रममा पढेका कृति तथा पाण्डुलिपिबारे उनले धेरै कुरा बोलेका छन् । त्यसको समीक्षा, समालोचना गरेका छन् । भूमिका लेखेका छन् ।
हामी नेपालीहरू विपन्न परिवेशमा रहेर सम्पन्न मुलुकको सुख सुविधा कल्पिने गर्छौं । त्यहाँ पुग्ने हर कोशिश गर्छौं । असफल भई आफ्नो मुलुकमा बस्नु पर्दाको पीडाले निराश हुन्छौँ । वास्तवमा यो नै नबुझिएको अर्थात् गलत बुझिएको एक ठूलो भ्रान्ति लाग्छ । आफ्नो मातृभूमिमा सुखम दुखम जीवन निर्वाह गर्नु सामान्य भाग्यको कुरा हुँदै होइन । हेर्नु त डायास्पोरिक जीवनमा कति विघ्न कठिनाइ हुनेगर्छ । अस्थिरता हुनेगर्छ । सन्देह, द्वैधता र क्षयबोध चेतनाले त्यहाँ सुरक्षाको प्रत्याभूति खै हुन सकेको ? नित्य अनिश्चितताको भयले सताइरहन्छ ।
सर्जक भट्टराईका सिर्जनामा पाठकले खिरिला स्वरहरू ठम्याउन सक्नुपर्छ । तब निकै गहिरा अर्थहरू भेटिन्छन् । थाहै नपाई उनको लेखनमा हास्य र व्यङ्ग्यले एउटा चोट छोडेर जान्छ । ठाउँ ठाउँमा उनी यसरी हँसाइरहन्छन्, ‘बिहान उठेर मोबाइल बोकेर तल्लो तलामा झरेँ । अनि बर्बराउने मोबाइलको बेथा सुनाएँ । अजित बाबुले धेरै लामो किस्मत गरेर यसको जीवन फिर्ता ल्याउनु भो । त्यसको खुशीयालीमा यस्तो विचित्र रमाइलो घाम पोखिएको बेला गूगल हेरेँ, यहाँको हावाको अशुद्धता ३५ रहेछ; काठमाडौँको यतिबेला ८५, तब मलाई लाग्यो यस्तो स्वच्छतामा आउँदा मेरो मोबाइल आत्तिएर बिरामी परेको हुनुपर्छ … (पृ–९३) ।’
विद्यमान जगत् अब सम्पूर्ण ग्लोबलताको अभ्यासमा छ । नेपाली भाषा, साहित्य, संस्कृति सबै ग्लोबलताको प्रक्रियामा छ । कुनै पनि जातिको भाषा, संस्कृति भन्ने कुरा—कति महत्त्वपूर्ण हुनेरहेछ । जुन अस्तित्व विस्तारको एक माध्यम हो । नेपाली विश्व जोड्ने भानु जयन्तीका कुरामा पुग्दा यस विषयको गहिरो अनुभूति हुन्छ । सिक्किम, दार्जीलिङ, असम यतिखेर भानु जयन्तीको उत्सवमा लागेको छ । कत्रो हर्षको कुरा ! भाषा साहित्यप्रति वर्तमान सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ज्यूको लगाव कति श्रद्धेय छ । ‘संसारभरका नेपाली लेखकहरूको कुनै नेपाली पाण्डुलिपि छपाउन कठिन परेको खण्डमा सिक्किम सरकारले छपाइदिने छ’ भन्ने उनको घोषणा कति स्तुत्य छ । जातीय अस्तित्वप्रति उनी कति सचेत छन् ।
जेहोस् खुशी लाग्ने कुरा छ । विश्वरभरको नेपाली भाषा, साहित्य, संस्कृतिका माध्यमबाट एकीकृत हुँदैछ । यसरी एकीकृत हुनु जातीय हिसाबले पनि स्वयं आफैँमा सशक्त हुनु हो ।
दश बाह्र दिनको भर्जिनिया बसाइ पश्चात् लेखक दम्पति टेक्सास राज्यको ह्युष्टन शहरस्थित रिचमण्ड पुग्छन् । जहाँ उनका भाइ बुहारीको परिवार छ । यतिखेर उनको अन्तर्यमा भ्रातृशोक आलै छ । भाइका घर पुग्दा उनको हृदय कम्पित भई उठ्छ, द्रवीभूत हुन्छ, ‘भर्खर किनेको नयाँ घर उपभोग गर्न नपाई बितेर गयौ नि ! तिमी बितेको यो घरमा हामी कसरी बसौँ सुतौँ मेरा भाइ ! मेरो मुटु भक्कानियो अनि आँखा भरिएको झर्न थाल्यो । रिङ्गटा लाग्यो र त्यहीँ लड्छुजस्तो भएँ … (पृ–११८) ।’
मलाई लाग्थ्यो, राम्रा कुराहरू सधैँ राम्रा हुनेछन् । खोट विहीन राम्रा हुनेछन् । तर होइन रहेछ । हरेक कुरामा सबलतासँगै दुर्बलता हुने रहेछन् । सम्पन्नता तथा समृद्धि एकदमै सही कुरा हो । तर त्यससँगै सिर्जना हुने व्यक्तिवादी धारणा चाहिँ कति बेठीक लाग्ने कुरा छ । व्यक्तिवादीसँगै शुरु हुने एकान्तिकता कति डरलाग्दो छ ! अमेरिकी जीवनमा नीरव शान्ति भनौँ त्यो एक्लोपन छ्या कति दिक्क लाग्दोगरी सुसाएको !
त्यस दिन डा. भट्टराई आफ्ना गुरु कमलराज अधिकारीलाई भेट्न गएका छन्— गुरु निवासमा । त्यस निवासको भव्यता सँगसँगै व्याप्त सन्नाटा उफ् कस्तो एक तमासको ! हुन त लेखकले त्यस नीरवतालाई प्राथमिकता दिएका छैनन् । तर मैले त्यसलाई प्रमुखता दिएर मनन गरेँ, विरक्तिको अनुभूत गरेँ । लाग्यो बरु गरीब भए पनि आफ्नै जन्मभूमि उचित छ । आफ्नो देशमा कम्तीमा त्यसरी शून्यता सुसाउन पाउँदैन । गरीबी नै सही कमसेकम यहाँ सामूहिकता अझै त जीवित छ । त्यसरी अति व्यक्तिवादी आजै भइसकेको छैन । त्यो सिङ्गो घरभरि जम्मा दुई जना वृद्ध वृद्धा छन् त्यो पनि पराई मुलुकमा । छोरा बुहारी नाति नातिना सप्पै भिन्दाभिन्दै बस्ने, सिङ्गा सिङ्गै बस्ने कति उग्र व्यक्तिवादी संस्कार ! मानौँ जम्मा तीन जनाको परिवार छ भने पनि फुट्नै पर्ने कस्तो चलन ! एउटै परिवारमा पनि एक पुस्ता अर्को पुस्तासँग विजातीय हुँदै जाने— क्रमशः फुक्लिँदै जाने । जस्तो बाबुबाट छोरो फुक्लियो, त्यस्तै आमाबाट छोरी । छोराबाट नाति फुक्लिने छ । त्यसरी फुक्लिँदै जाँदा बूढाबासँग नातिको सम्बन्ध भनौँ बूढीआमाबाट नातिनीको सम्बन्ध कति दूर हुँदै जाने । त्यसो त बाबु आमाबाट छोराछोरीको सम्बन्ध नै कति टाढा, कति पर हुँदैछ आज !
मानिस जहाँ पुगे पनि उसको आदिम चेत कहीँ नछुट्दो रहेछ । ऊ कुन परिवेशले, कुन खानपिनले निर्माण भएको छ । त्यही कुराले ऊ पछिसम्म निर्देशित हुँदो रहेछ । उसको मनमा त्यही कुराको इच्छा हुँदो रहेछ । त्यसैले त अमेरिकामा पुग्दा पनि डा. भट्टराईका गुरु— प्रोफेसर अधिकारी पाल्पादेखि दाल पकाउने फलामे कराइ मगाएको प्रसङ्ग सुनाउँछन् ।
वर्तमान समय ! यो एक डायास्पोरिक युग ! आफ्नो भूमि छोड्ने अन्यत्र जाने संस्कार विश्वभर कसरी फैलिँदैछ । हामीलाई लाग्छ, नेपाल निरीह मुलुक हुनाकै कारण आम–नागरिक विदेशिन विवश छन् । यो कुरा ठीकै हो तर सम्पूर्ण अर्थले भने ठीक होइन । हाम्रो देश सम्पन्न हुन्थ्यो, अवसर र भविष्य सुनिश्चित हुन्थ्यो भने पनि नागरिकहरू बाहिरिने नै थिए । किनकि यायावरीय चेतले मानिसमा नयाँ ठाउँ, नयाँ सम्भावनाको खोजी गर्ने लक्ष्य भइबस्छ । जस्तो सम्भ्रान्त मुलुकका मानिसलाई नै हेरौँ न । उनीहरू आफैँ सम्पन्न छन्, देश सम्पन्न छ र पनि देश छोडेर किन हिँड्ने गर्छन् ? पछिल्लो समय डायास्पोरा निर्माणको प्रक्रिया जुन किसिमले बढिरहेको छ । गरीब मुलुकको—नागरिकको कारणले मात्रै त्यो त्यसरी बढिरहेको होइन । धनी राष्ट्रका नागरिक पनि डायास्पोरा निर्माणमा छन् । डायास्पोरिक जीवन बाँच्दै आएका छन् । स्वेच्छाले डायास्पोरिक भएका छन् ।
लेखक भट्टराईको कृतिमा सैद्धान्तिक डायास्पोरा सँगसँगै व्यवहारिक डायास्पोरा अर्थात् डायास्पोरिक जीवन दुवै स्पष्ट रूपमा अभिव्यक्त छन् । डोयास्पोरिक जीवन कति गम्भीर मनोविज्ञानले बनिएको हुने रहेछ । ‘नयाँ भूटानको छायाँ चित्र’मा एक पुरुष पात्र बोल्छन्, ‘दाजु म यहाँ बस्तिनँ, यहाँ बहुत एक्लोपनले छोप्न थाल्यो, यो छोराको पढाइ टुङ्गो लगाएर हामी पनि नेपालै जाने ।’ बाइस वर्षदेखि अमेरिका बस्दै आएका ती पुरुष—जसको भनाइमा उनकी श्रीमती अरू केही थपेर भन्छिन्, ‘आफ्नो जाति र देश जति रमाइलो कतै नहुँदो रहेछ (पृ–१४६) ।’
लेखक दम्पति टेक्सासबाट अब ह्यारिश्बर्ग आइसकेका छन् ‘जीवीएलो’को कार्यक्रममा सम्मिलित हुन । जहाँ ऐतिहासिक उत्सव हुँदैछ । तपाईं एकचोटि कल्पना गर्नूस् त अमेरिकाको मुटुमा नौमती बाजा घन्किँदा कस्तो सुनियो होला ?
भव्य कार्यक्रम पश्चात् आयोजक टोलीले अतिथि भ्रमणको योजना पूरा गर्छ । सिविल वार हिष्ट्री म्युजियम, हर्षि चक्लेट फ्याक्ट्री अवलोकन गराउँछ । त्यसै क्रममा नायग्रा फल्सको रात्रि सौन्दर्य कति अद्भुत छ ! स्वयं अक्षरहरू नायग्रा फल्सको परिवेश बन्न थाल्छन् । विश्वकै उत्कृष्ट नम्बरमा पर्ने हेनरी डुअर्ली जु एण्ड अक्वारियममा पुग्दा लेखक बडो द्वन्द्वमा पर्छन् । पशुपक्षीको स्वतन्त्रता बन्दी गरिएको ठाउँ हेर्न उनलाई इच्छा हुँदैन, ‘… हिजोआज आएर विश्वव्यापी रूपमा पशुप्राणी अधिकारका कुरा उठेको समयमा, यी बन्धनका विरुद्धका नारा सुन्दा चिडियाखाना डुलेर आउने आनन्द खल्लो हुन थालेको छ र त्यहाँ गइहालौँजस्तो पनि लाग्दैन । एक मनले कराइरहन्छ, यतातिर पर्यावरणीय चिन्तामा लेखौँ भनी अभियानको आरम्भ गरेँ; विजय हितानजस्ता समर्पित अभियन्ता पछि लागे भने अर्कोतिर चिडियाखानमा घुमेर रमाउने आँट आउँदैन … (पृ–२१२) ।’
आखिर जीवन जसरी बाँचे पनि मानिसको अन्तिम लक्ष्य त अमर हुनुरहेछ । बाँच्नु नै जीवनको अभिप्राय हुन लागेको बेला—अमर लक्ष्य देख्ने नेपालीको कुनै परिस्थिति छैन । त्यही अमरताको लागि उता मार्गारेट हिच्कक डुअर्लीले चिडियाखानलाई ठूलो रकम दान गरेकी छन्— आफ्ना दिवङ्गत पतिका नाममा इतिहास राख्न । तब तिनैका नाउँमा हेनरी डुअर्ली म्युजियम भनिएको रहेछ ।
यात्रामा विशेषतः भूटानी नेपालीको जीवन पद्धति जान्न लेखकले बडो ध्यान दिएका छन् । दीर्घकालदेखिको मानव सभ्यता साइबरीय तथा रोबोटिक युगसँगै कसरी फेरिएको छ । मान्छेको कति धेरै दैनिक कामकाज रोबोटले फत्ते गर्न लागेको छ, ‘अहिले आधी मानवीय तत्त्व भएका आधी यन्त्र चालित आविष्कार आइसकेका छन् । साइबर र ह्युमन अग्र्यान् दुवै मिसिएको तत्त्वलाई साइबोर्ग भनिन्छ (पृ–२२२) ।’
लेखकलाई यस्तो उच्च प्रविधि तथा डिजिटल संस्कृतिमा आफू निरक्षर भएको अनुभूति आइरहन्छ । आफ्नो इच्छामा चल्न नसक्दा निरीहताको आभास भइरहन्छ, ‘एउटा भव्य देशको भूगोल बुझ्न कति लाग्छ, इतिहास जान्नै कति लाग्छ, सामाजिक जीवन अर्कै छ, संस्कृति अर्कै । सबैभन्दा महत्त्वपूर्ण कुरा त प्रविधिले निर्माण गरेको एक यान्त्रिक जीवन जसबारे हामीलाई केही थाहा छैन । दुई चार दिन सिकाएर—सिकेर पनि केही घुस्तैन । त्यसैले यहाँ बसुन्जेल पूर्णरूपले परावलम्बी हुइँने रहेछ । अर्कै ग्रहको प्राणीजस्तो । म यहाँ एउटा टिकट काट्न पनि त जान्दिनँ । पढे–लेखेका विद्वान्हरूलाई पनि यो डिजिटल संस्कृतिले नामी मूर्ख बनाइदिन्छ (पृ–२३०) ।’
पुस्तकबारे यति कुरा गरिसक्दा अब अन्त्यमा रहेको छ— परिशिष्ट खण्ड । जसमा दुई वटा निकै महत्त्वपूर्ण कार्यपत्र रहेका छन् । जसले ग्लोबल डायास्पोरा, थर्ड स्पेस, अन्तर्राष्ट्रिवाद तथा ग्लोबल भूटानी नेपालीबारे गहन विषय अभिव्यक्त गरेको छ, ‘… वर्तमानबाट उपनिवेशकाल समाप्त भएको मानिस राष्ट्रका किलादाम्लाबाट खुस्किएर विश्वबजारमा पुगेको वस्तुजस्तै भएको छ । उसले आफ्नो अलिक गुमाउँदै अरूको अलिकति समाउँदै गर्छ (पृ–२६६) ।’
आजको समय एकदम चञ्चल हुँदै गएको छ, स्थायित्व कहीँ छैन, केही छैन । सम्झेर ल्याउँदा बडो आश्चर्य लाग्ने कुरा छ, ‘यो तेस्रो जगत् हो, एउटा थर्ड स्पेस जहाँ आफ्नो गुमेको र नवीन प्राप्ति बराबर हुन्छ । उनीहरूले त्यहाँ विश्वग्रामीकरणका कारणले कसरी संस्कृतिका आयाम परिवर्तित हुन्छन्, कसरी एकरूपीकरण बढ्दैछ, कसरी ठिमाहा संस्कृति व्याप्त हुँदैछ, कसरी अन्तर्राष्ट्रवाद र डायास्पोरिकता बढ्दैछ, मान्छे कसरी परासांस्कृतिक बन्दैछ ती कुराको चित्र प्रस्तुत गर्दछन् (पृ–२६६) ।’
आजका पाठकले बौद्धिक स्तर पढाउन कथा, कविता, नाटक, उपन्यास मात्र पढेर पुग्दैन । खोज अनुसन्धान तथा वर्तमान विश्वका नवीनतम वाद, सिद्धान्तका विषय जान्न पनि उतिकै आवश्यक छ । भट्टराईका कृति म त्यस्तै केही नवीनता जान्ने अपेक्षाले पढ्ने गर्छु । ‘नयाँ भूटानको छायाँ चित्र’लाई पनि त्यही अपेक्षाले पढेँ । आफूलाई ज्ञान नभएका कुरा अवगत हुँदा तृप्ति बोधसँगै तब म एकछिन सुस्ताएँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

