यसपाली हस्पिटलको बसाइ लामो भयो । दिदीलाई इ.एन.टी. वार्डमा राखिएको छ—वीर अस्पतालमा । भर्ना गरिएको दोस्रो दिन, अप्रेसन हुँदै थियो । अस्पतालको बसाइ म आफैँ पार लगाउन सक्छु, एउटा आँट थियो । त्यसो हुँदा कसैलाई खबर गरिनँ । सहरका मानिस समयभन्दा पनि बढी व्यस्त हुन्छन् । त्यो व्यस्तता खल्बल्याउन मन लागेन । सहायता मागिनँ ।
प्रतीक्षामा एक्लै छु । बिरामीको पर्खाइमा बस्नेहरू मौन थिए । मलिन थिए । अप्रेशन सफल होस् भन्ने कामनामा अँध्यारिएका, कोहीसँग बोलेको देख्दिनँ । सुनसान मौनतामा मेरो मोबाइल बज्छ ।
सहीद स्मृति बहुमुखी क्याम्पका पूर्व प्रमुख गोकर्ण मल्लसँगको त्यो फोन साहित्यिक थियो । हामीले धेरै बातचित गरेनौँ । यतिखेर आफू अस्पतालमा भएको अवगत गराएँ र संवाद टुङ्ग्यौँ ।
सात दिनपछि हामीले डिस्चार्ज पायौँ । दिदीलाई अब धेरै राम्रो भइसकेको छ । यता मेरा छुटेका, रोकिएका कामहरू थिए, त्यो तुरेँ । सिक्किमबाट प्रकाशित ‘प्रक्रिया अन्तर्राष्ट्रिय स्वर्ण विशेषाङ्क’ पढेर त्यसमाथि केही लेख्दै थिएँ । त्यो पनि टुङ्ग्याएँ ।
त्यस दिन आख्यानकार गोकर्ण मल्लले, उनको भर्खरै प्रकाशित ‘शुभारम्भका पाइलाहरू’ (उपन्यास) एकप्रति मलाई दिन चाहन्छु भनेका थिए । म अहिले त्यही पढ्दैछु ।
उपन्यासमा दुःखका कथा उपकथाहरू धेरै छन् । एउटा कष्टको समाप्ति नहुँदै अर्को कष्ट ओइरिन्छ । उता फेरि आख्यानको नाम ‘शुभारम्भका पाइलाहरू’ राखिएको छ । के भन्न खोजिएको हो, म उत्सुक हुन्छु ।
हरेक कर्मको आरम्भ छ र त्यसको अन्त्य पनि । तथापि नतिजा चाहे जस्तो नहुन सक्छ । पात्रले शुभ अपेक्षा राखेरै ती कर्म गरेका हुन्छन् । सफलता मिलोस् भनेरै गरेका हुन्छन् । त्यसो त आफ्नो कर्म विफल होस् भनेर कसले चाहेको हुन्छ ? यति हुँदा हुँदै पनि असफलता किन आइलागेको ? आइलाग्ने मात्र होइन त्यसले पाखा नै लगाउन खोज्छ । तै पनि पात्र पात्राहरू हारेका हुँदैनन । हार्न जान्दैनन् । आशा प्रत्याशा जब्बर हुने गर्छ । अभिलाषी मन केही खोजिरहन्छ । केही गरौँला भन्छ, दुःखबाट पार लगाउँला भन्छ । हो, अन्त्यमा उनीहरूले पार लगाएरै छोडेका छन् ।
अवसादका टाकुरा छिचोलेर पारी जान गरिएको संघर्षपूर्ण यात्रा । त्यसबीचका प्राप्ति अझ अप्रप्ति नै, तृप्ति अझ अतृप्ति नै, माया, प्रेम, ईर्ष्या, द्वेष, घृणाजस्ता संवेगसँग ती संघर्ष गर्दै हुन्छन् । उनीहरूलाई लाग्छ, “म परिस्थितिसँग, अझ स्वयं जीवनसँग जुझ्दैछु ।” तर होइन । उनीहरूको जुझाइ त्यही संवेगसँग हुन्छ । हामी सबैको जुझाइ त्यही हो । संवेगलाई शान्त गराउने हो भने चुनौती कहीँ छैन । संघर्ष पनि छैन । केवल कर्म मात्रै रहन्छ । यसरी हाम्रो अहंले नित्य व्यवधान जन्माइरहन्छ, दुःख पैदा गरिरहन्छ ।
‘शुभारम्भका पाइलाहरू’मा केही अर्थ छन् । प्रथमतः यो कृति साहित्यकार मल्लको उपन्यास लेखनकै शुभारम्भ हो, प्रारम्भिक पाइला हो । ‘सिउँडीको फूल’ उनको कविता सङ्ग्रह पनि छिट्टै प्रकाशन हुँदैछ ।
शुभारम्भ भनेको कर्मको थालनी भन्ने अर्थ दिँदै शुभा र आरम्भ (नायिका र नायक) को नामलाई एकीकरण गरिएको छ । उनीहरूको हार्दिक प्रेमलाई सार्थक भएको देखाउनु उपन्यासको औचित्य रहेको छ । दुई जीवनको योग गराइएको छ । उनीहरूको पाइला एउटै मार्ग, एउटै गन्तव्यमा हिँड्न आरम्भ भई, कथानकको अन्त्य हुन्छ । अझ भनौँ उनीहरूको दाम्पत्य जीवनको सुरुवात भएको छ । शुभा र आरम्भको दुई अस्तित्व एउटै भएको छ । यसबीचमा अनेक पात्र पात्राहरू आउँछन्, एउटा सानो प्रभाव छोडेर जान्छन् । त्यस्तै मूल कथालाई साथ दिने धेरै उपकथाहरू जोडिएका छन् ।
सुरुमै यति ठूलो आकार (पृ.४८८) को आख्यान तयार गर्नु सानो बातको कुरा होइन । लेखक मल्लको आँट र धैर्यलाई मान्नु पर्छ ।
स–साना घटना परिघटनामा उपन्यासले पूर्णता पाएको छ । प्रायः पात्रहरू सामान्य चरित्रका छन् । विशेष पनि छन् । तर तिनको जीवनमा ठूलो उथलपुथल आएको छ । विखण्डन आएको छ । अप्रत्याशित रूपले तिनीहरूको प्रतिष्ठा निभेको छ, श्रीहीन भएको छ । निस्तेज भएको छ । सहरिया परिवेश थोरै छ, उपन्यासको माध्य भाग गाउँले जनजीवनमा केन्द्रित छ । घात प्रतिघातले चलेको राजनैतिक अवस्था दुःख लाग्दो छ । त्यही राजनीतिको भूमरीमा एउटा समृद्ध परिवार सडकमा झरेको छ । अवस्था कारुणिक छ, दर्दनाक छ, विरक्त लाग्दो छ ।
कथामा माओवादी आतङ्कले क्षतविक्षत गाउँले जीवन अझै तङ्ग्रिएको छैन । विनास र विध्वंसको रापले झिल्सिएको जनजीवन अधमरो भई मृत्यु पर्खिएर बसेको छ । कथानककी एउटी पात्र आइतिकाको श्रीमान् द्वन्द्वकालमा खोरन्डो भएर, पिँढीमा समय व्यतित गर्दैछ । उसको गतिशीलता हराएको छ । घरमा मर्दपुरुषको खाँचो छ । ऊ नाम मात्रैको पुरुष भएर बाँचेको छ । उसकी एउटी छोरी पनि छे ‘म तिम्रो बाबु हुँ’ गर्वका साथ ऊ भन्न सक्दैन । आइतिकाको यौवन त्यसै मुर्झाएको छ । घरमा कोदाले चाहिएको छ, हली चाहिएको छ । ऊ टुलुटुलु हेरेर बस्न विवश छ । उसको पुरुषार्थ त्यही द्वन्द्वको मारमा थलिएको छ ।
उपन्यासमा विद्यमान समय प्रतिविम्बित छ । अझ बढी गाउँ बस्तीको शून्यता छ । असहाय, निरुपाय वृद्ध वृद्धाको करुणा मन फाट्ने किसिमको छ । घरगाउँ रित्तिएको छ । बारी बाँझिएको छ । अभाव छ, भोक छ, रोग र शोक छ ।
पूर्वी चितवनको सौराहा चोकबाट उपन्यासको पृष्ठभूमि सुरु हुन्छ । नायकको यात्राबाट कथानक अगाडि बढ्छ । ऊ भलो छ, छिट्टै अरूको विश्वास गर्ने खालको छ । एकछिन भेट हुने पराईलाई समेत ऊ आफू जस्तै देख्छ ।
नौलो ठाउँ डुल्ने, नयाँ मान्छेलाई भेट्ने, घुलमिल हुने, सम्पर्क बढाउने, प्रकृतिसँग निकट हुने, नवीन अनुभूति सङ्गाल्ने उसको स्वभाव सरल छ । “मितिनी आमाले भन्नु भएको गाउँमा गएर वहाँले अह्रराउनु भएको काम गर्नु छ” आमासँग यही भनेर ऊ बिदा माग्छ । एक किसिमले ऊ निरुद्देश्य हिँडेको जस्तो भान हुन्छ । अल्लारे केटो अलमस्त छ । केटीसँगको भेटमा ऊ लहसिन्छ । परन्तु उसमा त्यस्तो केही विकृत भाव हुँदैन । यौन तृष्णाले ऊ त्यसरी सम्मोहित भएको होइन ।
एक दुई दिनको यात्रापछि थाहा हुन्छ ऊ प्यारा भञ्ज्याङ जाँदैछ । वनको बाटो अप्ठ्यारो छ, डरलाग्दो चकमन्न छ । अलमल हुने झुक्किने एकलासको छ । बाटामा भेटिनेहरू भन्छन्, आरम्भ एक्लै प्यारा भञ्ज्याङ जान सक्दैन । त्यस ठाउँमा जान केही सहायता चाहिन्छ । गन्तव्यमा कोही भेटिन सक्छ, उसैको पछि लागेर जानू, एक वृद्ध पुरुषले त्यही भनेका छन् ।
प्यारा भञ्ज्याङदेखि धेरै तल फेदीमा आइतिका र मङ्गलिकासँग उसको भेट हुन्छ । ग्रामीण भेगका ती युवती सरल छन् । प्रकृति जस्तै निष्कपट छन् । नौलो अपरिचितसँग जिस्किन समेत उनीहरू किञ्चित बेर मान्दैनन् । आरम्भ पनि त्यस्तै छ । उनीहरूको संवादमा गम्भीरता हुँदैन । केटाकेटीजस्तै अपरिपक्व लाग्छ ।
ग्रामीण भेगमा किसानीहरू व्यस्त छन् । धान खेती लगाउने बेला भएको छ । बारी पन्छाउने हतारो छ । खेतालाको अभाव छ । आरम्भ त्यस साँझ मङगलिकाको घरमा बास लिन पुग्छ । त्यहाँ एउटा वृद्धा छिन्, मङ्गलिकाकी सासू । त्यो परिवेश अत्यन्तै उदार लाग्छ । पूर्व सन्ध्यामा बुहारी कुनै नौलो केटासँग अघिपछि लागेर घर आउँदा पनि सासूलाई त्यसमा केही सन्देह छैन । त्यो त सामान्य कुरा भइहाल्यो नि । जटिल विषय अर्कै छ । तर उनीहरूलाई जटिल लाग्दैन । छ्याङ खाएर लाएकी बूढी समसाँझै धन्सारमा सुत्न जान्छिन् । यता बुहारी र पाहुना केटो राति एउटै ओछ्यानमा हुन्छन् । उज्यालो हुने बेला मङ्गलिका उसलाई बाहिर पठाएर ऊ भित्र पस्छे । निदाउन पाएकै हुँदैन उज्यालो पोखिएको हुन्छ ।
मङ्गलिकाको असहाय पारिवारिक अवस्था देखेर आरम्भको मनमा मद्दतको भावना जागृत हुन्छ । केही दिन नायक त्यहीँ बस्छ । खेतीपातीको काम गर्छ । मध्यरातमा मङ्गलिकाको पाशमा हराउँछ । उसको श्रीमान् विदेशमा छ । फोन खबर केही पठाउँदैन । जीवित छ छैनको समाचार आउँदैन । गाउँमा उसको बारेमा धेरै ननिको हल्ला चल्ने गर्छ ।
श्रीमानबाट परित्यक्ता युवती मङ्गलिका, अनौठो उकुसमुकुस र तृष्णाले गलेकी छ । पाहुना केटाको सान्निध्यले उसलाई तृप्ति मिलेको छ । शारीरिक, मानसिक दुवै ।
आत्मकथन शैलीमा लेखिएको उपन्यास आरम्भकै केन्द्रियतामा घटित छ । प्रायः पात्र पात्राहरूको चित्रण नायकको दैनिकीसँग निकट भएर आएका छन् । पात्रैपिच्छे उपकथाहरू छिन छिनमा आइरहन्छन् । जुन कथा त्यस परिवेश र समयको विम्ब छोडेर अन्त्य हुन्छन् ।
मङ्गलिकाकी सासू आरम्भलाई आफ्नै भदाजस्तो गर्छिन् । एकैछिनमा उनीहरू फुपू भदाको नातामा निकट हुन्छन् । अब खुल्दैछ मूल कथाको रहस्य । यस अघिसम्म आरम्भ कुन पृष्ठभूमिको चरित्र हो ? त्यो केही थाहा थिएन ।
बूढी आमै र आरम्भबीचको संवादमा उसको घर परिवार, उसको जन्मदेखि विद्यमानको वस्तुस्थिति चलचित्रको पर्दा जस्तै एकपछि अर्को घट्दै जान्छ । त्यसपछि उसलाई हर्ने दृष्टिकोण बदलिन्छ । उसप्रति सद्भाव जागृत हुन थाल्छ ।
आरम्भका हजुरबुवा प्यारा जङ्ग एकताका मन्त्री थिए । समृद्ध कुलका खानदानी परिवार । उनका जेठा छोरा डाक्टरी पढेर बेलायत जान्छन् । उतै एम.डी. गरेर ठूला विशेषज्ञ हुन्छन् । कान्छा छोरा (आरम्भका बाबु) अध्ययनमा रुचि नभएका, हाउडे पाराका लाग्छन् । अलमस्त स्वभावका । उनी व्यवसायी हुन् । पछि राजनीतिमा लाग्छन् । प्रशस्त खर्च गरेर चुनावमा विजयी हुन्छन् । राज्यमन्त्री पाउँछन् । अन्ततः उनीमाथि आफ्नै पार्टीका मान्छेबाट अन्तर्घात हुन्छ । अप्रत्याशित क्षति बेहोर्न पुग्छन् । नमज्जासँग शत्रु लाग्छन् । राज्यमन्त्रीको पूर्ण कार्यकाल सम्हाल्न वञ्चित हुन्छन् ।
अर्कोपालीको चुनाव देखाएर उनलाई मीठो आश्वासन दिइन्छ । भरे उनी चुनाव हार्छन् । उनलाई हराउने षड्यन्त्र आफ्नै पार्टीका मान्छेबाट हुन्छ । राजनीतिमा लागेर उता व्यवसाय डुब्छ । अझ होइन डुबाउनलाई ठूलो मेहरो उठ्छ । उनकै कामदारले घात गर्छन् । अनि त्यो अस्तित्वमा अचानक रात खस्छ ।
त्यसपछि त उनी ओरालो लागेको मृग जस्तै भए । बिच समुद्रमा पुग्दै गर्दा आँधीले उनको डुङ्गा घोप्ट्याइदियो । जग्गा जमिन घर खेत धितोमा राखेर चुनाव लडेका उमेद्वारीको, अब बाँकी केही रहेन । घर बास लिलाम भयो । हेर्दाहेर्दै नदीले बस्ती कटान गरेजस्तै भयो ।
त्यसपछि उनी आफैँलाई थाहा भएन आफ्नो जीवन के हुँदैछ, कता मोडिँदैछ । आफूलाई सम्हाल्न नसकेका उनी मानसिक बेथाले आक्रान्त भए । रक्सीको लतमा गन्तव्य बिर्सिएर । त्यसो त सम्झिनु नै के थियो र ? बाँच्नुको अभिप्राय हरायो । त्यस्तैमा एकदिन उनलाई सुधार गृहमा राखिन्छ ।
उपन्यासमा आरम्भकी आमा एकदमै महान् लाग्छिन् । आदर्शकी प्रतिमूर्ति । धैर्य गर्न सक्ने सहनशील । कष्ट र अवसादले जलेको मनलाई उनी जसोतसो थाम्दै हुन्छिन् । हारेकी छैनन्, घर जग्गा फ्याक्ट्री, यश आराम सर्वन्न थोक गुमाएर पनि । श्रीमानले राजनीति र व्यवसायमा चरम विफलता भोग्नु पर्यो । त्यो तेज स्फूर्ति भुइँमै बिलायो ।
आरम्भको यो सब पारिवारिक घटना नेपथ्यमा रहेको छ । उपन्यासमा पात्रलाई त्यो दुःखद क्षण प्रत्यक्षतः भोगाइएको छैन । अतीत स्मृतिलाई नायकको मुखबाट भनाइएको छ ।
राज्यमन्त्रीकी श्रीमती महलबाट बास उठेपछि सहरदेखि टाढा, परिचितदेखि दूर, अभेगमा बास सार्छिन् ।
नायक आरम्भ दुःख, कष्ट केही नभोगेको एउटा अल्लारे केटो लाग्थ्यो । तर उसको भोगाइ कति चुनौतीपूर्ण रहेछ । उबडखाबड बाटोमा ऊ हिँड्दै रहेछ । मानिसको जीवनमा केही कुराको पनि भरोसा छैन । स्थायित्व छैन । पूर्व राज्यमन्त्रीकी श्रीमती कामको खोजी गर्दै एउटा स्कूलमा महिला सहयोगीको आवेदन दिन तयार हुन्छिन् । त्यहाँ जागिर नपाउने थाहा पाएपछि एउटा घुम्ती पसल राखेर जीविका चलाउँछिन् ।
मल्लका उपन्यासमा पनि केही त्यस्ता संयोगहरू छन्, जस्तो भूतपूर्व राज्यमन्त्रीलाई जुन सुधार केन्द्रमा राखिएको छ, त्यो केन्द्र उनी स्वयं मन्त्री हुँदा, उनकै सहयोगमा बनाइएको हुन्छ । संयोगले भरे उनलाई त्यहीँ पुर्याउँछ । त्यो कुरा पछि खुल्छ । आफ्नै भलाइको लागि उनले त्यो संस्था स्थापना गरेका थिए भन्नु जस्तो एउटा भान हुन्छ ।
मानिसको हरेक कर्म एउटा संयोग रहेछ । एउटा नियति रहेछ । अघिका कर्महरूले पछि कतै न कतै साथ दिएको हुँदो रहेछ । सिलसिल आफैँ मिल्दै जाँदो रहेछ । कार्यकारणको त्यो शृङ्खला आकस्मिक रूपले मिल्दै हुन्छ । जुन कुरा हामीलाई घटित भएपछि थाहा हुन्छ । हाम्रा भोगाइहरू अनायास आउने त्यही संयोगहरू हुन् । नियोजित भन्दा पनि अनियोजित तरिकाले हामी बाँचिरहेका हुन्छौँ, जीवन चलिरहेको हुन्छ । राज्यमन्त्री त्यस अवस्थामा पुग्नु के उनको त्यो इच्छा हो र ? नियोजित संयोग हो ? हाम्रा योजना विपरीत नियतिले अर्कै आँधी चलाएको हुन्छ । हामी त्यही भोग्न विवश हुन्छौँ । चाहेर नचाहरे त्यसैलाई स्वीकार्नु परेको हुन्छ ।
हामीलाई घरी घरी लाग्छ, मेरो योजना सफल भयो । उसो भए तपाईँ भ्रममा हुनुहुन्छ । तपाईँको योजना सफल भएको होइन, त्यो त्यस्तै हुनु परेको एउटा संयोग मात्रै हो ।
आरम्भले त्यो समृद्धि थोरै पनि भोग्न पाएन । ऊ सानै थियो, डेरा सार्दा । जुन घरमा उनीहरू बहालमा बस्न आएका थिए । पछि त्यही घरकी छोरी शुभासँग उसको प्रेम बस्छ । त्यो कुरा उसकी आमालाई मन पर्दैन । त्यस्तैमा एक समय यस्तो आउँछ शुभाकी आमा अस्पतालको शैय्यामा बेखबर हुन्छिन् । त्यतिखेर आरम्भको रक्तदानले उनी जीवित हुन्छिन् । त्यसपछि छोरीको प्रेमप्रति सकारात्मक हुन्छिन् ।
शुभालाई एउटा धनाढ्य परिवारको केटासँग बिहे गर्न आमाले ज्यादै ढिपी गरेकी थिइन् । छोरीले त्यो कुरा अस्वीकार गरी, आरम्भबाट टाढा हुन नसक्ने संकल्पमा, उनले विष समेत खाएकी थिइन् ।
उपन्यासमा केही यस्ता पात्रहरू छन्, ती मानवीय स्वभावभन्दा उच्च आदर्शका छन् । वास्तविकतामा त्यसो हुन सक्दैन । शुभा र आरम्भलाई सानै उमेरमा परिपक्व बनाइएको छ । उनीहरूको त्यो दैनिकी, त्यो संवाद अलिक नसुहाएको हो कि जस्तो लाग्छ । बालसुलभतालाई वैचारिक र व्यवहारिक पक्षले थिचेको छ । आमाले मन नपराएको आरम्भलाई, शुभाले त्यो सानै उमेरमा कसरी सही दृष्टिले हेर्न सक्छे ? बाल मस्तिष्कमा जस्तो विचार हालिदियो, ऊ त्यस्तै बन्ने होइन र ? त्यो उमेरमै उसलाई, आमाको बानी मन पर्दैन । अरूको लाख आमाको काख भन्ने उक्ति यहाँ मेल खाँदैन । आमाको इच्छा विपरीत ऊ हाक्काहाक्की आरम्भसँग नजिकिन्छे । सहायता दिन्छे ।
आरम्भकी आमा त्यस्तै एउटा आदर्श चरित्र लाग्छ । दुःखमा, विपद्मा मान्छेले कसरी धैर्य गुमाएको हुन्छ । क्रोध, आवेग, चञ्चलताले ऊ अस्थिर हुन्छ । त्यस अवस्था पनि उसकी आमा स्थिर छिन् । शान्त, शालीन भावमा छिन् । श्रीमानको जिद्दी र हठी स्वभावले त्यो स्थितिमा पुग्नु परेको थियो । तर पनि उनले एक वचन छुचो बोलिनन्, भनिन, “तिम्रै कारण यो सब भएको ।” अँहँ भनिनन् । त्यस्तो वैभवबाट एक्कासी तल खस्दा हीनता बोधले अशान्त भएको पनि देखिँदैन ।
उता आरम्भको ठूला बुवा फेरि उस्तै आदर्शवान् लाग्छ । भाइको क्षुद्र व्यवहार उनले थोरै पनि मनमा राखेका छैनन् । उनी एक आदर्श छोरा हुन्, आदर्श दाजु हुन् । एक आदर्श डाक्टरको भूमिकामा छन् । उनी सबै सबै कुरामा अनुकरणीय लाग्छ । भाइ, बुहारी, भतिजको विदीर्ण अवस्थालाई उनले सुधारेका छन् । आफ्नो जग्गा उनीहरूको नाममा पास गराएर, गृह निर्माणको व्यवस्था मिलाई फेरि बेलायत फर्किन्छन् । उनको व्यक्तित्व उच्च छ, महान् छ, मर्यादित छ । यथार्थमा त्यस्तो व्यक्ति विरलै भेटिन्छन् ।
कथानकमा धेरै मोड आएको छ । संयोग पनि त्यसै गरी मिलेको छ ।
शुभा र आरम्भले एस. ई.ई. मा जिल्ला टप्छन् । नचाहेरै पनि शुभा अध्ययनको लागि काठमाडौँ जान्छे । आरम्भलाई गाउँमा छोडेर जाने उसको इच्छा हुँदैन । यता आरम्भ छात्रवृत्तिमा त्यहीँ पढ्ने भयो । साइन्समा प्लस टु उत्तीर्ण भएपछि कृषि क्याम्पसमा भर्ना हुन्छ ।
जीवनको शुरुवातदेखि अझ हजुरबुवाको पालादेखि ऊ (आरम्भ) कृषि कलेजमा पढ्दाबीचका सुख दुःखका, प्राप्ति अप्राप्तिका, सफलता विफलताका, संघर्ष र चुनौतीका लहरहरू सम्पूर्ण प्यारा भञ्ज्याङको फेदीमा, गाउँकी एउटी आमैसँगको संवादमा प्रष्टिएको छ । उपन्यासको मूल कथा यही हो ।
आरम्भ एउटा असल केटा हो, ऊ मद्दत गर्ने खालको छ । आफू कष्टमा हुर्किएर होला, अरूको दुःख उसलाई आफ्नै लाग्छ । बीच बाटोमै आइतिका र मङ्गलिकाको रङ्गरौसमा भुल्छ ।
एउटा उद्देश्यले हिँडेको युवक । त्यसरी बीच मार्गमा अल्मलिँदा उसप्रति, एउटा क्रोध भाव उत्पन्न हुन्छ । उसप्रति मेरो मनमा एक किसिमको असन्तुष्टि हुन्छ । ऊ त्यहाँ किन भुलेको ? साधारण दैनिकीमा त्यसरी नभुल्नु पर्ने । लक्ष्य त आखिर उसको ठूलो छ नि । कुण्ठाले पहेँलिएकी मङ्गलिकालाई प्रेमको आश्वासन किन दिएको ? उता उसैको बाटो पर्खिएकी छ शुभा । तर एउटा कुरा प्यारा भञ्ज्याङ पुग्ने साथीको पर्खाइमा ऊ त्यसरी भुलेको पनि हो, हुन त ।
देश द्वन्द्व, आतङ्क, भय, त्रासको रापमा जल्दै थियो । सुरक्षाको प्रत्याभूति कहीँ थिएन । जहाँ तहीँ वीभत्स मृत्यु थियो । अपहरण थियो, भिडन्त थियो । मृत्यु भन्दा कठोर कारबाही थियो । अप्रेशन थियो, दोहोरो फायरिङ थियो । रगतको भेल थियो । जीवन खोरण्डो बन्दै थियो । बचाइ यातनामय थियो । ‘शुभारम्भ उपन्यास’मा त्यसको केही झलक छ । जसले फेरि त्यही आतङ्कित समय ब्यूँझाएको छ । द्वन्द्वको घाउ, अझै खाटो बसेको छैन ।
दुःखी गाउँले जनजीवन निस्सार लाग्छ । त्यही एकपेटको लागि दिनरात खटिनु परेको छ । बाँच्नुको अर्को अर्थ छैन, उपलब्धि छैन । जीविका चलाउनु नै अन्तिम उद्देश्य देखिन्छ । सामान्य कुरामा ती रमाएका छन् । तर कुरा यति मात्र होइन गाउँको जीवनमा वास्तविक बचाइ छ । अकृत्रिम छ । छलकपट केही छैन । निर्दोष, निष्कपट लाग्छ त्यहाँको जीवन ।
कहीँ कतै सुन्तली र बाटुली जस्ता पात्रहरू गाउँले जीवनबाट उन्मुक्त हुन चाहन्छन् । गरिबी र अशिक्षाले गर्दा उनीहरू प्रलोभनमा परेका छन् । रोजगारीको लागि खाडीमा गएका छन्—सुन्दर भविष्यको विम्ब आँखामा सजाएर । उनीहरूको सपना खासै ठूलो त छैन नै । सुन्तलीलाई जस्तापाताले घर छाउने इच्छा छ । उसका वाञ्छाहरू पूर्ण नहुँदै, उसलाई विदेशबाट उद्धार गरिन्छ । ऊ अशक्त भएकी छ । यता घर खेत लिलाम भइसकेको छ । केही समयमा मृत्युले उसैको उद्धार गरिदिन्छ । उसको छोरो जनमुक्ति सेनामा भर्ती हुन्छ । उसले कहिले सहादत प्राप्त गर्यो, त्यो पनि थाहा छैन ।
अर्को दुःखी पात्र च्याउमाने घरमा एक्लै हुन्छ । श्रीमती गुमायो, छोरो गुमायो । अब गुमाउन बाँकी केही छैन । उसले भन्नु पनि केही छैन । स्वयं समय भताभुङ्ग भएको छ ।
घर गाउँको परिवेशले उपन्यासको धेरै भाग ओगटेको छ । त्यहाँ गरिबी छ, अशिक्षा छ, अभाव छ । आर्थिक स्थिति कमजोर छ । तर पनि गाउँ सुन्दर छ ।
प्यारा भञ्ज्याङको सेरोफेरोमा मुल कथा रोकिन्छ, उपकथा आइरहन्छ । विद्यमान समयको, पहाडी जीवनको वास्तविक चित्र त्यहाँ पुगेपछि प्रष्ट हुन्छ ।
आरम्भ प्यारा भञ्ज्याङ पुग्नुको लक्ष्य, उसको यात्रा बल्ल अर्थपूर्ण लाग्छ । त्यस अघि उसको यात्रा केवल समय व्यतीत गर्नु जस्तो देखिन्थ्यो । एउटा बहाना जस्तो लाग्थ्यो । त्यो स्थलगत अध्ययनले देशकै यथार्थता बोलेको छ । गाउँबस्ती उजाडिँदै गएका छन् । बस्ती सरेका छन् । घर रित्तिएका छन् । बारी बाँझिएका छन् । छोराहरू खाडी गएका छन् । बुहारी सहर पसेका छन् । वृद्ध वृद्धाहरू असहाय छन् । एक किसिमले उपन्यासमा त्यही निरीह यथार्थ देखाउन खोजेको आभास हुन्छ ।
देशमा रोजगारी नपाएर, युवाहरू घरखेत धितो राखी मुग्लानिएका छन् । त्यसपछि ऋणको वास्तै नगर्ने, एककल फोन नगर्ने, दुःख सुख नहेर्ने छोराहरू सम्झिएर, बूढा भएका बाबु आमाका आँखा रसाएका छन् । जीविकाको लागि केही उपार्जन गर्न नसक्ने स्थिति छ उनीहरूको । तिर्खा मेटाउने पानी टाढा छ । ओत बस्ने छानो चुहिएको छ । त्यसलाई टाल्ने कोही छैन । अनि मेरो मस्तिष्कमा शिशिर योगीको त्यही गीत गुञ्जिन थाल्छ—
बोल्ने कोही छैन गाउँमा, बोल्ने कोही छैन
पाहुना आउँदा घरको ढोका खोल्ने कोही छैन
खोल्ने कोही छैन, ढोका खोल्ने कोही छैन ….
‘शुभारम्भका पाइलाहरू’मा गाउँको स्थिति ठीक यस्तै छ । थोरै पनि फरक छैन । त्यहाँका मानिसले उदास लाग्दो दिन व्यतीत गरेका छन् । कुनै घरकी बुहारी विदेश गएकी छ । छोरो बलात्कारी भएको छ । भट्टीमा दिन रात बिताएको छ । कुनै घरको छोरो परेदशमा छ—यता बुहारी अन्तै पल्केकी छ । कति पराई देशबाट निष्प्राण फर्किएका छन् ।
त्यस्तै द्वन्द्वकालमा माओवादीले भएको सेवा, सुविधा र संरचनाहरू क्षतविक्षत बनाएका छन् । पानीको ट्याङ्की फोरिएका छन् । युद्धको अवसान भए पनि डोबहरू अझै मेटिएका छैनन् ।
नेता तथा मन्त्री महामन्त्रीसँग सन्तुष्ट हुन नसकेका दुःखी जनता सरकारसँग रुष्ट छन् । कुनै राजनैतिक दलप्रति उनीहरूलाई विश्वास छैन ।
बेलायत अमेरिका बसेर गाउँको चिन्ता गर्ने बुद्धिजीवी, उदार मन भएकाहरूले, एउटा समिति गठन गरी, गाउँविकासको लागि स्थलगत अध्ययन गर्न, आरम्भलाई त्यहाँ पठाएका हुन्छन् । तर कतिलाई यस कुरामा विश्वासै लाग्दैन, “आउने, सोध्ने, जाने त हो नि, केही गर्ने होइन । सरकार भाषण गर्छ, ढाँट्छ अनि जनताबाट पनि चुसेर खान्छ तर काम गर्न र सेवा पुर्याउन सिकाउँदैन । पानी र बानी माथिबाट तल बग्छ भने झैँ तपाईँहरूको संस्था हो कि समिति हो त्यो अछुतो होला त ? उही ड्याङका आलु भएपछि तपार्इँहरू आउनु भएकोमा म खुसी मानौँ कि नमानौँ … (पृ—४१८)।”
अन्वेषणका क्रममा मङ्गलिका र आरम्भ एउटा यस्तो घरमा पुग्छन्, जहाँ दिउँसै चकमन्न छ । सुनसान छ, भूत ब्यूँझिएर तर्साउला जस्तो डरलाग्दो छ । ढोका खुल्लै छ । बोलाउँदा कोही बोल्दैन । त्यसपछि उनीहरू भित्र पस्छन्—एउटी बूढी आमै निशब्द छिन्, भिमलाएकी । उनको काखमा मृत श्रीमान छन् । के भयो ? भनेर सोध्न कोही आउँदैन । लास उठ्दैन । मलामी छैनन् ।
मङ्गलिका र आरम्भको त्यो सान्निध्यमा उपन्यास अब त्यही प्यारा भञ्ज्याङमा टुङ्गिने भयो जस्तो एक प्रकारको निराशाले छोप्छ । धन्न आरम्भ घर फर्किएको छ ।
नाटकीय शैलीमा कथा उत्कर्षमा पुग्छ । समाजसेवीको अभियानमा नायक व्यस्त हुन्छ । त्यही समय बेलायतदेखि उसका ठूला बुवा आमा आउँछन् । शुभा र उसको बिहे हुन्छ ।
उता प्यारा भञ्ज्याङमा गाउँ विकास अभियान सुरु भइसकेको छ । बिजुली, खानेपानी, मोटरबाटो पुगेको छ ।
अन्त्यमा कथा सकारात्मकतामा टुङ्गिन्छ । दुःखी पात्रहरूको जीवन स्तर उठेको छ, बदलिएको छ । आइतिका होमस्टे र माछा पालनमा लागेकी छ । मङ्गलिकाको श्रीमान् नक्कले पनि गाउँ फिरेको छ । होटेल चलाएको छ । अहिले मङ्गलिका तृप्त छे । प्यारा भञ्ज्याङवासी खुसी छन् । हर्षित छन् ।
समय परिवर्तनशील छ । त्यस्तै मानिसको भोगाइ पनि अस्थिर छ । दुःख, कष्ट, हैरानीको पनि कुनै स्थायित्व छैन । उपन्यास यही थिमले सिर्जिएको छ । त्यो कुरा पात्रको मुखबाट भनाइएको छैन । उनीहरूको जीवनशैलीमा आएको सुखद परिवर्तनले अर्थिएको छ ।
शुभारम्भ उपन्यासले आशावादी, जीवनवादी हुन सिकाएको छ । मन्त्रीको छोरो आफैँ राज्यमन्त्री भएको एक व्यावसायिक, सम्पन्न कुलको मान्छे, भरे सुकुम्बासी हुनु । त्यति मात्र नभएर उसलाई सुधार केन्द्रमा राखिनु । एक हतभागी जीवन भोगेको परिवारमा फेरि हर्ष उल्लास आउनु एउटा सकारात्मकता हो । जुन अवस्थालाई स्वाभाविक तरिकाले घटाइएको छ ।
तर कलाशिल्प अलिक खारिएको छैन । घटनालाई तत्काल गति दिइएको छ, अर्थात् समय अगाडि नै घटनालाई गतिशील बनाइएको छ । त्यसकारण दुःख घटनामा जति संवेदना पैदा हुनु पर्ने हो त्यति हुन सकेको छैन । ती सबै कुरालाई होस् गर्ने हो भने कथाको प्लट सुन्दर छ । जीवन बाँच्ने प्रेरणा छ । पहिलो प्रयासमै आख्यानमा यति ठूलो ग्रन्थ निकाल्नु सामान्य कुरा होइन । आगामी दिनमा लेखकको कलम अझै अघि बढोस् यही कामना छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।