आज बिदाको दिन । १५ असार २०८१ । अस्तिदेखि नै महेश शनिवारको प्रतीक्षामा थियो । गुरु हर्कनाथको निमन्त्रणा ऊ अहिले फेरि सम्झिँदैछ । रोज गार्डेन थिएटरमा नाटक मञ्चन हुँदैछ बिहान आठ बजे । निद्राबाट ब्यूँझँदा उसको मनमा यही सन्देश थियो । उसले थाहा पायो उसको मन एकदम विलम्ब भएको अनुभव गर्दैछ ।
नानीहरू सुतिरहेका छन् । उनीहरूको निद्रा नबिथोलियोस् भनेर महेश सजग छ । वातावरण अत्यन्तै शान्त मूडमा छ । ‘जीवनसँग म कहिल्यै हार्दिनँ, बरु नियति मसँग हारेर जानेछ’ हेलिनाको शब्द सङ्गीतमा मोबाइलको रिङ्टोन बज्छ । मित्र शिवमको फोन रहेछ । समयमै थिएटर पुग्न उसको अनुरोध छ ।
बिदाको दिन चहलपहल कम्ती छ । हिजोअस्ति प्रभात नखस्दै, मिर्मिरेमै शहर व्यस्त भइसक्थ्यो । अहिले सडकमा सवारी साधनको चाप थोरै छ । ध्वाँसे मेघ मडारिएको, धुम्मिएको आकाश चूपचाप छ । निरन्तरको वर्षाले निश्चय ऊ थाकेको हुनुपर्छ । ओसिएको कालोपत्रे सडक सर्पिल छ । धूलो मैलो पखालिएका घरहरू- नुहाएर पहिरन गर्नु अघिको नाङ्गो बालक जस्तै सुन्दर देखिएका छन् । उः पारि भित्ताका चुचुराहरू कुहिराको टोपी लगाएर यता शहरलाई निर्निमेष हेरिरहेका छन्, आभास हुन्छ ।
वर्षायामको प्रभाती सुन्दरतामा पहिलो पटक महेश यसरी सम्मोहित हुन्छ कि ! मानौं भर्खरै उसको दृष्टि खुलेको छ । अझ यसो भनौं न हिजो अस्तिसम्म उसको आँखामा केही दृश्य थिएन । अहिले आएर बल्ल उसले विविधतापूर्ण जगत् अनुभव गर्दैछ । मूर्त–अमूर्त अनुभूतिसँगै राधाकृष्ण मन्दिरको बाटो हुँदै ऊ ढुङ्गेधारा निस्कियो । बाइकमा हुइँकिएको उसको मन हावा भन्दा तीव्र गतिमा छ । गन्तव्य पुगिसकेको छ उसको मन । तथापि पुग्नु पर्ने बाटो अझै बाँकी छ । मेनरोड हुँदै ऊ बल्खुको थाप्लोमा चढ्छ । कीर्तिपुर स्थित ट्याङ्ला चोक पुग्न भित्री मार्ग पछ्याउँछ ।
गुरु हर्कनाथले भनेका थिए नाटक नितान्तै नौलो छ । एक सातादेखि लगातर जुगुप्साको मञ्चन भइरहेको छ । पृथक ढङ्गले मञ्चन गरिएको छ नाटक । अप्रत्याशित किसिमले आर्जन गरेको लोकप्रियतामा दर्शकको भीड बढेको छ । धेरैले भनेका छन् आविष्कारक शैली प्रयोगमा जुगुप्साले एउटा इतिहास रचेको छ ।
साथीहरूबाट जुगुप्साको चर्चा सुन्दै आएको महेशलाई लागेको छ- वास्तवमा यो नाटक कस्तो होला ? ऊ एकदमै उत्सुक छ । निश्चय त्यो अद्भुतको हुनुपर्छ । दर्शकले त्यसै प्रशंसा गरेका होइनन् । जस्तो होस् उसलाई नाटक हेर्न मन पर्छ ।
रोज गार्डेन थिएटर पुग्दा महेशलाई एकदमै आश्चर्य लाग्छ । उसको मनमा यस्तो पनि थिएटर हुन्छ भन्ने लागेको थिएन । उसका कति साथीहरू अघि नै आइसकेका छन् । आगन्तुकको उपस्थितिसँगै किस्तीमा चिया कफी लिएर आइपुग्छ वेटर । ब्ल्याक टीको कप उठाएर महेश साथीहरूको हारमा मिसियो । उपस्थितहरू सप्पै आआफ्ना इच्छामा रमाएका छन् । कोही स्क्रीनमा घोप्टिएका छन् । कोही गफमा आफैँलाई भुलिरहेका छन् । कोही नेपथ्यमा बजिरहेको मधुरो सङ्गीतमा मोहित छन् । कोही फोनमा छन् । दर्शकको उपस्थिति थामिएको छैन ।
अब के हुँदैछ ? महेशले परिस्थिति ठम्याउन सकेको छैन । खासमा त ऊ जुगुप्सा नाटक हेर्न आएको हो । तर नाटक प्रदर्शन हुने कुनै सम्भावना ऊ देख्दैन । मनमनै गुरु हर्कनाथले आफूलाई झूटो खबर गरेका आरोप लागायो, ‘बुढेसकालमा आएर पनि कति मिथ्या कुरा गर्न जानेका । अझै पनि बूढाको परिहास गर्ने, विनोदी स्वभाव उस्तै छ । वास्तविकता के हो ? बताएको भए हुने थिएन ?’
खासमा के हुँदैछ अहँ कसैलाई थाहा छैन । महेश साथीहरूलाई सोध्छ, ‘तिमीहरू कुन अभिप्रायले यहाँ आएका हौ ?’ मित्रहरूको उत्तर एउटै छ ‘नाटक हेर्न आएको ।’ अनि ऊ आफैँलाई प्रश्न गर्छ ‘उसो भए खै त कलाकारहरू ? खै अभिनय गर्ने रङ्गमञ्च ?’ उसलाई जात्रा हेर्न आए जस्तो लाग्यो ।
यसअघि पनि एक दुईचोटि रोज गार्डेनमा नाटक हेर्न आएको नकुल बताउँछ । सहदेव पनि त्यही भन्छ । महेशले देख्यो उः परैबाट गुरु हर्कनाथ आइरहेका छन् । उनका साथमा तीन चार जना अरू मानिसहरू पनि छन् ।
सभाहल अगाडि एउटा सुन्दर गार्डेन छ । जात जातका फूलहरू ढकमक्क फुलेका छन् । उः त्यो पिङ्क कलरको गुलाफ गुच्छा–गुच्छै फक्रिएको छ । झप्किएका थुङ्गा थाम्न नसकेर डाली भुइँमा लच्किन्छ । शीतको ताज लगाएको दूबे चौरमा हीरा जडिएको दृश्य आकर्षक छ । सुन्दर बगानले आफूलाई हेरिदिन आह्वान गरेको भान हुन्छ ।
नाटकको शुरूवात कसरी हुन्छ ? महेश प्रतीक्षामा छ । यतिखेर आफ्नो मनोभाव बुझ्न ऊ असमर्थ छ । भीम, अर्जुन, उर्वशी उसका साथीहरू फेरि कफी मगाउँदैछन् ।
नाटक हेर्न भनेर विश्वामित्र, परासर, अगस्ति, शकुनी, जयद्रथ, दुर्योधन पनि आएका छन् । हेर्दाहेर्दै रावण पनि आइपुगे । सीता-माता पनि आइपुगिन् । महाभारतका, रामायणका यी चरित्रहरू कसरी यहाँ आइपुगे ? के अझ पनि यिनीहरू जीवितै छन् ? सपना भनूँ कि विपना भनूँजस्तो वातावरण तयार भएको छ ।
निश्चय आजको नाट्य प्रस्तुति ऐतिहासिक हुनेछ । दुर्लभ व्यक्तिको उपस्थितिले अप्रत्याशित उत्सुकता उत्पन्न गरेको छ । द्वापरकालीन दुर्योधन र द्रौपदीबीच ठूलो शत्रुता थियो । अब त त्यो शत्रुता भुलिसकेछन् क्यार ! अहिले मित्रताको भावमा टेबुल साझा गरेर सँगै बसेका छन् । सीता–माता र रावण पनि सँगै छन् । जनक पुत्रीसँग रावणको आसक्ति कसरी विलुप्त भयो ? देख्दैमा खलनायकजस्ता शकुनी यतिखेर बडो शान्त मूडमा छन् । शालीन भावमा केही चिन्तन गरिरहेझैँ देखिन्छन् । अहङ्कारी दुर्योधन साधुजस्तै स्थितप्रज्ञ–मुद्रामा छन् ।
सत्य, त्रेता, द्वापर–कालदेखिका यी प्राचीन चरित्र कहाँदेखि आइपुगे ? के साँच्ची नै यिनीहरू जुगुप्सा हेर्न आएका हुन् ? या त आजको नायक नायिकाको भूमिका निर्वाह गर्न आएका हुन् ? उपस्थित भएका सम्पूर्णमा यही जिज्ञासा छ । महेश दुर्लभ अतिथिसँग निकट हुन विनयी भावले झुकेर नमस्कार गर्छ । उसलाई लागेको थियो अतिथिहरूले आफूलाई गरिएको अभिवादनप्रति ख्यान गर्ने छैनन् । उसको सोचाइ विपरीत परिस्थितिले ऊ प्रसन्न हुन्छ । तन्द्रा या भ्रान्ति ठम्याउन नसकेको अनुभव गर्छ । बल्ल उसलाई नाटक हेर्न आएको सार्थक अनुभूति भएको छ ।
सभाहलमा अचम्मको चलहपहल छ । दर्शकहरू अधैर्य छन् । रङ्गमञ्चको पर्दा अविलम्ब उघ्रियोस् भन्ने अपेक्षाले व्यग्र छन् । कति कारणले जुगुप्सालाई प्रयोगवादी नाटक भनिएको हो ? महेश अनुमान लगाउँछ । रोज गार्डेनमा उपस्थित हुने अवसर प्रदान गरेका गुरूप्रति कृतज्ञ हुन्छ । अघि आफूले सोचेको भावनाप्रति क्षमा चाहन्छ । गुरुले व्यर्थमा झुट्टो खबर गरे भन्ने उसको जुन अभियोग थियो त्यो सच्याउँछ ।
वातावरण सम्हालिंदै थियो । नेपथ्यबाट आएको नारी स्वरले एक्कासि परिवेश मौन हुन्छ, प्रतीक्षित मूडमा सप्पै आवाज विहीन हुन्छन् । घनीभूत मौनतामा नारी स्वर सङ्गीतजस्तै सुनिएको छ । मोहित पार्ने कस्तो मृदुल कण्ठी । त्यो अज्ञात आवाजले दर्शकलाई केही भन्दैछ ‘जुगुप्सा नाटक हेर्न आउनु भएका सम्पूर्ण महानुभावलाई प्रभातकालीन नमस्कार तथा हार्दिक स्वागत अनि न्यानो अभिवादन ! यो विशाल सभामा शान्त भई बसिदिनू हुन तपाईंहरूलाई मेरो विनम्र अनुरोध छ । अब नाटक शुरू हुँदैछ । एउटा भिन्न प्रस्तुतिमा मञ्चन हुन लागेको यस नाटकको अन्त्यमा पुग्दासम्म—तपाईंहरूलाई लाग्न सक्छ खै नाकट शुरू भएको ?
आरम्भमै तपाईंहरूलाई म सचेत गराउन चाहन्छु । आफूलाई एकदम सजग मूडमा राख्नू होला । जुगुप्सा नाटक कस्तो लाग्छ त्यो तपाईंहरूको बुझाइमा निर्भर रहनेछ । कतिलाई आफू नाटक हलमा छु, नाटक हेर्दैछु भन्ने अनुभव नहुन पनि सक्छ । किन त्यसो हुन्छ भने जुगुप्सा एउटा प्रयोगशील नाटक भएको हुँदा जुन दृष्टिले बुझ्नु हुन्छ, त्यो तपाईंहरूमा निर्भर रहनेछ । यसमा तपाईंहरूले जस्तो दृश्य अनुमान लगाउन पनि सक्नु हुन्छ । तपाईंहरू यस परिवेशमा जति धेरै वैचारिक तथा काल्पनिक हुन सक्नुहुन्छ त्यति नै यो नाटक अद्भुतको लाग्ने छ । तपाईंहरूको संवेदना जुन उचाइको छ त्यही अनुसार रुन तथा हाँस्न सक्नु हुनेछ । नहाँस्न पनि सक्नुहुन्छ, नरुन पनि सक्नुहुन्छ । क्रोधी हुन पनि सक्नुहुन्छ, नहुन पनि सक्नुहुन्छ । आश्चर्य लाग्न पनि सक्छ, नलाग्न पनि सक्छ ।
यस किसिमको नाटक किन पनि हामी मञ्चन गर्दैछौं भने वर्तमान समयमा हामीलाई अनेक किसिमको सामाजिक सञ्जालले तयारी विचारहरू, तयारी धारणा र दृष्टिहरू दिइरहेको छ । त्यस्तै दृश्य दिइरहेको छ । हामी बिस्तारै मर्दैछौं, संवेदना गुमाएर स्लो पोइजनको गतिमा हो हामी मर्दैछौँ । सिर्जनात्मक हुने क्षमता हामीले गुमाउँदैछौं, काल्पनिक हुने, वैचारिक हुने मस्तिष्क खुम्च्याउँदैछौँ । मानव संवेदना मोबाइलजस्तै निर्जीव हुँदै गइरहेको छ । धीरता हराइरहेको छ । हो यस्तो अवस्थामा मानिसलाई पुनः जागृत गर्न हामीले यस्तो अभियान ल्याएका हौं, … ! अबको कला साहित्यले स्रोतालाई पूर्व निर्धारित तथा नियोजित अझ भनौं मूर्त भाव, विचार र दृश्य दिने छैन । अमूर्त भाव, अमूर्त विचार, अमूर्त दृश्य यस्तै खालको साहित्य लेखिन थाल्ने छ । त्यसमा दर्शक आफैँ सिर्जनात्मक हुनेछन् । पाठक तथा स्रोताको बौद्धिकतालाई स्वतन्त्रता दिन तथा उनीहरूको विद्वतालाई कदर गर्न यो अभियान शुरू गरिएको हो ।
अन्त्यमा मेरो विनम्र अनुरोध छ—आफ्नो परिचय दिएर मात्रै कुर्सीमा बस्नू होला । नाकट मञ्चन भइरहँदा तपाईंलाई कुनै प्रतिक्रिया दिने इच्छा भयो भने अन्तमा आफ्नो कुरा राख्न सक्नु हुनेछ । ए साँच्ची मैले भन्नै बिर्सिएको ! कृपया ! सबैले आआफ्नो मोबाइल साइलेन्स मूडमा राख्नू होला ।’
वातावरणलाई शालीन बनाउन, संयमित राख्न दुर्योधनका मामा भान्जा खटिएका छन् । पङ्क्तिबद्ध लाइन आफ्नो परिचय दिएर मात्रै सीट सुरक्षित गर्न सक्ने छ । अग्रपङ्क्तिमा उभिएको महेशलाई शकुनीले सोध्छन् ‘के तिमी नाटक खेल्न तयार छौ ?’
शकुनीका प्रश्नमा महेश अलमल पर्छ । उनलाई कस्तो उत्तर दिनु पर्ने हो ? परिस्थितिप्रति महेशलाई अन्योल हुन्छ । असमञ्जस भावले निशब्द हुन्छ । ऊ कहाँ जुगुप्साको अभिनय गर्न आएको हो र ? ‘म नाटक खेल्न तयार छैन’ भन्ने हो भने ऊ थिएटरबाट बाहिरिन पनि सक्छ । त्यसो हुँदा उसले केही जवाफ दिन सकेन । उता शकुनी उत्तरको पर्खाइमा अधीर छन् । फेरि त्यही प्रश्न गर्छन् ।
महाभारतका शकुनी सम्झिएर महेश केही सतर्क हुन्छ । प्रपञ्च रचेर उनले महेशको जीवन बर्बाद गर्न केबेर ? मामा भान्जा सँगै छन् । यी दुई व्यक्तित्व मिलेर निमेषभरमा अस्तित्व विहीन बनाइदिन पनि सक्छन् । यी मामा, भान्जा बडो प्रपञ्चक छन्, निष्ठुर छन्, अविश्वासी छन् । महाभारत त्यसै कहाँ घटेको हो र ? उनीहरूको षड्यन्त्रमा युधिष्ठिर समेत लाचार हुनुपरेको थियो भने महेशको के कुरा !
महेशले झूट बोल्ने आँट गर्न सकेन । त्यसो त ऊ रङ्गमञ्चमा अभिनय गर्न कहाँ आएको हो र ? उसले त्यही भन्यो ‘महाशय ! मलाई माफ गर्नू । म अभिनय गर्न आएको होइन । बरु अभिनय हेर्न आएको हुँ । विश्वास नलागे रोज गार्डेन थिएटरका हर्कनाथ गुरुलाई सोध्नू । म त उहाँकै निमन्त्रणा पाएर जुगुप्सा हेर्न आएको हुँ ।’
‘कृपया ! म अरू केही जान्दिनँ’ शकुनी रुष्ट स्वरमा बोल्छन् ‘नाटकको अभिनय गर्न नजान्नेहरूलाई यहाँ प्रवेशको अनुमति छैन ।’ दुर्योधनको समर्थन पाउन उनी फेरि बोल्छन् ‘होइन त भान्जा ?’
‘अवश्य मामा’ दुर्योधन के कम्ती थिए र ? तत्कालै मामाको वचनलाई समर्थन गरे, सही थापे ।
उनीहरूका कुराले सबै दर्शक रनभुल्लमा परे । असामञ्जस्यको अनुभूतिसँगै लामो निश्वास लिए । अभिनय गर्नेलाई मात्र सभाहलमा प्रवेशको अनुमति दिने हो भने यहाँ कोही दर्शक रहने छैन ।
महेशले साहस गरेर भन्यो, ‘माफ गर्नुहोला महोदय ! मलाई अभिनय गर्न आउँदैन ।’
शकुनी कम चलाख मान्छे हुन् ? उनले कति धेरै छल जानेका छन् । कुटिल भावमा उनी मुस्काउँछन् । उनलाई थाहा छ अभिनय गर्नेलाई मात्र बस्न अनुमति दिने हो भने नाटकको मञ्चन हुन सक्ने छैन । कुटनैतिक भाषामा अझ दर्शनिक लयमा उनले भने ‘कृपया ! अभिनय गर्न असमर्थ छु भनेर आफूलाई कदापि हीन नठान्नू होला । यहाँ सहभागी हुनु भएका हर व्यक्ति आफैँमा एक कुशल अभिनेता हुनुहुन्छ । थाहै नपाई तपाईंहरूले महान् नाटकको अभिनय गरिरहनु भएको छ । जीवन बाँच्न गरिएका हरेक प्रयास नै के नाटक होइनन् र ? तपाईंको जीवन कसले बाँचिदिएको छ एकचोटि भन्नूस् त ?’
सभाहलको द्वारमा लाइन लागेकाहरू शकुनीका अभिव्यक्तिले अवाक् छन् । स्वरतन्त्री सुकेर महेश केही बोल्न सकिरहेको छैन । मामाको भनाइमा अरू प्रभाव थप्न दुर्योधन आफ्नो जीवनलाई दृष्टान्त दिएर बोल्छन्, ‘तपाईंहरूलाई थाहै छ ? महाभारतलाई फेरि एकचोटि फर्किएर हेर्नू त ! त्यहाँ हामीले कस्तो जीवन बाँचेका छौं ? त्यतिखेर हामीलाई एउटा सत्य जीवन बाँचिरहेका छौँ लागेको थियो । तर होइन रहेछ । त्यो त फगत नाटक रहेछ । हामीले त्यतिखेर जस्तो बाँच्यौँ त्यही बचाइले पूर्वीय वाङ्मय आज धन्य भएको छ । त्यतिखेर थाहा थिएन हामी कुशल अभिनयकर्ता हौं । अहिले आएर महाभारतमा अनुभूत हुन्छ हामी त महान् कलाकार रहेछौं । हो, तपाईंहरू पनि त्यसैगरी महान् कलाकार हुनुहुन्छ । जस्तो जीवन बाँच्दै हुनुहुन्छ त्यसमा तपाईंहरू अभिनय कला भर्दै हुनुहुन्छ, शिल्पपूर्ण नाटक तयार गर्दै हुनुहुन्छ । जीवनलाई सचेततापूर्ण तरिकाले स्वीकार्दै जानुस् भोलि यही महान् साहित्य हुनेछ । जस्तो भोग्नुहुन्छ, जस्तो बाँच्नुहुन्छ त्यसलाई लेख्दै जानुस्, टिप्दै जानुस् ।
यही कुरा बुझाउन भनेर आज हामी रोज गार्डेन आएका हौं । अभिनय गर्दागर्दै पनि अभिनयको बोध नहुँदा तपाईंहरू भ्रमपूर्ण अवस्थामा हुनुहुन्छ । आउनूस्, जीवनलाई एउटा नाटक हो स्वीकार्नूस् अनि त्यसमा म अभिनय गर्दैछु भनी बुझ्नूस् । हो त्यतिखेर तपाईंको जीवन आफैँमा महान् साहित्य हुनेछ, त्यस्तै तपाईं महान् स्रष्टा बन्नु हुनेछ ।
कृपया आउनुस्, एकजुट हौं, हामी सँगसँगै नाटक खेलौं, अभिनय गरौं । हामी यहाँ उपस्थित भएका सम्पूर्ण जुगुप्साका रङ्गकर्मी हौँ । तपाईंहरूसँग अभिनय गर्ने इच्छाले नै हामी टाढादेखि आएका हौं । फेरि अर्को महाभारत रच्न आएका हौं । छल, प्रपञ्च, धोका हामी जति रच्न सक्छौं । जति भोग्न सक्छौं त्यति नै जटिल अभिनय हुनेछ । त्यति नै महान् कलाकार हुनेछौं । एकछिनपछि थाहा पाउनु हुनेछ महाभारतको भन्दा पनि कठोर जीवन यहाँ तपाईंहरूले भोग्दै आउनु भएको छ । शकुनी, दुर्योधन, दुःशासन भन्दा पनि क्रूर पात्रत्वको बारेमा अहिले सुन्नु हुनेछ । छली र प्रपञ्चकहरू उतिकै भेट्नु हुनेछ । सम्भवतः मलाई लाग्छ यहाँ अकथित महाभारत निकै घटिसकेका छन् । हो तिनै अव्यक्त महाभारतलाई भावाङ्कन गर्न जुगुप्साको अभिनय हुँदैछ ।’
दुर्योधनको भनाइ रावणलाई बडो घत लाग्छ । हँसिलो मुद्रामा उनी निकै सुन्दर देखिएका छन् । दुर्योधनको विचारमा सहमत राख्दै उनी आफ्ना केही कुरा भन्न अग्रसर हुन्छन् ‘मित्रले एकदम ठीक कुरा गर्नु भयो । अन्याय, अत्याचारका विरुद्ध लड्न म पनि आएको छु । ती दिनमा मबाट जस्तो भूल भयो कृपया ! अब त्यसलाई बिर्सिदिनू होला । आफ्नो गल्ती मैले स्वीकार गरिसकेँ । मबाट अब त्यसो हुने छैन । तथापि त्यस समय मैले जे गरेँ—एक किसिमले ठीकै गरेछु जस्तो पनि लाग्छ । मैले सीतामाता हरण गरेको हुन्थिनँ भने रामायण सिर्जिने थिएन । तपाईंहरूले हाम्रो पूर्वीय साहित्यको महान् ग्रन्थ भनी यतिखेर गौरवगान गर्न पाउनु हुन्थेन । हेर्नु त आज रामायणप्रति तपाईंहरूको गौरव कति विराट छ; … ।’
सीतामाता अघिदेखि मुसुमुसु हाँसिरहेकी थिइन् । बसेको सीटबाट जुरुक्क उठिन् । सौम्य मुद्रामा रावणको अभिव्यक्ति रोक्दै केही बोल्न लागिन्, ‘शायद तपाईंहरूलाई अहिले पनि रावणप्रति क्रोध होला । उनीप्रति यसरी पूर्वाग्रही नहुनू । अञ्जानमा उनीबाट जेजस्तो भूल भयो त्यसलाई मैले भुलिसकेँ । कसैले आफ्नो गल्ती स्वीकारेर प्रायश्चित्त गर्छ भने ऊ महान् हो । कसैले माफ माग्छ भने उसलाई माफी दिनु अर्को महानता हो । क्षमाशील भई उनको अपराधलाई अब मैले बिर्सिदिएँ—केवल उनको महानतालाई अहिले सम्झिएकी छु । उनीप्रति म धन्य छु, उनको कारण म यसरी युगयुग बाँच्दै आएकी छु । तपाईंहरूको हार्दिकता पाएकी छु । सहानुभूति पाएकी छु । ती दिनमा मैले दुःख, कष्ट, पीडा, अवसादलाई एकदम धिक्कारेकी थिएँ । अहिले लाग्छ त्यो त मेरो जीवनको महत् कुरा रहेछ ।’
सीतामातासँग बोल्नुपर्ने कुरा धेरै थिए । उनलाई त्यो सब सुनाउने इच्छा थियो । उनको बोली थामिएको थिएन । रोज गार्डेनका यी दर्शकहरू जुगुप्सा नाटक हेर्न आएका हुन् भन्ने पनि उनले बिर्सिसकेकी थिइन् । उनको अभिव्यक्ति झट्टै टुङ्गिएलाजस्तो थिएन ।
सिलसिला थप्दै भनिन्, ‘अघिल्लो जीवन सम्झिँदा मलाई अहिले एकदम हाँस उठ्छ । यतिखेर हामी जुन कुरालाई वास्तविक ठानिरहेका छौं, अन्त्यन्तै सत्य मानिरहेका छौं भोलि यिनै कुरा भ्रम लाग्न थाल्नेछन्, मिथ्या अनुभूति हुन थाल्नेछ । किनकि आज बाँचेको जीवन भोलि रहनेछैन । भोलि हामी अर्कै जीवन, अर्कै समय बाँचिरहेका हुनेछौं । हरेक भोगाइ, हरेक अनुभूति केवल तत्क्षणको लागि वास्तविक हुन सक्छन् । त्यो वास्तविकता टिकिरहँदैन । जब टिकिरहँदैन भने अतीतप्रति गुनासो नै किन गर्नू ? हामी अहिले सबै जुगुप्सा हेर्न आएका छौं । हेरुन्जेल यथार्थ जीवन ठानेर रङ्गकर्मीको अभिनयमा हाँस्छौं रुन्छौं । एकैछिनमा पर्दा झर्छ । अनि त फेरि यहाँ के बाँकी रहन्छ ?
मेरो भनाइको अभिप्राय तपाईंहरूले निश्चय बुझ्नु भयो होला । बुझ्नु भएको छैन भने दृष्टान्तमा मलाई हेर्न सक्नु हुन्छ । त्रेता युगमा रावणले मलाई अपहरण गरेका थिए । तर अहिले त गरेका छैनन् नि । त्यो जीवन यतिखेर मैले भोग्दैछैन । आजको समयमा उनी र म मित्रता गरिरहेका छौँ । त्यतिखेर त उनले ठूलो अपराध गरेका हुन् नि ! तथापि मैले प्रतिशोधको भावले हेरिनँ । प्रतिशोधले मलाई अझ बढी कष्ट भोगाउने थियो । फेरि अर्को कुरा गल्ती त जहिल्यै मान्छेबाट हुने हो नि । होइन र ? मेरा पिता जनक यही भन्ने गर्नु हुन्थ्यो—जानाजान कसैले गल्ती गर्छ या त पुनः पुनः उही गल्ती पुनरावृत्ति गर्छ भने त्यो कदापि मान्छे हुन सक्दैन । मानिस स्वरूपको ऊ अर्कै केही खराब वृत्तिको जीव हुन सक्छ । हामीले यति मात्रै बुझ्न जरुरी छ कि हामी हरेक निमेष मान्छे भएर बाँच्ने प्रायस गरौं । जुगुप्साले यही सन्देश दिन चाहेको छ । त्यस्तै आफू मान्छे हो कि होइन भनी थाहा पाउने अवसर पनि हो यो ।’
यतिखेर महेश बडो द्विविधामा छ । भ्रम र यथार्थ छुट्याउन असमर्थ छ । आफू नाटक हेर्न आएको छु या कुनै सभा समारोहमा उपस्थित छु भन्ने नै ऊ थाहा पाउँदैन । सीता, रावण, शकुनी, दुर्योधन यी कहाँबाट आए ? के यिनीहरूले फेरि अर्को जन्म लिएका हुन् ? यदि अर्को नयाँ जन्म लिएका भए अघिल्लो जीवनको कुरा यिनीहरूले कसरी गर्दैछन् ? अघिल्लो जन्मको बारेमा आजसम्म कसैले केही सुनाएको चाल पाएको छैन । हर कोही व्यक्तिलाई अहिले बाँचिरहेको जीवन नै पहिलो जन्म हो जस्तो लाग्छ । यस धर्तीमा पहिलोचोटि म जन्मिरहेको छु अनुभूति हुन्छ । पुनर्जन्म हुन्छ हुँदैन कसैलाई थाहा छैन । तर यी रामायणकालीन, महाभारतकालीन चरित्रले अघिल्लो र पछिल्लो दुवै जीवनको घटना सुनाइरहेको देख्दा सप्पै दर्शकहरू भ्रान्तिको अनुभव गरिरहेका छन् । हुन त अघि सीतामाताले भनिसकेकी छन्—हामीले अहिले जस्तो जीवन बाँचिरहेका छौं त्यो पनि अन्ततः भ्रान्ति नै हो । यी सबै यथार्थजस्तो लाग्ने भ्रान्तिहरू हुन् । यथार्थजस्तो लाग्नु फेरि भ्रान्तिजस्तो पनि लाग्नु आखिर त्यही त हो जीवन ।
दर्शकले नै अभिनय गर्नुपर्ने यो कस्तो नाटक हो ? दर्शकदीर्घामा ठूलो कुतुहलता छ । फेरि भनिएको छ- यहाँ उपस्थित सम्पूर्णलाई एउटा सुविधापूर्ण प्याकेज छ । त्यो के भने नाटकको अन्त्यमा अभिनयकर्तासँग अन्तर्वार्ता गर्न पाइनेछ । आफूलाई लागेको कुरा सोध्न पाइनेछ । फेरि भनिएको छ यहाँ उपस्थित हामी सबै नाट्यकर्मी हौँ । महेशले मनमनै अतीत सम्झिने चेष्टा गर्यो । यस किसिमको नाटक आजसम्म नहेरेको कुरा उसले सम्झियो ।
अन्योलताको बीचमा महेशले केही बोल्ने आँट गर्यो । ‘यहाँहरू सम्पूर्णमा मेरो नमस्कार छ’ उसले आफ्नो परिचय दियो ‘म महेशबाबु ढुङ्गाना । शहरमा पढाइ गर्न तनहुँदेखि आएको एक विद्यार्थी । मेरो रुचि नाट्य क्षेत्रमा हुँदा म यही विषयमा विद्यावारिधि गर्दैछु ।’ यति भनेर उसले आफ्नो सीट लियो । दुर्योधनले अघिदेखि प्रश्नको उत्तर पाएका थिएनन् । फेरि सोधे ‘तपाईं अभिनय गर्न मञ्जुर हुनुहुन्छ ?’ धृतराष्ट्र पुत्रको उत्तर दिन महेशलाई अब केही आपत्ति थिएन । उसले भन्यो, ‘म एकदम मञ्जुर छु ।’
पङ्क्तिबद्ध लाइन आफ्नो परिचय सँगै ‘अभिनय गर्न म तत्पर छु’ भनी क्रमशः बस्दै गयो । प्रोफेसर, सञ्चारकर्मी, इतिहासविद्, भाषाविद्, सुरक्षाकर्मी, मजदूर, विद्यार्थी, साहित्यकार, कलाकार, शरणार्थी तथा गृहिणी गरी ठूलो संख्याले सभा हल भरियो ।
नेपथ्यबाट पुनः उही मृदुल कण्ठी स्वर आउँछ – फेरि पनि तपाईंहरूलाई स्वागत छ । विश्वास छ तपाईंहरू अभिनय गर्न एकदम पोख्त हुनुहुन्छ । आउनोस् यहाँ आफ्नै जीवनको अभिनय गरौँ । त्यसभन्दा अगाडि एउटा गीत सुनौं- मान्छे मान्छे एउटै हो नि फरक किन भो …।
आआफ्नो सीटमा बसेर गीतको लयमा सभाहल झुम्यो । दर्शकहरू उर्फ नाट्यकर्मीहरू सम्पूर्ण तत्पर मूडमा देखिए । अब कसरी जुगुप्साको मञ्चन हुन्छ ? उत्सुकताले अधीर छ परिवेश ।
० ० ० ०
व्यग्र प्रतीक्षारत समय । यस्तैमा अकस्मात् परिवेश फेरिएको छ । दृश्य बदलिएको छ । ख्याउटे, देख्दैमा निर्धो, निस्तेज मुद्रा, झुम्रो शरीर भएको एक अभिनेत्री रङ्गमञ्चमा एकाएक देखिन्छ । स्पष्ट नदेखिने धमिलो प्रकाशमा फेरि अरू तीन जना थपिन्छन् ।
अत्यन्तै अनाथ स्थितिमा रामबहादुर राईले हात जोडेर भन्यो, ‘हजुर म त निकै टाढादेखि आएको भूटानी शरणार्थी हुँ । म अहिले राम्रोसँग बोल्न सक्ने स्थितिमा छैन । एकतीस वर्ष दश महीना जेल जीवन भोगेर आएको मसँग अत्यन्तै दुरूह अनुभूति मात्रै छ । त्यस बाहेक मसँग अरू केही छैन । यतिखेर जेलमुक्त भएको खुशीमा जीवनको उत्सव मनाऊँ कि मृत्युजस्तो जीवनको शोक गरूँ ? म के गरूँ आफैँलाई थाहा छैन । बोल्दाखेरि भूलवश केही तलमाथि हुनसक्छ । कृपया ! मलाई माफ गर्नुहोला । म अत्यन्तै असंयमित अवस्थामा छु । मानसिक विचलनमा छु । मेरो मस्तिष्क सम्पूर्ण रूपले शून्य स्थितिमा छ । म के बोल्दैछु मलाई नै थाहा छैन । आफैँले आफैँलाई बिर्सिसकेको हृदयको यो आवाजसँग म अपरिचित छु । यो आवाजसँग म भड्किरहेछु । तीन दशकदेखि खोसिएको आफ्नो आवाज आफैंलाई नौलो लागिरहेको छ … ।’
मुखामुख गरेर रङ्गकर्मीहरू आपसमा केही कुरा गर्न खोजेझैं देखिन्थे । यस्तैमा मनबहादुरले भन्यो, ‘मलाई त कस्तो भोक लाग्यो साथी । हिजो हामीले कति मीठो खाना खाएका थियौं हगि ? आज पनि सञ्चमानलाई त्यस्तै मीठो खाना खुवाऊ भन्नुपर्छ । नबिर्स है साथी हिजो हामीलाई किमती रेस्टुरेन्ट लगिएको थियो ।’
मनबहादुर, रामबहादुर, सोमबहादुरको विशृङ्खलित संवादमा दर्शकले भेउ पाउँदैनन्- उनीहरू कुन विषयमा संवाद गरिरहेका छन् । दर्शक उनीहरूको अवस्था जान्न आतुर हुन्छन् । आफ्नो पहिचान भनौं या भाषा, साहित्य, संस्कृति बचाऊको अभियानमा लाग्दा देशद्रोही भएका बन्दी । लामो जेल जीवनको दण्ड भोगाएर उनीहरूलाई भूटान सरकारले देश निकाला गर्यो अर्थात् ‘म देश छोड्न राजी छु’ भनी बलात् स्वीकृति गर्न लगाइयो । उनीहरूलाई एक हप्ता अघि त्यसरी भारतीय सिमाना कटाएर देश विहीन बनाइयो, परिचयहीन बनाइयो । अनि त उनीहरू शरणार्थी भए । शरणार्थी पनि के भन्नु ? उनीहरूलाई नक्कली शरणार्थीको अभियोग लागेको छ ।
रुग्ण आकृतिका रङ्गकर्मी मूर्त अमूर्त भावमा रुमलिन्छन् । के गरौं कसो गरौंको स्थितिमा अलमल पर्छन् । यस्तो असमञ्जस स्थितिमा रामबहादुर विलाप गर्छ, ‘मेरा छोरा छोरीहरू कहाँ गए होलान् ? मेरी श्रीमती त मरिसकी रे !’
छाती पिटेर ऊ रुन्छ, ‘बिचरी मेरै पीरले मरी । अन्तिम क्षणमा भेट नभई ऊ गई । प्राण उठाएर गई । हा … प्यारी मलाई यस दुःखद स्थितिमा छोडेर कसरी जान सक्यौ ? मृत्युजस्तो जेल जीवन तिम्रै सम्झनामा बाँचिरहेको थिएँ । मेरो आफ्नो भन्नु तिमी नै त थियौ । तिमी नभएपछि भन म कसको लागि बाँचूँ ? तिमी कहाँ छौ प्यारी ? भन म तिमीलाई भेट्न आउने छु । अब मलाई बाँच्नु व्यर्थ छ । चोला उठाएर आउनेछु … तिमीसँगै … !’
रामबहादुरको शोकमा सन्तप्त छ सम्पूर्ण वातावरण । दर्शकको दृश्य धमिलिएको छ । आँखा डबडबाएका छन् । रुन्चे आवाजहरू सुँक्सुँकाएका छन् ।
नाट्यकर्मीको संवादमा अघिदेखि शृङ्खला टुटेको थियो । जेल जीवन भोगेर देश निकाला भएका उनीहरू आफ्नो मान्छे खोज्दै झापाको बेलडाँगी शिविर आइपुगेका थिए । तर आफन्त अहँ कोही भेट्न सकेनन् । जेल छुटेपछि उनीहरूलाई एकछिन पनि आफ्नो मातृभूमिमा बस्द दिइएन । वर्षौदेखि बस्दै आएको आफ्नो थालतलो हेरेर फर्किन्छु भन्दा क्रूर शासकले एक निमेष पाइला अड्याउन दिएन । उनीहरूलाई सेना प्रशासनले ट्रकमा हालेर सिमाना कटाएका थिए । अनि त उनीहरू भूमिहीन भए, देश निष्कासित भए ।
परिचय तथा अस्तित्व सप्पै गुमाएका रङ्गकर्मीको दुःखद स्थितिमा दर्शकहरू आक्रोशित भए । रङ्गमञ्चभित्रै अन्याय विरुद्ध जुलूस उठ्यो । तानाशाही विरुद्ध नारा रन्कियो ‘अधिनायकवादी शासक मुर्दावाद, मुर्दावाद । क्रूर शासकलाई फाँसी दे फाँसी दे … ।’
आक्रोशित मूडमा दर्शकहरू अझ बढी उत्तेजित हुन लागे, ‘यो कस्तो समाजवाद हो ? यो धर्ती, यो आकाश के तिनै शासकहरूको पेवा हो ? यी अधिनायकवादीहरू कसमाथि शासन गर्दैछन् । किन यस्तो भर्त्सनापूर्ण व्यवहार गर्न लालायित छन् ? किन अमानव हुन उद्यत छन् ? नागरिकलाई किन अमानवीय व्यवहार गर्दैछन् ?’
रोज गार्डेन अशान्त हुन लाग्यो । अधैर्य भयो । रङ्गमञ्चभित्रै विद्रोहको स्वर उठ्यो । भावावेशमा दर्शकहरू विचलित भए । क्रूर शासकलाई चुनौती दिँदै समवेत स्वरमा भन्न लागे, ‘ओ ! महामहिम ! यो जघन्य अपराधको जवाफदेही हुने कि नहुने ? खै कहाँ गए विश्व मानव अधिकारकर्मी ? तिनीहरू के हेरेर बसिरहेका छन् ? वाक् स्वतन्त्रताको माग राख्दा भोग्नुपर्ने यो कस्तो दण्ड हो ? आफ्ना जनतालाई अनागरिक बनाउने आततायी शासक कसरी राष्ट्र प्रमुख हुनसक्छ ? मुलुकको अभिभावक हुनसक्छ ? यस्तो नालायक शासक … अब … सत्ताच्यूत हुनुपर्छ हाम्रो यही माग छ, हाम्रो माग सुनिश्चित होस्, … ।’
रङ्गमञ्चको करुण दृश्यले आगोमा घ्यूको थपेको छ । नाट्य निर्देशक प्रेम रावतलाई विद्रोही परिवेश नियन्त्रण गर्न कठिन पर्छ । नाटक बीचमै रोक्नु पर्ला जस्तो हुन्छ ।
घरबार विहीन रामबहादुर श्रीमतीको शोकमा मूर्च्छा परी भुइँमा लडिरहेको छ । साथीहरू उसलाई होशमा ल्याउन खोज्छन् तर सक्दैनन् । डाक्टर बोलाउनु पर्यो भन्दै थिए । त्यसै बेला अकस्मात् मनबहादुरले जेल जीवन सँगै बिताएका शिवहरि दाहाललाई सम्झियो । दाहाल एकदशक अघि नै जेल छुटिसकेका थिए । जेलभित्र कति साथीहरूले मृत्यु भोगिसकेका थिए । कति मृत्यु भोग्दै थिए । को कति समय जेलमा सड्ने छन् कसैलाई थाहा छैन । त्यो त सरकारको मूडमा भर पर्छ । जेल मुक्त हुने दिन शिवहरिले आफ्नो अभिन्न मित्र रामबहादुरलाई भने ‘मेरो यो रामनामी वस्त्र म यहीं छोडेर जानेछु । तिमीले बन्दी जीवन छुटकारा पायौ भने यो वस्त्र लिएर मलाई भेट्न आउनू । त्यतिखेर तिमी जीवितै रहेछौ भन्ने मलाई विश्वास हुनेछ । त्यतिखेर कैदबाट तिमीले छुटकारा पायौ भन्ने कुरामा म विश्वस्त हुनेछु ।’
मित्र शिवहरिलाई सम्झिएर मनबहादुरले ब्याग छाम्यो । अब कसरी शिवहरिलाई भेट्ने होला उसलाई चिन्ता पर्यो । शिवहरि कहाँ छन् ? के गर्छन् ? जीवित छन् या छैनन् उसलाई केही थाहा छैन ।
विरह, वेदना, व्याकुलता, अवसाद, पीडा यस्तै केके थोक मिसिएको भावमा एक तामसले सुसाएको छ थिएटर हल । जुगुप्साका अभिनयकर्मी नाटक जस्तो जीवनसँग केही दुखेसो गर्दैछन्, ‘म किन बाँच्दैछु ? कसका लागि बाँच्दैछु ? यस्तो निरर्थक बँचाइको अर्थ खै कहाँ रहन्छ ? म अब बाँचू कि नबाँचूँ ?’ यसरी अर्थपूर्ण जीवन बाँच्न नपाएको हीनता बोधले अभियनकर्मी शिथिल भए । त्यसै वेला हत्केलाले मुख छोपेर घोप्टो परे ।
दुर्लभ मानव जीवनलाई बर्बाद गर्ने आतङ्ककारी शासकलाई धिक्कार्दै हरिबहादुर जुरुक्क उठ्यो । उता सोमबहादुर अचानक ‘ऐया … मरे नि आमा हो’ भन्दै दर्दपूर्ण स्वरमा चिच्याउँदै ढल्यो ।
उसको चीत्कारले अघिदेखि मूर्च्छा परेको रामबहादुर ब्यूँझिन्छ । ‘के भयो किन कराएको ?’ साथीहरू उसलाई घेर्छन् ।
‘मलाई अहिले जीवनको अभिनय गर्न कठिन भइरहेको छ । म धेरैबेर ठाडो बस्न सक्दिनँ । भूटान सरकारले मेरो ढाड भाँचिदिएको छ ।’ कष्टपूर्ण स्वरमा हरिबहादुर भन्छ, ‘सेनाको बूट, राइफलको कुन्दा र सङ्गीनको प्रहारले थिलोथिलो भएको देह दुर्बल छ । स्वास्थ्य उपचार गर्न पाए केही तंग्रिन्थें कि ?’
साथीको विषादपूर्ण अभिव्यक्तिमा रामबहादुरले पुनः आफ्नो वेदना सम्भियो । उसका आँखाबाट आँसु बगिरहेका छन् । बूट लगाएको सेनाले आँखामा लात्ती हानेदेखि उसले राम्रोसँग देख्न छोडेको छ ।
यातनापूर्ण जेल जीवन उनीहरू सम्झिन पनि चाहँदैनन् । रङ्गमञ्चमा फेरि त्यही जीवनको नाटक गर्नुपर्दा उनीलाई अत्यन्तै कष्ट भएको छ । सोमबहादुर बेसुरमै उत्तेजित हुन्छ । आक्रामक देखिन्छ । अचेतमै ऊ बरबराउँछ ‘हामीलाई असह्य यातना भोगाउने भूटान सरकारलाई म गोली ठोक्नेछु । हामीलाई कति सास्ती दियो यसले ? म प्रतिशोध नलिई छोड्दिनँ । हातमा, गोडामा, कम्मरमा जञ्जिर भिरेर वन फाँड्न लगाएको त्यो चरम यातना मैले कहाँ भुलेको छु र ? कसरी भुल्न सक्छु ? जञ्जिर लगाएर धार नभएको भुत्ते हतियारले त्यसरी वनबुटो फाँड्नु पर्दा मृत्यु बरु निकै श्रेयष्कर लागेको थियो । थुक्क जिन्दगी ! शब्दमा व्यक्त गर्नै नसकिने यो दुःखी जीवनलाई कति सम्झिनु ? धिक्कार होस् … ! बरु मर्न पाए हुन्थ्यो, … ।’ लामो सुस्केरासँगै उसका आँखाबाट बर्र आँसु झर्छन् ।
सोमबहादुरको उच्छवासमा दर्शकको सुस्केरा मिसिएर अनौठो आवाज निस्किन्छ । पीडाको, वेदनाको, अपमानको, ग्लानिको यस्तै अनेक भावको सुस्केराले परिवेश उदासीन हुन्छ ।
जेलमा एउटा बन्दीले दुर्व्यवहार भोगेको, असह्य यातना सहेको सुनेर दर्शकहरू पुनः आन्दोलित भए । ‘जेल चलान भएपछि कुनै पनि बन्दीलाई यातना दिन पाइँदैन’ भन्ने कानूनको अवज्ञा गरेको भूटान सरकारलाई तथानाम गाली गर्न थाले । जुगुप्सा नाटक हुलदङ्गामा रूपान्तरित होला जस्तो भयो ।
तर रङ्कर्मीलाई त्यसप्रति केही वास्ता थिएन । दर्शकहरू हाम्रो अभिनयमा विचलित भएका छन् भन्ने हेक्का पनि राखेनन् । पेट खाली भएर मनबदादुरको आन्द्रा बटारिन्छ । दुखाइ कम गर्न भुँडी दाबेर बसेको ऊ भन्छ, ‘मलाई भोकसँग वितृष्णा छ । यो भोक भन्ने कुरा नलागिदिए कति जाती हुने थियो । भोक लाग्ने बित्तिकै मलाई जेलको खाना सम्झना आउँछ । अपमान सहेर त्यो कुँडोजस्तो खान्की पनि यो मुखले खानु पर्यो । बिचरा मेरो थुतुनो कति अभागी छ । गाईबस्तुले खाने खोले बरु स्वस्थ्यकर हुन्थ्यो कि ! सुग्घरिलो स्वादिलो हुन्थ्यो कि कुन्नि ? त्यही खोले दिएको भए हुन्थेन बरु ?’
कहिले रुने, कहिले हाँस्ने, कहिले मूर्च्छा पर्ने नाट्यकर्मी यतिखेर बडो भावोत्तेजक स्थितिमा छन् । एकछिन अघिसम्म केही सम्झिएजस्तो केही बिर्सिएजस्तो मूडमा थिए । अचेत जस्तो अवस्थामा गोलबन्द भई आफूमाथिको आकाशलाई हेरिरहेका थिए । छिनछिनमै उनीहरूको मूड बदलिएको थियो । अतीत स्मृतिले आक्रान्त भई फेरि उतिनखेरै घोप्टो परे ।
रङ्गमञ्चको पर्दा कतिखेर खस्छ थाहा छैन । स्रोताहरूलाई अहिल्यै दृश्य नटुङ्गियोस् भन्ने लागेको छ । आडैमा राखेको मिनरल वाटरको बोतल खोल्दै सोमबहादुरले सोध्यो, ‘ए हरिबहादुर तँ अहिले कति वर्षको भइस् ?’
वास्तवमा हरिबहादुर कति वर्षको भयो उसलाई नै थाहा थिएन । आफू कस्तो देखिएको छु भन्ने पनि अहँ उसलाई ख्याल थिएन । केहीबेर ऊ अलमलमा पर्यो । ‘ए साँच्ची म अहिले कति वर्ष भएँ ?’ ऊ आफैँलाई प्रश्न गर्छ । तर उत्तर भेट्दैन । सम्झिन खोज्छ तर सम्झनामा केही आउँदैन । अबोध बालक भई उसले भन्यो ‘म अहिले सानो छु कि ठूलो, वृद्ध पो भए कि ! खै कुन्नि ? जेल जाँदा म पच्चीस वर्षको थिएँ । तर अहिले कति भएँ थाहा छैन । बन्दीकालमा सधैँ एकनासको, उही यातनामय जीवन बाँचियो । महीना, वर्ष, बार, गते केही हेक्का भएन । हेक्का राख्नु पर्ने आवश्यकता नै के थियो र ? बाह्य जगत्देखि टाढा नित्य उही पुरानो जीवन बाँचेपछि मानिस कहिल्यै परिपक्व नहुँदो रहेछ । त्यसैले त मलाई आफ्नै उमेर पनि थाहा हुन छोड्यो ।’
हरिबहादुरको अभिव्यक्तिले नाट्यशाला केहीबेर निशब्द हुन्छ । घनीभूत सन्नाटाले छोप्छ । केही निमेषको मौनता पश्चात् मनबहादुर भन्छ ‘जेल जीवन छुटकारा पाएर जब म बाहिर निस्किएँ । मलाई सम्पूर्ण कुरा अपरिचित लाग्यो । सबै नौलो सबै अचिनारु । त्यो आफू हुर्किएको, खेलेको ठाउँ हो जस्तै लागेन । दृश्य सम्पूर्ण फेरिएको छ । कहाँ हो कहाँ अञ्जान ठाउँ पुगेजस्तो विरक्तिले छोप्यो । मेरो मस्तिष्कमा पुरानो अतीत केही थिएन । म स्मृति विहीन भएँ । स्मृति हराएको मान्छे भएँ । अनि त जेल बाहिरको जीवन मलाई एकदम निरस लाग्यो । बरु यातनापूर्ण त्यही जेल जीवन प्रिय भयो । कम्तीमा जेलभित्र आफूले चिने जानेका कैदी बन्दी त थिए ! यातना दिने सेना पुलिस त थिए ! त्यो कालकोठरी बाहेक मलाई अन्त पनि जीवन छ भन्ने नै लागेन । जेल बाहिर पनि जीवन छ भनेर मैले सोच्नै सकिनँ । मृत्यु गृहबाट मुक्त भएको दिन स्मृति नभएको, अतीत नभएको म सम्पूर्ण रूपले एलियन जस्तो भएँ; … ।’
दर्शकदीर्घामा अचानक ठूलो हुलदङ्गा हुन्छ । पल्लोछेउमा रहेका दुर्योधन जोडले कराए । सीटबाट सप्पै जर्याकजुरुक उठे । एकोहोरो बोलिरहेको मनबहादुरलाई रोक्न शकुनी मञ्चमा पुगे, ‘भो यो भन्दा बढी हामी सुन्न सक्दैनौँ … !’
दुःशासन पनि त्यहीँ पुगे । मामाको आडैमा रहेका उनले भने, ‘मैले आजसम्म यस्तो नाटक देखेको थिइनँ । भूटानी शरणार्थीको अभिनयमा मेरो मन भत्कियो । म भाव विह्वल भएँ । हृदय टुक्रियो । हेर्नु त ! हामी भन्दा पनि कति निरङ्कुश रहेछन् भूटानी राजा । अन्याय विरुद्ध लड्न श्रीकृष्णले अर्को अवतार लिइसकेका छन् । अब हामी कदापि खलनायकको जीवन बाँच्ने छैनौँ । अन्याय, अत्याचर, अधर्म तथा असत्यको विरुद्ध लड्न हामी तयार भएका छौँ, हामी पनि साथ दिने छौँ । महाभारतकालीन जीवनको पश्चात्तापबाट मुक्त हुनकै लागि पनि निरङ्कुशता विरुद्ध आहुति दिन हामी तत्पर छौं । संसारभरको निरङ्कुशता निमूर्ल गर्न अब हामी एकजुट भएर लड्नु पर्छ । तिनीहरूप्रति हाम्रो घोर विरोध छ । अनन्त घृणा छ । आउनोस् हामी सप्पै एक भएर लडौं … ।’
रङ्गमञ्चबाटै अन्याय विरुद्धको युद्ध घोषणा भयो । दुःशानको भनाइमा सबैले समर्थन गरे । ‘जुगुप्सा’ नाटक अन्ततः युद्ध मोर्चामा परिणत भयो । सङ्ग्रामी आवाज लिएर दर्शकहरू नाराजुलुमा निस्किए- निरङ्कुश शासक मुर्दावाद मुर्दावाद … !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।