लमजुङबाट म केही दिनमै शहर फर्किएकी थिएँ । नागढुङ्गा, नैकाप, त्रिभुवनपार्क हुँदै कलङ्की आइपुगेको थियो गाडी । हो, त्यतिबेला जानू काम्बाङ लिम्बूसित म पहिलो पटक बोल्दै थिएँ । हार्दिक होटलमा उनको नियात्रा कृति फ्लान्डर्स फिल्डमा तमोरका सुसेली लोकार्पण हुँदै रहेछ । मलाई पनि उपस्थित हुन भनेकी थिइन् । निश्चय नै म आउँछु त भनेँ तर वचनबद्ध हुन सकिनँ । जान सकिनँ । आफ्नो बोली पूरा गर्न असमर्थ हुँदा अझै पनि केही सरम बाँकी नै छ ।

जानू दिदीसँगको त्यो संवाद एउटा संयोग थियो । उनले त मलाई चिनेकी नै छैनन् । यद्यपि म उनलाई राम्रोसँग चिन्थेँ । छोटो बिदामा आएकी दुई चार दिनमै फर्किन्छु उनी भन्दै थिइन्, एकदम हतारमा छु ।

यतिखेर जानू काम्बाङ बेलायतमा छिन् । पेशाले उनी एक स्वास्थ्यकर्मी हुन् । त्यो बाहेक अरू थोक पनि हुन्— साहित्यकार, गीतकार । डायास्पोरिक भूमिमा रहेर नेपाली भाषा साहित्यको चिन्ता गर्ने उनी एक सक्रिय लेखक हुन् । जीविकाबाट उब्रिएको अलिकति समय पनि फुर्सद नलिएर वाङ्मय  सेवामा समर्पित उनका लेख रचना यदाकदा म पढ्दै रहेकी हुन्छु— सामाजिक सञ्जालले त्यो सुविधा दिएको छ ।  उनका कथा, कविता मलाई राम्रा लाग्छन् । अझ विशेष निबन्ध मन पर्छन् । त्यही प्रभावले तानिएर फ्लान्डर्स फिल्डमा तमोरका सुसेली अहिले म पढ्दै छु । यसअघि नै शिविरमा ईश्वर (कविता सङ्ग्रह, २०७२),  अनुभव (गीतिएल्ब्म, २०७५), नउघ्रेको जून (कथा सङ्ग्रह, २०७५), जानू (गीतिएल्ब्म, २०७५), आँसुको लय (गीतिसङ्ग्रह, २०७६) जस्ता कृति प्रकाशित भइसकेका छन् ।

फ्लान्डर्स फिल्डमा तमोरका सुसेली एक नियात्रात्मक कृति हो । त्यस्तै यात्रा इतरका, कुनै अवसरका, विशेष परिस्थितिका आलेख पनि यसमा रहेका छन् । आफ्नै देशमा ‘होलिडे’ कि  ‘ब्याड—डे’, नलाहुरेनी स्रष्टा, बेलायतमा मेरा केही शनिबार र आइतबारलगायतका रचना यात्रा वर्णन नभई  अनुभूतिजन्य रहेका छन् । त्यस बाहेक अरू केही तत्त्वले पनि प्रस्तुत कृतिलाई हेर्न सकिन्छ । भोग्दै रहेको समयबाट छिनछिनमा फुत्किएर अतीतलाई प्रेम गरिएको हुँदा संस्मरणका गुण पनि प्रशस्तै पाइन्छन् ।  घटना, पात्र, कुतुहलता आइरहन्छ । बेलाबेला कथाकार जानू काम्बाङ पनि यस कृतिमा सिमिएकी हुन्छिन् । मूल विधामा प्रत्यक्ष अप्रत्यक्ष लेखकका अरू विधा थाहै नपाई घुसेका हुन्छन् । यद्यपि स्रष्टालाई त्यो कुरा थाहा नहुन सक्छ । जुन पाठकले बोध गर्ने कुरा हो । त्यस्तै जानूको यस पुस्तकमा निबन्ध, यात्रा, संस्मरण र कथाका साना ठूला झिल्का र अगुल्टाले मूर्तता पाएको छ ।

बेल्जिमको इपर युद्धस्मारक छेउमै रहेको फ्लान्डर्स फिल्ड (समाधि) र यता हामै्र तमोर नदीको सुसेलीको संयोजनमा, पुस्तक शीर्षकीकरण गरिएको यस सङ्ग्रहमा, अठार वटा आलेखहरू समावेश छन् । स्थानीयता र वैश्विकताको साहचर्यमा भूमण्डलीकरणको अवस्थालाई यसमा हेर्न सकिन्छ । विद्यमान अवस्थाको एउटा चित्रण छ, गृहदेश र प्रवासलाई जोडेको छ । देश विदेशको दूरत्व मेटिएर एउटा ग्राम बनेको छ ।  अतीतमा मातृभूमि टाँसिएको छ । वर्तमानमा कर्मभूमि छ । विगत र आगतसँग जोडिएको आन्तरिक (अतीत स्मृति) र भौतिक जगत्को यात्रा हो यो ।

पश्चिमी रहनसहन, नित्य कर्म र नेपालको जीवन पद्धतिसँगै भाषा, साहित्य, संस्कृति अनि मनोविज्ञानमा लेखक आधी यता आधी उता विभाजित छन् । फ्लान्डर्स फिल्डमा तमोरका सुसेलीभित्र उनी एउटा यायावर लाग्छ । वर्तमान समयकी उनी एक प्रतिनिधि यात्री हुन् । अहिले प्रायःको अवस्था यस्तै छ । उनका यी यात्रा परिवार, आफन्त, मित्र, गोत्रसँग निकट रहेका छन्, अझ भनौँ यी सबै भेटघाटका यात्रा हुन् । यात्राकै लागि यात्रा भने यी होइनन् । यसले के कुरा दर्साउँछ भने, नेपाली आज कहाँ कहाँ पुगिसकेका छन् । यो डायास्पोरिक युग हो । बसाइँसारइ अस्थिर छ । गतिशिल छ । एउट परिवार टुक्रिएर अनेक राष्ट्रमा पुगेको छ । त्यस्तै युके जानूको बासस्थान हो, नेपाल मूल माइती घर भयो । शाखा माइती फेरि अन्तै फैलिएका छन् । ताप्लेजुङ, धरान, धनकुटा, झापा अनि काठमाडौँले बारबार उनलाई सम्झिरहेका हुन्छन् । उनले झन् बढी सम्भिएकी हुन्छिन् । स्मृतिमा ती आइरहन्छन् । चीन, हकङकङ, बेल्जियम, नेदरल्याण्ड, फ्रान्स, जर्मनी उनलाई त्यही पल्लो गाउँजस्तो लाग्छ ।

अनिता पन्थी

अङ्ग्रेज भूमिमा अभ्यस्त जानूका  लेखनमा लिम्बुनी सुवास अर्ग्यानिक लाग्छ । फ्लान्डर्स फिल्डमा तमोरका सुसेली—यस कृतिमा यता र उता युरोपका भ्रमण बराबरी छन् । कति यात्राहरू दोहोरिएका छन्— जस्तो बेल्जिमको, नेपालको । त्यस्तै थरी थरीका अविस्मरणीय यात्रा अनुभव र दृश्यहरू रमाइला छन्, नरमाइला पनि छन् । सुख दुखका छन्, कठिनका छन्, हैरानीका छन्, हतारका छन् । वर्षौपछिका भेटघाट उल्लासमय छन् । त्यस्तै अरू पनि धेरै थोक छ । अतीतमा रमाएको भूमिसँगको साक्षात्कारमा, लेखक आनन्द र पीडा एकसाथ  अनुभूत गर्छिन् । उनीसँग आश्चर्य पनि प्रशस्तै छ  । तमोर उसैगरी सुसाएको छ । गाउँवासीको जीवनशैली बदलिएको छ । आधुनिक र स्थानीय दृश्य चलचित्र जसरी आइरहन्छन्, गइरहन्छन् । उतिनखेरै नेपालको विकट पहाडी जीवन आउँछ फेरि एकैछिनमा बेल्जियमको वैभवले पाठकलाई लोभ्याउँछ ।

तीन दशकपछि जानू माइती गाउँ, ताप्लेजुङ फिरेकी छन् । संविधानसभाबाट नयाँ संविधान बन्ने नबन्ने अन्योलका बीचमा पूर्वका जिल्लाहरू सम्पूर्ण बन्द छन् । यस्तो अवस्थामा उनी बेलायतदेखि आइएकी छन् । हड्तालको अवज्ञा गर्दै रात्रि बसमा झापाबाट पारिवारिक यात्रा शुरु हुन्छ । चोर अनि त्यस्तै अपराधीले रातारात सिमाना पार गरेको झल्को दिने यात्रा निकै सकसपूर्ण छ । कति  संयोगहरू जुटाएर बल्ल बल्ल परदेशबाट आएको हुन्छ । दुःसाध्य जटिलताले खुशीहरू त्यसै झर्लान्  भनूँ जस्तो अवस्था यता नेपालको हुन्छ ।  त्यतिखेर उनी मनमनै देशको विसङ्गत राजनैतिक व्यवस्थालाई धिक्कार्छिन् ।

गोराको देशमा बस्दै आएकी जानूभित्र लिम्बूवान भाषा संस्कृति थोरै पनि मेटिएको छैन । बरु झन् गाढा भएको छ । माइती पुगेकी उनी भन्छिन्, “यसरी धीत खोलेर गलल्ल नहाँसेको पनि तीस वर्ष भइसकेको रहेछ । यात्रामा पाउनु दुःख पाएकै थियौँ । तर दुःखलाई बिर्साउने माइत गाउँको त्यो हाँसो काफी थियो (पृ–४०)।”

तमोरका सुसेलीसँगै काम्बाङ ती निर्दोष बालापनमा फर्किन चाहन्छिन् । दश वर्षकी एउटी सानी फुच्ची (जानू) घरदेखि टाढा चेने गाउँ, आफन्तसँग कोदोमा आलु साँट्न गएको यात्रा अत्यन्तै कठोर लाग्छ ।  उमेरभन्दा निकै गहौँ बाह्र  पाथी आलु बोकेर पाँच दिनमा घर फर्किएको वर्णन कोलम्बसको साहसिक यात्राजस्तै लाग्छ । नदी किनारको त्यो सङ्गीत, हरियाली वनपाखा, उकाली ओराली, गुराँस फुल्ने जङ्गल, हिउँले पुरिएका घर, चौँरी, भेडा र याकको लर्कोमा दूर्गम गाउँको कल्पना गर्न थाल्छु । फिरन्तेजस्तै जहाँ सन्ध्या खस्छ त्यहीँ भारी बिसाउने, पकाउने खाने, ओडारमा सुत्ने फेरि भोलि बिहान सखारै हिँडेका ती यात्रा परौणिक लाग्छन् ।

विकट गाउँबस्ती अहिले अर्कै भएका छन् । जानू हुर्किएको गाउँ पनि अर्कै भएको छ । धूलो उडाउँदै मोटर कुदेका छन् । बिजुली बत्तीले अनकन्टार गाउँबेसी उज्यालिएका छन् । टेलिफोनले दूरत्व हटाएको छ । खेत मेटिएका छन्, खोल्साखोल्सीमा पानी रसाउन छोडेको छ । भीरकन्दरा डोजरले भत्काएको छ । मेरो गाउँको अवस्था पनि यस्तै छ । यही हो विकास,  यही हो परिवर्तन, यही हो आधुनिकता ।  म सोच्न बाध्य हुन्छु—समयले नै पर्यावरणमाथि  अभिघात गरेको छ । मानिसले चाहेर हुन्थ्यो भने समय अगावै केके भइसकेको हुने थियो । विकाससँगै विनास पनि छ, वातावरण बिथोलिएको छ । हामी कहाँ दूरगामी विकास योजना बनिएको हुँदैन । लाभ भन्दा क्षति धेरै बेहोर्नु पर्छ ।

वनपाखा डुलेर बाख्रा चराएको, जानूको अतीत मलाई आफ्नै लाग्छ । गाउँ (लमजुङ्) गएको बेला म अझै पनि बाख्रा चराउन जान्छु, बडो आनन्द लाग्छ । बाख्रासँगको मौन संवाद, त्यो आत्मीयता म अन्त पाउँदिनँ । उता जानूको प्रिय माबल गाउँ अब सुगम हुँदैछ ।

युकेदेखि बिदा मनाउन आएकी छोरीबेटी । भूकम्प र नाकाबन्दीले माइती देश गलेको बेला छ । एकछाक खुवाउन पनि ठूलै तारतम्य मिलाउनु पर्ने स्थिति भोग्नु परेको छ । आफ्नै देशमा ‘होलिडे’ कि  ‘ब्याड—डे’ ? मा यस्तै तिक्त अनुभूति छन् । डिजेल पेट्रोल छैन, यातायात छैन, पानी छैन, ग्यास छैन । चुह्लोमा खाना नपाकेको धेरै भयो । बित्थामा माइतीलाई दुःख दिने छिमेकीसँग उनी क्रुद्ध हुन्छिन् ।

त्यस्तै उनी बडो कोमल हृदयकी लाग्छ । मूर्तिमा ईश्वर हुन्छन् भन्ने कुरामा उनलाई किञ्चित विश्वास छैन । दीन दुःखी असहायप्रति उनको सद्भावना छ, “दक्षीणकालीमा भर्याङ उक्लिँदा भर्याङभरि बूढी आमैहरू बटुको थापेर बसेका हुन्छन् । तिनलाई नदेखेझैँ गर्दै भक्तजन मन्दिरभित्र पसेर पैसा चढाउँछन्  । मन्दिरभित्रको देउतालाई कति बिघ्न पैसा चाहिएको हो ! के पैसा चढाउँदा देउता खुशी हुन्छन् ? कि देउता भिखारीभन्दा गरीब छन् ? … जे होस्, म देउतालाई सुनको असर्फी चढाउनुभन्दा केही पैसा भिखारीलाई दिनु धर्म मान्छु (पृ–६९)।”

शुरुका तीन निबन्ध ताप्लेजुङको परिसरमा चरिएका छन् । आफन्तसँगको भेटघाट र भीरकन्दराको यात्रा प्राकृतिक लाग्छन् ।

फ्लान्डर्स फिल्डमा नेपालबाट यात्रा आरम्भ हुन्छ, त्यसपछि नेदरल्याण्ड, बेल्जियम, हङकङ हुँदै फेरि नेपाल फिर्ती हुन्छ अनि उतै फर्किन्छ— फ्रान्स, जर्मनी फेरि यता फेरि उता । बेल्जियमको अन्तर्राष्ट्रिय विमानस्थल जाबेन्थामको इमिग्रेसनमा उभिँदा स्रष्टा भन्छिन्, “मान्छे नै मान्छेको जङ्गलमा अर्कै जङ्गलबाट उखेलेर ठिङ्ग उभ्याइएको रुख भएँ । कयौँ ढङ्गरङ्गका मान्छेहरूबीच सगरमाथाको एक्लो सन्तानजस्तै थिएँ । (पृ—८०)”

बेलायतबाट बाबुआमालाई भेट्न लेखक नेदरलेण्ड पुगेकी छिन् । आजको परिवार धेरै खण्डमा विभाजित छ । बाबु एकातिर, आमा अर्कोतिर, छोराछोरी फेरि कता कता । एउटै परिवार यसरी धेरै मुलुकमा गुँड बनाउन पुग्नु विश्व ग्रामीकरणको एउटा सूचाङ्क हो । विद्यमान समय हो । लेप्चुङ र फेम्बुको कान्लातिर घाँस काटी हिँड्ने आमा र साप्चुङवाको मास्टर ठूलेसँग धान नाची हिँड्ने बाबुलाई युरोपको वैभव र सौम्यतामा भेट्न पाउँदा उनलाई बडो आश्चर्य लागेको छ । अज्ञात आनन्द र हर्षले उनी प्लावित छिन् ।

यौनका विषयमा होस् या यस्तै केही सन्दर्भ, भनौँ न हामीलाई अश्लील लाग्ने कुरामा विदेशीहरूलाई थोरै पनि लज्जाबोध हुँदैन । यता हामी त्यस विषयमा एक शब्द बोल्नु पनि अनुचित मान्छौँ । यस्तो लज्जाबोध हुनु नहुनुलाई खासमा कुन कुराले प्रभाव पारेको होला ? नेदरलेण्डको रेक्स म्युजियममा हामी नेपालीले हेर्न लायक केही छैन लेखक बताउँछिन्, “जता हेरे पनि विचित्रका चित्र मात्र । कतै कतै त यति नग्न तस्विर र पेन्टिङ भित्ताभरि टाँगिएका थिए कि नेपाली नजर झुकेको झुकेकै भयो । लाजैले हो भाइ बुबाको हात समाएर बेपत्ता भयो (पृ–८७)।”

लेखक युरोपका भव्य शहर घुम्दैछिन् सँगै नेपाली जनजीवन स्मृतिमा आइरहन्छ । दृश्य, दृष्टि र धारणा विपरीत भएका, भिन्न भिन्न देशका  सभ्यता र रहनसहन छिनछिनमा बदलिइरहन्छन् । युरोपको त्यो चहकमहक सम्मुखीन नेपालको जीवनशैली धेरै अघिको अझ ढुङ्गे युगको लाग्छ ।

यात्रामा आइरहने कठिनाइले जानूसँगै म पनि अलिक हतासिन्छु । नेपालकी छोरी बेल्जियमको माइत घर गएको देख्दा एउटा नौलो अनुभूति हुन्छ । अबका माइती विश्वका दुला दुलामा पुगेका छन् । चेली पनि पुगेका छन् । एक देशबाट अर्को देशमा घर माइती गर्नु, पानी पधेँरा जतिको पनि छैन । जगत् एउटा ग्राम भइसकेको छ । माइती विदेशमै छन्, घर पनि विदेशमै छ ।

शुरुका दश वर्ष हङकङमा बिताएर जानूको परिवार बेलायत गएको छ । यद्यपि सम्पूर्ण तरिकाले हङकङलाई बिर्सिन उनी (लाहुरेको परिवार) हरूले पाउँदैनन्, अर्थात् त्यसरी भुल्नु हुँदैन । तीन तीन वर्षमा बोलाइरहन्छ त्यो शहरले— आइडीको म्याद थप्न, रिनु गर्न । दिनभरि काम गरेर रात्रिको किनमेलमा व्यस्त शहरवासीलाई देखेर उनी अहिले आक्षेपको भाषा भन्छिन् —दश वर्ष मलाई रोबोट बनाएर बेलायत पठाएको हङकङले हो ।

जानूले चिनेको हङकङ तपाईँलाई कस्तो लाग्छ ? उनलाई सुन्दर अप्राप्य लाग्छ रे ! । अघि नै भनेकी थिइन्, “स्वर्गको टुक्रा हो हङकङ, अचानक चोइटिएर भुइँमा झर्यो; अनि धरतीले पनि बिग्रेला ठानेर जतनसाथ समुद्रबीच लुकायो (पृ–९९)।”

जानूको भाषामा सम्मोहित गर्न सक्ने एउटा कला छ । तमोरको सुसेलीजस्तै, पक्षीको चिरबिरजस्तै, शरदको शालीन बतासजस्तै । भनौँ न उनको लयमा कृत्रिमता छैन । नौलो तरिकाले उनी व्यक्तिएकी छन्—मेरो आँट अड्कल्नु भयो, कान्छी दिदीले आँट हारी, भएभरको पालम गाएर खोलालाई सुनाइ रह्यौँ, हामी जीवनजस्तै निकै अभेगमा थियौँ ।

उनको लिम्बू टोन अझै उस्तै छ । बेलायतले त्यसलाई बिटुल्याउन सकेको छैन— जस्तैः गरिपठाएछन्, भनिपठाएछन्, बेचिपठाएछन् । त्यस्तै विम्ब र प्रतीक पनि आइरहन्छन्— उपायहरू मैनबत्ती झैँ बल्दै निभ्दै थिए, बूढेसकालीन छालाले आँखी भौँको डिल सोहोरेर जलकुम्भी झारले झैँ आँखै छोप्न लागेछ ।

सुन्दर, शालीन, भव्य देशहरू मध्ये फ्रान्स जानु एकदम मन परेको बताउँछिन् । फ्रान्सको राजतन्त्र अन्त्य भएपछि लुभ्र दरबार, सङ्ग्रहालयमा रूपाइत भएको छ । त्यस म्युजियममा भिन्चीकी मोनालिसा हेरेर उनी अलिक पर पुग्दै थिइन् । सिरियाको लडाइँबाट विस्थापित एउटी भिखारी बालिका देखेर उनी विदीर्ण हुन्छिन्, “मलाई त भर्खरै हेरेकी विश्व प्रसिद्ध पेन्टिङ मोनालिसा तुरुन्तै मगन्ते केटीमा परिणत भएझैँ लाग्यो । हेर्दाहेर्दै यस्तो सुन्दर शहर पनि असुन्दर लाग्न थाल्यो । व्यर्थै देशबाट विस्थापित दुःखी र गरीबका बगालमा फ्रान्सलाई गरीब पो देख्न थालेँ (पृ–१३५)।”

भ्रमणको सिलसिलामा सर्जक जुन ठाउँ पुग्छिन् त्यस ठाउँको ऐतिहासिक महत्त्व र विशेषताबारे पनि उनले केही बताएकी छिन् । त्यसो हुँदा कृति अध्ययन गर्नेलाई केही नौलो ज्ञान समेत प्राप्त हुने छ । लिजा (मोनालिसा) र भिन्ची दुवै इटालियन भएकाले, इटालियन नागरिकले धेरै पटक हकदावी गर्दै त्यो पेन्टिङ उतै राख्न बल गरेको सन्दर्भमा, मलाई नवीन कुरा जानेँजस्तो सुखबोध भयो ।

युद्ध आतङ्क, हिंसाको मारमा परेका, विश्वका विस्थापित शरणार्थीले अखडा बनाएका, युरोपका मगन्तेलाई देखेर नियात्राकार प्रश्न गर्छिन्, आखिर भगवान् बुद्धले खोजेको शान्ति कहाँ छ ?

अर्को पृष्ठमा जानू भाइबुहारीसँग जर्मनको डुसेल—ड्राब घुम्न गएकी छन् । त्यहाँ अङ्ग्रेजी भाषा नचल्दा उनी भन्छिन्—हामीले दिनभरि अङ्ग्रेजी बिर्सिएर नेपाली भाषामै घुम्यौँ ।

यात्रामा रमणीय, आकर्षक र नौला दृश्यहरू आइरहन्छन् । विशेषतः युरोपियन भूमिका, उता हङकङका, चीनका अवाक् लाग्दा विज्ञान प्रविधि र जीविका धेरै माथि उठेको थाहा हुन्छ ।  यता नेपालको जीवनशैली सकेर नसकेर जसरी होस् विकासोन्मुख स्थितिमा देखिन्छ, जानूका निबन्धले त्यही भनेका छन् ।

खोक्लिङको लङ्के पिँडालुमा वर्तमान समय फेरि पनि प्रतिध्वनित भएको छ । चाहेर पनि परिवार एक ठाउँमा भेट हुन नसकेको तिक्त पीडा छ, “घरमा बुवा बित्नु अघि हामी सपरिवार कहिल्यै भेला हुन सकेनौँ । सन्तानजति जति सबै परदेशी । कहिले को हुने कहिले को नहुने । ‘म मरेको दिन सबै सँगै हुन्छौ होला ।’ यस्तो गुनासो गर्दा गर्दै बुवा बित्नु भयो (पृ–१४६) ।”

समृद्ध मुलुकमा हरेक कुरा एउटा व्यवस्थामा चल्छ । नियममा चल्छ । हाम्रोमा त्यसो हुँदैन । मनोखुशी जसो पनि हुन्छ । आमाको पेन्सनपट्टा बनाउँदा लेखकले भोग्नु परेको हैरानीले, नेपालको प्रशासनिक कार्यप्रणालीलाई इङ्गित गरेको छ । त्यस्ता झन्झट् यहाँ प्रत्येक नागरिकले भोग्दै आउनु परेको छ । कर्मचारीमा किञ्चित समय चेत छैन । ढिला सुस्ती र विनाअर्थ सेवाग्राहीलाई कष्ट दिने कार्यलयकर्मीको  व्यवहार असह्य हुँदाहुँदै पनि सहनु परेको हुन्छ । आमाको कागजपत्र बनाउन छोरीको नगरिकताले काम गर्दैन, महिला कर्मचारीले रुखो भाषामा बोलेको सुनेर जानू भन्छिन्, “रानीले शासन चलाइरहेको देश बेलायतमा बसेर आएकी मलाई उनको कुराले ठूलो पीडाबोध भयो । बेलायतमा, छोराछोरीमा बराबर हक अधिकार छ  (पृ–१६३)।”

विदेशमा, जीवनवृत्तिबाट समय उबारेर साहित्यमा लाग्नु धेरै मुस्किल कुरा हो । डायास्पोरिक भूमिमा अनेक अड्चनसँग जुधेर, सहेर वाङ्मय सेवामा लाग्नु भएका सम्पूर्णमा मेरो नमस्कार छ । हजुरहरूकै प्रयासले नेपाली डायोस्पोरिक साहित्य व्यापक हुँदै गएको छ ।  विश्व नेपली साहित्य महासङ्घजस्ता संस्थाले साहित्यिक कार्यक्रम संयोजन गर्दै आएको छ,  साहित्यिक कृतिको प्रकाशन, साहित्यिक सम्मेलन र प्रचार पनि गरेको  छ । नलाहुरेनी स्रष्ट, बेलायतमा मेरा शनिबार आइतबारजस्ता निबन्धमा तिनै साहित्यिक कार्यक्रमका कुरा छन् ।

मौसम बदलिए पनि मेरो दिन बदलिएनमा, जानूले बेलायत सरकारको नीति सम्बन्धमा भनेका कुरा मलाई यहाँ छुटाउन मन लागेन । उनी भन्छिन्, “बेलायत सरकार बाठो छ, विदेशी कामदारलाई जोतेर ‘कर’ काट्दै आफ्ना अल्छी जनता पाल्छ । उसका जनता सरकारी भत्ता खाँदै तीन—चार जना नानी पाएर गड्डीभरि गुडाउँदै हिँड्छन् । यिनै जनतालाई बाँडेर रित्तिएको सरकारी ढिकुटी हामीजस्ता विदेशी कामदारको ‘कर’ले भराउँछ (पृ–१८१)।”

बेल्जियमको इपर युद्धस्मारकमा, पहिलो विश्वयुद्धमा वीरगति प्राप्त नेपाली योद्धाको नाम देख्दा हर्ष भनूँ कि पीडाले लेखक क्लान्त हुन्छिन् । ती महान् सेनानीका नाम हेरेपछि उनलाई  त्यो पार्थिव देह राखिएको फ्लान्डर्स फिल्डस (सामाधि) हेर्ने इच्छा हुन्छ । यद्यपि निर्धारित समयभन्दा पछि पुगेकाले प्रवेशद्वार बन्द भइसकेको छ ।  युद्धको प्रतीक पप्पीफूल चढाएर उनी फर्किन्छिन् । सँगै यात्रा पनि अन्त्य भएको छ ।

फ्लान्डर्स फिल्डमा तमोरका सुसेलीले लेखकलाई  नियात्राकारको रूपमा, राम्रोसँग चिनाउ सक्छ भन्ने कुरामा म विश्वस्त छु । कृति संख्याका आधारमा स्रष्टा कहिल्यै स्थापित हुन सक्दैन । उत्तम कृति एउटै सही । लेखकलाई चिनाउन त्यही पर्याप्त हुन्छ ।

फेरि फेरि पनि यस्तै कृतिहरू आइरहून् । स्रष्टालाई यही शुभकामना छ  ।