साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

राम्रा कृतिहरूको समीक्षा नगरेकै बेस

लेखकको निजी भोगाइ र अनुभव जस्तो छ, त्यसलाई पाठकले स्वीकार्न सक्नुपर्छ । आख्यानमा एउटा समीक्षकले बोल्ने र आफ्नो राय राख्ने ठाउँ जुन प्रकारले पाउँछ त्यति निबन्धमा, जीवनीमा, संस्मरणमा पाउँदैन । आलोचना गर्ने ठाउँ हुँदैन । किनकि स्रष्टाको जीवनमाथि प्रश्न गर्ने अधिकार पाठकलाई हुँदैन ।

साहित्य र असल मित्र एउटै कुरा हुन् । दुवै हितकारी हुन्छन् । मित्रताबाट बरू यदाकदा विश्वासघात  हुन सक्छ । किनकि उसको संवेगले कहिलेकाहीँ मित्रता भुलिदिन्छ । तर साहित्यबाट अहँ, त्यस्तो भूल किमार्थ हुँदैन ।

यतिखेर म एउटा कोठामा बसेर अनेक स्रष्टासँग मौन संवादमा, समय व्यतीत गर्दैछु । तब उद्बोध हुन्छ, साहित्य एउटा साँघु हो । हजारौँ लाखौँ त्यसबाट वारपार गर्न सक्छन् । प्रत्यक्ष परोक्ष यसले धेरैलाई जोडेको हुन्छ । निकट पुर्याएको हुन्छ । वर्षौ अघि छुटेको, मित्रमिलापको आभास हुन्छ । आश्चर्य त त्यहाँ लाग्छ, स्रष्टालाई देखेको, चिनेको नै हुँदैन । फेरि पनि ऊ आफ्नै लाग्छ । यस निमेष मलाई त्यही भएको छ । सानु लामाको बारेमा मलाई केही थाहा छैन । फेरि सम्पूर्ण थाहा भएजस्तो लाग्छ । यस घडी म उनीसँग संवादमा छु । उनको अनुभूति आफ्नै भनूजस्तो, भएको छ । अरू बढी म प्रष्ट हुँदैछु, साहित्य हृदयको भाषा हो । त्यसैले सर्जकका अनुभूतिहरू पाठकलाई आफ्नै वाणी लाग्छन् ।

bahulako diary small and inside post

युगौँदेखिको जाति, धर्म, संस्कृति र राष्ट्रियताको सीमादेखि माथि उठाएर गोलबन्द गराउने यस्तो साहित्यिक मार्गमा हिँड्न पाउँदा आज म प्रसन्न छु । मलाई यस मार्गमा हिँड्न सिकाउने डा. गोविन्दराज भट्टराईलाई मेरो शतबार प्रणाम छ ।

यसअघि मैले भुटानका नेपाली स्रष्टा डा. शिव भट्टराईको प्रकाशोन्मुख कृति अध्ययन गर्ने अवसर पाएकी थिएँ– त्यसमा उनकै जीवनका अवस्मरणीय समय र संवादहरू छन् । शायद त्यसलाई जीवनी भन्न यथोचित होला । स्रष्टाको भोगाइलाई पाठकले आफ्नै ठानेर, धेरै दिनसम्म कृतिभित्रको हर्ष मिस्मात, सुख, दुःखलाई भुल्न नसक्दो रहेछ ।

त्यसपछि ‘हिमालचुली मन्तिर’का सर्जक सानु लामाका भोगाइलाई मैले भुल्न सकिनँ । घरि घरि ती घटना सम्झिएर एक्लै हाँसेँ पनि । सिक्किमका स्रष्टा, नेपाली भाषा साहित्यका सेवक । ‘पद्मश्री’ तथा ‘अकादेमी’ जस्ता पुरस्कारले सम्मानित र प्रतिष्ठित साहित्यकार । लामो समय ग्राम विकास विभागको कर्मचारी हुँदाका एकीकृत क्षणलाई नै उनले ‘हिमालचुली मन्तिर’ नाम दिएका छन् । हुन पनि यो कृति हिमालमुनिकै गाउँबेसी, पाखा पखेरा, अनुपम प्रकृति र ग्रामवासीको जीवनसँग सम्बद्ध रहेको छ ।

अनिता पन्थी

ग्राम विकासका मुख्य अभियन्ता भएर दुर्गम गाउँ बस्तीका दुःख, कष्ट, अभाव र अप्ठ्यारा परिस्थितिको अध्ययन, अनुसन्धान र त्यसको समाधानको लागि गरिएको यात्रा हुँदा, ‘हिमालचुली मन्तिर’लाई यात्रा साहित्यको दृष्टिले हेर्न सकिन्छ । विगतको स्मरण गरिएको हुँदा संस्मरणात्मक कृति भन्नु अझ ठीक होला । एउटा जीवनले भोगेका नितान्त निजी अनुभवको दृष्टिले यसलाई जीवनीको हारमा राखेर पनि हेर्न सकिन्छ । शीर्षकीकरण नगरिएको, समय तालिकामा विभक्त नभएको, श्रृङ्खलित  तथा अखण्डित भोगाइ, घटना र पात्रको संयोजनमा जीवनीमूलक आख्यान हो कि भनूँजस्तो पनि लाग्ने छ । लयात्मक, मीठासपूर्ण अभिव्यक्तिले फेरि कविताको पनि सम्झना गराउँछ । कथा, कविता, निबन्ध, यात्रा यो केही पनि होइन । फेरि त्यही हो । तिनै सूक्ष्म र अमूर्त तत्त्वको एकीकृत रूपले नै यहाँ मूर्तता पाएको छ– ‘हिमालचुली मन्तिर’ । त्यस समाजको अध्ययन गरिएको हुँदा समाजशास्त्रीय दृष्टिले, मानिसका कारणले प्रकृतिमा परेको असरबारे अन्वेषण गरिएको हुँदा पर्यावरणीय दृष्टिले समेत यसलाई हेर्न सकिन्छ । स्थानीय भाषाको प्रयोग ज्यादा छ । त्यसलाई विषय सन्दर्भले बुझाउँछ । कति त अझ प्रसङ्गले पनि नबुझिने दुर्बोध्य कुरा छन् । वेशभूषा, लवाइ, खुवाइ, रहनसहनले ती दूरदराजका लाग्ने, दुखी असहाय तर निष्कपट नागरिकको मनोविज्ञान पनि यहाँ बुझ्न सकिन्छ ।  कति सरल छन्, कति सहयोगी छन्, कति उदार छन् । अतिथि देवो भवःको संस्कारले निर्देशित छन्, अतिथिका सामु हृदय नै घोप्ट्याउँछन् ।

ग्राम विकासको काम लिएर लेखक अमेरिका समेत पुगेका छन् । भारत दर्शनमा गएका छन् ।

‘हिमालचुली मन्तिर’ पढिसक्दा समेत सानु लामाको कला शिल्पबारे मैले अझै ठम्याउन सकेको छैन, अर्थात् यस विषयमा बोल्न म असमर्थ छु । कृति उत्कृष्ट छ तर कसरी उत्कृष्ट भयो ? यसको स्पष्टीकरण मसँग छैन । मोहित पार्ने प्रस्तुति छ । बस् यति मात्रै भन्न जानेँ । पढ्दै आएका, पढिरहेका पुस्तकभन्दा बेग्लै मिठास छ यसमा । पुस्तकको मन्तव्यमा अरूले पनि यही भनेका छन् । कमल दीक्षित, मनप्रसाद सुब्बा, घनश्याम नेपाल, जीवन नामदुंग, कमल सांकृत्यायनले उनको कलमको खुलेर प्रशंसा गरेका छन् । हरिश मोक्तान ‘अल्लारे’ ले ‘हिमालचुली मन्तिर’लाई प्रख्यात लेखिका अरुणधती राय रायको ‘गड्स अफ् स्मल थिङ्स्’ को सम्झना गराउने कृतिको रूपमा लिएका छन् ।

कति पुस्तकहरू यस्ता हुन्छन्, जसको समीक्षा समालोचनाले त्यसको मूल्य बढ्नुको साटो बरु घट्दो रहेछ । ‘हिमालचुली मन्तिर’ अहिले मलाई त्यस्तै कोटीको ग्रन्थ लाग्यो । कृति पढ्दाको मिठास र आनन्दलाई भाषामा कसरी व्यक्त गर्ने ? एउटा समीक्षकले त्यहाँको विषयवस्तुलाई व्यक्त गर्न सक्छ । यद्यपि सुन्दरताको पक्षलाई देखाउन ऊ नित्य असमर्थ हुन्छ । अर्थात त्यो बोध गर्ने कुरा हो किन्तु देखाउने मिल्ने चिज होइन, मायाजस्तै अदृश्य हुन्छ । राम्रो पठनीय छ भन्दैमा त्यसको सही मूल्याङ्कन हुन सक्दैन । समीक्षा र समालोचना गर्दा स्तरीय कृतिको मूल्य त्यसकारण घट्ने गर्छ । कला शिल्पको समीक्षा गर्न एउटा आँट चाहिन्छ । म त भन्ने गर्छु उत्तम कृतिहरूको समीक्षा समालोचना गर्नुभन्दा नगर्नु कैँयन् गुणा  श्रेयस्कर हुन्छ । कम्तीमा त्यसको स्तरीयता क्षीण हुन  पाउँदैन ।

कृति उत्कृष्टता विषयवस्तुले निर्धारण गर्ने कुरा होइन । ‘हिमालचुली मन्तिर’मा अनौठो विषय त्यस्तो केही छैन । सामान्य एउटा गाउँले जीवन छ । पहाड पर्वतको यात्रा छ । लेखकको भोगाइ छ । भोगाइबाट प्राप्त अनुभूति छ । बस्, त्यत्ति हो । उनको जस्तो भोगाइ अझ विशिष्ट भोगाइ पाठकको हुन सक्छ । त्यति हुँदा पनि प्रस्तुत कृति पाठकले किन रुचाएका छन् ? त्यसको उत्तर जेजस्तो आउँछ, आउँदैन त्यही नै कृतिको उल्लेख्य पक्ष हो । कला नै साहित्यको प्राण हो भन्ने कुरा त्यसैले पुष्टि गर्ने छ ।

‘हामी नेपाली जाति कति वीर र साहसी …’ यही अपूर्ण वाक्यबाट सानु लामाको पदयात्रा शुरु भएको छ । म यही अभिव्यक्तिले हौसिएर, जोसिएर कृति पठनमा डुब्न थाल्छु । हाम्रा पुर्खाको इतिहास पो छ कि ? भनी उत्सुक हुन्छु । भरे त पुर्खा होइन पुर्खाकै सन्ततिको इतिहास रहेछ, कति त ।

बर्खामा अलमस्त भएको टिस्टाको उच्छृङ्खल भेल वारपार गर्दै रहेका साहसिक नेपालीको कति बेला त्यहीँ प्राण खस्ने हो, पत्तो छैन । तैपनि हारेका छैनन् । घिर्लिङमा झुण्डिएर टिस्टा तर्दैछन् ।

टिस्टा वारिपारिको जीवन कति सकसपूर्ण छ । वारपार गर्न त्यहाँ एउटा झुलुङ्गे पुल पनि छैन । नेपालको स्थिति पनि त्यस्तै छ, तुइनबाट पहाडी भेगका नदीनाला वारपार गर्न मानिसहरू विवश छन्, कति त्यही वारपारको सिलसिलामा अन्त भएका छन् । लेखकका सम्पूर्ण यात्राहरू ग्राम विकाससँग जोडिएका छन् । अन्वेषण अनुसन्धानसँग निकट रहेका छन् । समस्या निदानको खोजीमा छन् । अप्ठ्यारा र चुनौतीहरू प्रायः ग्रामीण भेगमा ज्यादा हुने गर्छन् । यातायात छैन, पिउने पानी छैन । अरू धेरै थोक छैन । त्यही नभएका सुविधा उपलब्ध गराउन ग्राम विकासले कर्मचारी खटाएको छ, गवेषणको लागि । त्यसो हुँदा लेखकको यात्रा पनि कठिन छ । दुर्गम छ । विकट छ । घण्टौँको पैदल यात्रा छ । उकाली ओराली छ । दिन र रातको हिँडाइ छ । आकाश जति रोए पनि बादल जति थुप्रिए पनि उनको गन्तव्यलाई छेक्न सकेको छैन ।

जस्तो परिस्थिति छ, त्यसैसँग अभ्यस्त हुनु नै साँचो अर्थमा जीवन बाँच्ने कला हो । दार्शनिकहरू भन्ने गर्छन्, ‘जीवनमा सहज मार्गको अपेक्षा नराख बरु चुनौतीसँग सामना गर्ने शक्तिको कामना गर ।’ त्यतिखेर उसलाई असहजता, असहजता लाग्ने छैन । सानु लामाले डुलेका  दुरुह गाउँबस्तीका अड्चनहरूले त्यही सिकाएका छन् । अभ्यस्तताको बोध गराएको छ । उनीहरूको त्यो कठिन भोगाइ किताबका पानामा पढ्दा मात्रै पनि हामीमा लामो उच्छवास, अनायास निस्कन्छ । परन्तु उनीहरूलाई त्यो जटिलताको आभास पनि नभएजस्तो लाग्छ ।

वैशाखदेखि शुरु भएको झरी मङ्सिरमा पनि अझै थामिएको छैन ।  गान्तोकको मनसुनले, त्यहाँको जनजीवन कति कष्टकर बनाएको होला ? म त्यसै अत्तालिन्छु । लेखकले भनेका, त्यहाँ वसन्त र शरदको आगमनै हुँदैन रे ! हिमालचुली पढेपछि मलाई एकचोटि गान्तोक जाने इच्छा भयो । निर्मल, स्वच्छ, घमाइलो दिनको अनुभूति गर्नै नपाउने ठाउँमा मैले आफ्नो बासको कल्पना गरेँ । तब मलाई आतेस लाग्दो भयो । लेखक परिवार झरी छल्नकै लागि दक्षिण सिक्किमको  सौरेनी गाउँ जान्छन् साथीको निवासमा । त्यहाँ पुगेपछिको अतीव आनन्दसँगै अड्कल काट्न सकिन्छ वर्षाले गान्तोकलाई कसरी  सताएको रहेछ, “सिमेन्ट, फलाम, इँट्टा आदिले बनिएको, भवनहरूको छतमा जमेको आहाल देख्छु म घरको झ्यालबाट । कतै सुकिलो ठाउँ देख्दिनँ । चारैतिर सिक्सिक् लाग्दो मैला–आँखा, कान  सबैसबै बन्द गरेर बसिरहूँजस्तो स्थिति हुन्छ । केही गर्ने जाँगर चल्दैन । छोराछोरीको बाल क्रिडा घरभित्रै सिमित हुन्छ । बिहान बेलुका यसो बाहिरफेर घुमेर प्राकृतिक आनन्द सौन्दर्यको रसपान गर्ने विचार हास्यास्पद हुन जान्छ (पृ–११)।”

कविता त शायद सानु लामाले लेखेका छैनन् । यद्यपि उनी कवि हृदयको लाग्छन् । हाँस हराउँदा होस् या भाङ हालेको लड्डु खाने दिन (होली) दौडाह (निरीक्षण) मा जानु पर्दा उनी बडो निराश हुन्छन् । उदास हुन्छन् । आरामले घरमा बसेर भाङको लड्डु खाने उनीसँग ठूलो इच्छा थियो । निर्बोध केटाकेटीको जस्तो मधुरता र विनोदप्रिय लाग्छ उनको स्वभाव । मलाई त्यो स्वभाव कस्तो मन पर्यो । प्रभावित भएँ । लड्डु खाएर भाङ्को असर अनुभव गर्ने उनको त्यो वाञ्छा अधूरै रहेको छ ।

गैरआख्यानमा पनि अब के हुन्छ ? घटना कता मोडिन्छ ? जस्तो उत्सुकता पैदा गराउन सक्ने उनको कलाशिल्पलाई फेरि नमन गरेँ ।

पिउने पानीको संकटले, रमेन गाउँमा विवाह गरेर छोरीचेली पठाउन नमानेको संवाद सुन्दा, म त्यो दुःखी गाउँको  परिकल्पना गर्न पुग्छु, “स्थिति गम्भीर बनेको अनुभव गर्यो विभागले । पिउने पानीको उचित व्यवस्था गरिदिन नसकेको कटु आलोचना विभागले खप्न सक्थ्यो तर रमेनका सबै युवाहरू बिहे नगरी बूढा भएका अनि रमेनमा मात्र परिवार नियोजन कार्यक्रम शत–प्रतिशत सफल भएको  सामाजिक लाञ्छना आफ्नो शिरमा लिन विभाग कसै गरेर पनि तयार थिएन (पृ–५०)।”

पानीको अभावमा गाउँकै अपमान भएको बताउने रमेनका बासिन्दा गाउँमा पानी पुगेको दिन हर्षले नाच्छन्, उत्सव मनाउँछन् । घर घरमा खुशीले बास लिन्छ ।

‘हिमालचुली मन्तिर’ लेखिनुको अभिप्राय पर्यावरणसँग सम्बन्धित त होइन नै ।  तर पर्यावणीय दृष्टिले विश्लेषण गर्ने पाठ भने यहाँ प्रशस्त छन् । विकासलाई अहिले जुन तरिकाले  हर्दै आइएको छ, लेखकले त्यसलाई विकास भन्न चाहेका छैनन् । त्यो त विनाश हो, विकृति हो, असन्तुलन हो, उनी यही भन्छन् । पर्यावरणलाई धक्का नपुर्याई, प्रकृतिको संरक्षणमा ध्यान दिएर अगाडि बढाइएको गतिविधि नै सही अर्थमा विकास हो, उनले यही भनेका छन् ।

यात्रामा अतिथि र आतिथेयबीचको सहजता, असहजता, स्वागत, सत्कार, मर्यादा र आत्मीयतामा सुधा गाउँवासीको मनोभावना बुझ्न सकिन्छ । बेला बेला लेखकमा अहम भाव पैदा हुन खोज्छ । यद्यपि उनी त्यस्ता छैनन् । अबोध बालकजस्तै निष्कपट लाग्छन् । जस्तो अनुभूति गरेका छन् त्यस्तै व्यक्तिएका छन् अर्थात् उनको लेखनमा कृत्रिमताको आभास कहीँ गर्न सकिँदैन । त्यस्तै यहाँ उनी मात्र  होइन, ती भला ग्रामवासी, पाखा पखेरा, पशुपक्षी, सुरम्य प्रकृति सबैसबै अभिव्यक्त छन् ।

ग्राम विकासको लागि खटिएका ती कर्मचारीको लगनशीलता देख्दा, हाम्रोमा त्यस्तो दिन कहिले आउला ? यस्तो प्रश्नले म अवाक् हुन्छु । यहाँ त नीति निर्माताहरू नै कानुनदेखि टाढा हुन्छन् । सम्पूर्ण कुरा औपचारिकतामा सिमित हुन्छ । सम्बन्धित निकायका मानिसलाई जिम्मेवारी तथा दायित्वबोधले किमार्थ घच्घच्याउँदैन ।

आतिथ्य सत्कारमा लेखक आफूले मात्रै छ्याङ खाएका छैनन् । मनोरञ्जनपूर्ण भाषामा पाठकलाई समेत खुवाइरहन्छन् । गाउँ विकासका लागि आम नागरिक र सरकारबीचको सहअस्तित्वबाट हामीले एउटा पाठ सिक्नु पर्छ । सरकार र जनताबीच, सहसम्बन्ध हाम्रोमा कहिल्यै हुन सकेको छैन । नेता तथा पदाधिकारीहरू आफू त्यो स्थानमा पुगेपछि दुःखी नागरिकलाई बिर्सिहाल्छन् । एक निमेष पनि सम्झिन आवश्यक देख्दैनन् ।

हिमाचुली मन्तिरमा भनिए अनुसार उता ल्याटिन अमेरिकामा पनि ग्राम विकासको नीति प्रशंसनीय लाग्यो । सरकार मात्र होइन नागरिक पनि उति नै सक्रिय भएर लाग्दा रहेछन्  । यता हाम्रोमा सरकारको मुख ताक्ने र आलोचना गर्नमै नागरिकहरू क्रियाशील हुने गर्छन् ।

नेपाल, भारत, श्रीलङ्का, इन्डोनेशियाको एउटा भ्रमण टोली अमेरिका तथा ल्याटिन अमेरिकाको ग्रामीण जल वितरण एवं ग्रामीण शौचालय तथा अन्य ग्रामीण योजनाहरूको निरीक्षण गर्न पुगेको छ । म्याक्सिकोको एउटा गाउँमा सडक निर्माण कार्यमा लागेका ती दुःखीदाखी नागरिकको सौहार्दपूर्ण व्यवहार देखेर लेखक भन्छन्, “गरीब भनेपछि जहाँका पनि एउटै हुँदा रहेछन् । धनी मात्र बेग्ला बेग्लै ठाउँमा बेग्ला बेग्लै किसिमका हुँदा रहेछन् । एकनासको हुनु नै गरीबको चिनो रहेछ, अस्तित्व पनि । यो उसको अलिखित इतिहास हो । जीवन जिउने प्रेरणा हो अनि सामुदायिक एकताको पताका हो (पृ–१००)।”

माथिको दृष्टान्त एउटा अनुसन्धानमूलक अभिव्यक्ति हो । अनुसन्धाताको अनुभव हो । अन्य मुलुकमा गाउँ विकासको लागि त्यहाँको सरकारले कस्तो नीति तर्जुमा गर्दो रहेछ ? यो कुरा विकासशील देशको लागि उपयोगी हुन सक्छ । लेखक भन्छन्, कुनै पनि देशको सम्पन्नता अथवा विपन्नता त्यहाँका ग्रामीण क्षेत्रलाई हेरेर अनुमान लगाउन सकिन्छ ।

सानु लामाका कति यात्राहरू यस्ता छन् कि विश्वास गर्न पनि मुश्किल पर्छ । घनीभूत कष्टमा पनि खुशी हुन जानेका ती असहाय जनताको व्यवहार कति शिष्ट छ, मयार्दित छ । मोटर बाटो नपुगेको, सिक्किमको सुदूर पश्चिमाञ्चलको कार्जी गाउँमा, अभियानकर्ता हेलीप्याडमा पुग्दा, गाउँवासीको उत्सव बडो आश्चर्य लाग्ने छ । यान अवतरण गर्ने ठाउँ लिप्न साना ठूला युवायुवतीले टाढा टाढादेखि गोबर ओसारेको, रमाएको त्यो दृश्य मिथकै हो भनूँ लाग्छ । निष्कपटता, निश्छलता पनि शायद दारिद्रयकै एउटा आभूषण होला । शहरवासीमा त्यो आभूषण किञ्चित पाइँदैन । अभियानकर्ताप्रति कार्जीवासीको ठूलो भरोसा छ । सच्चा आशा छ । त्यस्तै सच्चा छन् ती समाजसेवीहरू ।

सानु लामा एक मिष्टभाषी स्रष्टा हुन् । थोरैमा धेरै व्यक्त गर्न सक्ने । मानिसको अन्तर्जगत्लाई सरल तरिकाले बुझाउन जान्ने । साङ्केतिक लाग्छ, उनको भाषा । विम्बात्मक छ । शब्दै शब्दको दृश्य स्केच गर्न समर्थ लेखक हुन् उनी । लालित्यपूर्ण भाषामा कोमल र भावुक लाग्छन् । जति संवेदनशील छन् त्यति नै स्पष्ट पनि छन् । गान्तोकस्थित त्यसताकाका भारतीय पोलिटिकल अफिसका एक जना अधिकारीले, पञ्चायत सभापतिहरूलाई काँटा र चम्चीले खाना खान तालिम दिएको घटना स्मरण गरेर उनी सशंकित हुन्छन् । किनकि उनलाई पनि काँटा चम्चीले खान आउँदैन । अतिथिको रूपमा भारत दर्शनमा जाँदा त्यस किसिमको  लज्जाबोध गर्नु पर्ने हो कि भन्ने भय छ, “मैले आफू अघिल्तिरको प्लेट, काँटा, चम्ची, छुरी आदिलाई हेरेँ अनि साथीलाई हेरेँ । अचानक मलाई भन्न मन लाग्यो अनि स्टेशन मास्टरलाई सम्बोधन गर्दै भनी हालेँ, माफ गर्नु होला, म त यसरी भोजमा खान पाउँदा सधैँ हातले खान रुचाउँछु  (पृ–१६३)।”

‘हिमालचुली मन्तिर’मा सानु लामा कस्ता लेखक हुन भन्ने कुरा प्रष्टसँग बुझ्न सकिन्छ । स्वतस्फूर्त शैलीमा उनका निबन्ध प्राकृतिक लाग्छन् । एक्काइस भागमा संरचित यस ग्रन्थमा अरू पनि उल्लेख्य कुराहरू छन् । कथाको ढाँचामा घटना र पात्रलाई संयोजन गरेर, अन्त्यमा संस्मरणात्मक शैलीमा तुरेका त्यस्ता केही रचना छन्, जसलाई निबन्ध भनूँ कि कथा भनूँजस्तो  द्विविधा उत्पन्न हुन्छ ।

लेखकको निजी भोगाइ र अनुभव जस्तो छ, त्यसलाई पाठकले स्वीकार्न सक्नुपर्छ । आख्यानमा एउटा समीक्षकले बोल्ने र आफ्नो राय राख्ने ठाउँ जुन प्रकारले पाउँछ त्यति निबन्धमा, जीवनीमा, संस्मरणमा पाउँदैन । आलोचना गर्ने ठाउँ हुँदैन । किनकि स्रष्टाको जीवनमाथि प्रश्न गर्ने अधिकार पाठकलाई हुँदैन । बस्, उसको प्रस्तुति शिल्पकला राम्रो छ छैन, ग्रहणीय छ छैन त्यति भन्ने अधिकार मात्रै पाठकको हातमा रहेको हुन्छ । उसका विचारमा सहमत हुनु नहुनु त्यो अर्कै विषय हो । उसका अनुभूति आफूसँग मिल्छ मिल्दैन त्यो फरक कुरा हो ।

सर्जकको भोगाइलाई उच्च सम्मान गर्दै, ‘हिमालचुली मन्तिर’मा म त्यही भन्छु कि, मैले भन्नु यहाँ केही छैन । एउटा कुराचाहिँ अघिदेखि भन्छु भन्दै थिएँ, भुल्ने बानीले गर्दा झण्डै छुटेको, आउँदो संस्करणमा वर्णविन्यासका केही अशुद्धिहरू सच्चिएर आउने छन् निश्चय । कृतिमा अरू कामना गर्नु पर्ने त्यस्तो केही छैन । बस्, यिनै शब्दका साथ यहीँ  रोकिन चाहन्छु ।

प्रतिक्रिया
Loading...