आजको मानिस छिनछिनमा उठ्ने पानीको तरङ्गभन्दा पनि बढी अस्थिर हुन लागेको छ । ऊ तीव्र गतिशील छ, चलायमान छ । राष्ट्रियताले, भौगोलिकताले, भाषा संस्कृतिले उसलाई छेकबार हाल्न नसक्ने भएको छ । देशका सीमानाहरू भत्किएका छन् । ऊ एक मुलुकको मात्र नागरिक नभएर— अब वैश्विक नागरिक हुन थालेको छ । भूमण्डलीकरणको प्रभावले उसको यायावरीय चरित्र झन् प्रबल हुँदै गएको छ ।

वर्तमान समयमा हर मुलुकका नागरिक वैश्विक धारणाले निर्देशित छन् । हामी सबै वैश्विक गतिविधिमा संलग्न छौँ । डायास्पोरिक युगमा छौँ । त्यसैको प्रभावमा हाम्रा घरगाउँहरू रित्तिएका छन् । सिङ्गो देश रित्तिने सिलसिलामा छ  । सबै मुलुक छोड्ने मानसिकतामा छन् । फर्किने मनस्थितिमा कोही छैन । आउने जानेको समान निरन्तरता भए पो सन्तुलन कायम रहन्छ ।

हेर्नु त कस्तो डरलाग्दो गरी नेपालको मानव पूँजी बहिर्गमन हुँदैछ । कहिल्यै नथामिएला जसरी भइरहेको छ । बौद्धिक पूँजी अत्यन्तै तीव्र गतिमा पलायन हुँदैछ । यसरी हाम्रोमा परदेशिने चरित्र निर्माण हुँदैछ । परन्तु प्रत्यागमनको चरित्र खै निर्माण हुन सकेको ?  यति कुरा सम्झिँदा मात्रै पनि देशमा ठूलो आँधी चलेको आभास हुन्छ । नेपाली जातिलाई आँधीले उडाएर अन्यत्र कहाँकहाँ पुर्याउँदैछ । हामी आँधीको वेगमा स्थानान्तरित हुँदैछौँ । यसरी स्थानान्तरित हुनुका धेरै कारणहरू छन् । मुख्यतः राज्यव्यवस्था प्रतिकूल हुनाले यो सब भइरहेको छ ।

म अहिले यसै प्रसङ्गको एक अध्ययनमा छु । नेपाली जातिको डायास्पोरिक जीवन कहिलेदेखि शुरु भयो ? कति कारणले शुरु भयो र वर्तमान अवस्थामा आइपुग्दा बेलायती नेपालीको—डायास्पोरिक जीवन कस्तो हुँदैछ ? जस्ता अनेक विषयमा व्यापक अध्ययान तथा खोज अनुसन्धान गरिएको पुस्तक ‘डायास्पोराः अवधारणा र अभ्यास’ पढिसक्दा कतै म आफैँ डायास्पोरिक जीवनमा छु कि झैं अनुभूति भयो । रक्ष राईद्वारा तयार गरिएको यस अनुसन्धानात्मक कृति पठनमा— विश्वविद्यालयको एक शैक्षिक सत्र पूरा भएको मैले महसूस गरेँ । अझ यसो भनौँ विश्वविद्यालयको एक शैक्षिक सत्रमा जति ज्ञान आर्जन हुनसक्छ— त्यति बराबरको ज्ञान यस पुस्तकबाट प्राप्त गर्न सकेँ । स्वयं आफैँ डायास्पोरिक जीवन बाँचेका एक भोक्ताले खोज अनुसन्धान गरेको  ६३९ पृष्ठको ग्रन्थ—जसमा सैद्धान्तिक र व्यवहारिक दुवै पक्षको उल्लेख्य चर्चा छ ।

नेपाली वाङ्मयमा एक बौद्धिक तथा चिन्तक व्यक्तित्व रक्ष राईलाई बुझ्ने आयामहरू अनेक छन् । कवि, कथाकार हुँदै पछिल्लो समय विशेषतः सिद्धान्तकारको रूपमा उनी ज्यादा सक्रिय छन् । एक गहन अध्येता राई वैचारिक मार्ग तथा दर्शनशास्त्रसँग पनि उतिकै निकट छन् । नेपाली र अङ्ग्रेजी दुवै भाषामा गरी उनका तीनवटा कविता सङ्ग्रह प्रकाशित भइसकेका छन् । त्यति नै कथासङ्ग्रह पनि प्रकाशित छन् ।  उनका केही सह–लेखनका कृति पनि छन् । मिजास तेम्बे र उनको सह–अस्तित्व रहेको ‘नवचेतनाग्रह’ (२०६८) चिन्तनमा आधरित पुस्तकले बौद्धिक पाठकको अपेक्षा राख्दछ । त्यस्तै अर्को ‘डायास्पोरा सिद्धान्तः रचना र समालोचना’ (२०७२ सहलेखन) पाठकमाझ पहिल्यै आइसकेको छ ।

दुई वर्ष अघि ‘युद्ध सौन्दर्य चिन्तन’ (२०७९) मा राईलाई एकदम मिहीन ढङ्गले अध्ययन गरेको थिएँ ।  भण्डै छ सय पृष्ठको उक्त अनुसन्धानात्मक कृतिले—वैश्विक चेतना उकास्न मलाई धेरै मद्दत गरेको थियो ।

यतिखेर म अत्यन्तै कृतज्ञताको भावमा छु । राम्रा बौद्धिक, वैचारिक तथा अनुसन्धानमा आधृत पुस्तकहरू पढ्न लाग्दा—मेरो मन फुरुङ्ङ हुनेगर्छ । नवीन ज्ञान प्राप्तिले तृप्त हुनेगर्छ । गोर्खाली आप्रवासनलाई केन्द्रमा राखेर—सैद्धान्तिक र व्यवहारिक दुवै धारबाट अध्ययन गरिएको ‘डायास्पोराः अवधारण र अभ्यास’मा पसेर निस्किँदा—मलाई छुट्टै जगत्बाट अवतरण भएको महसूस हुँदैछ । साहित्य तथा कलाको दृष्टिकोणबाट हेर्दा डायास्पोरा—उत्तरआधुनिक सिद्धान्त र समालोचनाका अनेक शाखा मध्येको एउटा विशाल शाखा हो । वैश्विक अध्ययनको अत्यन्तै गतिशील शाखा हो । यस अध्ययनको चिन्तनले कहिल्यै स्पष्ट आकार लिने सम्भावना देखिँदैन । किनकि डायास्पोराको संरचना स्थिर हुनसक्दैन । यो निर्माण हुँदै भत्किँदै फेरि  निर्माण हुँदै जाने एक गतिशील प्रक्रिया हो । वर्तमान समयमा डायास्पोरा निर्माण अत्यन्तै तीव्र गतिले हुन थालेको छ । अब यो रोकिने स्थितिमा छैन । सृष्टि रहुन्जेल चलिरहनेछ— मानिसको अस्थिरता र त्यसले निर्माण गरेको आप्रवासनको गतिविधि । अझ भोलिका दिनमा यसले जटिल रूप लिँदै जानेछ । अन्ततः अन्तरिक्ष डायास्पोरा तथा अन्तग्र्रहीय डायास्पोरा निर्माण हुने निश्चित छ । त्यसको व्याप्तिमा ब्रह्माण्डीय डायास्पोराले अद्भुत स्वरूप निर्माण गर्नेछ ।

कुन प्रेरणाले लेखक यस्तो कठीन कार्यमा लागे हुन् ? पढ्दै गर्दा सोचेँ— उनले कला सिर्जनामा सीमित भएर सरल मार्ग रोज्न पनि त सक्थे ! तर किन रोजेनन् ? अवश्य उनलाई कठीन मार्ग धेरै मन पर्नेगर्छ । उनको अघिल्लो कृति ‘युद्ध सौन्दर्य चिन्तन’मा पनि त्यस्तै विशिष्ट अध्ययनको सारांश थियो ।

द्वैधता र विरोधाभासको अस्थिर विशेषताले निर्मित डायास्पोराको अध्ययन आफैँमा कति जटिल विषय छ । कति विराट विषय छ । यससँग अन्तर्सम्बन्धित अरू पनि केही विषय क्षेत्रहरू छन् । विश्वमा प्रतिदिन देश विहीनताको स्थिति बढ्दो छ । वैश्विक पात्रता निर्माण हुँदैछ । त्यस पात्रताको गतिविधि मूल्याङ्कनले मात्रै डायास्पोराको अध्ययन पूर्ण हुनसक्दैन । प्रस्तावनामा लेखकले यही  थिम बोलेका छन्, ‘डास्पोरा आप्रवासी जाति, भाषा, संस्कृति, पहिचान र मनोविज्ञानको मात्रै अध्ययन होइन रहेछ । डायास्पोरा अध्ययन आधुनिकतावादको पर्खाल भत्काएर उत्तरआधुनिकताको खुल्ला जगत्मा फैलिएको ज्ञान क्षेत्र रहेछ ।’ यसको जटिलताबारे उनी अझै अगाडि भन्छन्, ‘… यसको सैद्धान्तिक पद्धति, विधि विधान र परम्परा उत्तरउपनिवेशवाद, उत्तरसंरचनावाद र उत्तरआधुनिकतावादसँग मिश्रित हुन पुगेर चारैतिर जेलिँदै, जोल्ठिँदै र लपेटिँदै झन् झन् जटिल बनेको हुन्छ (पृ–८) ।’

अहिले म बडो अप्ठ्यारोमा परेको छु । ‘डायास्पोराः अवधारणा र अभ्यास’ त पढेँ तर यति धेरै कुरालाई संक्षेपमा कसरी अभिव्यक्ति दिने । भन्नु पर्ने विश्लेष्य सन्दर्भहरू प्रशस्त छन् । अवधारणा र अभ्यास खण्ड गरी दुई भागमा विभक्त यस ग्रन्थमा सात अध्याय रहेका छन् । पहिलो अध्यायमा विश्व आप्रवासनको प्रसङ्ग छ । कहिलेदेखि डायास्पोरोको अवधारणा शुरु भयो ? डायास्पोरिक जीवन कहिलेबाट आरम्भ भयो ? यसको पृष्ठभूमि खोज्दै जाँदा सिङ्गो मानव सभ्यताको जरोमा पुगिने रहेछ ।

आरम्भका दिनमा बसाइँसराइको प्रक्रिया आन्तरिक ढाँचाको थियो ।  मानिसहरू एउटा गाउँबाट अर्को गाउँ, एउटा शहरबाट अर्को शहर पुग्थे बसाइँको सिलसिलामा । त्यही सिलसिलाले आज वैश्विक रूप लिएको छ । एक देशबाट अर्को देशमा बसाइँ सर्ने क्रम अत्यन्तै तीव्र भएको छ । यसरी अन्तर्देशीय बसाइँसाइबाट उत्पन्न गतिविधिलाई डायास्पोरा सिद्धान्तले अध्ययन गर्छ ।

शुरुका दिनमा डास्यापोरा शब्दलाई सम्मानजनक दृष्टिले हेरिन्थेन । त्यसरी नहेरिनुका अनेक कारणहरू रहेका छन् । तिनै कारणले डायास्पोराप्रति नकारात्मक मान्यता सिर्जिन थाल्यो । अप्रिय लाग्न थाल्यो । त्यतिखेर डायास्पोरा शब्दले देशबाट निष्कासित भएका, अपमानित भएका, अनागरिक जाति वा समुदायलाई बुझाउँथ्यो । शास्त्रीय अर्थले त्यसरी हेर्थ्यो । बेबिलोनियनकालमा यहुदीहरू देश निकाला भएपछि उनीहरूलाई जनाउन डायास्पोरा शब्द निर्माण भएको देखिन्छ । अहिले त्यसको अर्थ विस्तारित भइसकेको छ ।  विश्वव्यापीकरण भइसकेको छ ।

उत्तरआधुनिक समयमा अस्थिर बसोबास र तीव्र गतिशीलताको क्रम अनियन्त्रित किसिमले बढ्दो छ । यतिखेर  विश्व समुदाय नै चलायमान छ । सँगै डायास्पोराको अर्थ पनि नवीकरण भई ग्लोबल डायास्पोरा भएको छ । यसको आधुनिक अध्ययन दोस्रो विश्वयुद्धपछि  शुरु भएको पाइन्छ । रोबिन कोहेन, डेभिड गेल्नरजस्ता विद्वान्ले ग्लोबल डायास्पोराको अवधारणा ल्याएका छन् ।

लेखक राईले डायास्पोराको इतिहासदेखि वर्तमान अवस्थासम्मको जानकारी राख्न कति खोज अनुसन्धान गर्नु पर्यो होला ?  मानव उद्विकासदेखि प्रागैतिहासिककाल हुँदै आजसम्मको गतिशील मानवीय चरित्रमा आइपुग्दा— यहाँ मोटामोटी रूपमा एउटा सिङ्गो मानव सभ्यताको नै अध्ययन भएको देखिन्छ । हजारौँ वर्ष लगाएर मानव अस्तित्वमा आएका हाम्रा पुर्खा होमो एरेक्स, होमो सेपियन्सहरू अफ्रिका, अमेरिका, एसिया हुँदै— एकलाख चालीस हजार वर्षमा— विस्तृत परिवेशमा फैलिएको देखिन्छ । त्यस यता पचास हजार वर्षको लामो अवधि पश्चात् बल्ल स्थायी बसोबास गर्न थालेको पाइन्छ । अन्ततः विविध कारणले त्यो स्थायित्व पुनः अस्थिर हुँदै आजको युगमा आइपुगेको छ । पुनः स्थिरताको चरण अब आउने छैन अर्थात् अस्थिरताको अब कहीँ अन्त छैन ।

अनुकूलता प्रतिकूलतासँगै शुरु भएको बसाइँसराइ दर उपनिवेशकालमा आएर एकदमै बढ्छ र दुई ठूला विश्वयुद्धपछि झन् बढ्छ । प्रायः विवशताकै कारण स्थायी बसोबास छोड्ने क्रम बढ्छ । अनि स्वनिर्णयले पनि त्यसो भएको छ । कति शरणार्थी भई अनागरिक भएका छन्, विस्थापित भएका छन् र परदेशमा शरण परेका छन् ।

राई आफ्नो पुस्तकमा डायास्पोरिक विषयमा मात्रै केन्द्रित छैनन् । डायास्पोराको अध्ययनमा धेरै विषय सन्दर्भहरू गाँसिएर आएका छन् । सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक विषयहरू कहीँ नछुट्दा रहेछन् । अझ विशेषतः युद्ध कहीँ नछुट्दो रहेछ । डायास्पोरा निर्माणमा युद्ध र उपनिवेश मूल कारक तत्त्व रहेका छन् । पछि अरू धेरै कारणहरू थपिएका छन् । व्यापारिक, राजनैतिक, सामरिक, प्रशासनिक तथा श्रमिक प्रयोजनका दृष्टिले एक मुलुकबाट अर्को मुलुक पुगेर डायास्पोरा निर्माण भएका छन् । दासदासीको किनबेचले पनि धेरै प्रभाव पारेको देखिन्छ । पछिल्लो समय अरू पनि सूक्ष्म कारणहरू थपिएका छन्— शिक्षा, रोजगारी, भौतिक सुख सुविधाको खोजी, भविष्यको चिन्ता आदिले मानिस देशान्तरण हुँदैछ ।

एउटै पुस्तकभित्र विविध विषयको पठन गर्न पाउनु कति लाभदायक कुरा छ ।  आधुनिक बसाइँसराइदेखि लिएर आप्रवासन र डायास्पोरा निर्माणको ऐतिहासिक अध्ययन गर्ने क्रममा लेखकले अमेरिका, अफ्रिकालगायतका धेरै मुलुकमा कहिले र कसरी डायास्पोरा आरम्भ भयो त्यसको पनि उल्लेख गरेका छन् । ती उल्लेख्य कुरा छन् ।

वर्तमान समयमा पूँजीवादी राष्ट्रले विश्वको साझा अर्थतन्त्र विकास गर्दैछ । त्यही साझा ग्लोबल अर्थतन्त्रमा होमिएर विश्वबजारले तानिएका मानिसहरू— पछिल्लो समय प्रायः आफू खुशी डायास्पोरा निर्माण गर्दैछन् । परन्तु प्राचीन डायास्पोरा भने शक्ति प्रदर्शनमा अमानवीय तरिकाले बनिएका थिए । बन्दी बनाएर, दासी बनाएर, मानवको अवैध व्यापार गरेर त्यस्तै शक्तिशाली उपनिवेशकहरूले मानव समुदायलाई उथलपुथल पारेका थिए । विस्थापित गरेका थिए । मूल थलोबाट उखेलेर छिन्नभिन्न गराएका थिए ।

हेर्नु त कति कारुणिक छ डायास्पोरिक इतिहास ! कति बीभत्स, कति क्रूर, कति निन्दनीय छ इतिहास ! जस्तो एउटा दृष्टान्त लिऊँ— उपनिवेशितहरूलाई बित्थामा बन्दी बनाएर जेलदेखि जेल स्थानान्तरण गर्दै अन्त्यमा कामदार अर्थात् दासदासी बनाएर बेचिएको इतिहास कति घृणित छ, कति अमानवीय छ ! त्यस्तै कति यौनकर्मीको रूपमा बेचिएका छन्, कति देश निष्कासन भएका छन् । आरम्भका ती दिनमा डायास्पोरा बनिनुको पछाडि शक्ति प्रतिस्पर्धाको उन्माद नै प्रमुख देखिन्छ । ठूलाले सानालाई निल्ने सिद्धान्तबाट डायास्पोराको युग शुरु भएको पाइन्छ । प्रकारान्तरमा त्यसैको शिष्ट रूपमा, सभ्य रूपमा अहिलेको डायास्पोरा निर्माण भइरहेको छ ।

अघिको बाध्यात्मक तरिकाले निर्मित डायास्पोरामा निरक्षर गाउँले तथा श्रमिक, किसान वर्गका मानिसहरू पर्थे । तर अहिले त्यसको ठीक विपरीत अवस्था बन्दै गएको छ । उच्चकुलीन तथा बौद्धिक, पठित समाज बहिर्गमन भई डायास्पोरा बनाउँदैछ ।

अध्याय एकको विश्व आप्रवासनमा आदिम मानव जातिको यायावरीय प्रवृत्ति, चरित्र तथा समाज बन्न थालेपछिको देशीय, अन्तर्देशीय बसाइँसराइ र डायास्पोरा निर्माणको इतिहासलाई देखाइएको छ र तिनको कारण पनि स्पष्ट पारिएको छ ।

त्यस्तै अध्याय दुईमा शास्त्रीय डायास्पोरा तथा पुराना र आधुनिक डायास्पोराका अवधारणाहरू रहेका छन् । शास्त्रीय डायास्पोरामा अपमानित भई देश निष्कासित यहुदीहरूलाई जनाउन डायास्पोरा शब्दको प्रयोग गरिएको छ । अझ त्यसभन्दा अघि नै चिनियाँ जाति व्यापारको लागि बहिर्गमन भएको देखिन्छ । देशबाट पलायन भएका जातिबाट—डायास्पोरा बन्ने मान्यता अनुसार चिनियाँहरू डायास्पोरा निर्माण गर्ने प्रथम जातिका रूपमा उल्लेख भएका छन् ।

त्यतिखेर डायास्पोरालाई जाति बोधक अर्थले हेरिन्थ्यो । शास्त्रीय डायास्पोराले यहुदीहरूलाई बुझाउँछ । उत्तरआधुनिक युगमा समेत उनीहरू डायास्पोरा निर्माणकै अवस्थामा छन् ।

समयक्रममा डायास्पोराका अर्थहरू विस्तृत हुँदै गएका छन् । त्यसक्रममा ‘पुरातत्त्वविद् र इतिहासविद्को अध्ययनले ग्रीककालदेखि पन्ध्रौँ शताब्दीसम्मको मानव समुदायको गतिलाई मूल्याङ्कन गरेको पाइन्छ । त्यस समय र कालभित्रका मानवजातिको बसाइँसराइ, देशान्तरण, निष्काशन  वा विस्थापनको गति, चाल र चरित्रलाई पुरानो डायस्पोरा पदावली चलाइएको छ (पृ–४५) ।’

यस चरणमा क्रिश्चियन धर्म प्रचारकहरूले डायास्पोरा निर्माण गरेको देखिन्छ । क्रिश्चियन धर्म  प्रचारक र परिवर्तन दलले विश्व साङ्गठनिक सञ्जाल बनाउँदै गएको अध्ययनले बताउँछ ।

धार्मिक युद्धबाट आरम्भ भएको डायास्पोरा आधुनिक युगमा आइपुग्दा एउटा कहालीलाग्दो इतिहास बनेको छ । मानव सभ्यतामा युद्ध कहीँ पनि नछुट्ने कारक रहेछ । मानवीय स्वभावमा जहिल्यै युद्धभाव हुँदोरहेछ । राईको पुस्तकमा युद्धका प्रसङ्गहरू कहीँ छुटेका छैनन् अर्थात् डायास्पोराको चर्चामा युद्ध कहीँ नछुट्दो रहेछ । ती कुरा पढ्दै जाँदा डायास्पोरा निर्माणको प्रधान कारक युद्ध त होइन भनूँझैं लाग्छ । त्यतिखेर जातीय तथा धार्मिक प्रतिशोधलाई लिएर ठूलो अस्थिरता चलिरह्यो । धर्मप्रचार, व्यापार, साम्राज्यवाद तथा उपनिवेशवादको विस्तारले युद्धका अन्य पक्षहरू थपिँदै गएजस्तो दासहरूको व्यापार, श्रमिक आप्रवासन, गृहयुद्ध, शरणार्थी, आर्थिक सङ्कट आदिआदि । इतिहासकारहरूको मतमा आधुनिक डायास्पोरा ‘पन्धौँ शताब्दीदेखि छरिन थालेका आप्रवासी जाति, विशेषगरी युरोपेली र अमेरिकीहरूको कालाजातिमाथिको पाशविक व्यवहार, बेचबिखन र ओसारपसारले बनेको कालाजातिको फैलावटको विश्वरूपलाई इतिहासको पदावलीमा आधुनिक डायासपोरा भनिन्छ (पृ–५७) ।’

त्यसपछि अध्याय तीनमा आउँछ ग्लोबल तथा समकालीन डायास्पोरा । दोस्रो विश्वयुद्धपछि सोभियत संघको विघटन हुन्छ समयले अर्को मोड लिन्छ । साम्राज्यवाद तथा उपनिवेशवादको पतनपछि शुरु हुन्छ शीतयुद्ध । त्यसले नै नयाँ डायास्पोरा तथा ग्लोबल डायास्पोराको प्रारम्भिक चरण ल्याउँछ । त्यस्तै ग्लोबल अर्थतन्त्र र विश्वबजारको अवधारणा आउँछ । द्रुत गतिमा क्रान्तिकारी विकासले अकल्पनीय परिर्वतन ल्याउँछ । सम्पूर्ण भूमण्डल उथलपुथल हुन्छ । अन्तर्राष्ट्रिय व्यापारिक सङ्गठन, अन्तर्राष्ट्रिय राजनैतिक गठबन्धन र विश्वव्यापार संघजस्ता कुराले नवीन युग ल्याउँछ । सँगै डायास्पोराले नव धारणा पाउँछ । समग्रतामा डायास्पोराले द्वैध चेतना, द्वैध संस्कृति, द्वैध मनस्थितिजस्ता कुरालाई बुझाउँछ, द्वैध चालचलनलाई बुझाउँछ । अरू धेरै द्वैधतालाई बुझाउँछ । अध्येता राईले यहाँ विभिन्न आधारमा डायास्पोराको वर्गीकरण गरेका छन्— जस्तो भिक्टिम डायास्पोरा, व्यापारिक डायास्पोरा, सांस्कृतिक डायास्पोरा, श्रमिक डायास्पोरा आदि ।

झण्डैझण्डै हामी रोबोटले काम गर्ने अर्थतन्त्रको नजिक पुग्दैछौँ । तर पनि प्राचीन दासत्वको—मानसिकताबाट वर्तमान विश्व उठ्न सकेको छैन । अहिलेको श्रमिक डायास्पोराले यही कुरा जनाउँछ । प्रथमतः दासप्रथा आधुनिक मजदूर वर्गको प्राचीन रूप हो । भनेपछि अहिले पनि दासत्व प्रवृत्ति कायमै छ । विश्व श्रमबजारलाई हेर्दा पुरानो दास व्यापारबाट परिवर्तित तथा रूपान्तरित भई आधुनिक दासको व्यापारिक अर्थ लाग्छ । सन् १९७० को दशकबाट श्रमिक ठेक्कापट्टाको शुरुवातले यही कुरा स्पष्ट गरेको छ ।

डायास्पोरा बहु विषयसँग अन्तर्सम्बन्धित अध्ययन अनुसन्धानको एक नवीन शाखा हो— यसको अध्ययनमा व्यापक विषयवस्तु रहेका छन् ।  भाषा, धर्म, संस्कृतिदेखि लिएर समाजशास्त्र, मानवशाास्त्र, भूगोल, इतिहास, पर्यावरण, विज्ञान प्रविधि, राजनीति तथा अर्थतन्त्रसँगै अनेक तत्त्व जोडिएका छन् । त्यस्तै कला साहित्य पनि मिसिएको छ । डायास्पोराको अध्ययन अनुसन्धान भनेपछि हिमाञ्चल पर्वत उठाउनु जतिकै कठीन विषय रहेको छ । रक्ष राईले त्यही कठीन प्रयास गरेका छन् ।

डायास्पोरा सम्बन्धी विद्वान्हरूका आआफ्नै मत रहेका छन् । राईले आफ्नो सोधमा— रोबिन कोहेन, निकोलस, भ्यान हिअरलगायत धेरै अध्येताको भनाइ स्रोतको रूपमा लिएका छन् । कति ठाउँमा नेपाली जातिको डायास्पोरालाई ती विद्वान्हरूका मतले समेट्न सकेका छैनन् । त्यस्तो अवस्थामा राईले आफ्नै मत निर्माण गरेका छन् । मौलिक परिभाषा बनाएका छन् र त्यसको व्याख्या विश्लेषण गरेको छन् । आफ्नो सिद्धान्तलाई पुष्टि गरेका छन् ।

डायास्पोरा निर्माण एक अस्थिर र गतिशील प्रक्रिया हो । समय र परिस्थिति अनुसार बनिने, भत्किने र नयाँ स्वरूपमा निर्माण हुने यसको प्रक्रिया चलिरहन्छ । नयाँ डायास्पोरा जन्मिरहन्छ, साथै त्यसलाई हेर्ने दृष्टिकोण पनि बदलिरहन्छ । त्यसो हुँदा यसको विशेषता समय अनुसार फरक पर्दै जानेछ । नयाँनयाँ दृष्टिकोणबाट व्याख्या र परिभाषा हुँदै जानेछ । विधि र पद्धति बनिँदै जानेछ ।

डायास्पोरासँग निकट रहेका अरू पनि धेरै कुराहरू छन्—जस्तो माइग्रेसन, उत्तरउपनिवेशवाद, उत्तरसंरचनावाद र उत्तरआधुनिकतावाद । यी आपसमा धेरै मिल्जाजुल्दा छन् र भिन्न पनि छन् । धेरै चरण पार गरेर डायास्पोरा अध्ययन आजको यस अवस्थामा आइपुगेको छ । अनि आफ्नो धारणा निर्माण गर्न विविध विषयसँग जोडिएको छ ।

डायास्पोरा समयको गतिसँगै परिवर्तित भइरहने र कहिल्यै नटुङ्गिने एउटा वैश्विक चरित्र हो । यसको मान्यता समय सापेक्ष हुने हुँदा यसको अध्ययन झन्झटिलो छ, विस्तृत छ, दुरूह छ । त्यस्तै सीमाहीनता, अनन्तता, बहुलता, विशृङ्खलता, अनिश्चितता, अस्पष्टता, द्वैधता तथा विरोधाभासजस्ता गुणले यो आफैँ विराट र कठीन छ । बहुराष्ट्रियता, बहुसांस्कृतिकता, बहुजातीयता तथा उभयमुखी चरित्रले गर्दा डायास्पोरालाई जति बुझ्यो बुझ्न झन् बाँकी रहन्छ ।

वर्तमान विश्वमा कति अद्भुत कुरा घट्दैछन् । असम्भवजस्तो लाग्ने काल्पनिकता समेत विज्ञानले सम्भव बनाउँदै लगेको छ । यतिखेर पश्चिमा लेखकहरू अन्तरग्रहीय डायास्पोरा कल्पना गरी आख्यान रच्दैछन्— जस्तो नालो होप्किन्सन्को ‘मिडनाइट रोबर’, ह्यारी कुन्ज्रुको ‘गड्स् विदाउथ मेन’, तेलु कोलको ‘ओपन सिटी’, मोनिका अलीको ‘ब्रिक लेन’ आदि । अग्निएश्का पोद्रुज्ना र रेचल रोचेस्टरले अन्तरिक्षको औपनिवेशीकरणको प्रतिस्पर्था, अन्तरिक्षमा मानव बसाइँसराइ र अन्तर्ग्रहीय डायास्पोराको सम्भावनातर्फ चर्चा गरेका कुरा कति विचित्रका छन् ।

विश्वग्राम्यवादले एकातिर सम्पूर्णलाई एकाम्य बनाउन खोज्दैछ, अर्कोतिर जातीय चेतना तथा सामूहिक पहिचानको सङ्ग्राम रच्दैछ । विश्व मानव समुदाय, ग्लोबल नागरिक, बहुराष्ट्रिय नागरिकजस्ता धारणा डायास्पोराले रच्दैछ । तब वैश्विकता र स्थानीयता एकै ठाउँमा जोड्दैछ । अनि अस्तित्वका स्वरहरू तीक्ष्ण पार्दैछ र अन्त्यमा तेस्रो संस्कृति तथा हाइव्रिड संस्कृति निर्माण गर्दैछ ।

भूमण्डलीकरण तथा डायास्पोराको प्रभावले तेस्रो विश्व तथा गरीब मुलुकका नागरिकलाई अब आफ्नै भूमिमा अस्तित्व सङ्कट बढ्दै गएको छ । यता ग्लोबल अर्थतन्त्रले खुल्ला बजारको प्रतिस्पर्धी धारणा ल्याएको छ । ससानो आर्थिक लगानीलाई ठूलो–ठूलो व्यवसायले खर्लप्पै निलिदिएको छ । त्यसैको असरले तेस्रो मुलुकका नागरिक वस्तुकरण हुन पुगेका छन् । थोरै दाममा क्रय विक्रय भएका छन् । बडो डरलाग्दो भएको छ अबको समय । निरीह मुलुकमा राजनैतिक अस्थिरता र आर्थिक सङ्कटको स्थिति सिर्जना गरी समृद्ध मुलुकले आफू अनुकूल चलाउन थालेको छ । उत्तरउपनिवेशको छद्म नीति लिएर गरीब राष्ट्रलाई आफ्नो अधीनमा राख्ने प्रतिस्पर्धा चलेको छ । विश्वको राजनैतिक स्थिति बुझ्नै नसक्ने गरी कठीन हुँदै गएको छ । वैश्विक सरकार, वैश्विक युद्ध, द्वन्द्वको प्रभाव प्रत्यक्ष अप्रत्यक्ष रूपमा भूमण्डलको सम्पूर्ण जातिले भोग्दैछ । उता डायास्पोराले जगत्लाई निकै अस्थिर बनाएको छ ।

कडा डोजको अध्ययनले यतिखेर म चक्कराएको छु । मसँग कति धेरै अज्ञानता रहेछ थाहा पाउँदैछु । अघिका दिनमा मैले डायास्पोरालाई कति सतही तरिकाले बुझेको रहेछु । लक्षित भूमिमा गएका आप्रवासीले त्यहाँ आफ्नो समुदाय निर्माण गरी बसेका, अस्तित्वका निम्ति लडेका, असुरक्षा बोधले भड्किएका, द्वैध चरित्र निर्वाह गरेका जाति वा समुदायलाई नै डायास्पोरा भनिन्छ । मैले बुझेको यति नै थियो ।  तर कुरा यति मात्र होइन रहेछ । धन्न हो ‘डायस्पोराः अवधारणा र अभ्यास’ समयमै पढेछु ।

आतिथेय भूमिमा दोहोरो चरित्र लिएर बाँचेको जाति वास्तवमा ऊ कहीँको पनि नहुँदो रहेछ । न भित्र न बाहिरको ऊ सङ्घारमा हुँदोरहेछ । मातृभूमिले उसलाई अब आफ्नो ठान्दैन, पराईले भूमिले त झनै ठान्दैन । यस्तो अवस्थामा उनीहरू दुवैतर्फबाट थोरैथोरै अस्तित्व लिएर नयाँ अस्तित्व बनाउने प्रयासमा लाग्छन् । आफ्नो पनलाई अलिकति छोडेर र अरूको पनलाई अलिकति लिएर नव संस्कार—निर्माणमा लाग्छन् । प्राविधिक भाषामा डायास्पोरालाई तेस्रो स्थान (Third Space) को निर्माणकर्ता भनिँदो रहेछ । त्यस स्थानमा आफ्नो पहुँच बनाउन उनीहरू नित्य प्रयासरत हुन्छन्, ‘…राज्यको शासनप्रणालीमा आवश्यक सम्पूर्ण तत्त्वहरू डायास्पोरिक समुदायमा हुन्छन् तर त्यहाँ उनीहरूको आफ्नो मौलिक भूगोल अथवा देश मात्र हुँदैन । त्यसैले डायास्पोराको यो अवस्थालाई नवउपनिवेशवादको मूलतत्त्व प्रभुत्ववादको कोणबाट ‘राज्यविहीन–राज्य’ पदावलीले व्याख्या गर्न सकिन्छ । जो प्रत्यक्ष नभएर परोक्ष र प्रतीकात्मक राज्य र राष्ट्र निर्माण र राष्ट्रियताको विस्तार नै हो (पृ–१५५) ।’

लेखकले अध्याय चारमा डायास्पोराको अवधारणा, विधि र पद्धतिहरूबारे विस्तृत चर्चा गरेका छन् । विषय विविधताले गर्दा प्रसङ्ग लामो छ । डायास्पोरा कसरी बनिन्छ र ती कस्ता कस्ता हुन्छन् भन्ने सन्दर्भ पनि उतिकै महत्त्वपूर्ण छन् । ग्लोबल डायास्पोराको अवस्था, प्रकार र तिनको विशेषतासँगै उनले नेपाली डायास्पोराको गहन विश्लेषण गरेका छन् ।

राईको अध्ययन अनुसार नेपाली डायास्पोरालाई वर्गीकरण गर्ने आधारहरू धेरै छन् ।  सिमाना काटेर बनिने डायास्पोरा, सिमानाले काटेर बनिने डायास्पोरा, मानवसहितको डायास्पोरा, मानवरहितको डायास्पोरा अथवा भूगोलसहितको र भूगोलरहितको गरी उनले चार प्रकाराका डायास्पोराको व्याख्या गरेका छन् । यी मूल प्रकारभित्र पनि अन्य धेरै उपप्रकारहरू रहेका छन् ।

नेपाली श्रमिक डायास्पोराको अध्ययनमा पुग्दा मन एकदम खिन्न भएर आउँछ । तत्कालीन समयमा नेपालीले उपनिवेशको दुष्प्रभाव भोग्नु परेन । यो गर्वको कुरा हो तथापि अब गर्व गर्ने समय छैन । आज हामी निमेष निमेषमा उपनिवेशित छौँ । शक्ति सम्पन्न राष्ट्रहरूको चलखेलमा हाम्रो जीवन निर्देशित हुँदैछ । उनीहरूले सहयोग र सद्भावको नाउँमा हामीलाई अस्तित्वविहीन बनाइँदैछ । परनिर्भरताको नीति प्रयोग गरी आफ्नो शरण पार्ने प्रपञ्च रचिँदैछ ।

उन्नाइसौँ शताब्दीमा दासप्रथा उन्मूलन भएपछि शुरु भएको श्रमिक ठेक्कापट्टाले विकसित रूप लिँदै गयो । तब नेपाल प्रकारान्तरले ध्वस्त हुन थाल्यो, ‘… खुल्ला विश्व व्यापारिक बजारको प्रतिस्पर्धात्मक नीतिको बहानामा विदेशी लगानीकर्ता र व्यापारलाई निम्त्याएर र पञ्चायतकालमा स्थापित सबै औद्योगिक केन्द्र, उद्योग व्यवसाय ध्वस्त बनाए र देशमा बेरोजगारी बढाए । श्रम र रोजगारको खोजीमा नेपालीलाई विदेश जान बाध्य गराए … (पृ–२०७) ।’ यसरी बौद्धिक पलायन र मानव शक्ति पलायनले खोक्रिएको देश—आवरणमा बाँच्दैछ । केवल आवरणमा जीवित भएको अभिनय गर्दैछ । वास्तवमै जीवित हुन चाहिँ सकेको छैन ।

नेपाली डायास्पोराको स्रोत खोज्दै जाँदा लेखक पौराणिक डायास्पोरामा पुगेर ठोक्किएका छन् । नेपालको सन्दर्भमा डायास्पोराको अध्ययन गर्न कठीन परेको उनको अनुभव छ । विशेषतः भारतीय नेपाली डायास्पोराको अध्ययनमा यस्तो कठीनता परेको उनको निष्कर्ष छ ।

सात अध्यायमा विस्तारित ग्रन्थ— जसको पाँचौँ खण्डमा नेपाली आप्रवासन र डायास्पोराको अध्ययन रहेको छ । यसमा नेपाली बसाइँसराइको प्रवृत्ति र बाह्य आप्रवासनको इतिहासदेखि वर्तमान डायास्पोरासम्मको स्थितिलाई देखाइएको छ । त्यस्तै नेपाली जातिले कुन–कुन मुलुकमा डायास्पोरा निर्माण गर्दैछ— त्यसको पनि उल्लेख गरिएको छ ।

राईले आदिम मानव रामापिथेकसको सन्दर्भदेखि वर्तमान अवस्थासम्म आइपुग्दा नेपाली जाति कति कारणले, कहिलेदेखि देश छोडेर हिँड्न थाल्यो ? त्यसको उनले संक्षिप्त इतिहास खोजेका छन् । युद्ध डायास्पोरा, सैनिक डायास्पोरो, भिक्टिम डायास्पोरा, ग्लोबल डायास्पोराजस्ता अनेक डायास्पोराका सिद्धान्तले परिभाषित छ नेपाली जातिको डायास्पोरा  ।

पहिलो र दोस्रो विश्वयुद्धमा नेपालीले सैँतीसभन्दा बढी देशमा दोहोर्याई तेहेर्याई युद्ध लडेको देखिन्छ । जहाँ जहाँ युद्ध लड्न गए त्यहाँ त्यहाँ नेपाली जातिले डायास्पोरा निर्माण गरेको अध्ययनले देखाउँछ । मानिसमा जातीय चेत कति प्रबल हुँदोरहेछ । आफ्नो भाषा संस्कृति नै हराइसकेका फिजीका नेपाली अझ पनि हृदयमा देश बोकेर बाँचेका छन् । उनीहरू भन्छन्, ‘बकुल्लालाई कागको बथानमा मिसाउँदैमा काग हुँदैन, हामी नेपाली जहाँ जसरी रहेका छौँ, नेपालीकै जस्तो भावना बोकेर रहेका छौँ । पुस्तौँ पुस्तासम्म आफ्नोपनको निमित्त तड्पियौँ, अझसम्म नेपालीपनमा गौरव गर्दै आएका छौँ, हामीलाई नेपाली बनेरै बाँच्न र मर्न मन छ । संसारभरका नेपालीहरूले यस विषयमा संवेदनशील भइदिनुहोस्  र कमसेकम पुनर्मिलनको वातावरण बनाइदिनुहोस् (३०९) ।’

पहिलो खण्डको अवधारणा तथा सिद्धान्तलाई लिएर दोस्रो (अभ्यास) खण्डमा राईले बेलायती नेपाली डायास्पोराको प्रयोगात्मक अध्ययन गरेका छन् । अहिले बेलायतमा नेपालीको जनसङ्ख्या एक लाखभन्दा बढी पुग्दैछ ।

छैटौँ अध्यायमा नेपालीको बेलायत गमनको इतिहासदेखि लिएर गोर्खा सेनाको ऐतिहासिक, सामाजिक, सांस्कृतिक, राजनैतिक तथा आर्थिक पक्षजस्ता अनेक दृष्टिकोणबाट अध्ययन भएको छ । त्यस्तै गोर्खा भर्ती परम्परा तथा नेपाली योद्धाले लडेका गौरवशाली इतिहासको पनि स्मरण गरिएको छ । त्यस्तै गोर्खाली सेनाले आफ्नो हकहितको लागि बेलायतमा गरेको आन्दोलन पनि प्रस्तुत गरिएको छ । बेलायत सरकारले गोर्खाली सेनालाई आप्रवासनको अधिकार तथा सैन्य सुविधा दिएपछि सैनिक डायास्पोराले एउटा नवीन मोड लिएको छ ।

बेलाबेलै नेपालको राजनैतिक इतिहासले दुर्घटना भोग्दै आएको छ ।  भिमसेन थापाको अदूरदर्शिता र नालापानी युद्धको असफलताले नेपाली इतिहास अर्कै हुन पुग्छ । थापाले फ्रान्सबाट कुशल सैन्य झिकाएर नेपाली सेनालाई तालिम त दिए नै तर दूरदर्शी कुटनीतिज्ञ हुन नसक्दा पराजित हुनुपरेको इतिहास बडो नमज्जा लाग्छ ।  त्यसरी पराजित हुँदाको पीडा र भिमसेन थापाको अपमानित व्यवहारले बलभद्र कुँबर निराश हुन्छन् । तब आफू र आफ्नो मातहतमा रहेका सेना लिएर उनी भारतको रन्जित सिंहको सेनामा सम्मिलित हुन्छन् । हो त्यसै घटनादेखि गोर्खा भर्ती परम्परा शुरु भएको पाइन्छ,  ‘… नालापानी युद्ध पराजयको क्षतिपूर्ति र भरणपोषणका सर्तमा अङ्ग्रेजलाई सुम्पिएका वा बेचिएका नागरिकहरू हुन् र अङ्ग्रेजका लागि गोर्खा सेना सित्तैमा पाएका सैनिक दासहरू हुन्  (पृ–३८७) ।’

गोर्खा सैनिक डायास्पोराले बेलायतमा आफ्नो गौरवशाली इतिहास रच्दैछ । जसले बेलायत र नेपालको पहिचान मिसिएको एउटा भावनात्मक राज्य निर्माण गर्दैछ । अनि त्यस राज्यव्यवस्थाको लागि चाहिने अन्य कारण पनि बलियो बनाउँदै लगेको छ । भाषा, धर्म, संस्कृति, साहित्य, कला, सङ्गीतदेखि लिएर अनेक संघ–संस्था, सूचना प्रविधि सबै कुरामा समृद्ध गति लिएको छ । राजनीति, व्यापार व्यवसायदेखि कानून व्यवसायजस्ता हरेक क्षेत्रमा नेपालीको उपस्थिति सन्तोषजनक रहेको छ ।

ब्रिटिशमा भूतपूर्व गोर्खा सैनिक त्यहाँका मेयर समेत भएका छन् । विष्णुबहादुर गुरुङसँग लिएको एक अन्तर्वार्ताले मलाई एकाएक आश्चर्यमा पुर्याउँछ । उनी दिउसोको निश्चित समय सवारी चालकको काम गर्छन् र अरू बाँकी समय मेयरको जिम्मेवारीमा लाग्छन् । ‘मेयरजस्तो उत्तरदायी पदमा पुगेपछि सरकारी सेवा सुविधा राम्रै होला नि ?’ यस प्रश्नमा प्राप्त उत्तर हामी नेपालीहरूको लागि बडो अनौठो लाग्ने खालको छ, ‘त्यस्तो केही पनि सुविधा हुँदैन । कहिलेकाहीँ बैठक, सभा–सम्मेलनमा सहभागी हुँदा थोरै भत्ता दिन्छ । त्यसबाट पनि २०% सरकारले ट्याक्स काटेर लान्छ । उब्रेको पैसाले पार्टीको लेबी तिर्छु र मेयरले गर्ने सामाजिक कार्य च्यारिटी फन्डहरूलाई दिन्छु । यसको अर्थ अन्त्यमा राजनीति भनेको निःशुल्क समाज सेवा हुन पुग्छ (पृ–३९७) ।’ अझ अगाडि उनी भन्छन्— नेपालको संसदीय प्रणाली बेलायतको बेस्टमिनिस्टर प्रणालीको नक्कल मानिन्छ । यति हुँदाहुँदै पनि नेपालको शासन व्यवस्था किन असफल हुँदैछ भने बेलायतले राजनीतिलाई सेवा बनायो यता नेपालले राजनीतिलाई पेसा बनायो ।

‘डायास्पोराः अवधारणा र अभ्यास’मा नेपालीले सिक्नु पर्ने, जान्नुपर्ने, मनन गर्नुपर्ने कुरा धेरै छ । बेलायतमा हाम्रो जातिले आर्जिएको सुख, समृद्धि पढ्दा मनमा गौरव भाव आउँछ । त्यस्तै उनीहरूले भोग्नु परेको अपमान र हिंसामा मन उदास हुन्छ । आखिर डायास्पोरिक जीवन सधैँ असुरक्षित हुँदो रहेछ । ऊ कहीँको पनि नहुँदो रहेछ । भूमिहीन नागरिकजस्तो मनोविज्ञान लिएर बाँच्दो रहेछ, सन्दिग्धतामा बाँच्दो रहेछ ।

लेखकले आखिरीको अध्याय ‘सात’मा साहित्य र सिर्जनाको सन्दर्भ उठाएका छन् । नेपाली कला, साहित्य, सङ्गीतका क्षेत्रमा बेलायती नेपालीको देन स्मरणीय छ । कवि, कलाकार तथा पत्रकारको योगदान स्मरणीय छ । भाषाप्रतिको सचेतता ठूलो छ ।

डायास्पोराले भोग्ने अनेक जटिलता मध्ये पहिचानको सङ्कट पनि उतिकै प्रमुख रहेको छ । आफ्नो अस्तित्व कायम राख्न नेपाली जाति निरन्तर लागिरहेको छ । डायास्पोरिक भूमिमा भाषा बचाऊ तथा जागरणका अभियानहरू सक्रियताका साथ भइरहेका छन् । भाषा संरक्षणको नीति तथा कार्यान्वयनलाई आफू नेपाली हुनुको मूल मन्त्र बनाएर अग्रगामी हुँदैछन् । बेलायती नेपालीले भाषा साहित्यसँगै अरू धेरै बौद्धिक कर्म गर्दै आएका छन् । खोज अनुसन्धानको काम तथा नव सिद्धान्त भनौँ या अवधारणा निर्माण गरेका छन्— जस्तो युद्ध सौन्दर्य चिन्तन, डायास्पोरा सिद्धान्त, युद्ध साहित्य सिद्धान्त, पर्यावरणीय चिन्तन तथा लेखन, यात्रा स्पर्श सिद्धान्त तथा नवचेतना ग्रहजस्ता नवीन धारणाहरू जन्माएका छन् र त्यस धारणा अनुरूपका लेखन कार्य पनि भएका छन् । त्यस्तै अनेक संघ–संस्था र पुरस्कार गुठी स्थापना भएका छन् । समग्रमा यी सम्पूर्ण कर्मको एउटै लक्ष्य— म जीवितै छु, म अस्तित्वमा छु भन्ने थाहा पाउनुसँग नजिक रहेको छ ।

प्रथमतः मानिस बाँच्नको लागि सङ्घर्ष गर्दो रहेछ । त्यसपछि उसको सङ्घर्ष प्रतिष्ठा र अस्तित्वका लागि हुने रहेछ । आतिथेय भूमिमा श्वास फेर्नु जतिकै महत्त्वपूर्ण विषय बनेको छ पहिचानको खोजी । त्यसैले निर्दिष्ट हुँदा रहेछन् डायास्पोरिक जीवन । त्यसैले त दोहोरो सङ्घर्षमा बाँच्दा रहेछन् ।

अध्येता राईले नेपाली वाङ्मयमा एकदमै गम्भीर कार्य गर्दैछन्, गर्दै आएका छन् । अन्ततः उनको कर्म पनि अस्तित्वकै निम्ति समर्पित छ । युद्ध सौन्दर्य चिन्तन तथा डायास्पोराजस्ता नवीन विषय वर्तमान नेपाली साहित्यमा महत्त्वपूर्ण सामग्री बनेका छन् । भोलिका लागि पनि उतिकै महत्त्वपूर्ण रहनेछन् । उनको योगदान प्रशंसनीय छ । लामो समयको त्याग र समर्पणमा यस्ता उल्लेख्य कर्म गर्न उनले सकेका छन् ।

‘डायास्पोराः अवधारणा र अभ्यास’को अन्त्यमा पुग्दा मलाई ठूलो प्राप्तिको अनुभूति भयो । धन्न मैले यति ठूलो ग्रन्थ पढ्ने आँट गरेछु । त्यसरी आँट नगर्दो हुँ धेरै कुरा, नवीन कुरा सिक्नबाट वञ्चित हुनेरहेछु । यतिखेर मलाई एउटा भनाइ सम्झना आइरहेको छ— एक दिनमा तिमीले कति काम गर्यौ त्यो महत्त्वपूर्ण कुरा होइन । तिमीले त्यस कामलाई कति समय लगायौ ? त्यसले खास अर्थ राख्छ  । जीवनमा काम गर्नु नै ठूलो कुरा होइन रहेछ, कस्तो काम गरियो—ठूलो या सानो त्यसले निर्धारण गर्ने रहेछ । जीवनमा सङ्ख्यात्मक होइन गुणात्मक कर्मको लागि तपस्यारत हुनुपर्छ भन्ने आशय अहिले आएर बुझ्दैछु । राईको प्रस्तुत कृति आफैँ तपस्या बनेको छ । तपस्यालाई अध्ययन गर्नु पनि अर्को तपस्या भएको छ— म यस्तो महसूस गर्दैछु ।

नेपाली वाङ्मयमा राईले उठाउनै पर्ने एउटा कदम उठाएका छन् । उठाउने हिम्मत गरेका छन् । परन्तु यो नै अन्तिम तथा पूर्ण निष्कर्ष भने होइन । यस किसिमको खोज अनुसन्धान भइरहनुपर्छ । किनकि पूर्णता कहीँ छैन कहिल्यै हुन सक्दैन । जेहोस् उनले खोज अनुसन्धानको लागि प्रवेश मार्ग खोलिदिएका छन् ।

अन्त्यमा भन्नु पर्ने त्यति धेरै कुरा छैन । ‘डायास्पोराः अवधारण र अभ्यास’ खोजमूलक कृति भएको हुँदा केही सन्दर्भहरू पुनरावृत्ति भएका छन् । त्यस्ता केही पुनरावृत्तिमा संक्षिप्त हुने प्रयास गरिएको भए कृतिको आकार केही घट्ने थियो कि !