यस घरी मेरो मनमा अचानक ‘सेतो धर्ती’ (उपन्यास) उब्जिएको छ अर्थात् सम्झिन्छु ‘सेतो धर्ती’लाई । अकस्मात् मनमा यसरी आउने कुराले बेलाबेलै म अनौठो अनुभव गर्छु । अघिसम्म मस्तिष्क रिक्त भएको म केही जान्दिनँ जस्तो थियो । उतिखेरै मनमा केके थोकको बाढ चल्दा ‘ए … ! मलाई त यो कुरा पनि थाहा रहेछ’ यस्तो अनुभूत हुन्छ । यस्तो हुनु मेरो मात्र होइन सबैको हकमा हुने यही हो । किन यसो भयो त भने हाम्रो अवचेतन मनमा कहाँ दबिएर रहेको विषय सन्दर्भ बाहिर प्रस्फुटित हुन अनुकूल समय पर्खिरहेको हुने रहेछ ।

अवचेतन मनका यस्ता हजारौँ लाखौँ सूचनाहरू निष्कासित हुन प्रतिस्पर्धामा रहेका छन् भन्ने नै हामीलाई थाहा हुँदैन । घटना घटिसक्दा पनि अझै थाहा हुँदैन कि ती आफैँभित्रका कुरा हुन् । अवचेतन मनमा सङ्कलन भएका यी-यस्ता यावत कुराहरू कुनै समय हामीले देखेका, भोगेका, सुनेका या त पढेकै सन्दर्भ हुन् । तर ती त्यसरी अचानक निस्किँदा हामीलाई आफ्नो निजी आविष्कार लाग्छ । तथापि त्यो निजी हो र होइन पनि ।

हामीले सिर्जना गर्दै आएका कला साहित्य, सङ्गीत त्यस्तै कुरा हुन् र त्यही अवचेतन मनका प्रतिस्पर्धी भाव हुन् । मानिस  स्वभावैले एक सिर्जनशील प्राणी भए तापनि सिर्जनशील नहुनु भनेको उसको अवचेतन मनका अनन्त सम्भावनाले अनुकूलता नपाउनु मात्र हो । अझ यसो भनौँ ती अवचेतन मनका भावलाई स्फुरण हुन हामीले अनुकूलता मिलाएनौँ । प्रतिकूलतामा ती त्यसै मरेर जाने गर्छन् । आविष्कार शक्ति, सिर्जना शक्ति अङ्कुराउन नपाई यसरी बीजको अवस्थामै, भ्रूणको स्थितिमै मृत हुन्छन् ।

फेरि म ‘सेतो धर्ती’का अमर न्यौपानेले प्रस्तावनमा बोलेको सुन्छु “सास फेर्न जति सजिलो छ, सास फेर्न उतिकै कठिन पनि छ ।”

आविष्कार चेत मलाई यस्तै अभिप्रायको लाग्छ । साहित्य सिर्जना गर्नु पनि त्यस्तै लाग्छ । सिर्जना क्षमता यो स्वाभाविक कुरा हो  र त्यस्तै जटिल पनि । आखिर अन्तर्बोध गर्नु नै साहित्य सङ्गीत त हो नि ! तर त्यसमा कला सिर्जना गर्नु कत्रो साधनाको खाँचो छ । साहित्य हामी सबैले गरिरहेका छौँ र फेरि साहित्य हामी सबैले गरिरहेका छैनौँ पनि—सास त सबैले फेरिरहेका छौँ तर अर्थपूर्ण फेर्‍यौँ कि फेरेनौँ ? सास फेर्नुको अर्थ त्यसमा निर्भर रहन्छ । साहित्य कलाले पनि ठिक यही अपेक्षा राखेको हुन्छ ।

यस बखत म सिक्किमेली नेपाली साहित्यकार थीरूप्रसाद नेपालका सिर्जनामा साहित्यको अर्थ अन्वेषण गर्दै छु । कथा कविताका सर्जक अझ बढी त कथाका सर्जक उनका कृति विशेषमा केही बोल्न लाग्दा फेरि थाहा पाएँ—मेरो अवचेतन मनमा माथिका विचारहरू बाहिरिन अनुकूल अवस्थाको प्रतीक्षामा रहेछन् । यसरी समीक्षात्मक आलेखमा प्रस्फुटनको मार्ग खोजेका मेरा विचारहरू कृति विश्लेषणमा समानार्थी भाव लिएर मिसिन चाहन्छन् ।

अघि केही समयदेखि स्रष्टा नेपालका कथाकारिताबारे म परिचित हुँदै थिएँ—सामाजिक सञ्जालमा उनका कृतिमाथिका लेखहरू आक्कलझुक्कल पढ्दै हुन्थेँ । अहिले म उनलाई प्रत्यक्षता पढ्दै छु -‘कथा कतिपय मेरा’ कथा सङ्ग्रहमा । सन् २०१९ मा प्रकाशित गरिएको यो उनको सातौँ कृति अध्ययनको आधारमा, उनको सम्पूर्ण साहित्यिक विशेषताको बारेमा बोल्न त म सक्दिनँ नै । जति बोल्छु, बोल्न सक्छु यो यसै सङ्ग्रहमा केन्द्रित रहने छ ।

स्रष्टा थीरुका साहित्यमा एउटा बेगल तृप्ति बोध गरेको मैले ती कथाहरूलाई कसरी बुझ्ने भाषामा  अर्थ्याऊँ जटिल जस्तो केही अनुभव गर्दै छु । त्यो जटिलता विषयवस्तु विश्लेषणको होइन, कथनलाई अभिव्यक्त गर्ने शिल्पीको हो । उनले कथाको लागि कथा नभएर कलाको लागि लेखेका हुन लाग्छ । उनी विशेषतः सामाजिक कथाकार हुन् । उनको विषय नै उनी बाँचेको समाज हो, अनि त्यस समाजले निर्मित इतिहास हो । कथामा त्यो समाज-चरित्र अनि समय आफैँ बोलेको महसुस हुन्छ । त्यो कथा नभएर तत्क्षणको जीवन लाग्छ । भर्खरै श्वास फेर्दाको जीवन लाग्छ । कृत्रिमता रहित उनका कथाले देखाएको समाज कति-कति बेला त मलाई उदेक लागेर आउँछ ।

कलात्मक भाषामा दखल भएका थीरु समाज अनि मानव मनस्थितिलाई यसरी अभिव्यक्त गर्छन् कि—उनको कृति नै एउटा समाज बनेको छ । विसङ्गत अवस्थाप्रति तटस्थ भई द्रष्टा दृष्टिले लेखिएका कथामा उनले पात्रप्रति न्याय अन्याय केही गरेका छैनन् । उनको पात्रले भोगेको अवस्थाप्रति श्रोता मौन छ । किनकि त्यहाँ प्रश्न उठाउनुको औचित्य रहँदैन । त्यो समाजको वास्तविकता हो ।

‘मेरा कथा म जस्तै छन्’ थीरु भन्छन्, ‘मेरा विचार, सिर्जना पनि म जस्तै छन् ।’ सर्जकले निःसङ्कोच यसरी आफूलाई उद्घोषण गर्नु महान् कुरा हो । प्रायले यसरी उद्घोषण गर्न सकेका हुँदैनन् । आखिर हुन त यो कुरा कोहीको सन्दर्भमा पनि फरक छैन । सिर्जना स्रष्टा मनकै प्रतिकृति हो । आफू बाँचेको युग र अवस्थितिको पाश्र्वमा ऊ सम्पृक्त लय लगाउँछ ।

भारतीय नेपाली स्रष्टासँगको प्रत्यक्ष परोक्ष चिनजान र सङ्गतमा प्रशस्त कुराबाट म प्रभावित भएकी छु । उनीहरूको विनयशीलता र शिष्टताले धेरै सम्मोहित छु । भाषा साहित्य संस्कृति प्रेम र प्रवर्धनका कुराले झनै अभिभूत छु ।’ॅकथा कतिपय मेरा’का प्रकाशक केवलप्रसाद शर्माले आमुखमा भनेका कुरा मैले कसैगरी भुल्न सकिनँ, “आफ्नो भाषा र साहित्यको सेवा गर्नु हामी सबै शिक्षित समुदायको अति महत्त्वपूर्ण कर्तव्य हो । नत्र आफू शिक्षित हुनुको कुनै अर्थ रहँदैन (पृ-ङ) ।”

यता नेपाली भाषा साहित्य संस्कृतिको मूल भूमिमा यस्तो भन्न सक्ने चेतना स्तर तयार भइसकेको छैन । कति महान् भाषा सेवी, संस्कृति सेवी, सचेतना निर्वहन गर्ने डायास्पोरिक भारतीय नेपाली समाज ।

एघार वटा कथा सङ्कलित ‘कथा कतिपय मेरा’मा कथा लेख्दै छु भन्ने नै थाहा नपाई अर्थात् एकदमै सहजताका साथ लेखिएका कति कथाहरू संस्मरणात्मक निबन्ध ढपका लाग्छन् । त्यहाँ स्रष्टाले अतीत स्मृति गरेका छन् । मेरो पनि एउटा कथा लेख्दिनुस् न दाइ ! त्यस्तै एउटा अविस्मरणीय विगत हो । पन्ध्र सोह्र वर्ष हुँदाको प्रिय स्मृति जीवनको उत्तर कालमा आएर स्रष्टा लेख्दै छन् । तर लेख्नु पर्ने त उसै समयमा हो—एउटी सानी बालिकाले कथाकारलाई आफ्ना बारेमा एउटा कथा लेखिदिन अनुरोध गरेकी थिई । यसमा नेपाल र भारतको मिश्रित परिवेश छ । तर भारतीय भूमिको भाव मात्र आउँछ प्रत्यक्ष चित्र आउँदैन । बाँकी प्रायः कथा सिक्किमको परिवेशमा रचिएका छन् । अझ भनौँ सर्जक मन त्यहाँ बसेर कहाँ कहाँको कुरा स्मरण गर्छ ।

उत्तम अनि तृतीय पुरुषमा अभिव्यञ्जित कथा निम्न-मध्यम वर्गीय—कतिपय चरित्रले हाम्रै मनको वाणी बोलेका छन् । हाम्रै भोगाइ भोगेका छन् । किशोर वयको म पात्र भारतदेखि मामाघर आएको छ पूर्वी नेपालको इलाम । त्यहीँ उसको सानी बालासँग भेट हुन्छ । आफ्नो बारेमा उही बालिका-रूपाले कथा लेखिदिन भनेकी थिई । कथनले नेपालको अशिक्षा, गरिबी, द्वन्द्व, आतङ्क बोलेको छ । यसले आवरणमा एउटा र प्रतीकात्मक अर्को अर्थ सम्प्रेषण गरेको छ । सानी बालिका एउटा बिम्बात्मक पात्र हो । नेपालको स्थिति चित्र देखाउन निर्मित चरित्र हो ऊ ।

अब रूपा ठुली भइसकेकी छ । बिहे भइसकेको छ । नानी हुर्किसकेका छन् । तर रूपा क्लान्त छे । उसको त्यो जीर्णतामा नेपालको स्थिति बोध हुन्छ । उसको जीवनमा सुख सन्तोष कहीँ आउँदैन । द्वन्द्वकालमा उसले श्रीमान् गुमाउँछे—सिपाही श्रीमान् ।

लेख्नै नसकिने  दर्दले क्लान्त भएकी रूपालाई सम्झिएर अर्थात् मामाघर (नेपाल) सम्झिएर युवक दुःखी हुन्छ भनौँ कि कथाकार दुःखी हुन्छन् । स्वतःस्फूर्त शैलीमा गतिशील कथा हरेक दृष्टिबाट सबल हुँदाहुँदै पनि घटना चरित्र परिवेशसँग समयको सन्तुलन अलिक नमिलेको लाग्छ । त्यस्तै रूपाको उमेर भन्दा विचार परिपक्व  नभइदिएको भए अझ सुन्दर हुने थियो ।

साहित्यकार थीरु निमुखा किरानीकृतहरूको स्वर सुन्ने कथाकार पनि हुन् । सर्वहाराको कुनै राष्ट्र हुँदैन यो सार्विक उक्तिलाई उनले कारिबोनको मुखबाट भन्न लगाएका छन् । सपना नदेखिने देशमा तिनै हतभागीको कथा छ । तिनीहरू कहिल्यै सपना देख्दैनन्, देख्न जान्दैनन् । कति मार्मिक, विदारक छ त्यो जीवन, त्यो गाउँले जीवन ।

ठुला ठुला परिवर्तन ल्याउने घटना नभएको जीवनजस्तै—ससानो वस्तुस्थितिलाई पनि आकर्षक बनाउने, उत्सुकता पैदा गर्ने स्रष्टा थीरुको कला बडो प्रीतिकर लाग्छ । ‘टोकन नम्बर बाह्र’की त्यो केटी अघि भर्खरसम्म सबैको दृष्टिमा खानदानी परिवारकी लायक देखिएकी थिई । सुन्दर देखिएकी थिई—जीन्सको तिघ्रैमा दुलो पारेकी गोरी, गोलो अनुहारकी । बैङ्कको काउन्टरमा मानिसको आवागमन बाक्लो छ । ऊ पनि त्यहीँ छे । भरे त्यही केटी पुलिसको निगरानीमा परेकी—एक लुटेरामा परिणत हुन्छे । कथामा उस्तो ठुलो घटना केही छैन । तर अन्त्यमा एउटा सत्य देखाएर छोड्छ । बाहिर देखिने मानिस वास्तवमा ऊ होइन । त्यो त एउटा आवरण मात्र हो । ऊ भित्र त अर्कै मानिस हुन्छ । अर्कै मानिसले बास गरेको हुन्छ ।

कथनको विश्लेषणमा भुल्दा थीरुका कथामाथि न्याय गर्न सकिँदैन । किनकि यी कथा घटना प्रधान होइनन् । चरित्र प्रधान पनि होइनन् । समाजलाई लिएर लेखिएका कला प्रधान छन् । सूक्ष्म घटनामा विचार केही प्रबल  छ ।  तथापि सन्देश हेतु नीति चेतका विचार होइनन् । त्यो वैचारिकता युग सापेक्ष छ । स्वतन्त्र छ ।

केही कथाहरू इतिहास सम्बद्ध छन् । इतिहासलाई पुनर्जीवित गरेका छन् तर विनिर्माण होइन । पात्रले अतीत—जीवनसँगै इतिहासलाई पनि स्मरण गरेको छ । त्यसो हुँदा कथाले पुरानो समय, पुरानो घटना चित्राङ्कन गरेको छ । क्यालेण्डरको मान्छे र ऊ त्यस्तै एउटा कथा हो । जसमा सिक्किम आन्दोलनसँगै नेपाली भाषीले आफ्नो पहिचान स्थापना गर्न, नेपाली भाषा मान्यताका निम्ति गरेका सङ्घर्षका कुरा छन् ।

अन्ततः भाषा मान्यता आन्दोलनमा त्यहाँ नेपालीहरू सफल भएका छन् । कथामा विजय उत्सव नमनाए पनि यो विजयी गाथा हो, “त्यहाँ हामीले बदलिएको एउटा परिदृश्य के पायौँ भने उसको भित्तामा सधैँ झुण्डिने गरेको क्यालेण्डर र क्यालेण्डरको मान्छे त्यहाँ थिएन, त्यहाँ त भानुभक्तको नक्सा  भएको अर्को नेपाली क्यालेण्डर  झुण्डिएको थियो (पृ-४३)।”

सर्जक थीरुका प्रायः कथामा मर्म पहिल्याउन पाठकलाई मुस्किल पर्छ, कुन अभिप्रायले रचिएका हुन् ?  ठम्याउन सरल छैन । ती गमिला छन् । आश्चर्य, अद्भुत पार्ने विश्वास गरूँ कि नगरूँ—सन्देह गर्ने खालका छैनन् । बस् अनेक यथार्थता छन् । पुरानो अतीत कि त वर्तमान समय छ । उनको लेखन शिल्पले लेखन तात्पर्यलाई अप्रत्यक्षीकरण गरेको छ । अभिप्रायको खोजीमा केही जटिल लाग्छ । कथाले थिम बोल्दैन । आफैँ खोज्नु पर्छ ।

कथामा जनबोलीका अनौपचारिक शब्द चयनले भारतीय नेपाली भाषीको सुवासलाई कायम राखेको छ जस्तो भइराको, गाको, आको, भाको, हाम्लाई चैँ, इत्रु कुरा, ढिम्केको यस्तै मौलिक भाषामा कथा संवाद जतिकै सजीव छन्   ।

समाजको चित्रात्मक बिम्ब प्रत्यक्षीकरण गर्ने कथामा विरोध विद्रोह छैन । सहमति विमति केही छैन । बस् शान्त थाहै नपाइने व्यङ्ग्य जस्तो केही छ । अनिर्णयको स्थितिमा आधुनिक संस्कृतिको केही विकृति जस्तो तर परम्परा बनिसकेको समाज छ । अफिसर र अफिसका युवतीबिचको निकटता, आशक्ति, अनुरागले निर्मित मनोजगत् कस्तो जीवन्त छ । अदृश्य अमूर्त मनका भावलाई वस्तुकरण गर्नु सफल कला हो ।

केही यस्ता कथा छन् ती झन् उत्कृष्ट लाग्छन् । मध्यम उत्कृष्ट पनि छन् । श्रद्धाञ्जली त्यस्तै प्रथम उचाइको कथा लाग्छ । तीन व्याण्डको फिलिप्स रेडियोको पाश्र्वमा सर्जकले भारतको राजनैतिक इतिहासको यस्तो प्रस्तुति गरेका छन् भने नि  उनी रेडियोको महत्त्व बताउँदै छन् कि इतिहास भन्दै छन् श्रोता असमञ्जसमा पर्छ । एक समय देश परदेशका ठुला ठुला समाचारसँगै युग चेत सञ्चार गरेको त्यो रेडियोप्रति पात्र कृतज्ञ छ । भन्छ, “बाजाले यसरी इमान्दारीपूर्वक खबर दिँदै गयो । अचेल त यस्तो इमान्दारीपूर्वक खबर दिने पत्रकारिता पाइँदैन (पृ-५७)।”

साधारण अभिव्यक्तिमा कति ठुलो वास्तविकता उनी यसरी हेक्का नहुने गरी भन्छन् । अन्ततः कथाको आशयमा लेखकले अन्योल नै थपिदिएका छन्, उनले प्राथमिकता रेडियोलाई दिएका हुन् या अन्य विषयलाई ? “म जति जति बेला जुन जुन बेला पूज्य पिताजीलाई सम्झन्छु त्यही बेला नै त्यो गाउँमा नै प्रथमोप्रथम आएको त्यो फिलिप्सको तीन ब्याण्डे रेडियो सम्झन्छु र पितृहरूलाई तर्पण दिएजस्तै ममा युग चेतनाको प्रवाह सञ्चार गर्ने त्यो कामै नलाग्ने निर्जीव रेडियोलाई पनि सम्झेर पानी चढाउन मन लाग्छ (पृ-६२)।”

कथाकार थीरुको शब्द छनोट कला मलाई मन परेको अर्को पक्ष हो । हिन्दी, अङ्ग्रेजी, असमिज भाषा प्रभाव छ उनको कथा मा । सुन्दा पढ्दा मिठास आउने कति नबुझिने अबोध्य शब्द पनि छन् । वर्तमान युवा पुस्तामा वृद्धि भएको अङ्ग्रेजी मोह डरलाग्दो छ—आफ्नो भाषा संस्कृतिलाई नै धमिल्याउने  हो कि सन्देह छ । पश्चिमा सभ्यता संस्कृति अझ विशेष भाषा जति प्रयुक्त भयो उही अनुपातमा सभ्य भइने नव पुस्ताको मनोविज्ञानलाई उनले अभिव्यञ्जित गरेका छन् । समसामयिक विषयका उनका कथा कथनले होइन कलात्मक अभिव्यक्ति ढाँचाले बढी प्रियकर छन् । विषयवस्तु त देखे भोगेकै कुरा हुन् । अरूले पनि बोल्दै आएका कुरा हुन् । तर उनका कथा पढ्दा लाग्छ मैले यस विषयमा भर्खर पढ्दै छु ।

कृत्रिमता रहित प्रस्तुति उनको अर्को प्रबल पक्ष हो । को आफ्नो को बिरानोले त्यस्तै विद्यमान समय र समाजलाई इङ्गित गरेको छ । इङ्गित मात्र होइन सचित्र देखाएको छ । वार्धक्यले शिथिल एक विधुर—वयस्कमा जुन थोकको लागि स्वाभिमान विनिमय गर्न किञ्चित नमान्ने ऊ अहिले भव्य महलको मालिक भएको छ । तर सम्पूर्ण थोक गुमाएको आफूलाई निरीह पाउँछ । सम्पन्नता, समृद्धिको लागि भाँती भाँतीको बुद्धि प्रयोक्ता ऊ सेवा निवृत्त भएपछिको त्यस दिन स्वास्थ्यका लागि कठोर परहेज गर्नु पर्ने कुराले विरक्त हुन्छ ।  उसकी बुहारीलाई अब झन् सजिलो भएको छ । भन्छे, “तपाईँले मटन नखानू ।” त्यस दिन कसैले थाहा नपाउने गरी उसले दिउसो मासु भुटेर खाएको थियो ।

साहित्यकार थीरुका कथा नै अहिलेको समाज हो अघि नै पूर्व प्रसङ्गमा भनिएको छ । त्यस्तै हिजोको समाज पनि छ । यो पनि माथि नै भनिएको छ । विकृतावस्था देखाउनु नै उनको कथाको तात्पर्य हो । देशमा, समाजमा,  परिवारमा जस्तो अवस्था छ त्यसलाई देखाउने, व्यङ्ग्य गर्ने समर्थता छ उनमा, “म केही भइगएँ भने मेरो पासबुक सबभन्दा पहिला यिनीहरूले जाँच गर्नेछन् र त्यही अनुसार अन्त्येष्टिको अनुष्ठान आयोजना गर्नेछन् (पृ-६८)।”

आफ्नो भाषा साहित्य धर्म संस्कृतिको संरक्षण र संवर्धनका निम्ति पनि लेखक प्रस्तुत छन् । पुस्तान्तरबिचको गहिरो रिक्तता भोलिका दिनमा यो राम्रो सङ्केत होइन । अस्तित्व पहिचानका आधारहरू नवपिँढीले भुल्न लाग्दा उनी केही चिन्तित छन्, “… तर अचेलका छोरा बुहारीले यतिको राम्रो र स्तरीय नेपाली बोलिदिए त आधा बिरामी नै जाती पो हुन्थ्यो । काँ… को यस्तो मीठो नेपाली बोल्नु अचेलका छोरा बुहारीले । छोरी बुहारी मात्र होइन, ज्वाइँहरूले, छोराहरूले पनि बोल्न छाडे यति सुन्दर भाषा । समाजका सबै मान्छेले यस्तो मीठो र सभ्य भाषा बोलिदिएदेखि हाम्रा आधा-उधी समस्याहरू त्यस्सै समाधान हुन्थ्यो । सबको अनुहार, सबको मन उज्यालो हुन्थ्यो (पृ-७१)।”

समाज मनोविज्ञानसँगै सर्जक थीरुका कथामा मानव मनको पनि उतिकै गहन चिन्तन छ । उठ्ने इच्छा अधुरै रह्यो त्यही प्रकारको मनोजगतसँग निकट कथन हो । बेलाबखत सम्बोधित ऊ एउटा सार्विक चरित्र हो । त्यो हामी आफैँ हुन पनि सक्छौँ । अरू कोही पनि हुन सक्छ । मानिस किञ्चित हार स्विकार्दैन । हजार प्रयत्न गर्छ उठ्नलाई । तर कथाको पात्र उठ्न सक्दैन । उठ्छु भन्दाभन्दै विलयन हुन्छ ।

विद्यमान समय निकै उदार छ यो जाती कुरा हो । तर उदारताको दुरुपयोगले विकटता पनि ल्याएको छ । कथाकार समयप्रति सचेत छन् । युगका असङ्गतिप्रति सचेत छन् । द्रष्टा र भोक्ता पात्र निर्माण गरी उनीहरूलाई विसङ्गति बोध गर्न र विसङ्गति भोग्न लगाएका छन् । ती चरित्रले नवोदित पुस्ताको बिग्रँदो मनस्थिति-भार थामेका छन् । बाबु छोराबिचको सामाजिक सांस्कृतिक अन्तर तीव्रता छ । सम्बन्धमा विश्वास पातलिएको छ ।

त्यस दिन कथाभित्रको छोराले पारम्परिक संस्कार र खर्च केही नगरी अब छिट्टै बिहे गर्न लागको संवाद बाबुलाई सुनाउँछ । आश्चर्य, उत्सुकता, भय मिश्रित स्वरमा बाबुले केटीबारे बुझ्न खोज्छ । कुल घरानकी, सुशील बुहारी होस् ऊ चाहन्छ । बिहेको सोच गर्दैमा केटी सहजै पाइन्छ ? बाबुको उत्कण्ठामा छोरो बोल्छ, “केटीको के दुःख बाउ … म थर्ड टाइम रिहेब बस्दा सँगै बसेकी केटी, म ओल्लो चेकपोस्टमा पकडा पर्दा ऊ पल्लो चेकपोस्टमा पकडा पर्थी । रिहेब पनि प्रायः प्रायः सँगैसँगै बसेका हामी तर सेपरेट सेन्टर सेपरेट सेन्टरमा बस्ने अपरच्यूनिटी पा’को थियो हाम्ले । उसँग केही प्रोब्लम छैन, आनी बानी मैले पूरै स्टडी गरेको छु, एकदम राम्रो हेबिट छ, मसँग एडजस्ट हुने खालको … एकदम फीट बस्ने । उसले कसैलाई अहिलेसम्म धोका दिएको खबर छैन । उसलाई मैले यो घरमा बिहे गरेर ल्याएपछि उ हुन्छ बाउ उ हुन्छ (पृ-८५)।”

अघि भर्खर अघिसम्म छोरो यति असङ्गत भइसकेको छ भन्ने बाबुलाई लागेको थिएन । ऊ निश्चित बुझाइमा छ छोरो सम्पूर्ण रूपले कुपुत्र भइसकेछ ।

वास्तवमै भन्नु पर्दा कथा विधामा मैले यस्तो सशक्त कला अध्ययन गरेकी थिइनँ । व्यङ्ग्य छ भन्ने बोध नभएरै कत्रो व्यङ्ग्य सरल भाषामा । पुनः पुनः रिहेब सेन्टरमा बसेकी केटीलाई—एउटा छोराले एकदम राम्रो छ भन्नुमा कति गहिराइको अर्थ छ, कति व्यङ्ग्य छ । उसलाई बुहारी बनाएपछि यो घर सुन्दर  हुन्छ छोरो भन्छ ।

छोराप्रति बाबुको अब केही भरोसा छैन । बरु सन्देह गर्छ त्यो रातसँग जुन रात छोराको गर्भाधान भएको थियो, “उसकी आमालाई मैले सम्भोग गरेको रात झन् अनिष्टकर थिएछ, औँसीको रात थिएछ कि कसो, … त्यही माथि म त्यस दिन कामबाट आउँदा नै मातेर आएको थिएँ (पृ-८६)।”

बाबु उदासिएको छ, बिरक्तिएको छ । त्यो होस् नराखेको छोरो विश्वस्त पार्न फेरि बोल्छ, “… तिम्रो पेन्सन आयो कि आएन हौ बाउ योपालिको ? केही अत्तोपत्तो पनि पो पाइँदैन त आस्कल त । तिम्रो हुनेवाला बुहारीले पनि अस्तिदेखि सोधीरा’को छ, तिम्रो बाउको पेन्सन अमाउण्ट कति छ, खाता कुन ब्यांकको छ, एटीएम वाला छ कि सिम्पल खाल्को अकाउण्ट छ, सब चासो दिइरा’को छ है बाउ तिम्रो हुनेवाला बुहारीले । हुनेवाला पनि के भन्नु र तिम्रो कन्फर्म बुहारीले । योपालिको लाई त कन्फर्मै भन्दा हुन्छ, पहिलाकोहरू दुईजना त कन्फर्मै हुन सकेन । उनारू अलिक राम्रा थिएन । रेगुरल डोज भन्दा पनि अलिक बेसी खाइदिने अन्त बिहानै लेपेक्स । लेपेक्स हुनु त बेलुकी तीन चारबजेदेखि उता पो मज्जा आउँछ । फेरि त्योहरू अर्काको सेयरको पनि आफैँ तान्दिने, आफैँ चेप्ने । अलिक बेहोरा राम्रो थिएन तिनारको (पृ-८६)।”

सर्जक थीरुको परिष्कृत प्राञ्जल भाषा शैलीलाई कहीँ कतै मुद्राराक्षसले खलबल्याउन खोज्छ । तर सुन्दर कलाले गर्दा त्यसमा पाठकको ध्यान रहँदैन । सडकमा पोखिएका कथाहरू—कथा नभएर एउटा वैचारिक दार्शनिक निबन्ध लाग्छ ।  अन्तिममा फेरि कथामै आखिरी हुन्छ । विचारले नै विषयवस्तुलाई गतिशीलता दिन स्रष्टा समर्थ छन् । कथामा सडकलाई पात्रता दिइएको छैन । विचारलाई, घटनालाई अभिव्यक्त गर्ने एउटा आधार बनाइएको सडकमा पात्रताको अनुभूत हुन्छ । अघि श्रद्धाञ्जली कथामा रेडियोले त्यही भूमिका निर्वाह गरेको थियो ।

सडकसँग धेरै कथाहरू छन्, मानव जीवनका कथाहरू । ती यावत कथाको साक्षी बनेको छ सडक । कति-कतिखेर त सडकलाई मानवीय व्यवहारप्रति शरम पनि लाग्दो हो ।

सडकमा आधारित भएर आख्यान लेखिनुको तात्पर्य मानव चरित्र, उसको स्वभाव र व्यवहारलाई अनावरण गर्नु हो, अझ भनौँ उदाङ्गो बनाउनु हो । सडकमा एउटा चेतना जस्तो केही भरेर उसले मानवमाथि उपेक्षा भाव गरेको देखाउनु—मानवको खेदपूर्ण क्रियाकलापप्रति उपहास गर्नु हो । त्यति मात्रै पनि होइन मान्छेको दुःख कष्ट करुणा र सङ्घर्षको साक्षी पनि हो सडक ।

समयसँगै, युगसँगै परिवर्तित मानवीय चरित्र र व्यवहारको सडकले अनुभव गर्दै आएको छ । तथाकथित नयाँ कुरा सुन्न अब ऊ अभ्यस्त हुनु परेको छ । विगत विस्मरण गरेर विद्यमानतासँग अद्यावधिक हुन बाध्य भएको छ । सडक संवेदनशील हुँदै छ मानवीय व्यवहारले अनि मानिस संवेदनाहीन बन्दै छ युग परिवर्तनले ।

अन्त्यमा परदेश हिँडेको श्रीमान् सुखद कल्पना गरेर घर फिर्छ, “साइत मिल्यो र भाग्यमा छ भने एक वर्षसम्ममा एउटा छोरा पनि जन्मिनेछ, छोरा या छोरी … एउटा केही न केही त जन्मिने नै छ । म केही गर्छु र ऊ पनि केही गर्छे … बेलुकी तातो पारेर अँगालोमा हालेर सुताउनेछु, जहाँ छुन मन लाग्यो त्यहीँ छुनेछु … जे मन लाग्यो त्यही गर्नेछु … आदि इत्यादि … आदि इत्यादि … (पृ-१०४)।”

घर-बासमा आइपुग्दा थाहा पाउँछ श्रीमतीले उसलाई  छोडेर अर्कैसँग गइसकेकी हुन्छे । बेघरबार भएको ऊ त्यही सडकमा रुन थाल्छ । उसको वेदना सडकले निःशब्द सुनिरहन्छ । एकतमासले सुनिरहन्छ । उसका वाञ्छाहरू त्यही सडकमा अलपत्र पोखिन्छन् । त्यो पनि सडकले हेरिरहन्छ । कस्तो उच्च कोटिको कथा, कस्तो शक्तिशाली कथा । कम्ती नै रचिन्छन् यस्ता शिल्पपूर्ण कथा ।

साहित्यकारसँग सधैँ एउटा भ्रम हुन्छ । उसलाई लाग्छ—यो मेरो निजी, मौलिक विषय हो । तर होइन । समाज त्यही हो, सम्बन्ध तिनै हुन् । पात्र चरित्र त्यहीँ खेल्ने छन् । समय त्यही भोग्ने हो, त्यही परिस्थितिसँग जुध्ने हो । यी सबै आवृत्ति भइरहने कुरा हुन् । त्यति भएर पनि हर सर्जकका कृति नौला छन्, नवीन छन्, मौलिक छन् । त्यो मौलिकता कला र चेतनाले सिर्जिने कुरा रहेछ ।

कथाकार थीरुका साहित्यमा पनि त्यस्तो नवीन विषय केही छैन । ती लेख्दै बोल्दै आएका विषय हुन् । यद्यपि उनको रचना कुशलताले त्यो अघि नलेखिएको विषय आभास हुन्छ । पढ्दै आएका कथाभन्दा बेगल स्वादको लाग्छ ।

‘कथा कतिपय मेरा’मा निःसन्देह म भन्न सक्छु उनी सफल शब्द-शिल्पीकार रहेछन् ।