प्रभातको हिँडाइ सकेर फर्किंदा अन्योलमा छु । चार किलोमिटरको बाटो पैँतालीस मिनेट हिँड्दा सवा पाँच भइसकेको छ । आजको दिन कस्तो मनस्थितिले बित्छ निश्चित छैन । तर गन्तव्य चाहिँ एक साताअघि नै निधो भइसकेको थियो । म चितवन जाँदैछु । तयारी भइसकेको छ ।

राधिका कल्पित (दिदी)सँग हिजो भएको फोन अनुसार दुई बजे प्रस्थान हुने कुरा थियो, त्यही ढुक्कमा थिएँ । बिहान उठ्दा मेसेज अर्कै आएको छ—अनिता, भोलि १:३० मा कलङ्कीमा गाडी चढ्नू है । मन्दिराजी पनि हुनुहुन्छ ।

दिदीको यस्तो जानकारीले म अप्ठ्यारोमा परेँ । कुरा अनिश्चित भयो । मेसेजको आशय अर्थ लगाउन खोज्छु । किञ्चित बुझ्दिनँ । सोचेँ दिदी चाहिँ प्लेनमा जान लाग्नु भएछ । ‘कलङ्कीमा गाडी चढ्नू, मन्दिराजी पनि हुनुहुन्छ’ यस सूचनालाई मैले बुझेँ दिदी कलङ्कीमा गाडी चढ्नु हुने छैन । ‘कलङ्कीमा भेटेर हामी गाडी चढ्ने छौँ’ भनिएको हुन्थ्यो भने कुरा स्पष्ट हुने थियो । कि चाहिँ भनिनु पर्थ्यो ‘कलङ्की तिमी र मन्दिरा भेट भएर जानू । म प्लेनमा आउने छु’ । यसो भनिएको  भए कुरा पक्का हुने थियो ।

कति कारणले हिजोको योजना बदलियो ? प्रश्न गर्छु तर कसलाई ? एकचोटि त म दिक्क भएँ । शायद बासको असुविधाले योजना फेरियो । तत्कालै मैले निर्णय लिएँ ‘म बिहानै जाने छु । चौबीसकोटी, गीतानगर हुँदै चम्पानगर पुग्ने छु । जहाँ मेरी भान्जी दिदी हुनुहुन्छ ।’ त्यहाँ पुग्न राधिका दिदीले भनेको समय अनुरूप मलाई विलम्ब हुने छ । अभर पर्ने छु । हिजो छाडी अस्तिकै दिन—राधिका दिदी चौध घण्टा लगाएर चितवनबाट काठमाडौँ आएको खबर सुनेकी थिएँ । त्यसो हो भने मैले छिट्टै साइत गर्नुपर्छ । तर भान्जी दिदीलाई फोन गरेको छैन । अहिल्यै गर्नु हुँदैन । कुरा टुङ्गो लागेपछि, चम्पानगर जाने निश्चित हुँदा बल्ल वहाँलाई भन्ने छु ‘म आउँदै छ दिदी ।’

यदि चम्पानागर पुगिनँ भने म चितवन गएको कुरा दिदीले थाहा पाउनु हुँदैन । थाहा दिने छैन । वहाँको मन दुख्ने छ दैलामै आएकी बहिनीले भेट गरिन भनेर । मेरो उत्कट चाहना छ वहाँको निवास पुग्ने जहाँ बूढी हुनु भएकी फुपू दिदी हुनुहुन्छ । तथापि चाहना विपरीत अवस्था सिर्जियो भने म त्यहाँ नपुग्न पनि सक्छु । त्यतिखेर नमज्जा लाग्न सक्छ वहाँहरूलाई । मनले सचेत गर्‍यो ‘आफू चितवन जान लागेको कुरा अहिल्यै खबर नगर्नू ।’

अनिश्चितताले म अस्थिर भएँ । राधिका दिदीलाई केही सूचना नगरी बिहानै हिँड्नु पनि भएन । फोन गरौँ त अहिले समय भएको छैन, भर्खर छ बजेको पनि छैन । सबेरै फोन गर्दा बाधा पार्न सक्छ ।

फेरि अर्को प्रश्न छ मसँग । मन्दिरा को हुनुहुन्छ ? म चिन्दिनँ, जान्दिनँ । तर राधिका दिदीले मेसेजमा मैले चिनेको व्यक्ति जसरी सूचना  गर्नु भएको छ । शायद चिनेको हुन सक्छु । नामले अलमल परेँ हुँला । कैयन् प्रयास गरेँ आफ्नो चिनजानमा रहेका मन्दिरा नामलाई सम्झिनँ । अहँ कहीँ एउटै झलक आएन स्मृतिमा । निश्चय गरेँ मैले चिनेको छैन ।

अधीर मन निर्णयमा पुग्न पाएको छैन । समयप्रतिको चिन्ताले ल्याप्टप खोल्छु हिजोको अधुरो कथा ‘ब्युँझिसकेछ वधशाला’ टुङ्ग्याउन लाग्छु । मन चञ्चल छ । बलै नियन्त्रणमा लिन्छु र केही लेख्छु । कथा अझ अन्त्यमा पुगेको छैन । टुङ्ग्याउन खोज्छु टुङ्गिँदैन । मनको भाव अझ पूर्ण नभएको लाग्छ ।

आठ बज्यो । फोन गर्न अब उचित समय भयो । राधिका दिदीको मेसेज व्याकरणिक दृष्टिमा मैले जस्तो बुझेँ त्यो सही थियो । तथापि त्यसको आशय गलत बुझेछु । हामी तीनै जना कलङ्कीमा  भेट भएर जाने वहाँको कुरा रहेछ । निचोडमा पुग्छौँ बाह्र बजे गाडी चढिसक्ने । म चम्पानगर जान भ्याउने छु । तर कुरा अझ पनि धारमै छ । हामी द्विविधामा पर्यौ‌ं । चम्पानगर म नजान पनि सक्छु । ‘मन्दिराजीका कुरा अनुसार भरतपुर प्रज्ञा–प्रतिष्ठाने हामीलाई बस्ने व्यवस्था मिलाएको छ’ दिदी भन्नु हुन्छ ‘तर हामीलाई केही जानकारी छैन । एकचोटि प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियालाई म फोन गर्छु ।’

प्रज्ञा–प्रतिष्ठानको देशव्यापी कथा प्रतियोगितामा पुरस्कृत हुन हामी भरतपुर जाँदैछौँ । निश्चय टाढाबाट उपस्थित प्रतियोगीलाई बासको व्यवस्था गरिएको हुनुपर्छ । तर ढुक्क हुने सूचना मिलेको थिएन ।

निर्धारित समय अगावै म कलङ्की पुग्दैछु । मकालु पट्रोलपम्प अझ अगाडी चक्रपथको गाडीले ओर्लिन सङ्केत गर्छ । फोन बजेको छ, अपरिचित फोन, म संयमित छु । एक युवतीको आवाजमा अड्कल गर्छु कलङ्कीमा भेटिने मन्दिरा उनै हुन् ।

‘तपाईं अनिता होइन ?’ उताबाट सोधिएको प्रश्नले म विश्वस्त भएँ, आज सँगै यात्रा गर्ने मन्दिराको फोन रहेछ । हामीलाई पर्खिएकी मित्र उनै हुन् जानेर पनि सोधेँ ‘तपाईं मन्दिरा बोल्दै हुनुहुन्छ ?’

‘हो, मन्दिरा बोल्दैछु । श्यामा पेट्रोलपम्प नजिकै तपाईंहरूको प्रतीक्षामा छु । राधिकाजी पनि आइपुग्नु भएको छैन । सीतापाइला आइपुगेँ भन्दै हुनुहुन्थ्यो भर्खरै ।’

मन्दिरा मेरी दिदी पर्छिन् । उमेरमा मभन्दा निश्चय परिपक्व छिन् । अवचेतन मनले यसरी होस नगरी अनायासै भन्यो ‘दिदी म आइपुग्न लागेँ । चोकमा छु ।’ देख्दै नदेखेको मानिसलाई मिस, मेडम या त मन्दिराजी भन्नु पर्थ्यो होला । तर मैले दिदी भनिदिएँ थाहै नपाई । यदि उनी मभन्दा सानी रहिछिन् भने मेरो ‘दिदी’ सम्बोधनले केही असर गर्ने त होइन ? उनले के भन्लिन् फेरि ? देख्दै नदेखेको, नचिनेको मानिसलाई यसरी दिदी भनेर बोलाउने, मेरो बहुलठ्ठीपन, पाखे स्वभाव उनले थाहा पाउने भइन् । म केही झस्किन्छु । अपरिष्कृत, असभ्य मेरो प्रवृत्तिलाई आवरण दिन संयमित हुन्छु ।

भीडभाडबीच केही अगाडि देख्छु अघि फोन गर्ने मन्दिरा उनै हुन् । फुटपाथमा उभिएकी उनी प्रतीक्षारत दृष्टिमा छिन् । त्यही मुडमा छिन् । ती आँखा म आइरहेको बाटामा पोखिएका छन् ।

म ढुक्क भएँ उनी दिदी नै रहिछिन् । मेरो इज्जत बच्यो । ग्लानिबोध हुन पाएन अघिको बेसुरे बोलीमा । भेट भएपछि चिनेँ उनी साहित्यकार मन्दिरा मधुश्री रहिछन् ।

म पुगेको—एकैछिनको पर्खाइमा राधिका दिदी आइपुग्नु भयो । केहीबेर विलम्ब नगरी चितवन जाने माइक्रो बस समात्यौं ।

मध्याह्नमा आउट अफ भ्यालीको गाडी चड्दा विश्वास लागेको छैन म कहीँ जाँदैछु भनेर । टाढा धेरै टाढाको प्रस्थानमा बिहानै हिँड्न अभ्यस्त बानीलाई विश्वस्त गर्न केही पटक सूचना गर्छु ‘म चितवन जाँदैछु ।’ घर जाँदा थानकोट, धार्के, नौबिसे कलिलो घाममा कटिसकेको हुन्थेँ । कैयन् पटक हिँडिसकेको राजमार्ग आज अपरिचित लाग्दैछ । अनौठो अनुभूतिमा छु । सूर्यको कान्ति प्रखर छ । गाडी पातला कुदेका छन् ।

माइक्रोको यात्रा असहज लाग्छ । पछाडिको सिटमा कोच्चिएर बसेका छौँ । बाहिर त्यस्तै निसासिँदो छ वातावरण । मध्याह्नको उत्ताप सूर्य (प्रकाश) धुलोको आवरण ओढेर बसेको छ । पर्यावरण रङ्ग फेर्दैछ । वसन्तको आगमन आभास हुँदैन । वन, जङ्गल यतिखेर रुखिएका छन् । हरियाली कहीँ छैन । पहेँलिएका पात, सुकेका पत्कर उजाड लाग्दा छन् । उराठिलो दृश्यसँगै मन बिरक्तिन्छ ।

सुन्दरताका प्यासी नयनलाई बाहिर नहेर्न अनुरोध गर्छु । घर, परिवार, साहित्य, सङ्गीत यी यस्तै विषयमा हाम्रा गफ लम्बिन्छन् । एउटी विवाहित नारीलाई साहित्य गर्नु या त आफ्नो रुचिमा रमाउनु कति जटिल विषय छ । साहित्यमा राधिका दिदीको सङ्घर्ष अनि चुनौती कति दुरूह, साहित्यप्रति वहाँको रुचि फेरि कति प्रबल, म आश्चर्यमा पर्छु । मन्दिरा दिदीको कठिनता उस्तै छ । तर साहित्य गर्न निस्फिक्री छु वहाँको अभिव्यक्तिमा सुखद अनुभूति हुन्छ । केहीछिनमा हाम्रा संवाद सकिए जस्ता हुन्छन् । मौन हुन्छौँ । फेरि संवाद गर्छौं । फेरि मौन हुन्छौँ । थाक्छौँ, चुपचाप हुन्छौँ, निदाउँछौँ ।

डा. जोसेफ मर्फेको ‘द पावर अफ योर सबकन्सेस माइन्ड’को अडियो बुक सुन्छु भन्दै थिएँ म फेरि निदाउँछु । हेडसेट लगाएरै निदाउँछु । बाह्य आवाज कम्ती हुन्छ, निद्रालाई बाधा पर्दैन । कति कतिखेर दिदीहरू कुरा गरेको सुन्छु । फेरि सुन्न छोड्छु, तन्द्राको नशा चढ्छ ।

खाजा खान गाडी थामिएको छ । दिदीले ब्युँझाएपछि थाहा पाउँछु हामी धार्के कटिसकेका छौँ । ‘अनितालाई कति मज्जाको निद्रा लाग्दो रहेछ । मलाई त्यस्तो हुँदैन । निद्रा आउँदैन’ राधिका दिदी भन्नु हुन्छ ‘अब केही खानुपर्छ ।’

जस्ताको छाना भएको भद्दा टहरोमा यात्रु सलबलाएका छन् । कोही खाँदै छन् । कोही खाने तयारीमा छन्, कोही ट्वाइलेट बाथरुम गर्दै छन् । चटपटेमा छन् कति यात्रुहरू । कति लेज, चाउचाउ, कुरमुरेको पसलमा छन् । कोक फेन्टाको लाइनमा छन् । दुई तीन गाडीका प्यासेन्जर एकै ठाउँमा भेला हुँदा मेला लागे जतिकै छ । घामको तेज उतिकै प्रबल छ । शीतलता प्रिय हुन थालिसके छ । सोच्छु कति विपर्यासयुक्त छ प्रकृति । सोच्छु मानव जीवन पनि के त्यस्तै छैन र ? एकसाथ प्रेम र घृणा गर्न कोही सक्दैन । शीतलताको जरुरत हुँदा घामप्रतिको वितृष्णा कति स्वाभाविक लाग्छ । फेरि ठिहिरोको याममा त्यही घाम कति मङ्गलमय  छ, असल छ । समयको चक्रवातमा ठीक बेठीक, हित अहित नहुँदो रहेछ । सत्य असत्य पनि केही होइन रहेछ । समय कति विरोधाभासी छ । सत्य असत्यको रूप ऊ फेरिरहन्छ । आज प्रिय लागेको कुरा भोलि अप्रिय बनाउँछ । हिजोको बेठीक पर्सि ठीक भनाउँछ । एक दिन उचित लागेको थोक अर्को दिन अनुचित बनाइसकेको हुन्छ । स्वयं प्रकृति त त्यसरी रूप फेरिरहन्छ भने मानव स्वभावप्रति गुनासो गर्नु निकै व्यर्थ कुरा रहेछ, म अनुभूत गर्दैछु ।

हामी केही खाने कुरा पाउँदैनौँ । यो चाहिँ खाऊँ जस्तो केही देख्दैनौँ । चना, समोसा, अण्डा, चाउमिन यस्तै खाने कुरा छ। दिदीहरूले चना लिनु भयो । घुम्ती पसलमा म कुकिज किन्छु । आडैमा फलफूल व्यापारी छन् । अति महँगो गर्दा रहेछन् । काँक्रो एक सय पचास केजी रे ! तयारी प्लेटको फलफूललाई सय उनको मूल्य सुनेर उदेक लाग्छ । त्यसमा दुइटा काला–अङ्कुर, दुई तीन पिस खरबुजा र त्यति नै मेवाका चाना छन् । त्यसमा झिँगा पनि लागेको छ । दिगमिग भयो, नखाने भएँ ।

मन्दिरा दिदीले कलङ्कीमा लाखामारी किन्नु भएको थियो । अहिले थप त्यो पनि खायौँ ।

हिँडिरहेको मार्ग आज निकै लम्बिएको लाग्छ । सकस हुन्छ । बस ठीकै गतिमा कुदेको छ । पुग्नु पर्ने बाटो छोटिएको छैन जस्तो हुन्छ गुडिरहँदा पनि । गन्तव्यमा कतिखेर यात्रा बिसाऊँ हुन्छ । यसो किन भएको छ ? गोप्यता केही ज्ञात भएको अनुभूत हुन्छ । निसासिँदो मध्याह्नमा शुरु भएको यात्राप्रति मानसिक रूपले म तयार रहेनछु । यात्रा भनेपछि बिहानको शान्त मुडमा धेरै पर पुगिसक्नु पर्छ विचारले म निर्देशित रहेछु, अहिले आएर थाहा पाउँछु मेरो मानसिकता । हामी पुरस्कृत हुन जाँदैछौँ त्यो हर्ष मैले भुलिसके छु । साथमा माया गर्ने दिदीहरू हुनुहुन्छ भन्ने पनि भुलेछु । सबै सबै भुलेर निदाउने प्रयास गरेँ, निदाएँ ।

सपना या विपना खै कता हो कुन्नि—मुग्लिन आयो भनेको सुन्छु । रमाएको छु थाहा पाउँदिनँ तन्द्रा कि जाग्रत अवस्थामा । पुग्नु पर्ने ठाउँ अब आउन लाग्यो ढुक्क लाग्छ । हो त मुग्लिन आइसकेछ चार बजे । भरदिन उत्तप्त सूर्य अलिक ओझाएछन् । सुखद अनुभूति हुन्छ ।

मुग्लिन तरेपछि भिन्न अनुभव गर्छु, लाग्छ यात्रा अझै लम्बियोस् । म चनाखो हुन्छु । सम्पूर्ण रूपले शीतल छ, ताप छैन । अजङ्का पहराले ओझेल पारेको छ । सर्र बतास चल्छ । गाडी ओरालिँदै तलतल गुडेको आनन्द बडो तृप्तिकर छ । छेउमै बगिरहेकी प्रवाहिनीको सङ्गीत मनोरम छ । थाहा पाउँछु अघिदेखि मैले यस्तै तृप्ति खोजेकी रहेछु ।

एक समय मुग्लिन नारायणगढ मार्ग त्यहीं परको छिमेकी गाउँ पुगेको लाग्थ्यो । मेरा पाइलाका डोबहरू यहाँ कतै हुनुपर्छ । थकानका, गर्मीका, भोकका, आशा निराशाका मेरा सुस्केराहरू यता कतै रुमलिएका हुनुपर्छ । किशोरवयका भावहरू मैले यतै छुटाएर गएछु । चितवनलाई उपहार दिएर गएछु । ती भावनासँग साक्षात्कार हुन मलाई आतुरी छ । किशोरी उमेरमा घर छोड्दाका, बुवा आमाका काखबाट टाढा हुँदाका, निसङ्क बस्दाका—आवेग, संवेग र विरक्तिहरू यहीं छन् । त्यसो हुँदा चितवन मलाई प्रिय लाग्छ । यहाँ आउँदा म फेरि भर्खरकै हुनेछु ।

म आई जाई गर्दा चितवन जाने मार्ग साँघुरो थियो । अहो ! कत्रो परिवर्तन आइसके छ । पहरो खोपेर विस्तार गरिएको मार्ग कति व्यवस्थित, कति चौडा, कति सुरक्षित भएछ । फिलीली कुदेको माइक्रोसँगै मेरो मन अझ पर पुगिसकेको छ । भेट्टाउन नसक्ने गरी पर पुगिसकेको छ ।

आँखामा झुण्डिएको निद्रा बिलाएर चङ्गा भएकी छु । ती दिनमा मुग्लिन चितवनमा पर्छ मलाई थाहा थिएन । त्रिसुलीको काँठकाँठै बत्तिएको साधनभित्र कस्तो अद्भुत आनन्द भइरहेछ, कसलाई के थाहा ?

अतीतका दिन सम्झनामा फेरि आउँछन् । त्यतिखेर चितवन यति सुन्दर लाग्थेन । चार पैँतालीसमा हामी यात्रा बिसाउँछौँ । चौडा सडक सफा छ । लहरै ठडिएका बिजुली पोलका बत्तीहरू बडो शालीन छन् । आकर्षक देखिन्छन् । खाली जग्गामा बनिएका ससाना पार्कले विश्राम गर्न बोलाएझैँ लाग्छ । पारि क्षितिजमा डुब्न लागेको सुनौलो प्रकाश ओडेको—सन्ध्या अघिको भरतपुर कति मुग्धकारी ! प्रथम पटक म यो सब देख्दैछु भान हुन्छ । साँच्ची नै भरतपुर कति सुन्दर भएछ । विकास पाएछ, समृद्धिको बाटोमा हिँड्दै रहेछ । नेपालका सबै ठाउँ यसरी नै विकासशील हुँदै जाऊन् मनमनै बन्दना गरेँ ।

पोखरा बसपार्क जाने मार्ग मोडिएर—हामी भरतपुर बाइपास स्थित अताली रेस्टुरेन्ट ओर्लिर्यौं । फेरि अरू ससाना गन्तव्य निर्दिष्ट गर्यौं अर्थात् राधिका दिदीले निर्दिष्टि गर्नु भयो । म अबोध नानी भएकी छु । पुतली जस्तै फुरुङ्ङ भएकी छु । रमणीय वातावरणमा बाजा बजेको धुन कति मिठासपूर्ण । शायद त्यहाँ पूजा अनुष्ठान केही भइरहेको छ । अहिले भरतपुरको मौसम ठिक्क छ । जाडो छैन, गर्मी छैन । धुवाँ धुलो छैन । शान्त छ ।

प्रथमतः हामी अताली रेस्टुरेन्टबाट अलिकति हिँडेर पुगिने सरला लामिछानेका घर जान्छौं । राधिका दिदीको माइती घर, भदाबुहारीको घर । भेटघाट र केही बोली वचन गरेर बिदा माग्छौँ । त्यसपछि अर्को भेट हुन्छ कथाकार गायत्री (अधिकारी) मेडमसँग, वहाँकै निवासमा अर्थात् उदय अधिकारीका निवासमा । त्यहाँ जातजातका पुष्पलताले हामीलाई स्वागत गर्दै छन् आभास हुन्छ । गायत्री मेम हाम्रै प्रतीक्षामा हुनुहुन्छ । हामी पुग्दा वहाँ प्रवेशद्वारमै हुनुहुन्थ्यो । कत्रो हार्दिकता, कत्रो प्रसन्नता । म पहिलो पटक वहाँलाई चिन्दैछु । तथापि वर्षौं अघि छुटेको मित्र मिलापको अनुभव हुन्छ । वहाँको मुहारमा खुशीको मन्दाकिनी प्रवाहित छ । आगन्तुकलाई कसरी आतिथ्य गरौँ, केही त्रुटि पो भइहाल्छ कि भने जसरी वहाँ बडो चञ्चल देखिनु हुन्छ । यता हामीलाई त्यस्तै हुन्छ । वहाँको आतिथ्यमा यति अभिभूत भयौँ, आह्लादित भयौँ कि वहाँको सत्कारलाई कसरी मान राखौँ भयो । बिरलै अनुभूत गरिने हार्दिकता, मित्रताले परिवेश अत्यन्तै सुखद भयो ।

समय निकै कम्ती छ । मन भइरहेथ्यो अझै भुलिरहूँ । गायत्री मेम भन्नु हुन्छ ‘आज यतै बसौँ ।’वहाँ एक साहित्यकार । म यसरी चिदन्छु । कोठामा भँगेराका जोडी निस्फिक्री नाचेका छन् । ती चिरबिराएको सुन्दा आनन्द लाग्छ । मधुर सङ्गीत । शायद म यस्तै सङ्गीत सुन्न चाहन्छु । सोधेँ ‘मेम यिनीहरू सधैँ यसरी आइरहन्छन् ? अनि फोहोर गर्दैनन् ?’ आफ्नो जिज्ञासाको उत्तर नसोचेको पाउँछु ‘यिनीहरू प्रायः यतै हुन्छन् । झ्याल खुल्ला हुँदा पनि जाँदैनन् । फोहोर गर्छन् । तर फोहोर गरे लाग्दैन ।’ कति सहज अभिव्यक्ति । प्रभावित भएँ वहाँको सरलतामा । कति विनयशील मानिस । विनयशीलता कति महत्त्वपूर्ण कुरा रहेछ, जसले एक अपरिचितलाई पनि कस्तो प्रभाव छोडेर जान्छ । आखिर हुनु पर्ने त विनयशील नै रहेछ ।

थालभरि मीठो स्वादको बिस्कुट छ । चिया उस्तै स्वादिष्ट । कसरी बनाइन्छ यति मीठो चिया ? ठट्टै सही भनेँ ‘मेम चियाको लागि नित्य यतै आउनु पर्ला लाग्यो ।’

देख्दैमा साहित्यकारको परिवेश लाग्ने घर । गायत्री मेम चित्रकार पनि ? प्रश्न गर्छु आश्चर्य भावमा । वहाँका आर्ट देखेर हामी हेरेको हरेकै भयौँ । लहरै फ्रेमिङ गरिएका वहाँका कर्मले काठो सुसज्जित छ । हामीले फोटो खिच्यौँ । वहाँको साहित्य मैले पढ्न पाएको छैन । तर पनि भन्न मन लाग्यो ‘गायत्री मेम तपाईं साहित्य छोडेर बरु चित्रकारितामा ध्यानस्थ हुनुस्, तपाईंको भविष्य यसैले उज्ज्वल बनाउने छ ।’

यतिखेर हामी उदय सरका घरमा छौँ सोच्दा अनौठो लागेको छ । अचानक हामी यहाँ आइपुग्यौँ । यसरी वहाँको घरमा पुगिन्छ सोचेकी थिइनँ । वहाँसँग पहिलेदेखि नै चिनजान थियो । प्रत्यक्ष भेट चाहिँ छैन । अहिले पनि भेट हुन सकेन । ‘वहाँ साहित्यिक कार्यक्रमका लागि इलाम जानु भएको छ’ मेमले बताउनु भयो ।

चितवनमा राधिका दिदीको नेटवर्क राम्रो रहेछ । मन्दिरा दिदी र म वहाँको पछिपछि लाग्छौँ । गायत्री मेम चोकसम्म आउनु भएको छ हामीलाई पुर्याउन । समय सन्ध्याको तयारीमा छ । हामी पनि गन्तव्यको अर्को तयारीमा छौँ । अब सम्पूर्ण किताब नारायणगढ पुग्नु छ, जहाँ लेखाराम सापकोटाजी हुनुहुन्छ । अटो लिएर लायन्स चोक पुग्छौँ । यहाँ पनि म अपरिचित छु । तर सम्पूर्ण किताब नारायणगढसँग परोक्ष चिनजान छ । सामाजिक सञ्जालमा ‘सम्पूर्ण किताब नारायणगढ’लाई भेटिरहन्छु, सञ्जालमा बाक्लै देखिरहन्छु ।

नयाँ डिजाइनको पुस्तक ¥याकमा किताब हेर्दै थियौं । पुस्तकालय भरिभराउ छ । मेडमले थाहै नदिई कफी तयार गर्नु भएछ । तातो प्याला उठाउँदै संवाद शुरु हुन्छ । साहित्य, साहित्यिक स्रष्टा र तिनका कृतिमा छोटो बाचचित गर्छौं । समय धेर छैन । अघिदेखि राधिका दिदीको बरफका कोइला (कविता सङ्ग्रह) पढ्ने इच्छा थियो । बल्ल संयोग मिल्यो । पुस्तकालयबाट एकप्रति दिदीले दिनु भयो । अनि आफूले भर्खरै बजारमा आएको मोमिला जोशीकृत प्रश्नहरू त बाँकी नै रहन्छन् … (निबन्ध सङ्ग्रह)  लिनु भयो । त्यस्तै मन्दिरा दिदीले वसन्त पराजुलीको मोम्चो किन्नु भयो ।

साँझ अब टर्दै छ । पुलचोक स्थित होटल होलिडे पुग्नु छ । टुङ्गामा पुगेर दिनभरको थकान बिसाउन हतार लागेको छ । स्मृतिमा सुरक्षित गर्न केही तस्बीर साँचेर हामी निस्किन्छौँ ‘सम्पूर्ण किताब नारायणगढ’बाट ।

प्रथमचोटि म आजको अनुभव गर्दैछु । अपूर्व लाग्दैछ । साहित्यिक कार्यक्रमका लागि घर छोडेर टाढाको यात्रा गरेको अनुभूति—सङ्ग्रह गर्न मनलाई व्यस्त गर्छु । साहित्यिक अतिथिका रूपमा चितवनले स्वागत गरेको एकखेप आफैंलाई सुनाउँछु । चितवन धन्य छ जसले मलाई नवीन अनुभूति गर्ने संयोग दियो ।

एकताका म वीरेन्द्र कलेजकी विद्यार्थी थिएँ । यी गल्ली, चोक र सडकहरू कति प्रिय थिए । यहाँको धुवाँ, धुलो समेत प्रीतिकर लाग्थ्यो । त्यही ठाउँ आज बिरानो भएछ अनुभूत गरेँ । नौलो नौलो लाग्दैछ । ती दिनमा साहित्यिक कर्म गरेर यहाँ पुरस्कृत हुन आउँछु मेरो कल्पनामा थिएन । साहित्यिक अतिथि भएर आउँछु सपनामा पनि थिएन । थाहै नहुँदो रहेछ समयले कसरी बदल्ने रहेछ मानिसलाई । अनि उसले हिँड्ने मार्गलाई ।

यतिखेर डा. गोविन्दराज भट्टराईलाई सम्झिरहेकी छु । साहित्यमा जे जस्तो प्रयास म गर्दैछु त्यसको श्रेय वहाँलाई छ । वहाँकै प्रेरणा, हौसला र निर्देशनमा साहित्यको कखरा सिक्दैछु । बाह्रखरीको देशव्यापी कथा प्रतियोगिता, यता भरतपुर प्रज्ञा–प्रतिष्ठानको राष्ट्रव्यापी कथा प्रतियोगितामा—कथा लेख्छु सोच थिएन । पुनः पुनः वहाँले ब्युँझाउँदा मानसिक रूपले तयार भएँ र कथा लेखेँ । वहाँले ‘यस्तो अवसर छोड्नु हुँदैन’ भनेर उत्प्रेरित नगरेको भए शायद मैले कथा लेख्ने थिइनँ । प्रतियोगी हुने थिइनँ । साँच्चै भन्ने हो भने कथा आह्वानको सूचना पनि मलाई थाहा थिएन ।

चितवन आउने कुरा दुई दिन पहिले डा. भट्टराईलाई सुनाएकी थिएँ प्रसन्न चित्तले । ‘खुशी लिएर जानू, खुशी लिएरै आउनू’ वहाँको शुभकामना पाएँ ।

यो अपूर्व हर्षमा कृतज्ञ छु जसले मलाई साहित्यको रसास्वादन गरायो । प्रदीप्त मार्गमा आफू हिँड्ने पथ आफैं निर्माण गर्न लगाउनु भयो । अस्तित्वको खोज गर्न सिकाउनु भयो । विचारलाई, भावनालाई कलामा, शब्दमा, भावमा उद्भाषित हुन सिकाउनु भयो । म धन्य छु । वहाँ पनि धन्य हुनुहुन्छ । वहाँले एउटा स्रष्टा जन्माउनु भएको छ ।

सन्ध्या पश्चात्को यो भरतपुर, यो नारायणगढ अनि रमाइरहेको मनलाई कसरी अभिव्यक्ति दिऊँ ? राधिका दिदीले ‘बेलुकाका नारायणीतिरको सन्ध्या आरतीमा जानु पर्छ’ भनेदेखि मेरो मन अरू खुशी छ । त्यहाँ म आफैंलाई बिर्सिएर नाच्ने छु । त्यसो त म नाच्न जान्दिनँ । तर भीडमा जसरी उफ्रिए पनि नाचे जस्तै हुनेछ । केही निमेष नै सही म जीवित छु छुइनँ जसरी भुल्न चाहन्छु आफूलाई । ‘म को हुँ ?’ भनेर सम्पूर्ण रूपले भुल्न मन छ । सन्ध्या आरतीले मलाई भुलाउने छ । लाभदायक रूपले, स्वस्थ रूपले भुलाउने छ । त्यसपछि म फेरि साजी हुने छु । तब त फ्रेस मुडमा थप रमाउने छु ।

मिठाई दोकानमा पेडा, लड्डु, बर्फी मलाई मन पर्ने यस्तै केके थोक खुवाउने सल्लाह छ दिदीहरूको । अनि वहाँहरू तास खाने कुरा छ । आरती छुट्छ कि फेरि ? बरु नखाने भोलि खाउँला मैले भनेँ । रात्रिको नारायणगढ भर्खरै ब्युँझिएको लाग्छ । जता हेर्छु जगमगाएको छ । यस शहरलाई सके जति आँखामा अटाउन मन छ । रातभर शहरलाई यसरी नै हेरिरहूँ भएको छ । रात्रिको नारायणगढ प्रथम खेप देख्दैछु । अघि नगरिएको अनुभूति गर्दैछु ।

गर्मी शुरु भए पनि बेलुकी शीतल बतास छ । सवारी साधनको खचाखच छ । अगाडि पछाडि ज्योति बालेर गुडेका साधन एक टङ्कारले हेर्दा राँकेभूत जस्ता लाग्छन् । चितवनको विशेषता मानिने रेक्सा नामेट भएछ । खै कतै देख्दिनँ । अटो र म्याजिक छिचिमिरा जतिकै छन् । त्यतिखेर मैले देखेको पुरानो भरतपुर भेट्न खोजेँ भेटिनँ । नारायणगढ पनि भेटिनँ ।

मेघ उठेको आकाश अधैर्य छ, अशान्त पनि । बिजुली चम्किएको छ, गड्याङगुडुङ छ । मन्दिरा दिदी सुन्तला किन्दै हुनुहुन्छ, सयमा डेढ केजी । आरती भएको ठाउँमा पुग्न अब थोरै समय लाग्छ । त्यहीं निकट छ हाम्रो बास । पानी एकछिन नआउला । तर आउला जस्तै छ । अतिथिलाई ठेगानमा पुग्न बाधा नहोस् भनी मेघले धैर्य गरेको हुनुपर्छ । धैर्य गर्दागर्दै थामिन सकेन । ठूलो थोप्ला गरेर उतिनखेरै वर्षा हुन्छ । केहीछिन भए पनि अभर पर्छौं । अहिले हामी पुलचोकमा छौँ । छिनभरमा फुटपाथको व्यापार उठ्यो । उतिनखेरै छिन्नभिन्न भए । नजिकैको गन्तव्य रोकेर हामी ओत लाग्यौं एउटा रेस्टुरेन्टमा ।

अघिको जुन उत्साह, झिलिमिली थियो, वर्षाले पखालिदियो । मन खल्लो भयो । बाटो हिलो छ । बास खोज्दै होटल होलिडे पुग्यौं । भरतपुर प्रज्ञा–प्रतिष्ठानको अतिथि भई काउन्टरमा चेक इन गर्यौं । दोस्रो तलाको कोठा नम्बर १०१ को चाबी लियौं । लहरै तीन वटा सिङ्गल बेड छन् । सफा, फराकिलो कोठा आनन्दकर छ । मन बेफुर्सदी छ । झोला बिसाएर नारायणी किनारतिर लाग्छौं ।

होटलबाट नारायणी कति टाढा पर्छ मलाई ज्ञान छैन । चार पाँच घर अगाडि बढेपछि ग्राभेल गरेको एउटा गल्ली आउँछ । पिच हुन ठिक्क पारिएको बाटो । रात्रिको अँध्यारो किनार । तिरमिर देखिने, नगण्य हलचल आँखा अगाडि आउँछ । मध्याह्नमा कालपत्रे सडक तिरमिराएको लाग्ने दृश्य म त्यसलाई सडक मानिरहेकी थिएँ । त्यस गल्लीबाट देखिएको सानो दृश्यले अरू केही अर्थ राखेको थिएन ।

निर्निमेष त्यही दृश्यमा आँखा डोबेर अघि बढिरहँदा चाल पाउँछु मैले जे देख्दै छु त्यो नारायणी बगेको रहेछ । जुन अभिप्रायले गएका छौँ, त्यहाँको सुनसानले हामीलाई उदास बनाउँछ । खिस्रिक्क पर्छौं । पानीले आरती उठाइसके छ । नारायणीको शीतल, शान्त, संयमित लयमा—भजनको सङ्गीत मिसिँदा जस्तो स्थिति सिर्जिन्छ निश्चय त्यो अद्भुत हुने थियो । त्यो अद्भुत क्षण भोग्ने उत्कट चाहना थियो । नाच्ने, झुम्ने इच्छा थियो अधुरै रह्यो । फ्यास फ्यास भासिने बालुवामा रमाएर उफ्रिने मन थियो । जीवनमा मैले ठूलो कुरा गुमाएँ भयो । एक किसिमको पश्चात्ताप अनुभूत भयो । चाहेको नपाउँदा म एकतमासको भएछु ।

मनै त हो त्यो बदलिरहन्छ । थाहै नपाइ कतिखेर म बदलिइसके छु । अघिको खिन्नतामा हर्ष भरिन्छ । प्रकृति कति सुन्दर छ । जति हेर्यो उति तृप्ति पाइन्छ । म भावोत्तेजक मुडमा छु । सम्हाल्न सक्दिनँ आफूलाई ।ज्यादा आनन्दमा मानिस आत्तिँदो रहेछ । दुःखले जस्तै आत्तिएर के गरौँ कसो गरौँ हुने रहेछ । हो म अहिले आत्तिरहेकी छु । यो खुशी, यो हर्ष, यो सौन्दर्य टिपौँ, चुमौँ, केके गरौँ हुन्छ । कसैलाई सुनाऊँ हुन्छ । चिच्याउन मन लाग्छ । विचित्रको अनुभव गर्दैछु । यस घडी थाहा पाएँ म प्रकृति प्रेमी रहेछु । भौतिकताले मलाई यस्तो खुशी दिन सक्दैन । आश्चर्य पर्दिनँ ।

शहरको प्रकाश—प्रतिविम्बत प्रवाहिनीको शान्त वेगमा इन्द्रेणी रङ्ग तैरिएको छ, बगेको छ, तिर्मिराएको छ । झिलझिल छ नारायणी । कस्तो भ्रमात्मक सुन्दरता ? वारपार, तलमाथि जता हेर्छु उस्तै छ । फेरि नदीका किनारहरू अँध्यारा छन् । वारि–पारिको प्रकाशले उज्यालो बनाउन सकेको छैन । अहो ! कस्तो अद्भुत दृश्य । कहिल्यै नदेखेको दृश्य । शब्दमा देखाउन असक्षम छु । शब्दै शब्दको दृश्य निर्माण गर्न मेरो कमल सक्दैन ।

हामी उभिइरहेको किनारदेखि चार पाँच सय मिटर टाढा मान्छेको ठूलो घुइँचो छ । सल्बलाएका छन् । पर्याप्त प्रकाश नहुँदा छाया हिँडे जस्तो लाग्छ । मानिसका आकृति ओहोरदोहोर छन् । उत्सव त्यस्तै केही अनुष्ठान हुनुपर्छ । हिन्दी गीतको चर्को आवाजले वातावरण पूरै खलबलिएको छ । त्यहाँ के भइरहेछ ? मेरो उत्सुकतामा एक मानिसले महोत्सव भएको बताए । भृकुटीमण्डपको जस्तै ठूलो तर रङ्गिन पिङ हल्लिरहेको छ । भीडले छोपेको ज्योति पुञ्ज माथि आकाशमा फर्किएको छ । ज्योति भीड बाहिर पोखिन पाएको छैन ।

देख्छु नारायणी पुलमा सवारी साधनका लाइट एकपछि अर्को फुत्त फुत्त कुदेका छन् । फुरुङ्ङ भएका हामी—प्रफुल्लित मनले फोटो खिच्न खोज्छौँ, पृष्ठभूमिमा रङ्गिन नारायणी राखेर ।परन्तु उज्यालो छैन । आरतीको समय हुँदो हो प्रकाशमय हुने थियो । श्रद्धालु भक्तले उज्यालोको व्यवस्था आफैं गर्दा रहेछन् । अहिले त्यो प्रकाश निभिसकेको छ । रमाएको तस्बिर लिने इच्छा पूरा हुने भएन, फेरि खुम्चिन्छौं । फ्ल्यास क्यामेराबाट लिएको तस्बिर राम्रो आएन ।

भक्तहरू केही बाँकी छन् । हामीले रहलपहल फूल प्रसाद लियौं । रुखमा झुण्ड्याएको बत्ती खोलेर तार सम्याउँदै गरेका एक जना मानिसलाई—उज्यालो नभएको दुखेसो गर्यौं । तब त उनीहरूले हामीलाई मद्दत गरे । तीन चार जना दाइ भाइले मोबाइल बालेर हामीतिर फर्काए । अर्को एक जना भाइले हाम्रो फोटो लिए । अव्यक्त खुशीमा हामी हाँस्छौं, रमाउँछौं । ती दाइ भाइ पनि रमाएका छन्, मद्दत गर्न पाएर । बडोखुसिला, मिजासिला रहेछन् । वातावरण एकैछिनमा मैत्रीपूर्ण भयो, हार्दिकतापूर्ण भयो । फोटो खिच्न पाएर हामी त्यसरी रमाएका होइनौं । फोटो खिच्नु हाम्रो ध्येय होइन । रमाउनु, भुल्नु हाम्रो अभिप्राय थियो । सुखद परिवेशले हामीलाई रमाउन सिकाएको थियो ।

त्यसरी फोटो खिच्दा फिल्म सुटिङ भइरहेछ अनुभूति हुन्छ । मानिलिऊँ हामी फिल्मका नायक नायिका हौं । अझ हामी भीआईपी हौं, अझ होइन हामी त सेलीब्रेटी हौं । सदाशयी मन भएका बन्धुप्रति कृतज्ञ भयौं । धन्यवाद दियौं । ससाना नानी जसरी हामी उत्फुल्लित भयौं ।

रहर पुगेपछि होटल फर्किन्छौं । खाना अघि नै अर्डर गरेका थियौं । सुन्दर दृश्यमा आँखा टाँसिरहूँ हुन्छ । कति तृषित छन् यी दृष्टिहरू? हामी बसेको होलिडे होम नारायणीकै किनारमा छ । बल्कोनीमा बसेर फेरि उसै गरी रमाउँछौं । भाँती भाँतीका तस्बिर लिन्छौं । खाना त्यहीं मगाउँछौं । नजिकै अर्को टेबलमा तीन पुरुष छन् । कति कतिखेर केटाकेटी जसरी प्रसन्न भएका हामीलाई ती हेर्दैछन् । तर हामी वास्ता गर्दैनौं । उनीहरूलाई रात्रिको त्यो सौन्दर्यले केही प्रभाव गरेको लाग्दैन ।

परम तृप्ति, परम आनन्द केवल आनन्द मात्रै छ हामीसँग । हाम्रो घर, परिवार छ, आफन्त, मित्र छन्, प्रेमी, प्रेमिका छन् भन्ने पनि हामीले भुसुक्कै बिर्सियौं । यसरी बिर्सियौं कि हामी आफैं छौं, छैनौं भुल्यौं । हर्षले बहुलाइरहेको त्यस बखत अनिताजी (कोइराला) को फोन आउँछ । हामीलाई हतार पर्छ खुशी सुनाउन । एक्कै चोटि बोल्छौं । उनलाई बुझ्न मुस्किल पर्छ हामी के बोलिरहेछौं । पछि आफैंलाई सम्झिएर सर्माउँछौं ।

क्रमशः