बाँच्नु भन्दा पनि ठूलो कुरा रहेछ अस्तित्व चेत । एकबारको जिन्दगी त्यो त सबैले बाँचिरहेकै हुन्छन् । फरक त्यत्ति हो कसले कसरी बाँच्छ भन्ने मात्रै । भुटानी नेपालीलाई त्यही अस्तित्व चेतले शरणार्थी बनाएको छ । तथापि हारेका छैनन् । हार्न जान्दैनन् । बरु सशक्त छन् अस्तित्वको सङ्ग्राममा । योद्धा मन लिएर अझ पनि लडिरहेकै छन् निरङ्कुशता विरुद्ध । भावमा, शब्दमा, लयमा, रङ्गमा, रेखामा ती लडिरहेका छन् । हो यतिखेर उनीहरू वैचारिक लडाइँमा छन् ।

भूमि विहीन, नागरिकता विहीन, पहिचान विहीन भुटानी नेपालीको पीर–मर्कामा यतिखेर मलाई केके थोक बोलूँ भएको छ । बोल्नु पर्ने कुरा धेरै छन् । हो हामी सप्पैले समवेत स्वरमा केही बोल्नु छ । मानव भएर जन्मिएपछि मानवताको पक्षमा बोल्नु पर्छ । यदि बोल्दैन कोही भने कदापि त्यो मानव हुन सक्दैन । मानव हुँ भन्ने अधिकार उसलाई रहँदैन । किनकि उसले मानव हुनुको बोध गरेको हुँदैन । अन्याय विरुद्ध बोल्न समर्थ छैन भने अहँ उसले म मानव हुँ भन्न किमार्थ सुहाउँदैन पनि । आउनोस् म मानव हुँ भन्नेहरू सबै एकजुट भएर—विश्वका सम्पूर्ण शरणार्थीका हितमा केही बोलौँ, केही लेखौँ । शब्दद्वारा त्यो निरङ्कुशतालाई गलाएरै छाड्यौँ । कृपया ‘यो मेरो समस्या होइन’ भनेर चुप नलागौँ । के थाहा भोलि क्रूर शासकहरूले तपाईं हामीलाई पनि त्यस अवस्थामा पुर्याउन सक्छन् । अहिले शरणार्थी भएकाहरूको कुनै दिन आफ्नै देश थियो । भूमि थियो, पहिचान थियो । उनीहरूलाई म भोलि शरणार्थी हुन्छु भन्ने नै थाहा थिएन । तर शासकलाई थाहा थियो ।

एउटा संयोग नै भन्नु पर्छ केही दिनदेखि बारम्बार म भुटानी शरणार्थीको विषयमा निकट छु । एक साता अघि कीर्तिपुरको रोजगार्डेनमा डा. गोविन्दराज भट्टराईले भेटघाट कार्यक्रम राख्नु भएको थियो । जीवित इतिहास बोकेर बाँच्नु भएका रामबहादुर राई, मनबहादुर राई र मधुकर मगर प्रमुख अतिथि हुनुहुन्थ्यो । हामीले देख्यौँ उहाँहरूको केही पहिचान थिएन । भुटानी शरणार्थी बस् यत्ति नै थियो उहाँहरूको परिचय । तीस वर्ष, एकतीस वर्ष झण्डै बत्तीस वर्षको लामो जेल जीवन भोगेर आउनु भएका अतिथिहरू । उहाँहरूको अवस्था देख्दा हाम्रो मन फाट्यो, टुक्रियो, चोइटियो । ती कथा बेथा हामीले सुन्न सकेनौँ । त्यसै बेला थाहा पाएँ मेरा आँखा छचल्किँदै रहेछन् । अनि थाहा पाएँ मैले आफैँलाई प्रश्न गर्दैरहेछु—मानिस मानिसबीच गरिने यो कस्तो व्यवहार हो ?

फेरि अर्को दिन अनामनगर स्थित किम्ची रेष्टुरेन्टमा—भुटानी शरणार्थीले भोगेका अन्याय अत्याचारका विषयमा सहभागी हुन पुगेँ । लामो समय भुटान सरकारको सेवा गर्नु भएका एक अफिसर एन बी गिरीज्यूको कृति ‘जनरव फिराद’ त्यहाँ विमोचन हुँदै थियो । दश बाह्र वर्ष जेल जीवन भोगेर शरणार्थी हुनु भएका गिरीज्यूले—भुटान सरकार अर्थात् त्यहाँका राजालाई गर्नु भएको सम्बोधन कति मार्मिक थियो । त्यतिखेर उहाँको कण्ठ अवरुद्ध हुँदै थियो ।

त्यसपछि फेरि अर्को संयोग नै भन्नुपर्छ—भुटान, नेपाल हुँदै पुनर्वासको क्रममा अमेरिका पुगेका डा. तुलराम न्यौपानेको अन्तर्वार्ता सुनेँ । तमसोमा ज्योतिर्गमयका टीकाराम यात्रीसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘त्यसरी भुटान छोड्दा म बाह्र वर्षको थिएँ । त्यस दिन साँझमा गोठका गाईबस्तु आमाले फुक्का गर्दिनु भयो । अनि रित्तो हात लिएर हामीले छर छोड्यौँ । जीवन सुरक्षित गर्न त्यसरी देश छोड्यौँ ।’

कहिलेकाहीँ त म आफैँलाई अचम्म लाग्छ । एउटै विषयमा थाहै नपाई हामी कसरी सिलसिलाबद्ध हुने रहेछौँ । एक हप्तादेखि भुटान सरकारको क्रूरता र भुटानी नेपालीको सन्दर्भ मेरो दैनिकीमा मिसिएको छ ।  पुनर्वासको अभियानमा अमेरिका पुगेका साहित्यकार गङ्गाराम लामिटारेलाई यही सिलसिलामा अध्ययन गर्दैछु । उनको ‘बदलिएको कर्तव्य’ कथा सङ्ग्रहमा भुटानी नेपालीको नियतिले म फेरि उद्वेलित हुन्छु ।

हो म यतिखेर एकदम भावावेशमा छु । विद्रोही भावले उत्तेजित छु । अन्यायका विरुद्ध, अमानवताका विरुद्ध, उपेक्षाका विरुद्ध आहुति दिन तयार योद्धाको मनस्थितिमा छु । किनकि म मानव हुँ । मेरो मानवताले मलाई शान्त रहन दिएको छैन । कारण थिचोमिचो र अपमान मेरो मानवताले सहँदैन । विभेद र असमानता अहँ कदापि रुचाउँदैन । ‘बदलिएको कर्तव्य’ले मलाई पुन अशान्त बनाउँछ । आफ्नो भाषा, साहित्य, संस्कृतिका खातिर सङ्ग्रामको अग्रपङ्क्तिमा उभिएका सम्पूर्ण भुटानी नेपालीलाई मेरो प्रणाम छ । भाषा तथा संस्कृति विहीन भएर बाँच्नु भन्दा बरु मृत्यु जस्तो जीवन सयौँ हजारौँ गुणा स्वीकार्य भएको, अर्थपूर्ण भएको देख्ने तपाईंहरूलाई हामीले भुल्नु हुँदैन । यदि भुल्यौँ भने हाम्रो आत्माले हामीलाई शान्ति दिने छैन । किनकि तपाईंहरू हामी सबैको साझा पहिचान (नेपाली भाषा संस्कृति)का लागि दुष्टता भोग्दै हुनुहुन्छ । उपेक्षा भोग्दै हुनुहुन्छ ।

पहिचानको लडाइँमा अग्रगामी स्वर सुसेल्ने स्रष्टा, नेपाली भाषी भुटानी समाजमा सचेतता ल्याउने अभियन्ता गङ्गाराम लामिटारे । जातीय अस्तित्वको लडाइँमा उनी निकै सक्रिय छन् । अहिले अमेरिकाको ओहायो राज्यमा रहेर उनले नेपाली भाषा साहित्यको सेवा गर्दैछन् ।  आफ्नो सम्पूर्ण जीवन भाषा साहित्यमा समर्पित उनको ‘बदलिएको कर्तव्य’मा भुटानी नेपालीको आत्मा सुसाएको छ । यसको अन्तर्यमा जातीय पहिचानको माग गर्दा अपमानित हुनु परेको, क्रूरताको सामना गर्नु परेको, शरणार्थी हुनु परेको पीडा छ । अनि देश विहीन हुँदाका नमीठा अनुभव छन्, कठिनाइहरू छन् । त्यस्तै पुनर्वास पश्चात् आइपरेका अप्ठ्याराहरू छन् । भिन्न भाषा संस्कृतिमा समायोजित हुन नसक्दाका अवसादहरू छन् । उद्वेगहरू छन् । त्यति मात्र होइन पुनर्वास भएपछि—शुरूवाती दिनका ती चिन्ता र उमङ्गहरू छन् । अन्ततः सुविधा सम्पन्न मुलुकमा पुगे पनि निराशाहरू बाँकी नै रहन्छन् । जीवन पद्धतिमा आएको कठिनताले व्याप्त उदासीनता त्यतिकै छ ।

सोह्र वटा कथा सङ्कलित लामिटारेको ‘बदलिएको कर्तव्य’लाई बुझ्न एउटा वैश्विक दृष्टिकोण चाहिन्छ । भुटानी, नेपाली तथा अमेरिकी पृष्ठभूमिमा रचिएका लामिटारेका कथालाई केवल डायास्पोरिक अवधारणाले मात्रै अथ्र्याउन सकिँदैन । डायास्पोरिक शब्दमा भुटानी नेपाली कदापि अटाउन सक्दैनन् । ग्लोबल डायास्पोरा तथा भिक्टिम डायास्पोराले मात्रै उनीहरूको सम्बोधन पूर्ण हुन सक्छ । लामिटारेका कथालाई यही दृष्टिले हेर्नुपर्छ । उनले घटना र विषयवस्तु भन्दा पनि प्रताडित मनको अवस्था देखाउन कथा रचेका छन् । अझ भनौं वस्तुगत, दृष्टिगतदेखि माथि भावगत अर्थात् मनोजगत्का कुरा छन् उनका कथामा । सँगै समाज मनोविज्ञान पनि निकट छ ।

अभिघात  स्थिति भोगेर शरणार्थी जीवन बाँचेका लेखकले—यतिखेर मेरो दृढ सिद्धान्तलाई विचलित गरिदिएका छन् । प्रथमतः बाँच्नु ठूलो कुरा रहेछ । त्यसपछि मात्रै अरू कुरा प्राथमिकतामा आउने रहेछन् । जीवन छ र त सबथोक छ । जीवन छैन भने अरू थोक हुनुको के महत्त्व ? त्यस्तै  कला र जीवनको विषयमा उनको अभिव्यक्तिले मलाई धेरै थोक सोच्न लगायो । ‘कला कलाको लागि कि जीवनको लागि ?’ भन्ने विषयमा उन्नाइसौँ शताब्दीका फ्रान्सेली चिन्तक भिक्टर कोजिन् लगायतले शुर गरेको साहित्यिक आन्दोलन मैले पुनः सम्झिएँ ।  म ‘कला जीवनको लागि हो’ भन्ने पक्षमा थिएँ । तर स्रष्टा लामिटारेको भनाइले मेरो धारणा डगमगाएको छ । जीवन छैन भने कलाको के अर्थ ? आफ्नो कथामा सुन्दरता भन्दा मानवीय संवेदनालाई पहिलो प्राथमिकता दिएको बताएका उनी भन्छन्—कला विना पनि जीवन हुन सक्छ तर जीवन विनाको कला हुन सक्दैन । जीवन विनाको कलाको के आवश्यकता ? उनको भनाइले कस्तो मर्म बोलेको छ । शायद उनको भनाइले शरणार्थी हुनुको मर्मलाई अभिव्यञ्जित गर्न खोजेको छ ।

कला भन्दा पनि जीवनको पक्षमा बोल्ने उनी वास्तवमा कलालाई बेवास्ता गर्न कसरी सक्छन् र ? ‘जीवन कलाको लागि होइन, कला जीवनको लागि हो । म जीवनकै लागि लेख्छु न कि कलाको लागि ।’ लेखकले यसो भने पनि उनको भनाइमा हेर्नु त कत्रो कलापूर्ण चेत छ ‘कला विहीन सृजना शून्य र मूर्दा तुल्य हुन्छ । मूर्दा समान सृजनलाई कलाले नै जीवन्त र अमर बनाउँछ भनेर जान्दाजान्दै पनि कलाबिनै  जीवनलाई लेख्ने धृष्टता गरेको छु (पृ–२०) ।’

‘बदलिएको कर्तव्य’मा प्रत्येक कथाको अभिप्राय बेग्ला बेग्लै छ । फेरि ती कथाका प्राणमा उही दुःख, कष्ट, पीडा, अवसाद र अपमान छ । भोक छ, रोग छ, शोक छ, गरिबी छ, असन्तुष्टि छ । उद्वेग छ, छटपटी छ । उक्त कृति म तिनै भुटानी नेपालीलाई सम्झिएर पढ्दैछु ।

भुटानी सेनाको भर्त्सनापूर्ण ज्यादती, अमानुषिक आतङ्कले देश छोड्न बाध्य भएका भुटानी शरणार्थी भएपछि अनेक स्थानमा पुनर्वासको निम्ति छनोट भई विभिन्न मुलुकमा पुगेपछि—बदलिएको विषादग्रस्त जीवनलाई लेखकले आफ्नो कथामा देखाएका छन् । दुई पुस्ताबीचको अन्तरले निम्त्याएको अवस्था कथामा बडो दुःख लाग्दो छ । छोराछोरीले बाबुआमालाई गर्ने कर्तव्य हेरफेर भएका छन् । निरीह माता पिता आफ्नै सन्तानबाट प्रताडित छन् । हिंसा भोगेका छन् । कति कारुणिक छ जीवन । विषम परिस्थितिले जीवनप्रतिको मोह न्यून भई वितृष्णा बढेको छ  । बरु मृत्यु प्रिय लाग्न थालेको छ । पछुतो कथामा वीरबहादुर भक्किानिंदै भन्छ, ‘म मर्न चाहन्छु दाजु ! मलाई किन बचाएको ?’ ऊ आफूलाई बचाएकोमा गुनासो गर्छ । उसले मृत्यु रोजेको थियो तथापि जीवन पाउँछ । मृत्युको तयारीमा ऊ असफल हुन्छ । उसले अमेरिकामा जीवन भेट्दैन । आफूलाई व्यक्त गर्ने भाषा पाउँदैन । उफ् भाषा विहीन भएपछि मानिस कति असहाय हुँदो रहेछ । उसको मनमा भुटान छ, नेपाल छ । तर अमेरिका कहीँ छैन । उसको परिचय खोसिएको छ, आवाज हराएको छ । अज्ञात भयले उसलाई लखेटिरहन्छ । उसको त्रासद मनोविज्ञान भयङ्कर कहालीलाग्दो छ ।

पुनर्वासमा जानु अघि एउटा अनिश्चित आशा थियो—तैपनि देश फिर्न पाइन्छ कि । तर त्यो दिन कदाचित आउँदैन । शरणार्थी क्याम्पका प्रायः अमेरिका, अस्ट्रेलिया लगायतका देशमा गएपछि—नचाहेर पनि पुरानो पुस्ता विवश हुन्छ । भविष्य सपार्न बाबु आमा छोराछोरीसँगै पुनर्वासमा जान्छन् । शुरूमा त उनीहरूलाई एउटा पश्चात्ताप जस्तो पनि हुन्छ समयमा किन गइएन भनेर । सम्पन्न मुलुकमा जान ढिलाइ गरेको अनुभव गर्छन् । उनीहरूलाई अब विपत्को, दुःखको, दरिद्रताको अन्त्य भएको लाग्छ । सुखानुभूति गर्छन् । किन्तु त्यो सुखानुभूति धेरै समय टिक्न सक्दैन । जीवन सोचे जस्तो सरल कहाँ छ र ? तब त चरम निराशाले विक्षिप्त हुन्छन् । अनि उनीहरूको भोलि क्षीण हुँदै जान्छ ।

विपन्नता, अनिश्चितता र अन्योलताबाट एक्कासि समृद्ध मुलुक पुग्दा—छोरा छोरीले सही मार्ग पक्डिन नसक्दाको मार उस्तै चिन्तनीय छ । शुरूका दिनमा प्राप्त सेवा सुविधाले नवपुस्तालाई अकर्मण्य बनाउँछ । कति अनैतिक पथले जेल पुग्छन् । साहित्यकार लामिटारेका कथाले पुनर्वासमा देखिएका यस्तै कठिन समस्यालाई चित्रण गरेका छन् । कतिपय पात्रलाई बाँच्नु नै अभिशाप भएको छ ।

प्रथम तथा तृतीय पुरुषमा निर्मित कथा कति मध्यम त कति दीर्घ आयामका छन् । कति कथा संस्मरण शैलीका, निबन्धका नजिक छन् । जारसँग तीस रात कथा यो अरू भन्दा बेग्लै छ । शीर्षकले नै बताउँछ यसको अभिप्राय । प्रस्तुत कथाका पात्रले भुटानी सरकारको कुनै अत्याचार भोग्नु परेको छैन । ‘बदलिएको कर्तव्य’मा निरङ्कुशता नभोगेका, अपहेलित नभएका, प्रताडनाले विक्षिप्त नभएका पात्रलाई पढ्दा धन्य भएको अनुभूति हुन्छ अर्थात् ती पात्रहरू बडो भाग्यमानी लाग्छन् । भाग्यको खोजी, दोषी संस्कारका पात्र पनि उतिकै सुखी छन् अर्थात् यी पात्रले भुटानी राजाको रुष्टता र यसले सिर्जना गरेको व्यवधान भोग्नु परेको छैन । तानाशाहीको अत्याचार खेप्नु परेको छैन ।

हेर्नु न कति कथाहरू शीर्षक देख्दैमा अत्यास लाग्ने छन् । बलिको बोको त्यस्तै छ । यसमा स्वयं स्रष्टाले देश द्रोहीको अभियोगमा जेल सजाय भोग्दाको भय, त्रास र आतङ्क  छ । भुटानी नेपालीलाई परदेशी तथा गैरभुटानीको दृष्टिले गरिएको तिरस्कार नमज्जा लाग्ने छ । चोरी गर्नु, डाका लाग्नु, मान्छे मार्नु बरु साधारण कुरा छ । तर राजनैतिक कारणले जेल पर्नु त्यति ठूलो अपराध देख्छ तानाशाही शासक । भुटानमा राजनीति गर्नु भनेको कठोर मृत्युवरण गर्नु जस्तै हो लेखक भन्छन्, ‘भुटानको जेलबाट रिहाइ भइन्छ र पुनर्जीवन पाइन्छ भन्ने त बिलकुल आश मरिसकेको थियो । यो देशमा पहिले जति मानिसहरू राजनैतिक अभियोगमा पक्राउ परे, ती कुनै फर्केर घर आएनन् भन्ने सुनेको थिएँ र त्यही त्रासले हामीलाई बढी निराश बनायो (पृ–३६) ।’

कथाकार लामिटारेको एउटा सिद्धान्त छ, मानिसलाई उसको परिस्थितिले, समयले, परिवेशले परिवर्तन गराउन सक्दैन—यदि उसको सोच बदलिँदैन भने । प्रतिशोध कथामा उनले यही थिम बोलेका छन् । उनको पात्र अमेरिका पुगेको छ । उसको देश बदलियो, काम बदलियो, लवाइखुवाइ बदलियो तर ऊ बदलिएन अर्थात् उसको मनोवृत्ति बदलिएन । बाँदरलाई लिस्नु कथा पनि यस्तै अभिप्रायको छ । यस कथामा पात्रको नाम अलिक नसुहाएको लाग्छ । उत्तरआधुनिक जीवन बाँचेको चरित्रलाई प्राचीन समयको नाम दिँदा उति आकर्षक लाग्दैन । उक्त कथामा गुरुप्रसाद मैनालीको कथा पढ्दैछु जस्तो आभास हुन्छ जस्तो कि गुमाने र चामेको नाम सुन्दा । भुटान, नेपाल हुँदै अमेरिका पुगेको—चामेको मनोविज्ञानलाई लेखकले यति सूक्ष्म ढङ्गले दृश्य चित्र उतारेका छन् । चामेको बुझाइमा अमेरिका एकदम उदार छ । युवतीहरू यौनिकताका दृष्टिले अत्यन्तै स्वतन्त्र छन् । ऊ कुनै पनि युवती आफूसँग निकट हुनु, झ्याम्मिनुलाई यौन प्रस्तावको अभिप्रायले बुझ्छ या त उसलाई यौनिक दृष्टिले हेर्दा केही असर पर्दैन गुमानेको बुझाइ छ । आफ्नी केस वर्कर डायनाको मित्रतालाई ऊ त्यसरी बुझ्छ । दुर्व्यवहार गर्छ । अन्ततः हिरासतमा पुग्छ ।

एउटा भूगोल, संस्कृति र परम्परामा बाँचेको मान्छे बसाइँ जाँदा ऊ आफू मात्रै गएको हुँदैन । आफ्नो भाषा संस्कृति पनि सँगसँगै लगेको हुन्छ । बिचल्लीमा बाजे कथाले त्यही कुरा देखाएको छ । पुनर्वासमा अमेरिका पुगेका दुई पुस्ताबीचको दरारलाई देखाउनु अझ प्रथम तात्पर्य रहेको छ ।  यस कथाले अरू पनि धेरै अर्थ राखेको छ । धर्मको नाउँमा हुने गरेको शोषण एउटा अर्थ छ भने अर्को अर्थ छ आफ्नो संस्कार संस्कृतिप्रति नवपुस्ताको वितृष्णा । आफ्नै परम्पराको विरुद्धमा अभियान चलाएका छन् छोरा पुस्ताले । अमेरिकाको भौतिकवादी जीवनशैलीमा छोराहरू—आफ्नो पहिचानमा लघुताभासको अनुभूति गर्छन् । त्यसको क्षतिपूर्ति गर्न उच्च आधुनिक हुने प्रयास गर्छन् । कथामा गहिरो मार्मिकता छ । सुधीर बाजेलाई आफ्नै छोराहरूले गरेको तिरस्कार दुःख लाग्दो छ । धिक्कार लाग्दो छ ।

देश विहीन हुनेहरूको वेदना हामी कदापि अनुभूत गर्न सक्ने छैनौं । आगाले पालेको अनुभव गर्न आगाले नपोली  हुँदैन । पोलाइको वर्णन सुन्दैमा कहाँ त्यो अनुभूति हुन सक्छ र ? ‘बदलिएको कर्तव्य’मा मैले यही अनुभूत गरेँ । कथाले मलाई एकदम संवेदनशील बनायो, पात्रप्रति सहानुभूतिको संवेग तीव्र भयो । तथापि ती पात्रको छेउछाउसम्म म पुग्न सकेँ जस्तो अहँ लागेन । बिरालो ब्याएको गुन्द्रुकले मलाई निकै रन्थन्यायो । झापाको बेलडाँगी शिविरमा घटना घट्छ । देश नहुँदैमा के कोही व्यक्ति—मानिसदेखि तल्लो दर्जाको हुन्छ ? किन उसमाथि तुच्छ व्यवहार गरिन्छ ? यस कथाले नागरिक र अनागरिक बीचको अवस्थालाई देखाएको छ । देश हुनेहरूले देश नहुनेमाथि गरेको अमानवीय व्यवहार सह्य लाग्दैन । उनीहरूको निरीहतामा लाभ लिनेहरूले एक पटक सोच्न आवश्यक छ । समयले उनीहरूलाई शरणार्थी बनाए पनि आखिर उनीहरूको स्वाभिमान कहाँ शरणार्थी भएको छ र ? उनीहरूको संवेदना कसरी शरणार्थी हुन सक्छ ? उनीहरूको इच्छा आकाङ्क्षा खुम्चिए पनि मानिस हुनुको गुण कहाँ साँघुरिएको छ र ? किन बुझ्दैन एउटा मानिसले अर्को मानिसको भावना ? ‘राज्य नहुने र माटो विहीन हुनेले जस्तोसुकै अपमान पनि सहनै पर्दो रहेछ क्यार ! आखिर हामी अहिले राज्य र माटो गुमाएका शरणार्थी त प¥यौँ । मुखले बोल्न सक्ने भए पनि लाटो जस्तो, भात खाए पनि घाँस खाने जस्तो, दुई खुट्टा टेकेर हिँडे पनि चार खुट्टे जनावर जस्तो, सुटेट–बुट्टेट भए पनि असभ्य जस्तो व्यवहार शरण लिएको ठाउँका समाजले गरेको सहनु सिवाय अरू केही गर्न सक्ने विकल्प नहुँदो रहेछ ।’ लेखक भन्छन् ‘मावनभन्दा पृथक् पहिचान र अस्तित्व पाएका अनि दयाको भागीदार नभई केवल घृणा र तिरस्कारको भागीदार रहेछौँ कि ? भन्ने लाग्यो (पृ–७५)।’

कतिसम्म क्रूर हुन्छन्, आततायी हुन्छन्, प्रपञ्चक हुन्छन् यी शासकहरू ?  लामिटारेका कथामा त्यसका केही झलकहरू छन् । सत्यको पराजयमा पनि त्यो झलक छ । बित्थामा पार्टीलाई मद्दत गरेको आक्षेप लगाई पक्राउ गर्छन् रातबिरातमा । अनि चरम यातना भोगाएर अन्ततः ‘म देश छोड्न राजी छु’ भनी बलात् हस्ताक्षर गर्न लगाउँछन् । गुफामा बसेर कति दिन जीवन रक्षा हुन सक्छ ? तब त पुर्खाको थातथलो अनि जिन्दगीभर आर्जिएको यावत कुरा त्यागेर देश निष्कासित हुनुको पीडा कसरी अर्थिन सक्छ र शब्दमा ? तैपनि कथाकारले अर्थ्याउने प्रयास गरेका छन् ।

एक दिन यस्तो समय आउने छ ‘बदलिएको कर्तव्य’ एउटा इतिहास भएर रहने छ । भुटानी राजाको दुष्टता भोगेको पुस्ताको अनुभव—पछिको अर्को पुस्तालाई एउटा इतिहास लाग्ने छ । आउँदो पुस्तामा भाषा, संस्कृति तथा परम्पराको संरक्षणमा लाग्दा शरणार्थी हुनु परेको कुराले त्यति मूल्य नराख्न पनि सक्छ । बिचल्लीमा बाजे जस्तो कथा पढ्दा त्यो अनुमान गर्न सकिन्छ । तर त्यस्तो नहोस् जहाँ गए पनि आखिर पहिचान त आफ्नै भाषा, साहित्य, संस्कृतिले मात्र जोगाउन सक्छ । आफू जस्तो छौँ त्यो हुन छोडेपछि हामीले आफूलाई कसरी चिनाउने, के भनेर चिनाउने ? त्यतिखेर नाम विनाको मान्छे जस्तै हुनेछ भाषा साहित्य, संस्कृति विनाको जाति ।

देश फर्किने अनन्त अभिलाषा गर्दागर्दै पुनर्वासको अभियानले लोभ्याएको भुटानी नेपाली मन बडो जटिल अवस्थामा छ । हिमालको साम्राज्यवादमा त्यस्तै एउटा कठिन मनोविज्ञान छ । भुटानमा छँदा कम्युनिस्ट साम्यवादले निर्देशित हिमाललाई—अमेरिका पुँजीवादी मुलुक लाग्थ्यो । ऊ विरोध गर्थ्यो । तर अमेरिका पुगेपछि उसलाई आफ्नो बुझाइ गलत लाग्छ । कम्युनिस्टले अमेरिकालाई जसरी बुझेका थिए त्यो होइन रहेछ उसलाई लाग्छ । शुरूका दिनमा पुनर्वासको सेवा सुविधा प्राप्त हुँदा उसलाई गर्व लागेको थियो—गौरवशाली देशको नागरिक भएकोमा । जब सुविधा कटौती हुन्छ अनि त उसलाई अमेरिका पुरानै दृष्टिको लाग्छ । असन्तुष्टि देख्न थाल्छ । साम्राज्यवादीको आक्षेप लगाउँछ । जातीय विभेद नदेखिए पनि पनि रङ्ग र वर्गीय आधारमा व्यापक विभेद तथा असमानता रहेको थाहा पाउँछ । गरीब र सर्वहारा वर्गको शोषण गरेर नै अमेरिका शक्ति सम्पन्न भएको ठहर गर्छ । यसरी अमेरिकाप्रति ऊ कृतज्ञ हुन सक्दैन ।

आफू हुनुको अस्तित्व बचाउने अभियानमा लेखक यति धेरै सचेत छन् । त्यही सचेतताको दृष्टान्त हो ‘बदलिएको कर्तव्य’ । आन्दोलन नमस्तेको कथा पढ्दा सामान्य नै लाग्छ । तर यसको मर्म कति गहन छ । यसले जातीय पहिचानको स्वर सुसेलेको छ । अर्को कथा समय चक्रले शरणार्थी हुनुको विवशता अनि त्यसले सिर्जना गरेको निरीहतालाई प्रस्तुत गरेको छ । रहरले होइन विवशताले अस्मिता बिक्री गर्न लाचार दिदी, बहिनी तथा विद्यार्थीको अवस्थाप्रति स्रष्टा अत्यन्तै चिन्तित छन् । अभावले, गरिबीले मानिसलाई कसरी विवश पार्छ ? तर कथाले त्यो दृश्य देखाएको छैन । म पात्रको भावमा, विचारमा, चिन्तनमा त्यो वास्तविकतालाई अभिव्यक्त गरिएको छ ।  आखिरीका दुई कथा अरू भन्दा भिन्नै अभिप्रायमा रचिएका छन् । मनको बाघले कोभिडको आतङ्कलाई देखाएको छ । त्यस्तै अर्को कथा जेसनको विश्वशान्तिले सहिष्णुता र हार्दिकताको आह्वान गरेको छ । यसमा अरू पनि दृष्टिकोण छन् । वैश्विक परिवेशमा निर्मित कथा । यसले वर्तमान समय र सम्बन्धलाई देखाएको छ । अमेरिकी नागरिक जेसन र भारतीय पिल्लाईको दाम्पत्य जीवनलाई—लेखकले जाति धर्म र सम्प्रदायदेखि माथि राखेका छन् । फेरि उनीहरूका छोरा बुहारीमा त्यही अवस्था घटाएका छन् । ज्याक्सन र मुस्लिम जातकी फातुमाको प्रेममा धर्मले, जातले कुनै बाधा गरेको छैन । उनीहरू आआफ्नो आस्था र विश्वासमा चलेका छन् । तर एकले अर्काको विरोध गरेका छैनन् । एउटै घरमा पृथक् पृथक् आस्था र विश्वासका मानिसहरू मिलेर बसेको देखाउनुमा—लामिटारेले विश्व शान्तिको कामना गरेका छन् । मानिस जब साम्प्रदायिक भावले निर्देशित हुन्छ, त्यतिखेर ऊ हार्दिक हुन सक्दैन । स्रष्टाले यही थिम व्यक्त गरेका छन् ।

आजको मानिस विचारले, सिद्धान्तले, वादले, धर्मले अनेक कारणले टुक्रिंदैछ । विभाजित हुँदैछ । मानव हुनबाट टाढिंदैछ । मानवता क्षीण हुँदैछ । क्रूरताले विक्षिप्त छ आजको मान्छे  । धर्मको नाउँमा, जातिको नाउँमा, देशको नाउँमा आततायी भएको छ । त्यसरी मानवता विहीन धर्मको निम्ति लडाइँ गर्नुको के अर्थ ? यस्तो सङ्गीन परिस्थितिमा सहअस्तित्व, सहभावको साहित्य गर्नु अत्यन्तै महान् कुरा हुनेछ । जेसनको विश्वशान्तिले त्यही महानतालाई प्रस्तुत गरेको छ ।

समग्रतामा ‘बदलिएको कर्तव्य’ प्रभावकारी छ । केही भूल, त्रुटि त्यो त भइहाल्छ नै । पूर्ण कोही हुन सक्दैन, पूर्णता केहीमा पाइँदैन । रिक्तता त्यो जन्मिरहन्छ । त्यही रिक्तता भर्ने प्रयास नै त हो आखिर जीवन । अपूर्णबाट शुर भएको जीवन अपूर्णतामै टुङ्गी जान्छ । शायद त्यही बाँकी रहेको अपूर्ण जीवन बाँच्न मानिस फेरि जन्मिने छ । त्यसैले त सृष्टि रोकिएको छैन । पूर्वीय दर्शनशास्त्रमा पुनर्जन्मको जुन अवधारणा छ—यसो सोच्दा ठिकै हो जस्तो लाग्छ । किनकि अपूर्णतालाई पूर्ण बनाउने प्रयासमै त यो जगत् चलेको छ । तथापि पूर्णताको अन्तिम गन्तव्य त फेरि कहीँ भेटिने छैन । कदापि नभेटिने यस्तै पूर्णतालाई नै दैवी शक्ति तथा लीला भनिएको होला, रहस्य भनिएको होला । जे होस् हामी यति बुझौँ कि ! अपूर्णताको विरोध होइन बरु अपूर्णतालाई बोध गर्ने दृष्टि तयार गरौँ ।

क्रूरताले आहत भएका भुटानी शरणार्थीका विषयमा लेख्ने, बोल्ने कुरा धेरै बाँकी छन् । आगामी दिनमा यी कुरा हराएर, मेटिएर, अनुभूतिहरू धमिलिएर जान सक्छन् । समयमै त्यो भावावेगलाई पक्डिन सक्नुपर्छ । दुःखका, पीडाका, अवसादका कुरा लेख्न सक्दा भोलि यिनै कुरा अमर हुनेछन् । भावी सन्ततिलाई पुर्खाको इतिहास हस्तान्तरण गर्नकै लागि पनि यी कुरा लेखिन आवश्यक छ । हजुरहरूको कलम नथाकोस्, नरोकियोस् यही शुभकामना छ ।

अन्त्यमा—साहित्य परिषद् भुटानबाट प्रकाशित ‘बदलिएको कर्तव्य’ ओरिएन्टल पब्लिकेशन हाउस बागबजारमा प्राप्त गर्न सकिन्छ । पृष्ठ १४८ । मूल्य तीन सय रहेको छ ।