नेपाली भाषासाहित्य, कला र संस्कृतिको उत्थानमा सदा समर्पित र सक्रिय संस्था अनेसास कोरिया च्याप्टरले कोरियामा यही फेब्रुअरी १४ तारिख प्रणय दिवस विशेष मुक्तक मेला भव्य रूपले सम्पन्न गरेको छ।

जुम प्रविधिको भर्चुअल माध्यमबाट सम्पन्न सो कार्यक्रममा अमेरिका, बेलायत, क्यानाडा, जापान, नेपाल र कोरियाका स्रष्टाहरूले विशेष वाचकको रूपमा आआफ्ना प्रेमिल मुक्तकहरू वाचन गरेका थिए। अनेसास कोरियाका अध्यक्ष प्रमोद सारंगको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका पूर्व अध्यक्ष रामचन्द्र शर्मा अतिथि रहनु भएको थियो भने विशेष वाचकहरूमा सकुन ज्ञवाली,सुनिल संगम, युवराज भण्डारी, के. बि पारखी, अमृत भट्टराई, रेहित सैजु ‘ विकल्प’, भोजराज घोडासैनी, सुशील अर्याल , ह्यारी बोण्ड , निर्दोष शिव, प्रचण्ड सापकोटा , आरपी सङम र दीपकराज बञाडे रहनु भएको थियो।

विगतलामो समयदेखि अनेसास कोरियाले कविता, गजल र मुक्तक जस्ता सबै विधामा सन्तुलन राखेर विभिन्न साहित्यिक कार्यक्रमहरू गरेको स्मरण गर्दै यस कार्यक्रम पनि नेपाली मुक्तकको विकास र विस्तारमा ईंटा थप्ने नेपाल मुक्तक प्रतिष्ठानका पूर्व अध्यक्ष रामचन्द्र शर्माले बताए भने देशविदेशका प्रखर मुक्तकिला मनहरूका प्रेमिल मुक्तक वाचनले कार्यक्रम भव्य भएको र ऊर्जा प्रदान गरेको अध्यक्ष सारंगले जनाए। च्याप्टरले उपस्थित स्रष्टाहरूलाई सम्मान- पत्र उपलब्ध गराएको छ । च्याप्टर सचिव धीरेन्द्र स्पन्दन संयोजक रहनु भएको उक्त कार्यक्रम च्याप्टरका उपाध्यक्ष लोकराज न्यौपानेले संचालन गर्नु भएको थियो।

नेपाली साहित्यिक संस्थाहरूमा विश्वव्यापी लोकप्रियता हासिल गरेको अनेसासको कोरिया च्याप्टर पछिल्लो समयमा धेरै सक्रिय हुँदै गएको छ र नवीन सोचका कामहरू गर्दै आइरहेको छ । अनेसास कोरियाले विगतका दिनहरूमा भानु जयन्ती, देवकोटा जयन्ती, श्रष्टा –कलाकार सम्मान र हरेक नयाँवर्षमा बृहत् कवि गोष्ठी आदि कार्यक्रमहरू गर्दै आएको छ । साथै, काव्य -सुधाको त्रैमासिक रूपमा अतिथि कवि रचना कार्यक्रम र साप्ताहिक रूपमा विश्वव्यापी रचना वाचन कार्यक्रम सम्पन्न गर्दै आएको छ।