सौल, कोरिया
यही असोज १० गते जुम प्रविधिको माध्यमबाट राष्ट्रकवि माधव घिमिरेको १०२ औँ जन्मजयन्ती विशेष कविता वाचन कार्यक्रम भव्य रूपले सम्पन्न भएको छ । अनेसास कोरिया च्याप्टरको आयोजनाम सम्पन्न सो कार्यक्रममा प्रखर युवा छन्दकविहरूले राष्ट्रकविका अमर कविताहरू र आफ्ना सुन्दर कविताहरू वाचन गरेका थिए ।
राष्ट्रकवि जयन्ती विशेष कविता वाचन कार्यक्रममा चर्चित कवि एवम् छन्द प्रशिक्षक देवी नेपालको प्रमुख आतिथ्य रहेको थियो भने मूर्धन्य कवि कलानिधि दहालको विशिष्ट आतिथ्य रहेको थियो । त्यसैगरी कार्यक्रमको संयोजन तथा सभापतित्व च्याप्टरका अध्यक्ष प्रमोद सारंगको रहेको थियो । कार्यक्रममा च्याप्टरका उपाध्यक्ष आर. एन. अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने महासचिव ह्यारी बोण्डले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।
राष्ट्रकविका अमर रचनाहरू वाचन गर्दै युवा कविहरू क्रमशः सविता बराल, सागर के. सी., संगम संयोग, देवु लुइटेल तथा जनक सन्याललगायतले आफ्ना मौलिक कविताहरू पनि सुनाएका थिए । कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरू क्रमश : देवी नेपाल र कलानिधि दाहालले राष्ट्रकविको लेखनशैली,योगदान तथा जीवनीको उच्च सम्मान गर्दै वहाँहरूले राष्ट्रकविका रचनामा नेपालीपन, राष्ट्रप्रेम, शास्त्रीयता, कोमलता र गेयात्मकतामा रमाउँदै सुक्तीमय सम्प्रेषण गर्ने स्रष्टा रहेका जनाए । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका धरोहर, नेपाली साहित्यको मध्यकालदेखि आधुनिककालसम्म निरन्तर रूपमा जीवनको अन्तिम समयसम्म क्रियाशील रही कविता, गीतिनाटक , कथा,अनुवाद ,लेख, प्रबन्धजस्ता धेरै विधाहरूमा दीर्घसाधना गर्नुभएका नेपाली साहित्यका विराट प्रतिभा हुन् ।
कार्यक्रमका सभापति तथा संयोजक प्रमोद सारंगले राष्ट्रकविका विविध आयाम र विधाबारे चर्चा गर्दै उनका कविता र गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा आयोजकले अतिथि स्रष्टाहरूलाई सम्मान – पत्र अर्पण गरेको थियो। नेपाली भाषासाहित्य, संगीत र कलाको विकास, विस्तार र उन्नयनमा अनवरत सक्रिय संस्था कोरिया च्याप्टरले स्रष्टा सम्मान , भानु जयन्ती, लक्ष्मी जयन्ती , मोती जयन्तीलगायत विभिन्न कविता प्रतियोगिताहरू र सम्मेलनहरू गर्दै आएको छ भने लामो समयदेखि काव्य- सुधा नामक विश्वव्यापी साप्ताहिक रचना वाचन कार्यक्रम सम्पन्न गर्दै आइरहेको छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।