
सौल, कोरिया / अनेसास कोरिया च्याप्टरको आयोजनामा देवकोटा जयन्ती विशेष विश्वकाव्य गोष्ठी भव्य रूपले सम्पन्न भएको छ। कार्यक्रम जुम अनलाइन भर्चुअल माध्यमबाट आज सम्पन्न भएको हो।
कार्यक्रममा अतिथि कविहरू मुकुन्द प्रयास, केजी सुब्बा, युग सर्वनाम, परिविक्रम ममता मृदुल, गौतम मनिष, ज्ञानेन्द्र ब.सिंह, सुलभ अधिकारीलगायतले देवकोटाप्रति श्रद्धा- सुमन व्यक्त गर्दै रचना वाचन गर्नुभएको थियो ।
अनेसास केन्द्रका अध्यक्ष, प्रखर हाइजिन एवम् आख्यानकार प्रकाश पौडेल माइलाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
प्रमुख अतिथि माइलाले देवकोटाका व्यक्तित्व र कृतिबारे प्रकाश पार्नुभयो । त्यसैगरी नेपाली भाषासाहित्यको उन्नयनमा कोरिया च्याप्टरको अथक् योगदानको प्रशंसा गर्नुभयो ।
कोरिया च्याप्टर अध्यक्ष प्रमोद सारंगको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष आर. एन.अधिकारीको संयोजन र महासचिव ह्यारी बोण्डको सञ्चालन रहेको थियो। कार्यक्रममा युवा स्रष्टाहरूलाई सम्मान-पत्र अर्पण गरिएको थियो।
नेपाली साहित्यमा देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिकेको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र पूर्वीय तथा पाश्चात्य दर्शन पाउँदछौँ। महाकवि कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने विराट प्रतिभा हुन् । देवकोटाका कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च मानिन्छ। महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । वि.सं. २०१६ मा उनी शिक्षा मन्त्री हुँदा नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउनु भएको थियो । साथै, नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा पनि उहाँको सक्रिय योगदान थियो ।
नेपाली भाषासाहित्य, संगीत र कलाको विकास, विस्तार र उन्नयनमा अनवरत सक्रिय संस्था कोरिया च्याप्टरले स्रष्टा सम्मान, भानु जयन्ती, लक्ष्मी जयन्ती, मोती जयन्ती लगायतका अवसरमा विभिन्न कविता प्रतियोगिताहरू र सम्मेलनहरू गर्दै आएको छ भने लामो समयदेखि काव्य-सुधा नामक विश्वव्यापी साप्ताहिक रचनावाचन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 










