अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) अन्तर्गत भाषा तथा साहित्य समितिले महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा वृहत भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम कात्तिक १४ गते आइताबर सम्पन्न भएको हो । कार्यक्रममा महाकवि देवकोटाका अमर कृतिहरुमाथि चर्चा गर्नुका साथै सर्जकहरूले देवकोटाको सम्झनामा रचना वाचन पनि गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली भाषा तथा साहित्यका मुर्धन्य व्यक्तित्व प्रा. डा. महादेव अवस्थी प्रमुख वक्ताको रुपमा रहनु भएको थियो । अवस्थीले महाकवि देवकोटाले नेपाली साहित्यमा पुर्याएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।
महाकवि देवकोटाका बारेमा दशकौँ अध्यापन गरेको तथा देवकोटाको व्यक्तित्व तथा कृतित्वमाथि भएका अध्ययन अनुसन्धानमा निर्देशन एवम् समालोचकको भूमिका निभाएको अनुभव संगाल्नु भएका डा. अवस्थीले महाकवि देवकोटा नेपालका तत्कालिन समयका अग्रणी बुद्धिजीवि, दर्शन, अध्यात्मका ज्ञाता रहेका बताउनुभयो ।
अवस्थीले देवकोटाको शाकुन्तल भावना र कल्पनाको उच्च उडानले भरिएको, मुनामदन कवितातत्त्व र आख्यान तत्त्वले पूर्ण भएको विचार व्यक्त गर्नुभयो ।
त्यस्तै, कार्यक्रममा डा महालक्ष्मी अधिकारीले देवकोटासम्बन्धी टिप्पणी प्रस्तुत गर्नुभयो भने इन्सका अन्तर्राष्ट्रिय अध्यक्ष अर्जुन घिमिरेले कार्यक्रमको समीक्षा गर्दै देवकोटाको ऐतिहासिक, भौगोलिक, आर्थिक र सामाजिक देन प्रस्ट्याउनुभएको थियो ।
त्यस्तै, अध्यक्ष घिमिरेले इन्सको राष्ट्रिय समितिहरू विश्वभर निर्माण हुँदै गएको र आगामी दिनमा संस्थाको कार्यक्रमहरू झन् विश्वव्यापी हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा इन्स महिला समितिका अध्यक्ष डा. रेनुका सोलु, जर्मनी राष्ट्रिय कार्य समितिका उपाध्यक्ष मुना कार्कीले शुभकामना व्यक्त गर्नुभएको थियो भने भाषा साहित्य समितिका उपाध्यक्ष शेषकान्त पण्डितले स्वागत गर्नुभएको थियो ।
महाकवि देवकोटाको सम्झनामा अमेरिकाबाट लालगोपाल सुवेदी, नेपालबाट डा.रेनुका सोलु, सीता अधिकारी, विन्दा पराजुली(जापान), विक्रम याक्खा (मलेशिया), शोभा दाहाल (नेपाल), प्रभा पन्त (नेपाल), दुश्यन्त भट्टराई(स्कटल्याण्ड), गंगा भण्डारी( बेलायत), निर्मला न्यौपाने (बेलायत), प्रमोद पाण्डे( नेपाल), विन्दु अधिकारी(स्कटल्याण्ड), दुर्गा भवानी (पपुवा न्युगिनी), प्रतीमा केसी (बेलायत), रोमकान्त सापकोटा(क्यानडा), अनिता घिमिरे (स्कटल्याण्ड )ले रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण इन्स भाषा तथा साहित्य समितिका चैतन्य अधिकारीले गर्नुभएको थियो भने कार्यक्रम समितिकी अध्यक्ष जानुका पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
त्यस्तै, इन्सका केन्द्रीय महासचिव अर्जुन श्रीले प्रविधि संयोजन गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।