मान्छेको जीवनमा यात्रा चराहरू जस्तै विविध हुँदा रहेछन् । भौगोलिक दूरीको यात्रामा म पहाडबाट मधेश बसाई झरें, त्यसपछि देशको सीमा नाघेर उडेको थिएँ दोस्रो मुलुक । कर्मथलोको गुँड बनाएर बचेराहरू हुर्काउँदै अहिले तेस्रो मुलुक पुगेको छु । मेरो पेशागत यात्राको कुरा गर्नु पर्दा–प्रथम सैनिक, अनि मेकानिक, र सुरक्षा अधिकृत हुँदै अहिले वातावरण अधिकृतको रूपमा जागीर खाइरहेको छु । पेशागत यात्रामा आफ्नो ज्यान जसले पनि पाल्छ, र परिवार पाल्ने दायित्व प्राय सबैले बहन गरेका हुन्छन् । यसका अतिरिक्त, मान्छेका आआफ्ना रुचि र आकाङ्क्षा हुन्छन् । कोही राजनीतिक यात्रा तय गर्छन्, कोही बल र ब्याट बोकेर खेलकूद यात्रामा कुद्छन् । कोही मादल र गितार भिरेर साङ्गीतिक यात्रामा रमाउँछन् ।
यदि म हिमाल आरोही भएको भए सगरमाथाको टुप्पो चुम्थें कि ! सामुद्रिक अन्वेषक भएको भए सागरको पिँधमा पुग्थें कि । अन्तरिक्षायात्री बनेको भए मंगलग्रहमा डुलिरहेको हुन्थे कि ।
म भने कलम लिएर साहित्यिक यात्रामा अघि बढ्दैछु ।
यस यात्रामा पाइला चाल्दै जाँदा अग्रजहरूले खनिसकेका थुप्रै गोरेटोहरू भेटिए । मैले पर्यावरण साहित्यको गोरेटो रोजें । पर्यावरण अर्थात संक्षिप्तमा ‘पर्या’। त्यसैले यसलाई हामी पर्या–साहित्य भन्ने गर्छौं । यसलाई वातावरण साहित्य, इको साहित्य, परिवृतीय साहित्य, परिवेश साहित्य पनि भनिन्छ ।
केलाई पर्या–कविता भन्ने ? पर्या–कथा कस्तो हुन्छ ? पर्या–निबन्धको विषय के हुनुपर्छ ? पर्या–साहित्य भनेको के हो ? र पर्या–साहित्यको आवश्यकता र महत्त्व किन त ? भन्ने बारे लेख्दै बोल्दै हिँडेको दुई दशक हुन लागेछ । पर्या–साहित्यको परिभाषा मलाई लाग्छ अब धेरैले बुझिसकेका छन् र म यहाँ पुनः दोहराउन आवश्यक ठान्दिनँ । संक्षिप्तमा के मात्रै भन्छु भने निम्नलिखित विषयहरूमा केन्द्रित रहेर साहित्य कर्म गरिन्छ भने त्यो पर्या–साहित्य हुनेछ–
पर्यानारिवाद, ग्राम्य जीवन र शहरीकरण, जलवायु परिवर्तन, जैविक विविधता, वन फडानी र मरुभूमिकरण,प्राकृतिक सौन्दर्य, विकास र निर्माण, जल/जमीन/वायु प्रदूषण, पर्याधात्मिकता, आदिवासी र पर्यावरणसँगको निकटता, वन्यजन्तु चोरी शिकार, पर्यावरण र राजनीति, हरित अर्थतन्त्र इत्यादि ।
मेरो पर्या–साहित्यको यात्रा अवधिभरि केके उपलब्धि भए, यात्राको यो घडीसम्म आइपुग्दा मैले को कसको साथ पाएँ, अलि पछि वर्णन गर्नेछु । तर अहिले पर्या–साहित्यको यात्रा नै किन रोजे भन्ने विषयमा स्पष्ट पार्न चाहन्छु ।
मैले पर्या–साहित्य नै किन रोजें ?
मैले पर्याविधा नै किन रोजें भन्ने सवालमा एउटा गम्भीर कारण छ । मेरो स्नातकोत्तर वातावरण विज्ञानमा हो । अध्ययनको क्रममा इकोलोजी, जीवविज्ञान, भूगर्वशास्त्र, जलवायु परिवर्तन, वातावरणीय प्रभाव मूल्याङ्कन, वातावरणीय कानून, र अन्य यस्तै विज्ञानका विषयहरूको ज्ञान प्राप्त भयो । विज्ञानले प्रमाणका साथ समस्या र कारक तत्वहरू प्रस्तुत गर्दछ । पर्यावरण क्षयीकरणको प्रमुख कारण मानवीय गतिविधि नै हुन् भनेर विज्ञानले प्रमाणित गरिसकेको छ । प्रकृतिमा विद्यमान वातावरणीय असन्तुलन डरलाग्दो छ । त्यस्ता समस्याले मानव र प्रकृतिमा दूरगामी प्रभाव के कस्तो पार्ला भनेर आकलन गर्न एउटा विज्ञानको विद्यार्थीलाई कुनै भारी बात होइन । स्नातकोत्तर उत्तीर्ण गरिसकेपछि यस्ता ज्ञान केही विज्ञ व्यक्तिमा मात्र सीमित रहेर जगतको भलो हुँदैन भन्ने लाग्यो । चाहन्थे भने म विज्ञानको प्रोफेसर भएर लेक्चर दिंदै हिंड्थे, विज्ञानका पेपर लेखेर जलवायु सम्मेलनतिर पुग्थें । तर अहँ, त्यतातिर ध्यानै गएन, मनै गएन । विज्ञानको ल्याबमा सिकेको ज्ञानलाई साहित्यको मञ्चबाट प्रस्तुत गर्नेतिर बढी रमाएँ । भनिन्छ, विज्ञान मस्तिष्कको कुरा हो भने साहित्य हृदयको । मस्तिष्क र हृदयको फ्युजनमा सिर्जित ज्ञान प्रभावकारी हुन्छ भन्ने लाग्छ मलाई ।
मानव सृष्टिकालदेखि नै हाम्रा गतिविधिहरू प्रायः मानवकेन्द्रित मात्र रहे । प्रकृतिमा मानवीय अतिक्रमण दिनानुदिन बढ्दै गयो । जल, जङ्गल, जमीन, वायु र सम्पूर्ण पृथ्वीको महत्वलाई बुझ्न सकिएन । फलस्वरूप, पर्यावरणीय सन्तुलन गुम्न जाँदा पृथ्वीमा जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास, प्रदूषणजस्ता संकटहरू उत्पन्न हुन थाले ।
हामी प्रायः पृथ्वीलाई केवल मानव जातिको लागि मात्र मान्ने गर्छौं । तर, यो सत्य होइन । पृथ्वी सबै प्राणी र वनस्पतिको साझा फूलबारी हो, र उनीहरूको पनि यहाँ रमाउने हक र अधिकार छ । तिनको अस्तित्वले नै मानव अस्तित्वलाई सुरक्षित राख्छ । त्यसैले हाम्रा दिनदिनैका व्यवहार पर्यावरणमैत्री बनाउन अत्यन्त आवश्यक छ भन्ने जनचेतना फैलाउन मैले साहित्यको साथ लिएको हुँ ।
साहित्य लेखनबाट ठूलठूला सामाजिक, राजनीतिक र लैंगिक परिवर्तनहरू आएका छन् । प्रजातन्त्र र संघीयता लागु भएका छन्, छुवाछूत उन्मुलन हुँदैछ, जातीय/वर्गीय/भौगोलिक पहिचान प्राप्त हुँदैछन्, र नारी अधिकारका विषय कार्यान्वयन भइरहेका छन् । यी त भए मानव केन्द्रित परिवर्तनहरू ।
अब साहित्यले मानवेत्तर जगतमा पनि परिवर्तन ल्याउनु पर्छ । रोग र भोकका मात्र होइन, म रूखका पनि कविता लेखिनुपर्छ भनेर पर्या–साहित्यमा लागेको हुँ । घोडामा चढ्ने राजा महाराजाको मात्र होइन साइकल चढेर फलाम, सीसा, र कागजजस्ता कवाडी सङ्कलन गर्ने केटाको कथा लेख्न म पर्या–साहित्यमा लागेको हुँ । सिंहदरवारका सांसदमा केन्द्रित होइन, राष्ट्रिय निकुञ्जका वन्यजन्तुमा केन्द्रित लेख लेख्न म पर्या–साहित्यमा लागेको हुँ । राजनैतिक, सामाजिक, धार्मिक र ऐतिहासिक विषयका मात्र होइन, वातावरणीय विषयलाई पनि उच्च प्राथमिकता दिंदै नियात्रा, निबन्ध र संस्मरण कोरिनुपर्छ भन्ने मान्यताले म पर्या–साहित्यमा लागेको हुँ । मोती जयन्ती मात्र होइन, माटो जयन्ती पनि मनाइनु पर्छ; भानु जयन्तीको साथसाथै भालु जयन्ती पनि मनाइनु पर्छ भन्ने आह्वानका साथ म पर्या–साहित्यमा लागेको हुँ ।
पर्या–साहित्यमा मेरो अविरल बहावको पछाडि एउटा अर्को प्रेरक प्रसङ्ग पनि छ । त्यो हो प्रा डा गोविन्दराज भट्टराईसँगको गहिरो साहित्यिक सबन्ध । उहाँको उत्तरआधुनिक विमर्श पुस्तकमा ‘इको क्रिटिसिज्म’ भन्ने अध्याय छ । यसमा पर्या–साहित्यलाई सैद्धान्तिकरण गरिएको छ । त्यसमा कोरिएका एकएक हरफहरू नदीका दुई किनार जस्तै बनेर मलाई निर्देशित गर्दै अविश्रान्त बग्न सिकाइरहेका छन् । उहाँको साही-माया मलाई प्राप्त नभएको भए, मेरो पर्या–साहित्यको यात्रा आज यो मोडसम्म आइपुग्ने थिएन ।
* * *
मेरो पर्या–साहित्यको यात्रा
आजसम्मको मेरो पर्या–साहित्य यात्रालाई नियाल्दा पानी जस्तै बग्दै गरेको पाउँछु । साहित्यमा भरखरै पाइला टेक्दै गर्दा, धेरै पहिला एउटा कथासंग्रह ‘थकित पृथ्वी’ जन्माएछु । अहिले सम्झिँदा त्यो पर्या–साहित्यप्रतिको एउटा हुटहुटी थिएछ । त्यसमा विशुद्ध पर्याकथाहरू मात्रै थिएनन् । पर्या–साहित्यप्रतिको उर्लंदो एउटा खहरे रहेछ त्यो । पर्यावरणीय र गैरपर्यावरणीय कथाहरूको दोभान थियो त्यो । पछि विसं २०७८ मा विशुद्ध पर्या–कथासंग्रह प्रकाशन भयो ‘ब्लु प्लानेट’ । यसको अंग्रेजी संसकरण पनि प्रकाशित छ । ‘ब्लु प्लानेट’ले चाहिं पर्या–साहित्यको एउटा खोलालाई नदीमा समाहित गर्न सक्यो भन्ने बोध गराएको छ । कालीगण्डकी नदिमा मर्स्याङ्दी खोला मिसिएजस्तै ।
मेरो नदीरूपी ‘ब्लु प्लानेट’ले राम्रै चर्चा बटुल्यो र यसको गहिराइ, आयतन र बेग के कति छ भनेर नाप्ने काम पनि भैसकेकोछ । यसमा हेमा मेनयाङ्बोले ‘एक्सप्लोईटेसन अफ वुमन एन्ड नेचर’ शीर्षकमा मास्टर डिग्रीको शोधपत्र लेख्नुभएको छ (विसं २०८१) ।
त्यसअघि महेन्द्र न्यौपानेले एम फिल अध्ययनको क्रममा ‘ब्लु प्लानेट कथा संग्रहमा पर्यावरण र मानवीय क्रियाकलाप बीचको सम्बन्ध’ शीर्षकमा लघु अनुसन्धान गर्नुभएको छ (विसं २०७९) । त्यसैगरी डा. माधव प्रसाद दहालले विद्यावारिधि यस भित्रका दुई कथाहरू ‘पर्यावरण सहिद’ र ‘गैंडालाई चार वर्ष’लाई लिएर– वातावरण अभियानकर्ताले प्राकृतिक स्रोत र वन्यजन्तुलाई व्यापारीकरण गरिँदा प्रतिवादको कस्तो रणनीति अँगालेका छन् भन्ने विषयमा अध्ययन गर्नुभएको छ । यति मात्र हैन, यसभित्रका १५ वोटा कथामा छुट्टाछुट्टै पन्ध्रजनाले समीक्षात्मक टिप्पणी लेख्नुभएको छ ।
हालै आएर रञ्जना पोख्रेलले त्रिभुवन विश्वविद्यालयबाट आफ्नो दर्शनाचार्य-विद्यावारिधि अध्ययनमा ‘विजय हितानका कथामा पर्यावरण’ शीर्षकमा शोधकार्य अघि बढाएकी छिन् ।
त्यसैगरी पर्या–साहित्य कोर्ने र कोर्न लगाउने हतारमा ‘इको उत्सर्जन’ निबन्धसंग्रह पनि नेपाली साहित्यकाशमा खहरे खोलाको बाफ जस्तै उडाएछु (विसं २०७३)। अर्को पृथ्वी चाहिएको छ, हरियो मन संसारको धन, धर्मपुत्री बाघ र म बाजर, जलवायु सम्मेलन र मेरो संलग्नता जस्ता शीर्षक सितका आधा जति पर्या–र बाँकी गैरपर्या–निबन्धहरूको संग्रह थियो त्यो ।
पर्यावरण साहित्य गर्ने छटपटीमा धेरै पहिला कवितासंग्रह ‘बाग्मती ब्लुज’ (विसं २०७३) प्रकाशन गरेर खहरेजस्तै उर्लेछु । यो पनि विशुद्ध पर्या–कवितासंग्रह थिएन । आधा उसो पर्या–र बाँकी प्रेमिल, पारिवारिक, सामाजिक, राष्ट्रिय र युद्ध संवेदनाका वाफ छोड्ने पानीका थोपा थिएछन् ।
यस पालि (विसं २०८२) एउटा पर्या–निबन्ध संग्रह पनि प्रकाशन गरेका छौं- प्रथम नेपाली पर्या–निबन्ध संग्रह । विश्वव्यापी पर्या–निबन्ध प्रतियोगिता आयोजना गरी उत्कृष्ट ३२ निबन्धलाई पुस्तकको रूप दिएका हौं । यो प्रा. डा. गोविन्दराज भट्टराई र मेरो युगल कृति हो ।
पर्या–साहित्यको यात्रामा म नदीजस्तै बग्दै यहाँसम्म आइपुगेकोछु । ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भनेजस्तै नदीको लक्ष्य त समुद्र हुँदै सागरमा मिल्नु हो । हालै विशुद्ध पर्यावरणीय विषय मात्रै समेटिएको कवितासंग्रह ‘मलाई आर्यघाट लगेर नजलाउनु’ लिएर पाठकसामु बग्दै आएको छु । आशा छ, साहित्यको यस नवीनतम जलप्रवाहमा यस कृतिले अरूलाई पनि बग्न सिकाउनेछ । निर्माणाधीन पर्या–साहित्यको घरमा यसले एउटा ईंटा थप्ने काम गर्नेछ ।
* * *
मेरो पर्या–साहित्यको अभियान
प्रभावकारी रूपमा परिवर्तन आउन कुनै पनि सिद्धान्त र दर्शनलाई मासले अवलम्बन गर्नपर्छ । यही मान्यतालाई मनन गर्दै पर्या–साहित्यलाई अभियानको रूपमा अगाडि बढाएको हुँ । पर्या–साहित्यको मेरो यात्रालाई फर्केर हेर्दा त्यति बेला चालेका पाइला सङ्घर्षपूर्ण रहेछन् । शुरूवात भन्ने कुरा कहाँ पो सहज हुन्छ र । जन्मेपछि बालकलाई पहिलो पाइला चाल्न जति गाह्रो हुन्छ, मलाई त्यस्तै भएको थियो । नेपाली साहित्यको भूगर्भ छिचोल्दै, पर्या–साहित्यको अभियानमा, मूल फुटाएर निस्कने प्रयास हो मेरो । त्यो एउटा स्यानो मूलमा अहिले धेरै कुलो, खहरे र खोलाहरू मिसिएर नदी बनेको छ । ती भनेका, पर्या–साहित्यको श्रीवृद्धिका लागि स्थापित संघसंगठन, अभियान र लेखनहरू हुन् । जसरी पाइलाको डोब मेटिँदै जान्छन्, त्यसरी नै ती विगत सम्झनाको तरेलीबाट विलीन हुँदै जाँदारहेछन् । तथापि स्मरण गर्दै केहीलाई मेरा प्रिय पाठकसामु प्रस्तुत गर्ने आज्ञा चाहन्छु ।
संयुक्त राष्ट्रसंघको तत्वधानमा प्रत्येक वर्षको जून ५ मा विश्व वातावरण दिवस मनाइन्छ । बेल्पाली (बेलायती नेपाली) समुदायबिच सन २००९ देखिनै मैले वातावरण दिवस मनाउन विभिन्न गतिविधिको संयोजन गर्दै आएको थिएँ । कहिले वृक्षारोपण, कहिले किशोरकिशोरी बीच प्रश्नउत्तर प्रतियोगिता र अन्तरक्रिया, त कहिले बि.एफ.बि.एस. गोर्खा रेडियोमा वातावरणीय फोन–इन कार्यक्रम गरी यो दिवस मनाइन्थ्यो । म जताजता साहित्यिक कार्यक्रमहरूमा पुग्थेँ, त्यहाँ पर्या–कविता मात्रै वाचन गरेर सुनाउँथेँ । भानु जयन्तीमा पुगेर वाचन गर्ने गर्थें–
भानु तिम्रा रम्घा गाम, शहर बजार बनी सक्या
पक्की बाटो ल्याउन लाई, पाखा पखेरा खनी सक्या
सुन्दर पहाडको छाती चिरी, मोटर गाडी गुड्न थाल्या
बुँकी पैयुँ फुल्ने भेकमा, धुवाँ धुलो उडन थाल्या…….
लक्ष्मी जयन्तीमा पुगेर वाचन गर्नेगर्थें–
स्यानो तिल जत्रो आईभोरी, माला घाँटीमा झुन्डाउन
बडेमानको पहाड जत्रो हात्ती, ढालिन्छन् माझ जङ्गल
जरुर साथी हामी पागल
यस्तै छ हाम्रो हाल …..
दुःख पिडा, मानवीय संवेदना, प्रेम, नारीवादि र राष्ट्रवादी कविता सुन्दै आइरहेका स्रोताले, यसको पृथकपनाले होला, मेरा पर्याकवितालाई रुचाउन थाले । कविता मार्फत वातावरणीय चेतना दिलाउनु मेरो प्राथमिक उद्देश्य हुन्थ्यो भने अरूले पनि पर्यासृजना रचून् भन्ने दोस्रो उद्देश्य । केही वर्षसम्म यसरी हिंड्दा हिंड्दै पृथ्वीको बिग्रँदो पर्यावरण र पर्यावरण साहित्यप्रति मानिसहरूमा चेतनाको मूल फुटिसकेको पाएँ ।
सन २०१३ मा हामीले अर्थ आवरलाई पारेर साहित्यिक कार्यक्रम गर्यौं । यो मेरो पर्या–साहित्य अभियानको क्षेत्रमा प्रारम्भिक काल थियो । यतिखेर विश्व नेपाली साहित्य महासंघ (विनेसाम)का केन्द्रीय अध्यक्ष विश्वासदिप तिगेलासँग मेरो भेट भैसकेको थियो । उक्त अर्थ आवरको कार्यक्रममा उपस्थित भैदिएर तिगेलाले मेरो आन्दोलनप्रति ऐक्यबद्धता जनाएर यसलाई साथ सहयोग दिने वचन दिए । सन् २०१४ मा डा. रुपक श्रेष्ठ, सुमल कुमार गुरुङ र लारासँग भेट भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतद्वारा आयोजित भानु तथा मोती जयन्ती जस्ता कार्यक्रममा सहभागी भएर मैले पर्या–कविता सुनाउने र पर्या–साहित्यको आवश्यकताबारे बोल्न थाले ।
यसै सिलसिलामा बेलायतको पुरानो साहित्यिक संस्था नेपाली साहित्य बिकाश परिषद्का पदाधिकारीहरू हरिसिङ थापा, सुरेशजंग शाह, कोमल मल्ल, ध्रुव केसीसँग मिलन भयो । त्यसैगरी साहित्य चौतारीका संयोजक वाशु शर्मा र साहित्य संगमका संयोजक विनोद अधिकारीसँग पनि मेरो आत्मीयता बढ्यो । नारायण गाउँले र दुर्गा प्रसाद पोखरेलजस्ता साहित्यका विद्यार्थीसँग मित्रताको गाँठो कसियो । सन् २०१५ सम्म आइपुग्दा नपुग्दा बेलायतमा पर्या–साहित्यिक सञ्जाल बृहत रूपमा फैलिन शुरू भएछ ।
पहाडका कान्लातिर उर्लंदो एउटा खहरेले बेसीमा बग्ने खोलाको रूप लिँदै गरेको आभास हुन थाल्यो ।
यति धेरै मित्रहरूको साथले मलाई अब वातावरण साहित्यमा केही गर्ने प्रेरणा दियो । त्यसपछि विश्व वातावरण दिवसलाई पारेर वातावरण साहित्य गोष्ठीआयोजना गर्ने विचारको जन्म भयो । सो योजना अनुसार सन २०१६ जून ४ का दिन लण्डनमा प्रथम वातावरण साहित्य गोष्ठी आयोजना गरियो । यसलाई नै मेरो पर्या–साहित्य यात्राको इतिहासमा संस्थागत रूपमा गरिएको पहिलो कार्यक्रम मान्न सकिन्छ । बेलायतका तत्कालीन ७ साहित्यिक संस्थाहरूको सहआयोजनमा यो कार्यक्रम सम्पन्न गिरिएको थियो । ‘वन्यजन्तु र चोरी सिकारी’ कार्यक्रमको नारा थियो । कार्यक्रममा उपस्थित हुनेहरूलाई हरियो पहिरनमा उपस्थित भैदिन आह्वान गरिएको थियो ।
सन २०१७ मा, वरिष्ठ साहित्यकार डा. दुबसु क्षेत्री नेपाली राजदूतको रूपमा आउनुभयो । उहाँको बेलायत आगमनले नेपाली साहित्यमा मात्रै हैन पर्या–साहित्यमा पनि नयाँ उत्साह पैदा गरायो । पर्या–साहित्य अभियानमा हातेमालो गर्ने संस्थाहरू थपिएर बाह्र पुगे । ती थिए– एन आर एन युके भाषासाहित्य विभाग, विनेसाम साउथ युके, अनेसास बेलायत, अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, नेपाली साहित्य विकास परिषद्, नेपाल मुक्तक प्रतिष्ठान, समकालीन साहित्य प्रतिष्ठान, साहित्य चौतारी, साहित्य सङ्गम, प्रवासी नेपाली साहित्य समाज, साहित्य सँगालो डट कम, प्रतिभा प्रतिष्ठान । त्यसै अनुरूप, २०१७ जून ४ का दिन लण्डनमा ‘प्रकृतिसँग नजिक’ नारासहित बाह्र संस्थाहरूको संयुक्त आयोजनामा दोस्रो वातावरण साहित्य गोष्ठी सम्पन्न भयो । वातावरण साहित्यका ती दुई प्रारम्भकालीन संगोष्ठीको साथै त्यसपछिका शृङ्खलालाई चरणबद्ध रूपमा यहाँ प्रस्तुत गरेको छु ।
१. जुन २०१६, प्रथम वातावरण साहित्य गोष्ठी, लन्डन । सर्वोत्कृष्ट पर्याकवि सन्तोष कार्कीलाई पुरस्कार स्वरूप लालीगुराँसको फूल र प्रमाणपत्र प्रदान । लालीगुराँसको फूललाई सभापति; र बाघ, गैंडा, हात्ती, चिम्पान्जीजस्ता लोपोन्मुख वन्यजन्तुका खेलौना प्रमुख अतिथि । विशेष अतिथि साहित्यकार कविताराम श्रेष्ठ । लाराद्वारा कार्यक्रमको सहजीकरण ।
२. जुन २०१७ दोस्रो वातावरण साहित्य गोष्ठी, लन्डन । सर्वोत्कृष्ट पर्याकवि दुर्गा प्रसाद पोख्रेललाई पुरस्कार स्वरूप लालीगुराँसको फूल र प्रमाणपत्र प्रदान । लालीगुराँसको फूल सभापति, राजदूत डा दुबसु क्षेत्री प्रमुख अतिथि, मिस युके नेपाल टेनीशा राना र साहित्यकार कृष्ण पहारी विशेष अतिथि । जानुका राईद्वारा कार्यक्रमको सहजीकरण ।
३. जुन २०१८, तेस्रो वातावरण साहित्य गोष्ठी, लन्डन । सर्वोत्कृष्ट पर्याकवि लाहाङ् चेमजोङलाई पुरस्कार स्वरूप लालीगुराँसको फूल र प्रमाणपत्र प्रदान । लालीगुराँसको फूल सभापति, राजदूत डा. दुबसु क्षेत्री प्रमुख अतिथि र गीतकार भावेश भुमरी विशेष अतिथिको हातबाट पर्याकविता संग्रह ‘स्वच्छन्द सुसेलीहरू’ विमोचन ।
४. जुन २०१९, चौथो वातावरण साहित्य गोष्ठी, लन्डन । सर्वोत्कृष्ट पर्याकवि अहिल्या कुँवरलाई पुरस्कार स्वरूप लालीगुराँसको फूल र प्रमाणपत्र प्रदान । लालीगुराँसको फूल सभापति, प्रमुख अतिथि राजदूत डा. दुबसु क्षेत्री ।
५. जुन २०२०, दुई दिवसीय पाँचौँ वातावरण साहित्य गोष्ठी, बेलायतबाट भर्चुअल । पहिलो दिन प्रा डा गोविन्दराज भट्टराई प्रमुख अतिथि, साहित्यकार ज्ञानबहादुर क्षेत्री विशेष अतिथि । दोस्रो दिन राजदूत डा. दुबसु क्षेत्री प्रमुख अतिथि, प्रा डा खगेन्द्रप्रसाद लुइँटेल विशेष अतिथि । जित रानाभाटको सहजीकरण । सर्वोत्कृष्ट दुई कवि देवेन्द्र उपाध्याय (आसाम) र गणेश राई (काठमाडौं) लाई जनही रु १०,००० पुरस्कार र प्रमाणपत्र प्रदान ।
६. जुन २०२१, दुई दिवसीय छैठौं वातावरण साहित्य गोष्ठी, बेलायतबाट भर्चुअल । पहिलो दिन प्रा डा खगेन्द्र प्रसाद लुइँटेल प्रमुख अतिथि र पर्याकविता संग्रह ‘स्वच्छन्द सुसेलीहरू २’ विमोचन । दोस्रो दिन प्रा डा गोविन्दराज भट्टराई प्रमुख अतिथि र डा देबेन सापकोटाको पर्याकविता संग्रह ‘परिश्रान्त पृथ्वी’ विमोचन । दुबै दिन पर्यावरणीय मुक्तक वाचन । सर्वोत्कृष्ट पर्या–मुक्तककार सीता भण्डारी कणेल र सयपत्री थुलुङलाई जनही रु १०,००० पुरस्कार तथा प्रमाणपत्र प्रदान ।
७. जुन २०२२, सातौं वातावरण साहित्य गोष्ठी, बेलायतबाट भर्चुअल । विनेसाम साउथ यूकेको आयोजना । कवि विमला तुम्खेवा प्रमुख अतिथि, समालोचक डा गीता त्रिपाठी विशेष अतिथि । अमित थेबेको सहजीकरण । थिर थापाको संयोजनमा निर्मित आठ वटा इको गीतहरूको गीतिसंग्रह सार्वजनिकीकरण ।
८. जुन २०२३, आठौं वातावरण साहित्य गोष्ठी, काठमाडौँ । विनेसाम केन्द्रको आयोजना । प्रा डा गोविन्दराज भट्टराई प्रमुख अतिथि । वर्षभरि साहित्य पोस्टमा प्रकाशित पर्या–कविताहरूमध्ये विप्लव ढकाल प्रथम, वासुदेव अधिकारी दोस्रो र कृष्ण बाउसे तेस्रो । रु १५,०००, १०,००० र ५,००० पुरस्कार र प्रमाणपत्र प्रदान । प्रा डा गोविन्दराज भट्टराई र मेरो सम्पादनमा प्रकाशित ‘पर्यासहित्यः सिद्धान्त र सिर्जना’, कृष्ण बाउसेको ‘पर्या–प्रेमको गुञ्जन’, डा. देवेन सापकोटाको ‘पृथ्वीका सुस्केराहरू’ र मेरो ‘ब्लु प्लानेट’ (अंग्रेजी संस्करण) विमोचन ।
९. जुन २०२४, नवौं वातावरण साहित्य गोष्ठी, बेलायतबाट भर्चुअल । विनेसाम केन्द्रको आयोजना । केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशिको अध्यक्षता । वरिष्ठ साहित्यकार सरुभक्त प्रमुख अतिथि, प्रा डा गोविन्दराज भट्टराई विशेष अतिथि । साहित्यपोस्टमा वर्षभरि प्रकाशित पर्या–कविताहरूमध्ये किशन पौडेल प्रथम, समिप वैरागी दोस्रो, र भारती न्यौपाने तेस्रो । जनही रु १५,०००,१०,००० र ५,००० पुरस्कार र प्रमाणपत्र प्रदान ।
१०. मे २०२५, दशौं वातावरण साहित्य गोष्ठी, काठमाडौँ । नेपाली पर्या–साहित्य प्रतिष्ठानको आयोजनामा विश्वव्यापी पर्या–निबन्ध प्रतियोगिता । पर्या–निबन्धको पुस्तक ‘प्रथम पर्या–निबन्ध संग्रह’ लोकार्पण । प्रथम- भवानी खतिवडा, दोस्रो- हरिबोल काफ्ले, र तेस्रो- गोविन्द गोपाल खतिवडालाई जनही रु ५०,०००, ४०,००० र ३०,००० पुरस्कार तथा प्रमाणपत्र । उत्कृष्ट ३२ लाई प्रोत्साहन स्वरूप जनही रु २,००० प्रदान ।
सन २०२५ सम्म आइपुग्दा वातावरण साहित्य गोष्ठीको दशौं शृङ्खला सम्पन्न भैसकेको छ । पाँचौँ, छैठौं, र सातौं शृङ्खला कोरोना महामारीको कारणले अनलाइन मार्फत गर्नु परेको थियो । तर त्यो भर्चुअल माध्यम पर्या–साहित्यले व्यापकता पाउने प्रमुख कारण बन्यो । कोरोनाकालपूर्व तिरतिरे धारोको रूपमा झर्दै गरेको पर्या–साहित्य कोरोनापश्चात् झरझर झरनाजस्तै झर्न शुरू गरेको महसूस गरेको छु ।
यसलाई अधिकांश रूपमा पर्या-साहित्य भनिने तर यो शृङ्खलाबद्ध रूपमा गरिएको कार्यक्रमलाई किन वातावरण साहित् गोष्ठी भनिएको भनेर कतिलाई जिज्ञासा लाग्न सक्छ । पहिलो चोटि यो कार्यक्रमको आयोजना गर्दा आयोजक साथीहरू सबैबाट ‘वातावरण साहित्य’ नामकरण गरिएको र त्यसै नाममा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको, त्यही नाममा समाचार तथा पुस्तकहरू प्रकाशन गरिसकेको हुनाले वातावरण साहित्यकै नाममा यो कार्यक्रमलाई निरन्तरता दिइँदै आइएको हो । वातावरण साहित्य वा पर्यावरण साहित्य वा पर्या–साहित्य जे भने पनि एउटै हो भनेर यहाँ प्रष्ट पार्न चाहन्छु ।
यी त भए साङ्गठनिक ढङ्गले वर्षैपिच्छे गरिँदै आइएका पर्या–साहित्यका कार्यक्रमहरू । यी बाहेक रेडियो र टेलिभिजनमा गएर, पोडकास्ट र सामाजिक सञ्जालमा जोडिएर, पत्रपत्रिकामा लेखेर पर्या-साहित्यको आवश्यकता र महत्वबारे आफ्नो धारणा राख्दै आएको छु ।
मेरो प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नता, सरसल्लाह र आर्थिक प्रायोजनमा वातावरण संरक्षणार्थ चेतनामूलक र पर्या-साहित्यका अन्य धेरै गतिविधिहरू पनि भएका छन् । ती कार्यक्रम प्रायजसो अर्थ आवरलाई पारेर गरिन्थ्यो जो निम्नानुसार छन् । (अर्थ आवर विश्व वन्यजन्तु संरक्षण कोष (WWF) ले प्रत्येक वर्षको मार्च महिनाको अन्तिम शनिवार आयोजना गर्ने अन्तरराष्ट्रिय स्तरको वातावरणीय कार्यक्रम हो ।)
१. मार्च २०१४, अर्थ आवरलाई पारेर फक्सटन नेपाली समाजको आयोजनामा ‘पृथ्वीलाई एक साँझ’ नामक साहित्यिक तथा साङ्गीतिक साँझ; फक्सटन, युके ।
२. जुन २०१४, विश्व वातावरण दिवसलाई पारेर नेपाली प्रतिभा प्रतिष्ठान र विनेसाम केन्द्रसँग सहकार्य गर्दै इको कविता वाचन; सेरिडन, फक्सटन, युके ।
३. मार्च २०१५, अर्थ आवरलाई पारेर नेपाली प्रतिभा प्रतिष्ठान र विनेसाम केन्द्रको संयुक्त आयोजनामा वातावरण साहित्य गोष्ठि; फक्सटन, युके ।
४. मार्च २०१६, अर्थ आवरलाई पारेर विनेसाम केन्द्र र केन्ट कलमको संयुक्त आयोजनामा पर्यावरणीय साहित्य गोष्ठी; आशफोर्ड, युके ।
५. मार्च २०१७, अर्थ आवरलाई पारेर विनेसाम साउथ युकेको संयोजनमा नेपालमा पर्या-कविता प्रतियोगिता । बि.एफ.बि.एस गोर्खा रेडियो काठमाडौंबाट स्टेशन म्यानेजर विनोद खड्काको साथमा लाइभ प्रोग्राम गर्दै उत्कृष्ट तीन पर्याकवि बन्दना राई, प्रज्वल अधिकारी, र पवित्रा राईलाई जनही रु १२,०००, १०,००० र ८,००० पुरस्कार साथै प्रमाण पत्र प्रदान ।
६. नोभेम्बर २०१८, मेरो आफ्नै संयोजनमा इको पोएट्रि विमर्श; आराधना क्याफे, बागबजार, काठमाडौं ।
७. मार्च २०१९, अर्थ आवरलाई पारेर विनेसाम साउथ युकेको आयोजनामा स्थानीय अंग्रेज कविहरूलाई समेट्दै इको कविता वाचन । बि.एफ.बि.एस. गोर्खा रेडियोका स्टेशन म्यानेजर योगराज राई प्रमुख अतिथि; आशफोर्ड, युके।
८. मार्च २०२०, अर्थ आवरलाई पारेर विनेसाम साउथ युकेको आयोजनामा स्थानीय स्तरमा इको सृजना वाचन, कोरोना महामारीको कारणले भर्चुअल माध्यमबाट; आशफोर्ड/फोक्सटन, युके ।
९. मार्च २०२१, अर्थ आवरलाई पारेर विनेसाम साउथ युकेको आयोजनामा अन्तर्राष्ट्रिय स्तरमा इको गीत वाचन तथा गायन । विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी प्रमुख अतिथि; बेलायतबाट भर्चुअल ।
१०. अगस्ट २०२१, मेरो आफ्नै संयोजनमा अन्तर्राष्ट्रिय स्तरको पर्यावरण साहित्य विमर्श,बेलायतबाट भर्चुअल ।
११. सेप्टेम्बर २०२१, स्वतन्त्रता सङ्ग्रामी प्रसाद सिंह सुब्बा अकादमीको आयोजना र क्षत्रमान सुब्बाको संयोजनमा पर्यावरण साहित्य र समालोचना । म, ज्ञान बहादुर क्षेत्री, प्रा. डा.गोविन्दराज भट्टराई, डा. देवचन्द्र सुब्बा विशेष वक्ताको रूपमा उपस्थित; असम, भारतबाट भर्चुअल ।
१२. मार्च २०२२, पाठक मञ्च बुटवलको आयोजना, र माधव गौतम र गिरि श्रिशको संयोजनमा ‘पर्या–साहित्य संवाद’; चिया चौतारी, बुटवल ।
१३. मार्च २०२२, जरोटुप्पो साहित्य समाजको आयोजना र प्राध्यापक दीपक पराजुलीको संयोजनमा कथासंग्रह ‘ब्लु प्लानेट’को बिमर्श; प्राध्यापक कल्यान पन्तको समालोचनात्कम टिप्पणी; पोखरा ।
१४. अप्रिल २०२२, मेरो र डा गीता त्रिपाठीको संयोजनमा ‘पर्या–साहित्य लेखनका सन्दर्भमा ब्लु प्लानेट’ अन्तरक्रिया, काठमाडौँ ।
१५. अप्रिल २०२२, स्वतन्त्रता सङ्ग्रामी प्रसाद सिंह सुब्बा स्मृति प्रतिष्ठान र विश्वनाथ कलेजको संयुक्त आयोजनामा, ‘साहित्य र जीवनमा नवचेतना’ कार्यक्रम । मैले ‘पर्या–साहित्यः आजको आवश्यकता र महत्त्व’ विषयक प्रवचन; असम, भारत ।
१६. अप्रिल २०२२, नेपाली प्रकाशन परिषद्को आयोजना र डा देवेन सापकोटाको संयोजनमा, ‘पर्या–साहित्यः ब्लु प्लानेट र परिश्रान्त पृथ्वी’, विषयक संवाद; गुवाहटि, भारत ।
१७. जुन २०२२, विश्व वातावरण दिवसलाई पारेर विनेसाम साउथ यूकेको सहकार्यमा बुटवल, पोखरा, र असममा तीन छुट्टाछुट्टै कार्यक्रम सम्पन्न ।
क. रामचन्द्र श्रेष्ठ र माधव घिमिरेको संयोजन र पाठक मञ्च बुटवलको आयोजनामा ‘वातावरण संरक्षणमा स्थानीय चुनौती’ विषयक निबन्ध प्रतियोगिता । उत्कृष्ट पाँच विद्यार्थीहरू कसिस पाठक, पूजा क्षेत्री, स्नेहा पोखरेल, समिर पन्थ र ज्ञानबहादुर गाहालाई जनही २,००० रुपैयाँ र प्रमाणपत्र प्रदान ।
ख. प्राध्यापक दिपक पराजुलीको संयोजनमा पृथ्वीनारायण क्याम्पस पोखरामा कानून विषयमा अध्ययनरत विद्यार्थीहरूमाझ ‘पर्यावरणमैत्री शिक्षा आजको आवश्यकता’ विषयमा वक्तृत्वकला प्रतियोगिता । प्रथम संकल्प कुँवर, दोस्रो कुशल नेपाल, तेस्रो राम बाबु दासलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान ।
ग. डा. देवेन सापकोटाको संयोजन र देउराली साहित्य सामाजिक मञ्च गुहावटी र इन्द्रेणी प्रकाशन असमको संयुक्त आयोजनामा ‘पर्यावरणीय साहित्य परिचर्चा र कविता प्रतियोगिता’। प्रथम नैना अधिकारी, दोस्रो भिष्म अधिकारी, तेस्रो मनिषा दाहाल र लोकनाथ शर्मालाई क्रमशः रु ७,०००, रु ६,०००, रु ५,००० पुरस्कार र प्रमाणपत्र प्रदान । प्रतियोगी कविताहरूको संग्रह ‘असमेली पर्यावरणीय कविता’ प्रकाशन; गुहावटी, भारत ।
१८. अगस्ट २०२२, ग्लोवल भुटानिज लिटरेचर ओर्गनाईजेसनको आयोजनामा सम्पन्न बृहत अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान–५ मा ‘पर्यावरण, समाज र साहित्य’ सत्र । म, प्रा डा गोविन्दराज भट्टराई र सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङ् वक्ताहरू, प्रदिप परियार थापाद्वारा सहजीकरण; हेरिसबर्ग, अमेरिका ।
१९. फेब्रुवरी २०२३, डवली सृजना वाचन युएईको आयोजना र जे. सागरको संयोजनमा ‘पर्या–साहित्यः आवश्यकता र महत्त्व’ विमर्शमा म वक्ताको रूपमा उपस्थित; दुबई ।
२०. मार्च २०२३, अमन प्रताप अधिकारीद्वारा निर्देशित ‘पोएट आइडल’मा म अतिथि निर्णायकको रूपमा उपस्थित, पर्या–साहित्यको आवश्यकता बारे बोल्दै पर्या–कविता वाचन, काठमाडौं ।
२१. मार्च २०२३, अखिल नेपाल लेखक संघको आयोजना र कवि स्वप्निल स्मृतिको संयोजनमा, ‘पर्या–साहित्य अन्तरक्रिया’, म वक्ताको रूपमा उपस्थित, प्रगती राईद्वारा टिप्पणी; काठमाडौं ।
२२. अप्रिल २०२३, अंग्रेजी विभाग, महेन्द्र बहुमुखी क्याम्पसको आयोजना र डा रामजी तिमल्सिनाको संयोजनमा, ‘पर्या–साहित्य विमर्श’। म वक्ताको रूपमा उपस्थित, प्राध्यापक अस्मिता बिष्टले कथासंग्रह ‘ब्लु प्लानेट’मा समालोचनात्मक टिप्पणी, धरान ।
२३. मे २०२३, रोल्पा सिर्जना महोत्सवमा ‘पर्यटन, पर्यावरण र साहित्य’ को सत्र । म, पर्यापर्यटन अभियन्ता बालकुराम पुन, र वोडा अध्यक्ष मित्रलाल गुरुङ् वक्ताको रूपमा; दिप डाङ्गी सहजकर्ता, रोल्पा ।
२४. जुन २०२३, असार पन्द्रलाई पारेर शिल्पी थिएटरको आयोजना; म, कवि प्रज्वल अधिकारी र नाट्यकर्मी युवराज घिमिरेको संयोजनमा ‘पर्या–कविता साँझ’, काठमाडौँ ।
२५. जुलाई २०२३, काठमाडौँ फरेष्ट्रि कलेजको आयोजना र डा हिमलाल श्रेष्ठको संयोजनमा, ‘२१०औं भानु जयन्ती तथा पर्या–साहित्य विमर्श’। म र डा रोशन शेरचन वक्ता, काठमाडौं ।
२६. सेप्टेम्बर २०२३, कालिङ्गा लिटरेचर फेस्टिभलमा मद्वारा ‘पर्यावरण र साहित्य’ सत्रको संयोजन र सहजीकरण । मिस नेपाल श्रृच्छा प्रधान, प्रा. डा. रेजीना मास्के, चितवन राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत दिल पुन वक्ताहरू, काठमाडौं ।
२७. नोभेम्वर २०२३, दोस्रो दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक मेलामा ‘पर्यावरण र साहित्य’ सत्र; म, निबन्धकार डा रोशन सेरचन, र पत्रकार रमेश भुसाल वक्ताहरू, पत्रकार दिपक सापकोटाको सहजीकरण; काठमाडौँ ।
२८. डिसेम्बरे २०२३, नेपाल स्रष्टा समाजको आयोजना र मेरो संयोजनमा ‘पर्या–तथा सम्पदा’ कविता गोष्ठी; पाटन ।
२९. विसं २०८०, लघुकथा चौतारी मकवानपुरको आयोजना र किशन पौडेलको संयोजनमा पर्यालघुकथा प्रतियोगिता । उत्कृष्ट तीन लघुकथाकार टंकबहादुर आले मगर, बोधराज प्याकुरेल, र शान्ता तिम्सिनालाइ पुरस्कार तथा प्रमाणपत्र प्रदान, मकवानपुर ।
पर्या–साहित्यका अन्य गतिविधिहरू
माथि उल्लेखित यी गतिविधि बाहेक,मलाई जानकारी भए अनुसार संगठनात्मक रूपमै केही व्यक्तिहरूको संयोजनमा पर्या–साहित्यका गतिविधिहरू भएको पाइन्छ । ती यस प्रकार छन्–
१. विसं २०४९, डा दुबसु क्षेत्रीको नेतृत्वमा ‘वातावरण साहित्य समाज’ स्थापना । सरुभक्त, दिनेश अधिकारी, विजय वजिमय, तीर्थ श्रेष्ठ, लव गाउँले, र मञ्जु काँचुली सदस्यहरू ।
२. विसं २०४९, ऋचा द्वैमासिकद्वारा राष्ट्रिय वातावरण कविता प्रतियोगिताको आयोजना । निर्मलमणि अधिकारी प्रथम ।
३. वि स २०५३, साहित्यकार सरुभक्तको नेतृत्वमा ‘संरक्षण कविता आन्दोलन’को प्रारम्भ, पोखरादेखि अन्नपूर्ण बेसक्याम्पको संरक्षण कविता यात्रामा निस्केर । ती सर्जक यात्रीहरू थिए– हरिदेवी कोइराला, जे अस्मिता, भूपिन, धनप्रसाद तामाङ, नवराज अधिकारी, सरस्वती श्रेष्ठ सरु, सुकुम शर्मा, रमेश श्रेष्ठ, पुष्पा आचार्य । पछि ‘संरक्षण कविता यात्रा’ पुस्तक प्रकाशित ।
४. विसं २०७९, वन तथा वातावरण साहित्य समूहको स्थापना । डा. हिमलाल श्रेष्ठ, डा. रोशन शेरचन, डा रिशी बास्ताकोटि संयोजक रहेको यस समूहले नियमित रूपमा साहित्यिक गतिविधि गर्दै आइरहेको छ । प्रकृति सहअस्तित्वको खोजी, र प्रकृति प्रवाह पुस्तक प्रकाशन गरेको छ ।
५. विसं २०७९, दोस्रो इलाम साहित्य महोत्सवमा ‘पर्यावरण र साहित्य’ सत्र । एक वक्ताको रूपमा भूपिन ।
६. विसं २०८०, तेस्रो इलाम साहित्य महोत्सवमा ‘संरक्षण र पर्यटनका कुरा’ सत्र । संरक्षणकर्मी लुना खतिवडाको सहजीकरण, अस्मिता विष्ट र दीपेन्द्र कर्ण वक्ताहरू ।
७. विसं २०८१, भरतपुर महानगरपालिकाको आयोजना र कवि भूपिनको संयोजनमा ‘राष्ट्रिय पर्या–कविता प्रतियोगिता’, चितवन । सुवास ‘सजल’ सिन्तान लामा प्रथम, रेणुका जिसी दोस्रो, परिवेश ‘मुन्छे’ चापागाईं तेस्रो ।
८. विसं २०८१, प्रकाश थाम्सुहाङ्को प्रमुख संयोजनमा आयोजित चौथो इलाम साहित्य महोत्सवमा ‘मुन्धुम र पर्यावरण’ सत्र; अर्जुनबाबु माबुहाङ, प्रदीप मेन्याङ्बो, मोहनसिङ् थेबे, सन्ध्या सुब्बा, तुम्याहाङ लक्ष्मण मेन्याङ्बो वक्ताहरू; इलाम ।
९. सेप्टेम्बर २०२३, नेपाली काँग्रेसले आयोजना गरेको बिपी साहित्य महोत्सवमा ‘पर्यावरण र साहित्य’ सत्र’; काठमाडौँ ।
१०. वि स २०८१, सगरमाथा साहित्य प्रतिष्ठानको आयोजनामा‘पर्यावरण विशेष परिचर्चा एवम् रचना वाचन’; इटहरी ।
११. विसं २०८१, कला साहित्य उत्सवमा ‘पर्यावरण विमर्श’; काँकरभिट्टा ।
१२. त्यसैगरी नेपाल लिटरेचर फेस्टिभल, गंगा पोखरेलको नेतृत्वमा स्थापित पर्यावरण संरक्षण समाज नेपाल, विष्णुप्रसाद आचार्यको संयोजनमा हुने सालक दिवस, आरके अदिप्त गिरीको नेतृत्वमा सञ्चालित कालीगण्डकी बचाऔं अभियान, राजु आचार्यको नेतृत्वमा हुने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव र चितवनमा आयोजना गरिने घडियाल महोत्सवले पनि पर्यावरण संरक्षण तथा पर्या–साहित्यको प्रवर्धनमा उल्लेखनीय भूमिका खेल्दै आएका छन् ।
यी त भए संस्थागत रूपमा गरिएका पर्या–साहित्यका क्रियाकलाप । व्यक्तिगत तवरमा पनि दर्जनौं स्रष्टाहरू आफ्नो लेखनबाट पर्या–साहित्यको प्रवर्धनमा लागेका छन् । ती मध्य अग्रपंक्तिमा पर्ने कवि हुन्- अभिनाश श्रेष्ठ । उनले ‘करोडौँ सूर्यहरूको अन्धकार’ पर्याकविता विसं २०६० मा प्रकाशन गरेका छन् । सरुभक्तको प्रथम उपन्यास ‘एक अविनवको आत्मकथा’ र नाटक ‘ईथर’ पर्या–साहित्यका सृजना हुन् । डा. देवेन सापकोटाको ‘परिश्रान्त पृथ्वी’ पर्याकविता संग्रह र ‘पृथ्वीका सुस्केराहरू’ पर्याकथासंग्रह प्रकाशित छन् । कृष्ण बाउसेको ‘पर्या–प्रेमको सुगन्ध’ पर्याकविता संग्रह प्रकाशित छ । देवेन असममा र बाउसे काठमाडौँमा रहेर पर्या–साहित्य प्रवर्धनमा खटेर लागेका दुई सर्जकहरू हुन । मनप्रसाद सुब्बाको ‘पञ्चतत्वको पालाम’, राजा पुनियानिको ‘तंगसिंग’ पनि पर्याकविताका कृति हुन् । डा. रोशन सेरचन र भूपिनलाई पनि मैले पर्याकविता तथा निबन्ध लेख्ने र पर्या–साहित्यको वकालत गर्ने सर्जकको रूपमा चिनेको छु ।
पर्या–सिद्धान्तको कुरा गर्दा प्रा. डा. गोविन्दराज भट्टराईको उत्तरआधुनिक विमर्शमा ‘इको क्रिटिसिज्म’ को अध्याय, डा. गीता त्रिपाठीको ‘पर्यावरण नारीकेन्द्रित समालोचना’, डा. देवचन्द्र सुब्बाको ‘नेपाली कवितामा परिवेश’ ज्ञानबहादुर क्षेत्रीको ‘उत्तरआधुनिक समालोचनाका आधारहरू’ विशेष चर्चामा आएका पुस्तकहरू हुन् । त्यसो त केही अन्य लेखक तथा समालोचकले पनि पर्या–साहित्यमा कलम नचलाएका भने हैनन् । आजकल समालोचकले पर्याचेतनाको दृष्टिकोणबाट कृतिमाथि बोल्न थालेको पाइन्छ । उनीहरूबाट कसैको साहित्यिक कृतिमा पर्या–साहित्यका विषयलाई कुन स्तरमा उठाइएको छ, पर्या–साहित्यका विषय समेटिएको छैन भने समेट्ने सुझाव दिइन्छ ।
केही मिडियाहाउसले पनि पर्यालेखनलाई प्लेटफर्म प्रदान गरेका छन् । कार्तिक २०८१ मा विमल भौकाजीद्वारा सम्पादित/प्रकाशित शारदा मासिकको पर्या–साहित्य विशेषाङ्क, त्यसैगरी अश्विनी कोइराला प्रधान सम्पादक रहेको साहिपोस्टले पनि पर्या–साहित्य सेक्सन राखेर पर्या-सहित्यलाई टेवा पुर्याइरहेकोछ । यसका साथै कान्तिपुर, हिमाल, ओनलाईन खबर जस्ता राष्ट्रिय स्तरका मिडियामा पहिलाभन्दा आजकल अलि बढी नै संरक्षण, वातावरण र पर्या–साहित्यका विषयमा लेखिएका लेख तथा सृजनाहरू पढ्न पाइन्छ ।
* * *
पुछारमा
धेरै अघि लण्डनबाट शुरू गरिएको वातावरण साहित्यगोष्ठी आज नेपाल भित्रिसकेको छ । केही हदसम्म, नेपाली साहित्यको केन्द्रमा पर्या–साहित्यले आफ्नो अस्तित्व निर्माण गरेको यो दरिलो प्रमाण हो । गत जेठमा ‘मलाई आर्यघाट लगेर नजलाउनु’को सार्वजानिकीकरणले निश्चय नै अहिलेसम्मको मेरो पर्या–साहित्य यात्राको प्रतिनिधित्व गर्छ भन्ने मलाई लागेको छ ।
यसमा ४१ वटा पर्या–कविता छन् । यी कविताहरू कुनै गोष्ठीमा वाचन गरिए होलान्, कुनै पुस्तक र पत्रिकामा छापिएका होलान्, कति फेसबुकमा टाँसिए होलान् । तिनै वाचन गरिएका, छापिएका र टाँसिएका पर्याकवितालाई परिमार्जित गरेर प्रकाशन गरिएको कोसेली हो यो ।
पाठकलाई यस कविताकृतिको शीर्षक अलि आश्चार्यमय लाग्न सक्छ । यसभित्रको एउटा कविता यही शीर्षकमा छ जसले ‘पर्याध्यात्मिक’ चेतनाको अभिव्यक्ति दिन्छ । पर्यावरण र अध्यात्म योगले पर्याध्यात्म शब्दको निर्माण गरेको हुँ । हाम्रा धार्मिक संस्कार र अध्यात्मवादी चिन्तन पर्यावरणमैत्री हुनपर्छ भन्ने दृष्टिकोणबाट यो कविता लेखेको हुँ ।
मलाई लाग्छ, पर्या–साहित्य अहिले वसन्त यामको कोपिलाजस्तो डालीडालीमा अंकुराइरहेछ । वर्तमानमा नेपाली साहित्यमा पर्या–साहित्य एक पृथक् वादको रूपमा स्थापित भैसकेको महसूस गरेको छु । पर्या–साहित्य अनुरागीहरू पनि दिनप्रतिदिन बढ्दो क्रममा छन् । अब यति हो पर्या–साहित्यको यो अंकुरण हरियो पातहरूमा झ्याङ्गिएर वृक्षको रूप धारण गर्न जरुरी छ । अर्थात् यसमा अझै धेरै बहस, छलफल, अध्ययन र अनुसन्धान गर्न आवश्यक छ ।
मैले माथि नै भने, मोतीजयन्ती मात्रै हैन हामीले माटोजयन्ती पनि मनाउन पर्छ । भानुजयन्तीको साथै भालुजयन्तीको पनि आयोजना गरिन पर्छ । म विनेसाम साउथ युकेको नेतृत्वमा हुँदा पर्या–साहित्य गोष्ठीलाई नियमित क्यालेन्डर इभेन्ट गराएर चार वर्षसम्म सञ्चालन गरे ।
नेपाली साहित्यका अरू संस्थाहरूले पनि आफ्ना स्थापना दिवस र परम्परागत रूपमा मनाउने अग्रज कविहरूको जन्म तथा स्मृति दिवसका साथसाथै पर्या–साहित्य दिवस पनि आयोजना गरियोस् भनी हार्दिक आह्वान गर्दछु । बढी भन्दा बढी साहित्यिक संस्थाहरूले पर्या–साहित्य दिवस नमनाउँदासम्म मेरो अभियान पनि स्थगित हुने छैन ।
पर्या–साहित्यको यात्रामा म यहाँसम्म आइपुग्दा ती तमाम साहित्यप्रेमी मित्रहरूलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु जजसले मलाई विभिन्न तरिकाले पर्या–साहित्यलाई यो अवस्थासम्म ल्याउन सहयोग पुराउनु भयो । जोजो सर्जकहरू पर्या–साहित्यमा भरखरै जोडिन आउनु भएको छ आआफ्नो स्थानबाट सक्दो पर्या–साहित्यको प्रवर्धनमा लाग्नुहुन्छ भन्ने अपेक्षा पनि राखेको छु ।
तपाईंहरूको माया पाइरहे भने नदीजस्तै बगेर अझै गर्नु छ मलाई लामो पर्या-यात्रा समुद्र र सागर नभेट्दासम्म ।
जय पर्या–साहित्य !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
१५ माघ २०८२, बिहीबार 









