सिर्जनात्मक नेपाली साहित्यले दिशा परिवर्तन गर्दैछ । नेपाली समालोचनाले पनि । हामी तीव्र परिवर्तनको चक्रमा पसेर यतिखेर नित्य नवीनताको खोजीमा घुम्दै छौँ । यो खोजी केवल हाम्रो होइन; विश्व परिवेशमा बहने बतासले संकेत गरेको दिशाबोध हो । अनेक नयाँ बाटा मध्ये एउटा हो पर्यावरणीय साहित्य र समालोचना । यसलाई इको–साहित्य भनिन्छ; परिवृत्तीय साहित्य पनि भनिन्छ ।

यसरी दिशा परिवर्तित भयो लेखनमा अब नवचेतना पक्रौँ भनी २०६२ सालको उत्तरआधुनिक ऐनादेखि म बोल्दै आएँ, २०६४ को उत्तरआधुनिक विमर्शमा झन् ठूलो स्वरमा गाएँ कराएँ । त्यसदेखि यता र अन्यत्र पनि परिवृतीय चेतनालाई बारम्बार लेखिरहेँ । बल्ल यो चेतना अलिकति बढ्दै छ ।

तर शिकार खेल्ने, पासो थाप्ने, पशुपंक्षी, जलचर, वनस्पति, सरिसृप वर्ग सबैथोक मारेर खाने सर्वाहारी नेपाली जातिको परम्परा डरलाग्दो छ । कोही औषधीय गुणको कल्पनामा, कोही जीवनवृत्तिको अपेक्षामा आखेटोपहार अनुशरण गर्नेहरु थुप्रै छन् । यो मानव जातिको आदिम प्रवृत्ति होला, छुटाउन गाह्रो परेको छ । निरामिष भोजी केही समुदाय छन् । धार्मिक प्रेरणाले तिनीहरु अन्य सहजीवप्रति करुणा भाव राख्छन् तर त्यतिले पुगेन । अधिकांश परभक्षी नै छन् ।

प्राणी वनस्पतिको विनाश र असुरक्षा मात्र होइन भूतलको अधिक दुरुपयोग, भूगर्भसम्मको यन्त्र–भेदन, समुद्री तहसम्मको जीवन विनाशले मात्र पुगेन, सम्पूर्ण वायुमण्डल परिभ्रमणद्वारा प्रदूषित गर्‍यो । विखालु पदार्थ उत्पादन र उपभोगमा मानिस फँस्यो, प्राकृतिकले भएन अप्राकृतिक मार्ग पनि रोज्यो ।

अतीतका हाम्रा द्रष्टा अथवा ऋषिमुनिहरुले सभ्यताको प्रभातकालमै जल, वायु, तेज, आकाश, पृथ्वी— यी पञ्चमहाभूतको अस्तित्व पत्ता लगाएका थिए । तीमध्ये पृथ्वी भूदेवी हुन्, अरु जल, ताप (तेज), वायु र अन्तरिक्ष (आकाश) पनि त्यतिकै पवित्र छन्; ईश्वरकै अंश हुन् । त्यसैले तिनको पूजा गरौँ भने । तिनको यत्रो ठूलो महत्त्व स्थापित भयो; वास्तवमा मानव अस्तित्व भन्नु नै पञ्चतत्त्वको संयोग र तिनको सुरक्षा हो भन्ने कुरा मानवलाई बुझाएका थिए । ती कुरा बुझाएर ऋग्वेद लेखे । चारमध्ये एक महत्त्वपूर्ण आदि ग्रन्थ पूर्वीय अध्यात्मको एक आधारशीला । यसबाट प्रभावित भएर विश्वले पूर्वको महिमागान गर्‍यो ।
उनीहरु वास्तवमा मानव शरीर नै यिनै पञ्च तत्वले निर्मित छ भन्ने दर्शनमा पुगेका थिए ।

यस्ता प्राचीन द्रष्टाहरुले रचेको महान ग्रन्थबाट पर्यावरणीय चेतनाको सार खिच्तै कृष्णप्रसाद भण्डारीले हालै आफ्नो विद्यावारिधि शोधग्रन्थ बुझाए, त्यसको अन्तर्वार्ताको पनि सामना गरिसके, अब छिट्टै विश्वविद्यालयबाट उपाधि प्राप्त गर्नेछन् । मैले त्यो सम्झेर मनमनै गौरव गरेँ— विश्वमै पर्यावरणको प्राचीनतम सिद्धान्त निर्माण गर्ने हाम्रो पूर्वीय सभ्यताको यो प्रथम विद्यावारिधि गराउने नेपालको एक गुरु म भएँ । यमसा आफूलाई पनि धन्य ठान्दछु । किनभने वातावरण वा पर्यावरण हिजो बिहान मात्रै आएको कुरा रहेनछ भन्ने बोध हुँदा पनि हाम्रा दृष्टि अझ सचेत भई अझ गहिरिन सक्छन्, अझ परसम्म पुग्न सक्छन् । तर ती ग्रन्थहरु हजारौँ वर्षदेखि पवित्रताको लागि पाठ गर्ने कुरा भयो; त्यसभित्र ग्राह्य तत्व के छ भन्ने पट्टि यसको प्रयोक्ता गएनन् ।

हाम्रो यो प्राचीनतम ज्ञानशास्त्रलाई पाश्चात्य जगत्ले कसरी मिहिन पारेर, कण्ठ गरेर त्यसको सार खिचेका छन्, तिनका केही दृष्टान्त दिँदै हाम्रा पाठकलाई तीमध्ये एक पुुस्तक खोजेर अध्ययन गर्ने सल्लाह पनि दिन्छुः
क) डब्लु एच वालिसको— ऋग्वेदको ब्रह्माण्डविज्ञान ।
ख) पौल टेलरको— प्रकृतिको सम्मान गरौँः पर्यावरणीय आचारको सिद्धान्त ।
ग) एच एच विल्सनको (अनुवाद)— ऋग्वेद सम्हिता ।
घ) रन्चूर प्राइमको— वैदिक पर्यावरणः एक्काइसौँ शताब्दीको लागि व्यावाहारिक विद्वत्ता ।
ङ) ग्लेन ए लभको— व्यावहारिक समालोचनाः साहित्य, जीवविज्ञान र पर्यावरण ।

अहिले विज्ञानले पनि भन्दछन् पञ्चमहाभूत यिनै हुन् ।

त्यसकारणले त्यसै ‘इको’ ‘पर्यावरण’ मात्र भनेर पनि हुँदैन । नेपाली साहित्यका विज्ञ र समर्पित अनि काल बुझ्ने समालोचक लेखकले यी पञ्चमहाभूतको पवित्रता र अपरिहार्यता बुझेपछि त्यस ज्ञानकै आधारमा नवीन ज्ञान जोड्दा राम्रो हुन्छ; ती पवित्र तत्व कसरी प्रदूषित भए— प्रस्ट हुन्छ ।

कृष्ण भण्डारी यो प्राचीन गूढ रहस्यमाथि विद्यावारिधि गर्ने अंग्रेजी साहित्यका मेरा प्रथम विद्यार्थी हुन् भने विजय हितान मेरो निमित्त वातावरणीय साहित्यमा दोस्रा विद्यावारिधिसरह विद्यार्थी/भाइ जो यस विषयको ज्ञान बुझाउन साहित्यमा लागेका छन् ।

उनीसितको भेटका एक दशक नाघे । यस बीचमा उनले एकोहोरिएर वातावरणीय चेतनामा समर्पित भई रचेका कथा र कविताको कृतिसंख्या पाँच पुग्यो । उनको शरीर छ बेलायतमा मन रातोदिन नेपालका बाघमा, गैँडामा, हात्तीमा, जंगल पानी पहिरोमा, यहाँका सुक्तै गएका नदी र खोक्रिँदै गएका बगर, पाण्डादेखि सम्पूर्ण पर्यावरणीय जीवन चक्रमा । त्यसो त एक देशले मात्र गरेका लापर्वाहीको दुष्परिणामले आज जगत्–चक्र उल्टो भएको छ । वास्तवमा अझ गरीब राष्ट्रहरु प्रदूषण उत्पादक होइनन् परन्तु धनीहरुको लापर्वाहीको दुष्परिणामको कष्ट गर्ने नगर्ने सबैले समानरुपले भोग्नु परेको छ ।
नेपालमा भएका प्राकृतिक स्वरुप र सौन्दर्य विनाशका प्रत्येक घटनाले उनी सम्वेदित हुन्छन् । उनको शीघ्र प्रकाश्य ब्लू प्लानेट (कथासंग्रह) मा त्यसको सार रहेको छ । विजयले उच्च शिक्षामा पढेर, बेलायतमा वातावरणीय क्षेत्रमा सरकारी सेवा गरेर, उन्नत मुलुकका सरकारको चालचलन वा पर्यावरणीय चेतना देखेर त्यस ज्ञानले त्यस चेतनाले नेपाल सम्झेका छन् । प्रस्तुत कृति (स्वच्छन्द सुसेलीहरु २) त्यसैको परिणाम हो ।

विजयका योगदानको कुरा पछि गरौँला । तिनका सिर्जनामा कताकति कला–पक्ष चम्किन अझै बाँकी छ तर जुन त्याग र समर्पणले विश्वचेतनासँग नेपाल जोड्ने प्रयत्न गर्दैछन् त्यो कसैले नसोचेको र नसक्ने कर्म हुँदैछ । उनका कर्मले उनलाई नेपाली साहित्यका अग्रणी इको अभियन्ताको रुपमा स्थापित गर्नेछ ।

अघिल्लोपालि स्वच्छन्द सुसेलीहरु भाग—१ (सन् २०१८ को हिउँदमा) निकाल्यौँ जसमा १०४ वटा कविता समावेश छन् । यसपालि फेरि सल्लाहले यही नाम राखेर स्वच्छन्द सुसेलीहरु भाग—२ बनायौँ । यसरी नै यो शृङ्खला चल्ने छ । यसमा संसारभरिका नेपाली स्रष्टाबाट संकलित कविता छन् ।

यसबारे म अर्थाेक केही बोल्दिनँ विजयको सम्पादकीयमै गहिरा कुरा परिसकेका छन् । सन् २०२० को हिउँदमा काठमाडौँमा एक अन्तर्राष्ट्रिय इको साहित्य सम्मेलन गर्न हामी जुटेका थियौँ । भूटान, भारत, श्रीलड्ढा, कोरिया र बेलायत गरी पाँच देशका विज्ञबाट कार्यपत्र लेखाएका थियौँ । यो नेपाल भूमिमा सो प्रथम कर्म प्रस्तावित थियो । कोरोना महाव्याधिको कारण सास रोकेर बस्नु पर्‍योे । हल बुक भइसकेको सो विफल भयो तर पनि रोकिएनौ“ । पछि बेलायतमा एक ऐतिहासिक कार्यक्रम भयो । बेलायतमा पनि के भनौँ बेलायत केन्द्र बनाएर जूमद्वारा गरिएको । जसको विवरण विजयले प्रस्तुत गरेका छन् । यो सबै विजयको साहस र निष्ठाको परिणाम थियो । सोही अवसरमा वाचित र अन्य केही संकलित रचनाले प्रस्तुत संग्रह बनिएको छ । कुनै धेरै उत्कृष्ट छन् कुनै अलिक आभ्यासिक छन्, तर सबैलाई पर्यावरणीय साहित्यको, समालोचनाको विश्वरुप के कसो छ, यसमा पठनीय कृति के कस्ता छन् त्यस विषयमा अझै दीक्षित गर्नु आवश्यक छ । स्रष्टा र समालोचकले मात्र नयाँ सिद्धान्त बुझेर हुँदैन । वातावरण अथवा इको अभियन्ताले मात्र नयाँ कुरा बोलेर केही काम छैन । आम पाठकमा पनि नयाँ ज्ञानको विस्तार हुनुपर्दछ । सबै ता उत्तरआधुनिक परिवेशले नवीन द्वार खोलेपछि आएका अनेक नयाँ कुरामध्ये एउटा हो— इको साहित्य र समालोचना । यस अन्तर्गत गरिने केही अध्ययन क्षेत्रबारेमा विजयको सम्पादकीयले जनाएको छ । गहिरिएर जाँदा त विज्ञान र प्रविधिका जटिल सिद्धान्त, सूत्र र शब्दावलीसम्म पुग्छ । साधारण साहित्यमा ती ल्याउन सकिन्न ।

हामीले त्रिवि अन्तरगत पनि यस विषयमा केही काम गरेका छौँ । विगत तीस वर्षदेखि एम ए तहका पाठ्यक्रममा राचेल कार्सनको कृति द साइलेन्ट स्प्रिङ अथवा ग्रीन रीडरका प्रकाशन जस्ता कृति राखिएका थिए र हामीले पढ्यौँ, चालीसकै दशकमा । यो सबै त हाम्रा महान् गुरु प्रा. डा. श्रीधर प्रसाद लोहनीको दूरदृष्टिले गरायो । त्यसैगरी महाकवि देवकोटाको प्रकृतिप्रेम र सिर्जनाको सम्बन्ध देखाउने कति अनुसन्धानको नेतृत्व प्रा. डा. पद्म देवकोटाको नेतृत्वमा धेरै कुरा देवकोटा स्टडिजले प्रकाशमा ल्यायो । हालै प्रकाशित उहा“को कृति मेरा बुबा पढ्नै पर्ने एक प्रकाशनमा गनिन्छ ।

एकोहोरो प्रकृतिप्रेमजन्य समर्पित भावुकता र प्रशंसामा एकथरी स्रष्टा छन्, अघिका रोमान्टिक स्रष्टा झैँ । आजको समस्या समाधान त्यसमा छैन, सर्वप्रथम विज्ञान छ, वैज्ञानिक चेतना र धारणा छ । त्यसैले पुराना ज्ञानको पुनर्भ्रमण गरेर, पुनःप्रशोधन गरेर मात्रै आएको ज्ञानलाई लागू गर्नुपर्दछ, विज्ञानले हेर्नु पर्दछ ।

त्यसैले हामीले नेपाली शिक्षकको चेतनामा केही कुरा प्रवेश गराउन वी एड, एम एड (अंग्रेजी) पाठ्यक्रममा पनि पर्यावरणीय विषयका पाठ राख्यौँ, समालोचना चिनायौँ । एम फिल पीएचडीमा पनि ती विषय खुला छन् । यसपालिको सात हजार अंग्रेजी शिक्षकले भागलिने नेल्टाको अन्तर्राष्ट्रिय सम्मेलनको मूल विषय नै हामीले इकोलोजी एण्ड एजुकेशन राखेका थियौँ । अनेक अन्तर्राष्ट्रिय विज्ञले त्यसमा बोले, हामीले पनि अबका पाठ्यक्रममा लैङ्गिक चेतनामा सुधार एवम् पर्यावरणीय चिन्ताका विषय अवश्य समावेश हुनेछन् । एक दृष्टान्त छ— हालै निर्मित कक्षा ११ को अंग्रेजीमा पनि ग्रेटा थुन्बर्गको एक प्रवचन राखेका छौँ । सत्र वर्षे युवतीले विश्वलाई यसरी प्रभावित गर्ने, चकित पार्ने गरी दिएका चेतना र चेतावनीका कुरा सुन्दा हामी स्तब्ध हुन्छौँ । वर्तमान विश्वसाहित्यमा आफ्नो अधिकारवादी स्वरले पृथ्वी हल्लाउनेहरु, पृथ्वी ग्रह बचाउने अभियान समर्थकहरु पर्यावरण समर्थक, सन्तुलित जलवायु एक्टिभिष्ट, हरितगृह प्रभाव पक्षधर अनेक स्वरहरु उठेका छन् । यतिखेर पर्यावरणले एक सामाजिक आन्दोलनको रुप लिएको छ ।

प्राचीन कालको पर्यावरण स्थिर र शान्त थियो, निर्मल र अप्रदूषित थियो । त्यसैले मानिस पञ्चमहाभूतको पूजा गर्थे । पाँचहजार वर्ष अघि गंगाजीको पूजा गर्ने स्तोत्र थियोः
नमामि गंगेस्तब पाद पंकजम्
सुरासुरैर्वन्दित दिव्य रुपम्
भुक्तिं च मुक्तिं च ददासि नित्यम्
भावानुसारेण वयम् नमामः
आजकी गंगा माता कस्ती भइन्, वाग्मती माता कस्ती ? विजयको वाग्मती ब्लुज शीर्षक कथामा जस्ती ।

त्यसैले कोही जीवन, कोही वनस्पति, कोही स्वच्छ वायु र जल केको पक्षमा बोल्न सकिन्छ त्यही बोल्नेहरु आउ“दै छन् । विजयको ब्लू प्लानेट कथासंग्रहमा उनले आफ्नो अन्तरात्माको आवाज र कल्पना–शिल्प राखेका छन्, देशको स्थिति सुधारको चिन्तामा उठेका बोलेका चिन्ताहरु देखाएका छन् । परोक्ष रुपले प्रस्तुत कविता संग्रह पनि त्यही चिन्ताको प्रतिफलन हो । यो इको चेतनालाई व्यापक पार्ने साहित्यिक प्रयत्न ।

प्रस्तुत संग्रह (स्वच्छन्द सुसेलीहरु २) नेपाली साहित्यमा वातावरणीय चेतनाको एक ठूलो वर्णमाला हो । स्वच्छन्द सुसेलीहरु १ र २ को अध्ययनले कति एम ए, एम फिल गर्ने शोधार्थीको निमित्त, लघु अनुसन्धान कर्ताको निमित्त सामग्री तयार हुनेछ । पर्यावरणीय चेतनाविषय विश्वविद्यालयले पढाउन थालेको तीन दशक पुग्यो तर आजसम्म देशको एउटा पनि साहित्यिक पत्रिकाले पर्यावरण विशेषाड्ढ प्रकाशित गरेको थाहा छैन; एउटा पनि घोषित इको साहित्य कृति प्रकाशित छैन ।
यहा“का सड्ढलित धेरै कवितामा उत्कृष्टता खोज्नु पर्दैन तर यस्तो ऐतिहासिक प्रयत्नका प्रत्येक यी सहभागीहरु प्रशंसाका पात्र ठहरिन्छन् । तिनीहरु विजयको यो विश्ववादी अभियानका समर्थक हुन् । यी कविताको निचोड के छ भने— हामीले सबै काम कुरा मानवकेन्द्री मात्र बनाउन सिक्यौँ । अब मानवकेन्द्र दृष्टिकोण भत्काएर अन्य जीव वनस्पति वा निर्जीव तत्व पदार्थ सबैको अस्तित्वलाई समान स्वीकार्ने धारणातिर, मानवेतर पक्षधरतातिर अघि बढ्नु पर्ने दिन आएको छ । हामीले भोगेको कोरोना भय पनि हाम्रा दुष्कर्मको परिणाम हो । पर्यावरणीय सन्तुलनको विनाशले ल्याएको र ग्लोबलाइजेशनलाई एक साझा विश्वव्यथा बनाएको । त्यसैले मानवजातिले भौतिक उन्नति गर्‍यौँ भनेर फुर्किनु पर्ने ठाउँमा तर्छिने दिन आएका छन् ।

प्राचीन पर्यावरण चेतना अध्यात्मसँग जोडिएको थियो; धर्मसँग, मिथसँग, कति अन्धविश्वाससँग त्यसैले त्यो संस्कारको सामाजिक अंग हुँदै आयो । नदीको पूजा, वृक्षको पूजा, अग्निलाई हवन, वायु पूजा, पर्वत पूजा— तर मानिसलाई लाग्छ अलि अक्षता पुष्प चन्दन चढाएपछि देवी–देउता पिचास सारा शान्त हुन्छन् । त्यसपछि तिनीहरुलाई नै ता खन्ने, पोल्ने, डढाउने, मार्ने, काट्ने, सक्तो फोहर पार्ने कर्म तन्मयतासाथ गर्न थाल्छन् । त्यसकारण अबको पर्यावरण चेतना पुरानो स्थितिमा पुग्ने कल्पना गर्दै त्यसका माध्यमहरु जीवनवादी, विज्ञानवादी हुनुपर्छ ।

वातावरण विषयमा विश्वस्तरीय (अन्तर्राष्ट्रिय) पुरस्कारको संख्या दश जति छ । अरु देश÷ महादेशका छन् । एसियामा इण्डिया, जापान, युनाइटेड अरब इमिरेट्स्, साउदी, सिङ्गापुर र ताइवान मात्र । नेपालमा त्यो कहिले आउला/नआउन भन्न सकिन्न । नोबलको शान्ति पुरस्कारले स्वच्छ जगत्कै कल्पना गर्दछ ।

तर विश्वस्तरमा वातावरण अन्तर्गत दीर्घ र स्थायी विकास पुरस्कार, पृथ्वी पुरस्कार, वन पुरस्कार, इक्वेटर पुरस्कार, माटो पुरस्कार आदि स्थापित छन् । हामीले त्यसभन्दा पनि इको–साहित्यका विश्वस्तरीय कृति छानेर आफूले पढ्ने, पुस्तकालयमा टाँस्ने र हाम्रा नवीन पुस्तालाई पढाउने गर्नुपर्दछ । सन् १९६२ का नोवल विजयी जोन स्टेन्बेकको ग्रेप्स अव् राथ (आख्यान) हेरौँ, सम्पूर्ण समाजले खडेरी कसरी भोगे, सन् २०१५ की नोवल विजयी स्वेतलानाको चेर्नाेविल (आख्यान) हेरौँ । आणविक भट्टी विस्फोटनले रुसको चेर्नाेविल परिवेशका कति मानव, जीव र प्रकृति कसरी नष्ट भए ।

म यस आलेखमार्फत् थप चेतनातर्फ सड्ढत गर्न चाहन्छु । अबका स्रष्टा, समालोचक, पाठकले पढ्नु पर्ने धेरै कुरा छन्, नेपालीमा तीबारे लेख्नुपर्ने, अनुवाद गर्नुपर्ने धेरै कुरा छन् । नेपालीमा पनि केही कृतिको चर्चा गरिसकिएको छ । पर्यावरण चेतना उन्मुख कृतिमा सर्वप्रथम हामीले अमर नेम्बाङ लिम्बूको निबन्धसंग्रह सम्झनाका तरेलीहरुलाई सम्झिनु पर्छ । त्यस तर्फ पूर्वमा केही सचेतता बढ्दै छ । गतवर्ष प्रकाशित संजीव उप्रेतीको हंश एक विषय विज्ञ विद्वानले रचेको कलापूर्ण आख्यान हो जसमा परिवेश र जीवको अन्तर्सम्बन्धको सुन्दर र यथार्थ प्रस्तुत छ । यो एक पठनीय नेपाली आख्यान हो । नयाँ पुस्तामा पनि यो लेख्य विषय हो भन्ने सचेतता बढ्दै छ । न्यूज २४ ले मंसिर १० बुधबारदेखि शृङ्खलामा प्रकाशन गर्न थालेको अनिता पन्थीको आख्यान अनायोजितमा पनि पर्यावरण विनाशले निम्त्याएको स्थिति–चित्र छ । त्यसो त एक दशकदेखि प्रकाशन गर्दै आएका विजयका चारवटै कृति पर्यावरण विषयकै छन् ।

हाम्रो यो वातावरणीय अभियानले लेखक, पाठक, समालोचक सबैमा सचेतता जगाओस् भन्ने कामना छ । अब मानव र पशुप्राणी जगत्को मात्र कुरा गरेर हुँदैन । ब्रह्माण्डको प्रत्येक अस्तित्वलाई मानवजस्तै पर्यावरणद्वारा संवेदित सजीव ठान्नु पर्छ । निर्जीव मानिएका वृक्ष वनस्पतिको पनि अर्काे वासस्थल छैन, जलचरको अर्काे छैन, नभचरको अर्काे छैन, कति पानी पिएर बाँच्नेहरु छन् कति हावाका भरमा बाँच्ने छन् । त्यसैले रुख, वृक्ष बुट्यान, तिनीहरुमा प्राण भर्ने जमिन, पर्वत, खोला–नाला, बतास, प्रकाश उनै पञ्चमहाभूतको सहयोगले जीवन सञ्चालित छ । हाम्रो सहयोगले उनीहरु छन् तर प्रदूषणले अरुको प्राण लि“दैछ भन्ने कुरा मानिसले बुझेको छैन । वृक्षको अदालत छैन, पशुको छैन, माटाको, वायुको, बतासको बोल्ने मुख छैन तर ती बोल्दैछन्, ती गुहार ! गुहार !! भनी पुकारा चिच्याउँदैछन् । तर सुन्ने कोही छैन । मान्छेको राक्षसी रुप र स्वार्थी चाललाई नरोके पृथ्वीको अस्तित्व नै समाप्त पार्लान् जस्तो स्थिति छ ।

अब हामीले तिनै कुरा पढेर लेख्नुपर्छ । भएन बिग्रियो मात्र होइन, यसरी सपारौँ भन्ने पनि ज्ञान लिएर लेख्नु पर्छ । लेखेर के गर्नु भन्ने लाग्ला तर पनि लेख्नुपर्छ । हृदय छुने गरी चेतना पस्नेगरी एक सत्य लेख्ने सामथ्र्यको लागि दशौ“ सत्यको अध्ययन गर्नुपर्छ । म त्यस्ता केही कृतिको उल्लेख गर्दछु जसको अध्ययनले हाम्रा स्रष्टा, समालोचक र पाठक तिनैमा पर्यावरणीय चेतनाको परिष्कार हुनेछ, समसामयिक ज्ञान मिल्नेछः

१) डेभिड एडवार्ड कूपर र साथीहरु— फििट की थिड्ढर्स अन दि इन्भाइरोमेन्टल ।
२) जोनाथान बेट— रोमान्टिक इकोलोजी ।
३) ग्रेटा गार्ड— इकोफेमिनिजम्ः विमिन, एनिमल्स एण्ड नेचर ।
४) डेनिअल बोडकिन— इन्भाइरोन्मन्टल साइन्सः  अर्थ एज अ लिभिङ प्लानेट ।
५) चेरिल ग्लटफेल्टी— इको क्रिटिसिजम् रीडर ।
६) अक्सफोर्ड— दी अक्सफोर्ड ह्याण्डबुक अव् इकोक्रिटिसिजम ।

नेपालमा गैँडा मार्नु हुँदैन, बाघ–भालु, पाण्डा आरक्षित जीव हुन् मार्ने दण्डित हुनेछ भन्ने कुरा कानूनमा छन् तर यो देशभरिलाई नेपाली भाषामा लिखित पर्यावरणीय चेतना र साहित्यबारेको एक पुस्तिका पनि छैन । खुला चेतना र सार्वजनिक ज्ञानको अभावले लुकीचोरी विनाशका खेल खेल्ने काम जारी छन् ।

स्वच्छन्द सुसेलीहरु भाग— १ र भाग— २ लाई यस्ता प्रथम सन्देश पुस्तिका मानौँ । क्रमशः परिवर्तन आउने छ ।
९ मंसिर २०७७
ट्याङ्लाफाँट, कीर्तिपुर