धरान, चैत्र ३० / महेन्द्र बहुमुखी क्याम्पस, धरानमा पर्या साहित्यकार विजय हितानको उपस्थितिमा पर्यासाहित्यमाथि विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

महेन्द्र बहुमुखी क्याम्पसको सृजना विमर्श समूहले उक्त कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको शुरुमा एमए अङ्ग्रेजीमा कविता प्राध्यापन गर्ने मनकुमार राईले विजय हितानद्वारा सम्पादित पर्या कविता संग्रह स्वच्छन्द सुसेलीहरु २ भित्रको “इको प्रेम पत्र” कविता वाचन गर्नुभएको थियो ।

नेपाली पर्यासाहित्यको अङ्ग्रेजी भाषामा अनुसन्धान लेखन गर्दै गर्नुभएकी उपप्राध्यापक अनुपा वाग्लेले हितानका कथाको शक्तिमाथि प्रकाश पारेपछि पर्यासाहित्य प्राध्यापनरत उपप्राध्यापक डाक्टर अस्मिता बिष्टले हितानकृत “ब्लु प्लानेट” का १५ वटै कथाहरूमाथि समालोचनात्मक विचार राख्नुभएको थियो । उहाँले सबै कथाहरूले पृथ्वीको पारिस्थितिक सन्तुलन गुम्न गैरहेको कुरालाई आख्यानिक तरिकाले अभिव्यक्त गर्न सफल रहेको भए पनि केही कथाहरूमा वातावरणीय समस्यालाई विवरणको रुपमा मात्र प्रस्तुत गरिएको बताउनुभयो ।

विजय हितानले पर्यावरण साहित्यको आवश्यकता र महत्त्वका बारेमा प्रकाश पार्दै अबको संसारमा मानव अस्तित्वलाई जोगाई राख्न पनि पर्यावरणीय साहित्य लेखन अति आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली विभाग प्रमुख उपप्राध्यापक डाक्टर दीपकप्रसाद न्यौपानेले डायस्पोरामा बसेर पनि नेपाली साहित्यको केन्द्रमा पर्यासाहित्य स्थापित हुनुमा पर्यावरणविद् तथा लेखक विजय हितानको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो ।

कार्यक्रमको सभापतित्व अङ्ग्रेजी विभागका प्रमुख सहप्राध्यापक डा. मोहनकुमार तुम्वाहाङ र यसको संयोजन/संचालन सहप्राध्यापक डाक्टर राम्जी तिमल्सिनाले गर्नुभएको थियो ।