मेरी उनी भन्छिन्
“चिलगाडीमा उडेर ती अद्वितीय हिमशैलहरूको
सुन्दरता आँखामा सजाउने मन छ।”
तर, बाक्लो तुवाँलो उनका रहरहरू छेक्न पर्दा बनिरहेछ ।

मेरी उनी भन्छिन्
“प्याराग्लाइडिङमा हावामा सयर गर्दै
तिम्रो प्रेमिल आलिङ्गनमा बेरिएर फेवातालको
ऐनामा माछापुच्छ्रेको रूप नियाल्ने मन छ।”
तर, तालको धमिलो दर्पणमा अचेल
हिमाल आफ्नै छाया खोज्दै भौँतारिरहेछ ।

मेरी उनी भन्छिन्
“कठाङ्ग्रिने सुनौलो बिहानीमा
न्यानो घाम ओढेर क्षितिज नियाल्ने मन छ।”
तर, हप्तौँदेखि घाम आफैँ कुहिरे कागझैँ
शीतलहरको अँध्यारो साम्राज्यभित्र बन्धक बनिरहेछ ।

मेरी उनी भन्छिन्
“बागमती र विष्णुमतीको निर्मल जलमा
डुबुल्की मार्दै जलक्रीडामा रमाउने रहर छ।”
तर, ती पवित्र नदीहरू अचेल ‘ढलमती’ को
कुरूप अवतारमा प्रकट हुन अभिशप्त छन् ।

मेरी उनी भन्छिन्
“मौरीको भुनभुन र कोइलीको कुहुकुहु सुन्दै
वनफूल र पुतलीको रङ्गीन संसारमा विचरण गर्ने रहर छ।”
तर, डढेलोको धुवाँ र खरानीमा
रनवनको प्राकृतिक इन्द्रेणी हराइरहेछ ।

मेरी उनी भन्छिन्
“माटोको सुगन्ध आउने
अर्गानिक स्वादमा रमाउने मन छ।”
तर, हरेक भान्छामा अचेल मन्द जहरले राज गरिरहेछ।

यी यावत् विकृत र उकुसमुकुस परिवेशको चपेटामा
तुहिएका छन् उनका भर्भराउँदा रहरहरू ।

प्रकृतिको स्वच्छता र सुरम्यतामा
रमाउन नपाएपछि उनको एउटै गम्भीर सवाल छ
“के धराको सुन्दर वयलाई प्रदूषित र क्षत–विक्षत पार्नेहरू
दण्डको भागीदार हुनुपर्दैन र ?”