बाहिर मिलिजुली मिटर पानी परिरहेको थियो । भित्र गर्मीले हुटहुटी मचाएको कुरा सबका अनुहारले बताइरहेको थियो । गौरादहबाट निस्किएको माइक्रो २ घण्टा बित्दासम्म जिल्ला छोड्न सकेको थिएन । यस्तो जाम मैले ठ्याक्कै १२ वर्ष अगाडि कलङ्की नागढुङ्गामा खेपेको थिएँ । त्यतिबेला गाडीको जाम लामलस्कर भएको थियो तर आज गर्मीको जाम ट्राफिकको पहिरनमा ताराबारी ढाटमा थियो । गर्मी छल्न माहिर हजुरआमा आइज लुखुरी आइज भनेर सित्तल बोलाउथिन् तर गाडी भगाउन ड्राइभर दाइले जानेनन् । उनीसँग लुखुरी जस्तो तोड छैन । वास्तवमा उनले नजानेका हैनन्, ढङ्ग अलि बिग्रेर मात्र नसकेका हुन् ।

एउटा अध्याय अधुरो लेखेको वर्षौं भैसकेको छ । त्यसलाई पूरा गर्ने एउटा मात्र उपाय यात्रा । अ जर्नी टु द एज अफ वेस्टर्न टेरिटरी फ्रम द एज अफ इस्ट्रन टेरिटरी । तर एउटा यात्राले जिन्दगीभर कहिल्यै यात्रा गर्नु नपरे हुन्थ्यो भन्ने भान भएको छ ।

हाय गर्मी – जिन्दगी एउटा यात्रा हो भन्ने म आज यात्रा गर्नु नपरोस् भन्दैछु । यसमा दोष कसको ? ४०० मा किन्न मिल्ने प्रशासन ? २०० मा बिक्ने ट्राफिक प्रहरी ? आठाना लुटेर चाराना बचाउने दाउमा फनफनी घुमाउने ड्राइभर दाइ ?

यात्रुबाहक हायसले यात्रुहरुको एक बोरा चामल बोक्नु नौलो कुरा हैन तर ट्रान्स्पोर्ट अन्तर्गतको ट्रकले जसरी गाडी भर्नु पक्कै गलत हो । तीन गुना बढी मूल्य तिरेर यात्रा गर्ने मजस्ता १३ जना अरू यसमा केही बोल्न सकेनन् । सबैलाई कुनै हालतमा पनि पुग्नु थियो ।

रूपक अधिकारि

जमाना यति अगाडि छ म के भनौँ । जसरी आमालाई हरेक औषधी थाहा हुन्छ त्यसैगरी बुद्धिजीवीहरूलाई कुनै पनि कुराको स्तर कसरी बढाइन्छ भन्नेकुराको ज्ञान हुन्छ । जान्नेबुझ्नेहरू त अझ आफ्नो बिहेको पार्टीमा बचेको रु. ८०० को गोल्डेन ओक राखेर छोराको व्रतबन्धमा ब्ल्याक लेभल भन्ने गर्छन् । रक्सीजति पुरानो उति राम्रो रे । हाय गर्मी – समय भनेको प्रोसेस हो नबुझेकाहरूलाई म के भनौँ ।

गाडी खालि फर्कनुपर्ने भएर बढी भाडा उठाएका हुन् अरे । मैले त सहज परिस्थितिमा पनि रित्तै गाडी दौडिएको देखेको छु । त्यतिबेला त महँगो शुल्क उठाउँदैनन् त ! आखिर मौकामा चौका हान्न त हामी कसैले पनि छोड्दैनौँ । अझ कहिलेकाहीँ त चौका रकेटको स्पिडमा उडाउँछौँ । रकेटको पुछरको आगोले अरुलाई कति गर्मी दिन्छ ? हामीलाई त्योभन्दा धेरै चासो कति प्रतिफल मिल्छ भन्ने रहन्छ । धार लगाउन आरनको ताप खेप्नै पर्छ भनेर हाम्रो मानसपटलमा पहिले नै भरिएको छ । र त हामी गर्मी सहन्छौँ । लुटाराहरुको गर्मी ।

लमजुङको यात्रामा मलाई गुगल म्यापले घरि घरि साथ दिएको थियो । काठमाडाैँका कुनै कुनै कार्यालय खोज्दा घरि घरि यसैको साहारा दिएकाे थियो । पठाओ र टुटललाई त भरपुर साथ दिएकै छ, तर झापा टु काठमाडौँ एक्स्प्रेसले पनि गुगल म्याप हेर्दै दौडनुपरेको अवस्था कस्तो होला त ?

म भन्छु नि कस्तो हुन्छ । यात्रुहरुलाई पीडा हुन्छ ।

ड्राइभरहरूलाई बाहाना हुन्छ र थोरै तलमाथि भएको खण्डमा ट्राफिकलाई मज्जा आउँछ ।

हाय गर्मी – यस्तो पीडादायी यात्रा गर्नुपर्छ पहिले नै भनिदिएको भए हामीसँग अरू विकल्प थियो त ! तिम्रा गाडी मात्र त थिएनन् होला नि ? काठमाडौँभित्र माइक्रोमा उभिनुपर्दाको पीडा मैले लङ जर्नीमा पनि महसुस गरेँ । ठ्याक्कै त्यस्तैगरी खुट्टा टेक्ने ठाउँको अभाव । कृतिम अभाव ।

दुइटा गाडी भाग्यो । “तँलाई त चौकी लैजान्छु” भनेको प्रहरी साँच्चै इमानदार लाग्यो । उसको इमान झरीमा कमाई नभएकाले रिस बनिपोखिएको रहेछ । एउटा बाघे नोट देख्दा ‘हेर त चार जना छौँ’ पो भन्छ । २०० कित्ते प्रहरी, आखिर दोषी को ?

अंशबण्डा पुग्ने भएपछ l गाडी छुट्छ । २०० को इमान बोकी कसरी बन्छ देश ?

पानी पानी अनि गर्मी गर्मी । छलकपट र लेनदेन गर्दै २ बजे गाडी खाना खान रोक्छ । अघिल्लो दिन यतिबेला युरो कपको रसस्वादन गरिरहेकाे थिएँ । चियाको चुस्की लिँदै । यतिबेला ठुस्की लिँदै गाडीबाट लखतरान ज्यान पुरानो सुटकेस जसरी भुइँमा झार्छु । धुलोको बदला गर्मी झर्छ । उफ ! अफ्ट्यारोमा बसेको शरीरको दुखाइ झर्छ । यति दुख खेतमा गर्दो हुँ त वर्षभरि पुग्ने धान फल्दो हो । तर मलाई सपनाको सानो संसारमा पुग्नु जो छ । जहाँ एउटा कोठामा पूरै घर छ, तर घर नै चाहिँ छैन । अब कति पेट भोको रहँदो छु । यो बेबखतको चामल नखाए के हुन्छ र ? उसै पनि यहाँ खानाको नाममा खाए खा नखाए घिच भनेर थालभरि केके दिन्छन् । न पेटलाई पुगोस्, न स्वास्थ्यलाई ।

पेट्रोलको भाउ बढ्छ – विरोध हुन्छ । स्टन्ट गर्नलाई तेल सस्तो किन चाहियो ? महँगीको पीर भए त माइलेज दिने स्पेन्डर मात्र गुड्नुपर्ने हो । तर सबैलाई यहाँ देखाउनुछ पैसाको गर्मी । सान ए सौख रहेगा तो लोग तुम्हारी कदर करेङ्गे वर्ना मर्नेसे पेहेले लोग हाल नहि पुछते ।

खाने तेल त अब हामीले छुन नमिल्ने गरी पर सरेको छ । खैर, केही छैन । उसिनेको कुरा खानु स्वस्थकर हुन्छ । स्टन्ट देखाइएन भने सरकारले बाटो किन बनाइराख्नु ।

उठ् भैरे उठ् । जा माइतीघरतिर फेरि एकपटक । तेलको गर्मी बढेको छ ।

नेपाल बन्दैछको नारा बोकेर स्वीसमा पहाड बनाउँदै छन् । सगरभन्दा अग्लो । नेपालमा टेलिभिजन च्यानलले ताली र गालीमा भोट गर्न लागाउँछ । थाहा छ, हाम्रो जनमतको कदर नभएको बेला यस्ता बेतुकका मतको केही काम छैन । सामाजिक सञ्जाल कहिलेकाहीँ यस्तरी तात्छ । मानौँ, क्रान्तिको उत्कर्ष यही हो र अब आमूल परिवर्तन भैहाल्छ ।

हाय गर्मी – धरहराको उचाइबाट नदेखिएको दोहन, अपहरण, भ्रष्टाचार, बलात्कार, कर/कहर र आतङ्क बाघको टाउको देखाएर स्यालको मासु बेच्ने ठाउँमा कहिल्यै देखिँदैन । उनीहरुका आँखाका मात्र हैन, चिन्तनको पनि पावर घटेको छ । यो देश अब यस्तै रहन्छ । यो देश अदालत, सिंहदरबार र माइतीघर घुमिरहन्छ ।

सुत् भैरे सुत् । घरमा गएर आनन्दले सुत् । बाहिर गर्मी छ राजनीतिको ।