
मेरा बाको पुरानो एउटा नयाँ कोट छ
त्यो पनि अस्ति भर्खर उनकै बिहेमा सिलाएको रे
हजुरबुवाले पल्ला घरे काजीको बर्खदिन काममा पाको
चारमाना धान दमाइले लगेर सिएको
सिलाउँदा फुस्रो थियो रे
उनलाई पिटिक्क मन परेको थिएन
आजका दिनमा फुस्रो त्यो कोट रंगीन भैसकेको छ
र त्योभन्दा प्रिय अरू उनको कुनै लुगा नै छैन ।
उनले आमालाई सिन्दुर लगाएर
यही बाहुलामा पुछेका थिए ।
अभावको आँसुले यही कोट भिजेको छ
र म आसाका सिक्काहरू त्यही कोटबाट झिक्ने गर्थें ।
उनका साथीभाइको भतेर
उनका बाबुको अस्तु
छोराको आची
एक एक गर्दै सब यसैमा टाँसिएका छन्
एक एक गर्दै इन्द्रेणीको सारा रंग भरिएका छन्
एक एक गर्दै उमेरको ढंग भरिएका छन् ।
सायद त्यही भएर होला
मैले उनको आँखामा पनि त्यही रंग देख्छु ।
र सहनु नपरेका त्यो सब सहेर
सायद यही कोट अब सम्धीको फेटा कस्न अघि बढ्नेछ
छोरालाई बेहुला बनाएर
आकर्षक कोट भिराएर
उनी दुलही लिन जानेछन्
र जानेछन् सायद यही फुस्रो कोटमा
उनी आफ्नै मलामी ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









