रूपक अधिकारी

वर्षभरि मिहिनेत गर्दा पनि धौ-धौ हुन थालेपछि छोरोलाई विदेशको भूमिमा तप गर्न पठाउने निर्णयमा पुग्छन् दशरथ । आमाको मन मानेको थिएन तर बूढाको निर्णयमा उनले साँचो लाउन सकिनन् । उता सबैभन्दा खुसी त सीता थिइन् । आफ्नो पति राम अरब जाँदैछ । धेरै धन कमाउनेछ । घरमा नोकरचाकर हुनेछन् । उनलाई दुःख कहिल्यै हुने छैन ।

पल्लाघरे रुक्मिणीलाई ऊ पनि अरुले जस्तै नयाँ फोन, राम्रा-राम्रा लुगा देखाउन पाउँछे । मुख चुच्चो बनाएर सेल्फी खिच्न पाउँछे । गहनाले सजिन पाउँछे ।

रामको अरब जाने दिन बुबा आमाले टीका लगाइदिएर, दही खुवाएर बिदा गर्छन् । त्यस दिनपछि उनीहरुले फेरि कहिल्यै छोराबुहारी देखेका छैनन् । सुनेका छैनन् । एयरपोर्टसम्म छोड्न काठमाडौं गएकी बुहारी उतैकी भएकी छे ।

छोरालाई कमाउन बिदा गर्दा घरमा छानो कल्पेका थिए । वर्षभरि अन्न कल्पेका थिए तर वर्षभरि आमाले क्षितिजमा हेर्नुपर्छ भनेर कल्पेका थिएनन् ।

‘अस्ति पल्ला घरका कृष्णबाबुले भनेका औंशीमा आमाको फोटो राखेका थिए रे,’ दशरथले बूढीतिर हेर्दै भने ।

दुवैका आँखा टिलपिल भरिएका थिए । उनीहरु रोइरहेका थिए तर उनीहरु रोएनन् ।

‘अब भोलि त तिम्रो फोटो पनि हाल्छन् होला है बूढा,’ बूढीले मुसुक्क हाँस्दै भनिन् ।

गौरादह -१, झापा