रूपक अधिकारी

हामी यस्तो युग बाँचिरहेका छौं
जसको परिकल्पनामा सहिदहरु सहादत भएनन्
गल्तीको तिल पेलेर निस्किएका कांग्रेस र कम्युनिस्ट भएका छन्
अब सहिद बन्ने पालो त मेरो पनि थियो
आजै चिना हेराएर म पनि आन्दोलन गर्न निस्कनेछु ।
मेरो मुखबाट मानौं अपशब्दको वर्षात् भएको छ
कपटीहरु हल्ला गर्न तँछाडमछाड गर्दै अघि बढिरहेका छन्
सहिदको रङ कस्तो हुन्छ थाहा छ ?
भेडाहरुले मलाई सोधेका हुन् कि आफैँलाई मैले बुझेकै छैन
तेरो स्वभाव हेर शान्त छ
शालिन छस्
खै, अनुहारमा रगतको रङ देखिएको ?
उनीहरु आवाजमा वजन राखेर प्रश्न गर्छन्
हे पटमुर्ख महोदय, तपाईं भ्रममा नबाँच्नुहोस्
सहिदको रङ नीलो हुन्छ
आकाश जस्तै फराकिलो, मिजासिलो
जब तपाईंले यो बुझ्नुहुनेछ ज्योतिषीले ढोका उघाइदिनेछन्
हामीमा स्वभावको अभाव नरहोस्
चिनामा गणेशमानको नाम लेखिएको छ
अब सहिद हुन तपाईंले मर्न पर्दैन
सपनाका आँखामा सहिदको रङ रातो नभए पनि सहादत मिल्नेछ ।

रुपक अधिकारी
गौरादह -१ , झापा