रूपक अधिकार

छिमेकी बिहान सबेरै उठ्दैनन्
ये बम्बई हे भाइसाहब – यहाँ लोग ऐसे ही रहते हैं
म ३ बजे बिहानै बिछौनामा पल्टन्छु
यो पल्टन हो यहाँ यस्तै – यस्तै नै हुन्छ
बिहान ७ बजे उठेर त्यत्ति नै रुपैयाँको पावा दूध ल्याउँछु
चिया बनाउँछु ,
आफू पनि पिउँछु र उसलाई पिलाउँछु
राइस कुकरमा तरकारी पकाउँछु
कसौँडीमा खन्याउँछु र चावल चढाउँछु
उसलाई खुवाउँछु , आफू पनि चारो टप्प टिप्छु
म आम्ची मुम्बईमा भेडे गोठालो दौडन्छु
उसलाई गोरेगाँव र अंधेरी पठाउँछु
ऊ आफ्नो मर्जीको मालिक हो, कसैले रोक्नै सक्दैन
ऊ मेरी मनकी रानी अब उसलाई सबकी बन्नुछ मेरीबाहेक
डाइरेक्ट म डाइरेक्टर नबन्ने भएपछि मैले बाटो बिराइनँ
र हार खाइनँ
उसले त भुलिछे घर फर्कने बाटो
– जहाँ उसले मेरो खुन पोत्दै चिनो लगाएकी थिई
आज त्यही बाटो हुँदै श्रीमानको दस्तखत आएको छ
मलाई १० रुपैयाँको वडापाउ चल्छ
उसलाई म्याकडोनाल्डमा बर्गर र फ्लोट दिलाउँछु
केएफसीमा थोरै भात र मासु दिलाउँछु
र यसरी गृहस्थ बाँचिरहेँ
जबसम्म उसको नजर पाउरवालाको खल्तीमा परेन
मैले टिफिन चोरेको दिन
उसका हतभरि पैसा थिए
ऊ खनखन गन्दै थिई
म खलखल पसिना चुहाउँदै थिएँ
नयाँ फोन र उत्साह बोकेर ऊ अहमदावाद गई
अहम् वाद बोकेर
म आँसु बोकेर क्षमावाद गाउँदै कार्यालय पुगें
श्रीमान् मेरी श्रीमतीलाई न्याय दिलाइदिनुस्
म गरिबको भाग अंश मेरो बुवाको स्वाभिमान मात्र बाँकी छ
मेरो हाडछाला लिलाम गरेर उसलाई गरिखान दिनुस्
मेरो किड्नी लैजानुस्
उसैले छियाछिया बनाएको यो मुटु बेकम्मा भएको छ
यो मुटु लैजानुस्
सानो बचेको झुपडीमा आमा बस्छिन्
फैसला कागजमा मेरा बा लखेटिऊन् नलेखियोस्
तर श्रीमान् मेरी श्रीमतीले न्याय चैँ पाउनुपर्छ ।