 
			
			
			
			
			
			हाम्रो विद्यालय डियरवाक सिफल स्कूलले भाषा विषयलाई अन्य विषयहरूजस्तै विशेष महत्त्व दिएको छ । विद्यालयले प्रत्येक महीना एउटा अङ्ग्रेजी र एउटा नेपाली गरी दुईवटा अतिरिक्त पुस्तकहरू पढ्नका लागि प्रदान गर्छ । यस्ता पुस्तकहरूले हामीलाई साहित्यका विभिन्न विधाहरूको जानकारी दिन्छन् । यसरी नै हामी पढाइ र लेखाइका विविध शैलीहरू बुझ्दै गइरहेका छौँ । नेपाली र अङ्ग्रेजी साहित्यका बारेमा अझ विस्तृत जानकारी लिन पाएका छौँ । कथा, कविता, नाटक, हास्यव्यङ्ग्य, खण्डकाव्यजस्ता विधासँग विद्यालयले हामीलाई निरन्तर रूपमा परिचित गराउँदै आएको छ । यी पुस्तकहरूले हाम्रो भाषिक सीप मात्र होइन, व्यक्तित्व विकासमा पनि ठूलो योगदान पुर्याएको छ ।
पुस्तक परिचयः
“समयको नक्साबाहिर” लेखक तथा पत्रकार कृष्ण ढुङ्गेलद्वारा लिखित एक कृति हो, यसमा लेखकले आफ्ना बाल्यकालका दिन, किशोर अवस्थाका सङ्घर्ष र गाउँमा बिताएका जीवनका क्षणहरूलाई शब्दमा प्रस्तुत गरेका छन् । पेज टर्नर प्रा.लि.ले २०८१ सालमा पहिलो संस्करण प्रकाशित गरेको यस पुस्तकमा जम्मा १८२ पृष्ठ छन् र यसलाई १५ वटा अध्यायमा विभाजन गरिएको छ । पुस्तकको आवरण जयराम तिमिल्सिनाले गरेका हुन् । पुस्तकले विशेष गरी गाउँ क्षेत्रमा हुर्कने बालबालिका तथा किशोरकिशोरीहरूका अनुभव, विद्यालयका घटनाक्रम, प्रविधिको प्रभाव, परिवारसँगको उतारचढाव र समाजमा बसोबास गर्ने आदिको बारेमा लेखिएको छ ।
यस पुस्तकको कथावस्तु मुख्य पात्र कृष्णको बाल्यकालदेखि किशोरावस्थासम्मको जीवन यात्रा प्रस्तुत गरिएको छ । कथा नेपालको झापामा रहेको एउटा गाउँबाट शुरु हुन्छ जहाँ सानो उमेरको कृष्ण खेलकुद, पढाइ र परिवारका स-साना घटनाहरूमा रमाइरहेको देखिन्छ । उनले पहिलो कक्षामा असफल भएर फेरि पढ्नुपर्दाको लज्जा, साथी अर्जुनलाई अन्य बालकहरूले जिस्क्याउँदा र कुट्दाको पीडा आदिलाई प्रस्तुत गरिएको छ । उनी बिरामी भएर विद्यालयबाट घर जाँदा घरको माथिल्लो तलामा कसैलाई नभनी सुतेको जस्ता घटनाहरूबारे लेखेका छन् । घरमा मेनुका दिदीसँगको आत्मीय सम्बन्ध, सानोतिनो कुरामा रिसाउने, बोल्न छोड्ने, झगडा पर्ने आदिको विवरणले पारिवारिक सम्बन्धको भावनात्मक पक्षलाई देखाएको छ । पछि उनको भाइ जन्मिन्छ, जुन कुराले उनलाई केही समयसम्म रिसाए तर समयसँगै उनले आफ्नो भाइलाई स्वीकार्छन् । गाउँको जीवनशैली चित्रणमा लेखकले साइकल, माछा मार्ने काम, गुच्चा खेल्ने रमाइलो, बिजुलीको सीमित पहुँच र टिभी हेर्नका लागि छिमेकीको घरमा जाने जस्ता अवस्थाका विवरण प्रस्तुत गरेका छन् ।
एकपटक गाउँमा रङ्गीन टिभी आएपछि गाउँका सबै बालबालिकामा नयाँ उत्साह देखिएको, विज्ञापन हेर्ने रहर बढेको, र टिभीमा हेर्ने विज्ञापन, चलचित्र आदिले प्रभाव बालबालिकामा पर्न थाल्छ । बिस्तारै प्राविधिक विकास त्यसको प्रभावबारे पनि लेखिएको छ । गाँउका बालबालिकाको मोबाइलको माग र अन्य घटनाहरूको चित्रण गरिएको छ । पुस्तकमा गुच्चालाई धर्तीको प्रतीकको रूपमा प्रयोग गरिएको छ । लेखकले गुच्चा खेल्दा त्यहीँबाट गुच्चालाई धर्तीको स्वरूपमा हेर्न थाले । कथामा समयसँगै गाउँ र समाजमा आएको विभिन्न परिवर्तन पनि देखाइन्छ । जस्तै, मोबाइल, आधुनिक प्रविधिको प्रयोग र त्यससँगै गाउँका मानिसहरूको सोच र जीवनशैलीमा परिवर्तन हुन्छ । आफ्नो आमा गुमाएको समयको पीडादेखि बुबाको बिहेको परिवेश पनि चित्रण गरिएको छ ।
समग्रमा यस पुस्तकले बाल्यकालको रमाइलो, किशोरावस्थाको विद्रोह, परिवार र समाजको दबाब, प्रविधिको प्रभाव, संस्कृतिको परिवर्तन र गाँउमा मानिसको जीवनशैली सम्पूर्ण यात्रा समेटेर जीवनको चित्रण गरेको छ, जसले पाठकलाई आफ्नै जीवनसँग तुलना गर्दै पढ्ने प्रेरित गर्छ ।
निष्कर्ष तथा पुस्तक सिफारिस :
‘समयको नक्साबाहिर’ एक आत्मस्मृति वा बाल्यकालका घटनाको सङ्ग्रह हो । त्यति मात्र नभई जीवन अनुभव, गाउँको समाज, र प्रविधिको प्रभावलाई गहिरो रूपमा प्रस्तुत गरेको पुस्तक हो । म यसलाई किशोरकिशोरी, विद्यार्थी, अभिभावक, शिक्षक सबैलाई पढ्न सिफारिस गर्न चाहन्छु । किनभने यसमा पहिलेको जीवनसँग सामाजिक परिवर्तन, र आधुनिकताको प्रभाव स्पष्ट रूपमा देखाइएको छ । यो पुस्तक पढ्दा पहिलेका पुस्ताहरूलाई आफ्नै बाल्यकाल र किशोरावस्थाको सम्झना आउने छ होला । बाल्यकालको खेल गुच्चादेखि मोबाइल र प्रविधिको प्रवेश र असरका प्रसङ्गहरूले एउटा पुस्ताले भोगेको जीवन यसमा प्रस्तुत गरेका छन् । यसरी लेखकले गाउँको यथार्थ, परम्परागत मूल्य र आधुनिक प्रविधि आएको समयलाई कलात्मक ढङ्गले चित्रण गरेका छन् । समग्रमा यस पुस्तकले समय निरन्तर परिवर्तनशील भएको गहिरो सन्देश दिन्छ ।
कक्षाः १०, ‘माछापुच्छ्रे’
डियरवाक सिफल स्कुल



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
 
					 
				 १४ कार्तिक २०८२, शुक्रबार
  
				१४ कार्तिक २०८२, शुक्रबार				

 




 
																	 
																	 
																	 
																	 
																	 
																	




