१. राजा महेन्द्रले लेखनमा प्रतिबन्ध लगाएका गीतकार ‘राजकुमार’

राजा महेन्द्र कला तथा साहित्यप्रेमी राजाका रुपमा चिनिन्छन् । तर, हुनु र चिनिनुबिच बिल्कुलै कुनै सम्बन्ध रहँदैन क्यारे ! खैर, कुरो राजा महेन्द्रको होइन तर उनीसँग जोडिएको भने पक्का हो ।

नेपालको इतिहासमा शाह वंशका राजाका बारेमा खासै भन्नु परेन । योचाहिँ भन्नै पर्छ कि, शाह वंशीय राजपरिवारमा गीत, सङ्गीत र साहित्यमा लगाव राख्ने धेरै थिए । इतिहासको अध्ययन गर्दा राजा पृथ्वीनारायणदेखि वीरेन्द्रसम्मै कला–साहित्यको अनुरागी भएका थाहा पाउन सकिन्छ । अब भन्नु होला, अनि अहिलेका महाराजाहरु चाहिँ नि ! त्यो त मैले भन्नै पर्दैन ।

खास कुरो राज महेन्द्रका छोरा रवीन्द्र शाहको हो । उनी महेन्द्रले आधिकारिक विवाह नगरेकी गीता गुरुङको कोखबाट जन्मिएका थिए । दरबारले राजकुमारको पदवी दिए पनि उनी गीतकारका रुपमा चर्चित छन् ।

अझ खास कुरोचाहिँ के भने, राजकुमारको पदवी पाए पनि राजकुमारले पाउनु पर्ने सम्मान भने रवीन्द्रले कहिल्यै पाएनन् । जसका कारण उनमा निराशा, पीडा र व्याकुलता व्याप्त हुनु स्वभाविक भइहाल्यो । त्यसैले, उनी साहित्यमा पोखिन थाले । उनका नाममा पाँच गीतिकवितासङ्ग्रह प्रकाशित छन् । नारायणगोपालको स्वर रहेको ‘श्रद्धाको फूल चढाइ दिनु आमा लाशमा’ बोलको गीत यिनै शाहले लेखेका हुन् ।

ल ठिक छ ! अब चाहिँ चुरो कुरोमा जाऔं ।

राजकुमार प्रतापी र ओजस्वी हुनुपर्छ ! दरबारको दृष्टिमा रवीन्द्रले गीत–सङ्गीत तथा साहित्यजस्ता मनोरञ्जनका क्रियाकलापमा लाग्नु राज–मान्यता विपरीत थियो । त्यसैले त, कला तथा साहित्यप्रेमी राजाको छवि बनाएका महेन्द्रले नै उनलाई आजीवन साहित्य र गीत लेखनमा प्रतिबन्ध लगाइदिए ।

===

२. आफ्नो गीत बज्दा कुटाए खाएका हरिभक्त कटुवाल

हरिभक्त कटुवाल

कुरो साहित्यकार अविनाश श्रेष्ठ ब्याचलर पढ्दाको हो । मुख्य कुरो सर्वप्रिय कवि हरिभक्त कटुवालको हो । चुरो कुरो एकछिनमा आइहाल्छ, पढ्दै जानुहोस् ।

साहित्यकार लीलबहादुर क्षेत्रीको घरमा हरिभक्त कटुवाल बसेर केही लेख्दै थिए । त्यो ‘केही’ विद्यालयको पाठ्यक्रम थियो । त्यसमा अविनाशले पनि सहयोग गर्नुपर्ने भयो । प्रिन्ट नभएको जमनामा चाहिने जति कपी हातैले सार्नु पथ्र्यो । अविनाशले पनि एउटै कुरा ८ पटकसम्म सारे ।

यो त कुरो भयो, अब मुख्य कुरोतिर लागौं ।

हरिभक्त धेरै रक्सी पिउँथे, तपाईंलाई पनि थाहा छ । त्यस दिन पनि पिए, कछारी भन्ने ठाउँको भट्टी पसलमा । अविनाशलगायत अन्य व्यक्तिहरु पनि त्यहीँ थिए । भट्टीमा, रेडियो नेपालबाट कटुवालले लेखेको गीत बज्यो । उनलाई के चाहियो । हल्ला गर्न थाले – मैले लेखेको गीत बज्यो । तर कसैले पत्याएनन् । तपाईं पत्याउनु हुन्छ ? – सर्वप्रिय कवि कटुवालले उल्टो कुटाइ खाए ।

‘जँड्याहाको यत्रो फूर्ती’ भन्दै केही केटाहरुले उनलाई भकुरे ।

अन्ततः अविनाश श्रेष्ठले कसो–कसो भगाएर कटुवाललाई लीलबहादुर क्षेत्रीको घरमा ल्याउन सफल भए ।

मुख्य कुरो सकियो । यो प्रसङ्गलाई अविनाश श्रेष्ठले नागरिक दैनिकसँगको अन्तर्वार्तामा समेत उल्लेख गरेका छन् । योचाहिँ जानकारी भयो ।

===

३. चेतन कार्कीको सेतो घोडा

अब कुरो गरौं हाम्रा रसिक कवि भूपी शेरचनको, तर मात्र उनको होइन । जोडिएर आउँछन् चेतन कार्की । र, भूपीसँग जोडिएर आउँछ कालो घोडा । चेतनसँग डोरिएर आउँछ सेतो घोडा ।

साहित्यकार द्वय चेतन कार्की र भूपी शेरचनको दोस्तीको एक कडी रक्सी पनि थियो भन्दा कसैलाई आपत्ति पक्कै नहोला । यति भने पनि रक्सी विषयमा प्रवेश गर्न सजिलो भयो । चेतनको सेतो घोडा र भूपीको कालो घोडा चाहिँ नबिर्सिनुहोला ।

अँ, एकादेशको होइन, चेतन–भूपीको समयको कुरो हो । हरेक साँझ चेतनको अफिसको छेउकै भट्टीमा बसेर चेतन–भूपी रक्सी पिउँथे । कति पिउँथे ? नकुरा गरौँ । पिउँदा–पिउँदा दुबैले होस गुमाउँथे । र, चेतन एकातिर र भूपी अर्कातिर लड्थे ।

अनि के त ! उही सेतो घोडा र कालो घोडा के त !

त्यसबेलाको सवारी साधन भनेकै घोडा थियो । चेतन कार्कीसँग सेतो घोडा थियो । त्यही घोडामा कार्कीलाई घोप्टो पारी एकातिर खुट्टा र अर्कातिर टाउको बनाइ राखिदिएपछि घोडाले उनलाई क्वाटरमा पुर्याउँथ्यो । त्यस्तै, भूपीको कालो घोडाले पनि उही काम गर्दा रहेछ ।

कुरो सकियो । पत्याउनु भयो ? तपाईंलाई थाहै छ – सधैंझैं पत्याउने–नपत्याउने अधिकारी तपाईंमै सुरक्षित छँदै छ ।