१. अनि दौलतविक्रमले रुँदै भने – तँ महान् होस् कटुवाल, तँ कहिल्यै मर्दैनस्, कहिल्यै…

हरिभक्त कटुवाल

स्तम्भको नाम हो – पत्याउनुस्/नपत्याउनुस् । तर सधैँ यिनै दुई शब्दको बिचमा उल्झनु पर्छ भन्ने छैन । छ त ! तपाईँ आफैँ भन्नुस् त ?

अहिले स्तम्भकार अर्कै मुडमा छ । कथा सुनाउने मुडामा । नाटकै पो हो कि त ! होइन, तपाईँ यसलाई लोककथा मान्न पनि सक्नुहुन्छ । ल, अब सुनौँ है त !

समयको कुरो गर्दा एकादेशतिरकै हो । साहित्यिक पत्रकारिताका शिखर रोचक घिमिरेको कुरा गर्दा चाहिँ ०३६ सालतिरको, सायद ।

स्थान : बालाजु
उदेश्य : भव्य वनभोज
कर्ता : तत्कालीन साहित्यिक पत्रकार सङ्घ

अँ, बालाजुमा नेपाली साहित्यकार र साहित्यप्रेमीहरुको भेला छ । भव्य वनभोजका लागि भेला भएको समूहलाई ‘ठुलो’ विशेषको जरुरत पर्दैन ।

वनभोज यस अर्थमा पनि भव्य छ कि त्यहाँ मद्यपानमा कुनै लगाम छैन । मद्यपान पारखी साहित्यकारहरुको उपस्थिति स्वभाविक रुपमा बाक्लो छ । अब यस्तो अवस्थामा हाम्रा प्रिय कवि तथा गीतकार हरिभक्त कटुवाल छुट्ने कुरै भएन ।

कटुवालको एकपछि अर्को गर्दै लगातार खालि गराइरहेछन् गिलासहरु । उनलाई साथ दिइरहेछन् अर्का प्रिय कथाकार दौलतविक्रम विष्ट ।

भ्रममा नपर्नुहोला, त्यहाँ केवल मद्यपानमात्र चलिरहेको छैन । चलिरहेको छ कवितापन पनि । कटुवाल उठ्छन् लर्बराउँदै कविता पाठ गर्नका खातिर । केही कविता पढ्छन्, बेटुङ्गोसँग । लर्बरिन्छन्, पाठ गर्दै गरेको पंक्ति बिर्सन्छन्, लर्बराउँछन्, सम्झन्छन्, र फेरि दोहोर्याउँछन् । यो क्रम–उपक्रम केहीबेर चल्छ । र चल्दाचल्दै कटुवाल घोषणा गर्छन् – अब दीपक जङ्गमबाट गीत सुनौँ ।

शोखका साथ कटुवालका कविता सुनारहेका जङ्गम उनको घोषणाले अलमलमा पर्छन्, सायद । तर उनको घोषणालाई टार्न सक्दैनन् । र, बिना साजबाज आफ्नै मधुर कण्ठमा पूर्ण भर परी थाल्छन् गुनगुनाउन, कटुवालकै गीत–

वेदनाको आँसुभरि रुझिदिने को छ र !
भित्री मन किन रोयो, बुझिदिने को छ र !

जङ्गमका कण्ठबाट गुनगुनिएका सुमधुर आवाले वातावरणलाई अपेक्षाविपरीत विषादपूर्ण बनाइदिन्छ । आँखाबाट बलिन्द्र धारा आँसु बगाउँदै कटुवाल दीपक जङ्गमको गालामा म्वाइँ खाइदिन्छन् । भन्छन् – ‘भाइ, तिमीलाई म के दिऊँ ? यो गरिब कविले के दिन सक्छ र ? म तिमीलाई यिनै आफ्ना गीत चढाउँछु, स्वीकार गर है भाइ !’

त्यतिकैमा अर्कोतिरबाट रुँदै, लर्बराउँदै दौलतविक्रम विष्ट भन्छन् – ‘तँ महान होस् कटुवाल, तँ कहिल्यै मर्दैनस्, कहिल्यै… नरो ! नरो !’

कथा, नाटक वा लोककथा, तपाईँले जे सम्झे पनि कुरो भने सकियो । यही प्रशङ्गको उल्लेख गर्दै साहित्य पत्रकारिताका शिखर रोचक घिमिरेले ‘सम्झनामा फक्रिएका थुँगाहरु’मा लेखेका छन्, ‘दीपक जङ्गमको स्वरमा ती गीत सुन्दा अचेल जहिले पनि म बालाजुको त्यो कारुणिक र हृदयस्पर्शी दृश्य सम्झन्छु अनि मेरो मन उदास हुन्छ ।’

‍‍।।।

२. ‘ओपनहाइमर’ : अपारधबोध

ओपनहाइमर

यतिबेला हलिवुड फिल्म ओपनहाइमरको चर्चा सेलाउँदै गएको छ, तर पूर्ण रुपमा भने होइन । अर्थात्, ओपनहाइमरको चर्चाले निरन्तरता पाई नै रहेको छ । तर कुरो त्यतिबेला हो जतिबेला हिरोसिमामा अणुबम बिष्फोट भयो । विभत्स !

अँ, यसलाई पनि कुनै लोककथा नै सम्झने छुट छ तपाईँसँग ।

फिल्म ओपनहाइमरको एउटा दृश्यमा जब वैज्ञानिक ओपनहाइमरसामु ६ अगस्त १९४५ मा एउटा खबर आइपुग्छ, हिरोसिमामा बिष्फोट गरिएको अणुबमका कारण लाखौँ मान्छे मरेको । यो खबरले ओपनहाइमरलाई अपराधबोध हुन्छ । यो अपराधबोधले उनलाई दुःख दिन थाल्छ ।

अनि ? अनि, सोही अवधिमा राष्ट्रपति ट्रुम्यानले उनलाई भेटका लागि बोलाउँछन् । भेटमा उनी बताउँछन्, आफूले मानव जातिका लागि अपराध गरेको अनुभूति । जवाफमा ट्रुम्यान भन्छन्, ‘यसको जवाफ इतिहासले ओपनहाइमरसँग होइन, राष्ट्रपतिसँग माग्छ । तपाईँले चिन्ता गर्नुपर्ने कुनै कारण छैन ।’

उनी थप्छन्, ‘बम बनाउने आदेश कसले दियो ? मैले । खसाल्ने आदेश कसले दियो ? मैले । जवाफ कसले दिनुपर्छ ? मैले ।’

यो एक प्राविधिक जवाफ थिए तर ओपनहाइमरलाई नैतिक जवाफले लखेटिरहेको थियो । नैतिक जबाफ कति खतरनाक हुन्छ ? यो कुराको महसुस वैज्ञानिक ओपनहाइमरले गरिरहेका थिए ।

कुरो सकियो ? छैन । थोरै अलिकति बाँकी नै छ । हतार नगर्नुस् न क्या !

अँ, अलिकति हिरोसिमाको फ्ल्यासब्याक जाऔँ । हिरोसिमामा अणुबम खसाल्ने पूरापूर टोली ९० जनाको थियो । अमेरिकी हवाई सेनाका अधिकारी क्लाउड रोबर्ट अथर्लीले हिरोसिमामा बम खसाल्न आवश्यक वातावरण गज्जबको रहेको सूचना दिएका थिए । त्यसपछि जुन बम खसालियो, त्यसले पूरै सूर्य हिरोसिमामा पोखिएको भान गरायो । हजार डिग्री सेल्सियसको आगोमा हिरोसिमाका सारा चिजबिज जले । जल्नबाट बाँचेकाहरुको जीवन क्रमशः खरानी हुँदै गयो ।

जब तीन महिनापछि यो खबर अमेरिकामा विस्तारपूर्वक टेलिभिजन र अखबारमा छापियो, अथर्लीलाई यसको अपराधबोधले दुःख दिन थाल्यो । यसबाट उम्कन उनले कैयौँपटक थेरापी लिनुपर्यो । यतिले चित्त नबुझेर उनले आफैँलाई सजाय दिन थाले । कहिलेकाहीँ पसलहरूमा छिरेर चोरी गर्थे उनी । उनको उदेश्य थियो, सजाय पाइयोस् । मानिसले कुटून् । तर जब प्रहरीले पक्राउ गरेर अदालत पुर्याउँथ्यो, प्रख्यात व्यक्ति तथा अमेरिकी नायक मानिएका कारण उनले सजाय माफ पाउँथे ।

उनले कैयौँ पटक आत्महत्याको प्रयास गरे । मात्र प्रयास । मर्न भने सकेनन् । अन्ततः सन् १९७८ जुलाई १ मा क्यान्सरका कारण उनको निधन भयो ।

‍‍।।।

३. ३२ पेजको ‘आँसु त्यसैत्यसै छचल्किन्छ’ कसरी भो यति छोटो ?

दौलतविक्रम विष्ट

दौलतविक्रम विष्ट

कुरा हाम्रा कथाकार दौलतविक्रम विष्टको हो । उनको कथा ‘आँसु त्यसैत्यसै छचल्किन्छ’को हो । र हो, गरिमा साहित्यक पत्रिकाका तत्कालीन सम्पादक विष्णुविभू घिमिरेको पनि ।

घिमिरे आफू स्तरीयतामा सम्झौता नगर्ने सम्पादक हुन् । उनी यसै भन्न रुचाउँछन् । उनको मान्नु छ – रचनाको स्तरमा सम्झौता गरियो भने सर्जक र पत्रिका अनि सम्पादक तीनै पक्ष कमजोर हुन्छ ।

अँ, कुरो दौलतविक्रम विष्टको ‘आँसु त्यसैत्यसै छचल्किन्छ’को । एकपटक दौलतविक्रम विष्टको कथा आयो गरिमामा, प्रकाशनका लागि । शीर्षक तपाईँले थाहा पाइसक्नु भयो – ‘आँसु त्यसैत्यसै छचल्किन्छ’ । तपाईँले यो कथा पक्का पढ्नु भएको छ । अनुमान लगाउनुस् त, कति पेजको होला ? ५, ७, १० या १२ ?

तर कुरो के भने, गरिमा सम्पादक घिमिरेका अनुसार यो कथा थियो ३२ पेज लामो ।

अनि ? अनि, घिमिरेले पढ्दै गएछन् ३२ पेज लामो कथा । स्थापित र अग्रज अनि त्यसताकाका भव्य साहित्यकार विष्टको उक्त कथा पढिसकेपछि घिमिरेलाई लागेछ – ‘यो कथाले त विष्टको स्तर धान्दैन ।’ उनी अलमलमा परेछन्, ‘यति ठूला साहित्यकारको सिर्जना कसरी नछापूँ ? छापुँ भने स्तर धान्दैन ।’

तर घिमिरे परे स्तरीयतामा कुनै सम्झौता नगर्ने सम्पादक । अन्ततः उनी विष्टलाई भेटेरै कुरा गर्ने निर्णयमा पुगेछन् । र, कथा लिएरै विष्टकहाँ पुगेछन् ।

घिमिरेले अप्ठ्यारो मानीमानी भनेछन्, ‘दाजु, कथा पाएँ । जतिचोटि पढे पनि यसमा अनावश्यक गन्थन बढी भएको भान भयो । यसलाई छोट्याएर १२ पेजजतिमा झार्न सकिन्छ । त्यो गरे यो अत्यन्तः राम्रो पनि बन्छ ।’

एकै सासमा यति भनेछन् घिमिरेले । तर भनिसकेपछि भने उनको मनमा ढ्याङ्ग्रो बज्न थालेछ । तर तत्कालै विष्टले खुसी हुँदै भनेछन्, ‘राम्रो कुरा गर्यौ । तिमीले नै सम्पादन गरेर छोट्याएर छाप ।’

यसरी, अन्ततः उक्त कथा गरिमाका छापिएछ । जुन कथा अहिले पनि निक्कै चर्चितमात्र छैन, स्तरीयमा पनि गनिन्छ ।

कुरो सकियो । पत्याउनुभो ? तपाईँलाई थाहै छ – पत्याउने या नपत्याउने अधिकार तपाईँसँगै सुरक्षित छ ।

अँ, बरु शीलापत्रमा ‘डा. विष्णुविभू : शिक्षक, सम्पादक हुँदै उपकुलपतिसम्म ’ शीर्षकमा, घनेन्द्र ओझाको लेखनीमा विष्णुविभू घिमिरेलाई विस्तृतमा जान्न सक्नु हुनेछ ।