Chovar Blues Mobile Size

कुरै धेरै अगाडिको होइन, केपी ओलीलाई अदालतले प्रधानमन्त्रीको आशनबाट च्युत गरिदियो र अदालतले नै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा पदस्थापन गरिदियो । देशको कुरा अहिले गर्दिनँ म, तर त्यो अदालतको निणर्यले भने घरभेटीले भाडा छुट दिएको मेरो फ्ल्याटमा एकाएक उमङ्ग ल्याइदियो । कारण थियो – काङ्ग्रेसको नेतृत्वको सरकार ।

खुसीका मुख्य कारण दुई थिए ।
म खुसी थिएँ – संसद् पुनःस्थापनाले गर्दा । भलै, अदालतले प्रधानमन्त्री तोक्नु कहाँसम्मको न्यायोचित हो ? बेग्लै बहस होला, जानकारहरूले गर्लान् । संविधानविद् तथा राजनीति बुझेकाहरूले बोल्लान् । बोली पनि रहेका छन् पक्ष र विपक्षमा । मेरो मत यति थियो कि, ५ वर्ष सरकार चल्नुपर्छ । त्यहाँ मेरो पनि एउटा मत खसेको छ । मैले ५ वर्षका लागि मत खसालेको हो । म जन्मजात काङ्ग्रेसले पनि केपी ओलीको नाकाबन्दीताकाको राष्ट्रवादको प्रभाव एमालेलाई नै भोट हालेको हो । भलै, प्रत्यक्षतर्फको सङ्घीय संसद्‌का लागि एमाले-माओवादी गठबन्धनको भोट राप्रपालाई गयो । राजेन्द्र लिङ्देनले जिते । कृष्णप्रसाद सिटौलाले हारे ।

स्तम्भकार : कृष्ण ढुङ्गेल

सँगै बस्ने बहिनी रञ्जु पनि खुसी भइन् – काङ्ग्रेसको सरकार बनेकाले गर्दा । उसले ठट्यौली पारामा भनी, “अरू जेहोस्, सरकार हाम्रो बन्यो । काङ्ग्रेसको बन्यो ।”

“तिमीलाई लाग्छ, काङ्ग्रेसको सरकार बनेर मात्र केही हुनेवाला छ ?”, मैले सोधेँ ।

“हुन्छ नि ! यत्रो भएको छ देशमा ।”

“देउवा अगाडि नै चारपटक प्रधानमन्त्री भइसकेका नेता हुन् !”

“अब पाँचौँपटक हो, गर्छन् होला ! यही अन्तिम हो भनेर पनि गर्छन् होला कि !”

मैले बुबाले सम्झेँ । अर्कै मनःस्थिति बनाएर भोट हाल्न जानुभएको उहाँले फर्केपछि भन्नुभएको थियो, “यसपालि चाहिँ अर्कैलाई भोट हाल्छु त भन्यो नि ! तर के गर्नु ? छाप लगाउने बेलामा हात रूखमै गइहाल्यो ।”

फेरि मैले कृष्ण धरावासीकी आमा सम्झेँ – आधा बाटो ।

अँ, रञ्जु युवा पुस्ताको एक प्रतिनिधिमात्र हुन्, जो बुबाले मात्र होइन, बाजेले पनि भोट दिएकै व्यक्ति र पार्टीलाई भोट दिएर समृद्धिको सपना देखिरहेछ । नेता सुध्रिन्छन्, चाहे भने गर्छन् भन्ने आशामा बाँचिरहेछ ।

हो, पनि व्यक्ति सुध्रिन उत्ति गाह्रो कुरो पनि होइन । चाहेमा नहुने पनि होइन तर चाहँदैनन् । उनीहरूले रोपिसकेका छन्, जन्मसिद्ध पार्टीको बिउ र त्यस बिउमा उनीहरूलाई विश्वास छ, सुध्रिँदैनन् ।

मेरै कुरा गरौँ न एकछिन, हुन्न ?

आफ्नो कुरा गर्नुभन्दा अघि, शीर्षकमै तपाईँको विमती रहनुपर्छ । मेरो पनि छ । कहीँ कोही जन्मैबाट काङ्ग्रेस हुन्छ ? – तपाईँको जस्तै प्रश्न मेरो पनि छ ।

तर हुन्छ ।

म जन्मैबाट जातजतिमध्येको सर्वोत्कृष्ट – बाहुन ।

म जन्मैबाट लिङ्गमध्येको सर्वोत्कृष्ट – पुरुष ।

म जन्मैबाट धर्ममध्येको सर्वोत्कृष्ट – हिन्दू ।

म जन्मैबाट बाबुको जायजेथाको उत्तराधिकारी – छोरो । जेठो छोरो । यदि मेरा बुबा राजा हुन्थे भने म राज्यको उत्तराधिकारी हुने थिएँ ।

अँ, ठीक त्यस्तै, म जन्मैबाट पार्टीमध्येको सर्वोत्कृष्ट – काङ्ग्रेस । (यहाँ सबैले आफ्नो आफ्नो पार्टी सम्झनुहोला ।)

मेरो बुबाले मात्र होइन, हजुरबुबाले पनि भोट हालेको पार्टी – काङ्ग्रेस ।

मैले विवेकमा पट्टी बाँधेर पहिलोपटक भोट हालेको पार्टी – काङ्ग्रेस ।

मैले विवेकलाई उग्रराष्ट्रवादसँग साटेर अन्तिम पटक भोट हालेको पार्टी – एमाले ।

विकल्प भए पो !

फेरि पनि हार्दिक श्रद्धाञ्जलि उज्ज्वल दाइ !!

म राजनीति सम्झनासाथ सम्झन्छु, १२ कक्षामा हुँदाको समय । पहिलो विद्यार्थी सङ्गठनको आबद्धता । अनेरास्ववियु (एमालेको भातृ सङ्गठन) ।

अनुज दाइ अर्थात् अनेरास्ववियुको जिल्लास्तरका नेता । त्रिलोचन अङ्कल, युवा सङ्घका जिल्लास्तरका नेता । उहाँहरू दुवैको आतिथ्यमा हाम्रो स्कुलमा अनेरास्ववियुको सङ्गठन विस्तार हुने भयो । हाम्रो स्कुलमा त्यसरी कुनै पनि पार्टीको सङ्गठन विस्तार भएको त्यो नै पहिलोपटक थियो ।

११ मा पढ्ने देवेन्द्र हाम्रो स्कुलको अध्यक्षमा चयन भए । म सचिव र त्यो नै मेरो पहिलो पार्टीसँगको आबद्धता थियो । यानि कि म एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको स्कुल समितिको सचिव बने तर म कम्युनिस्ट बनिनँ ।

मेरो बुबाको पार्टी काङ्ग्रेस । म त जन्मैबाट काङ्ग्रेस ।

नेताहरू निहित स्वार्थका लागि पार्टी फुटाउँछन् र जोड्छन् पनि । मन्त्री पदका लागि पार्टी परिवर्तन गर्ने वा गुट परिवर्तन गर्ने कुरा त सामान्य भइहाले तर जन्मँदै एमाले/काङ्ग्रेस/माओवादी/राप्रपा भएर जन्मिएकाहरूको हातले स्वस्तिक छाप आफ्नो पार्टीइतर चुनाव चिह्नमा लगाउन सक्दैनन्, काम्छन् । हो, त्यसैले त म जन्मबाटै काङ्ग्रेस ।

अँ, स्वार्थ त मजस्तो जन्मजात काङ्ग्रेसमा पनि हुन्छ नि ! जस्तो जन्मजात एमालेमा हुन्छ ।

भर्खर १२ मा पढ्दै गरे पनि मलाई जागिरको एकदम आवश्यकता थियो ।

गाउँकै बोर्डिङ झापाली प्यालेस । भाइ किशोर पढेको बोर्डिङ झापाली प्यालेस । पढाउने जागिरका लागि सञ्चालक डिके सरलाई भेट्न बोर्डिङ पुगेँ । उहाँले केही समय पर्खिन सुझाउनुभयो । भ्याकेन्सी हुन साथ मलाई बोलाउने वचन दिनुभयो ।

तर उहाँ माओवादी !! भन्नेले त उहाँलाई खाओवादी पनि भन्थे । त्यसको पछाडिको मुख्यकारण उहाँ माओवादी हुनु नभएर ख्रिष्टियन हुनु थियो ।

खैर जेहोस्, केही समयमा मैले जागिर पाएँ, डिके सरको निगाहले तर जागिरभन्दा अगाडि गोलधाप ५ नम्बर वार्डमा उहाँले माओवादीको वडास्तरीय समिति बनाउने भेला डाक्नुभयो । भेलाले खनाल अङ्कललाई अध्यक्ष चयन गऱ्यो । म भएँ सचिव । माओवादीको गोलधाप ५, वडा समितिको सचिव ।

तर मेरो बुबाको पार्टी काङ्ग्रेस । म जन्मबाटै काङ्ग्रेस । जहाँ-जहाँ भए पनि स्वास्तिक छाप अन्य पार्टीको चुनाव चिह्नमा पो कसरी लगाउनु ?

खैर जेहोस्, न फेरि अनेस्ववियु स्कुल समितिको बैठक बस्यो न त माओवादी वडा समितिकै तर म जन्मबाटै काङ्ग्रेस भएर पनि माओवादी र एमालेमा आबद्ध भएँ तर कम्युनिस्ट बन्न सकिनँ । अहिले आएर काङ्ग्रेस पनि हुन सकिनँ ।

त्यसो भए म कुन पार्टीको त ? – थाहा छैन ।

सम्झनुहोस् – म सधैँ विपक्षी पार्टीको ।

खासमा मैले यहाँ ज्यादै धेरै लेखिसकेको थिएँ तर मलाई साथ दिन उपस्थित साथीहरूले बोलेकै कुरा किन राखौँ ?

अँ, म त बोल्दा बोल्दै धेरै बोली गएँ । साथीहरू पनि हुनुहुन्छ । उहाँहरूका कुरा पनि सुनौँ ।

 

वैकल्पिक राजनीतिलाई समर्थन नै हुनेछ : गणेश कार्की

गणेश कार्की

चिटिक्क परेको कार मेरो छेउबाटै दौडियो, त्यसको पछि पछि म । दौडिन म त्यस्तो चाँडो त थिइन तर बिस्तारै दौडिएको कारलाई मैले निकै बेर पछ्याएँ ।

कार रोकियो । “चढ्छौ ?” भित्रबाट आएको आवाज ।

म त डराएझैँ भएँ तर यस्तो मौका कसले छोडोस् । मैले हुन्छ भनेँ ।

र एक जना सुकिला मुकिला मान्छेले आफैँसँग मलाई केही मिनेट कारमा राखे । कार बिस्तारो गतिमा स्कुलमा पुगिसकेको थियो । आमसभाका लागि भेला भएको सानोतिनो हुलका अगाडि उनले मलाई बोकेर कारबाट बाहिर निकाले ।

५१ सालको चुनावमा राप्रपाबाट हाम्रो क्षेत्रका उम्मेदवार थिए उनी । उनको नाम ध्रुव श्रेष्ठ हो कि जस्तो लाग्छ तर निश्चित भइन । खोज्दा थाहा हुन सक्थ्यो तर चासो लिइन किनकि म कहिल्यै पनि राप्रपा भइन ।

त्यही चुनावमा हाम्रो क्षेत्रबाट एमालेका उमेदवार भरतमोहन अधिकारी थिए । खोइ के कारणले हो, भरतमोहन अधिकारीका चुनावी कार्यकर्तालाई भात खुवाउने ठाउँ हाम्रो घरलाई नै रोजिएछ ।

साँझ परेपछि खसी ढालियो । मलाई कान दिए, मैले पोलेर खाएँ । राति खसीको मासु भात भरतमोहनको केही फिटको दूरीमा बसेर मैले नि उनीसँगै खाएँ । उनका वरिपरि मान्छे घुमेको देख्दा यी ठुलै नेता हुन् भन्ने मलाई लागिसकेको थियो तर म एमाले हुन सकिनँ किनभने अघिल्लो दिन नै मलाई पोल्ने घामबाट रूखले मात्रै बचाउँछ भनेर सम्झाइसकेका थिए । त्यसमाथि तिनीहरूले लगाइदिएको रूख छापे टिसर्टले म बाँधिसकेको थिएँ । अझ कम्युनिस्टले छोराछोरीलाई बाउआमासँग छुट्याइदिन्छ, बुढाबुढी मारिदिन्छ भनेर तिनीहरूले तर्साएपछि त खसीको मासु देखेर मात्रै भात पनि खाइदिएको हुँ । नत्र कम्युनिस्टसँग मेरो पानी बाराबार नै हो ।

यो हुँदासम्म म १० वर्ष पनि पुगेको थिइनँ तर म धेरै राजनीतिक ‘कुरा बुझ्ने’ भइसकेको थिएँ । म मुढो उठाए पनि एमालेले जित्ने ठाउँको बच्चो थिएँ । हरेक दिन बिहान दूध पुऱ्याउन ट्यामी बोकेर चोक पुग्थेँ र धेरैजसो स्कुल पुग्न हतार नहुन्जेल चिया पसलमा मान्छेका गफ सुनेर बस्थेँ र बुझेँ । हाम्रोबाट जितेका भरतमोहन अधिकारीले नेपालका लागि धेरै नयाँ कुरा गरेछन् । बुढाबुढी मार्छन् भन्नेले नै बुढाबुढीलाई वृदभत्ता दिएछन् । काङ्ग्रेसले लाइदिएको टिर्सटजस्तै भएर मैलियो उसको छवि । उनीहरूका केही कुरा पनि पत्यार लागेन अनि त म एमाले नहुनुपर्ने कारण नै भएन ।

स्कुल सकिँदै गर्दा र प्लस टु पढ्दै गर्दा देश गृहयुद्धले भर्भर थियो, मचाहिँ उमेरको जोसले ।

कहिल्यै नदेखिएको तिलस्मी प्रचण्डको सम्मोहन चल्यो । कहिल्यै दोस्रो नभएको बाबुरामको उदाहरणले छोयो । यो पो रहेछ, देशका लागि ज्यान पनि फ्याल्न तयार भएकाहरूको समूह भन्ने पऱ्यो ।

एकान्तमा घर अनि वरिपरि बगैँचा र जङ्गलजस्तो भएकाले हाम्रो घर छापामारहरूका लागि सजिलो बन्यो । घरमा पनि सधैँ जसो लडाकुहरूको ओहोरदोहोर हुन थाल्यो । बेलुका आए बिहान सबेरै गइसक्थे । एकछाकभन्दा बढी एकै घरमा खान्नौँ भन्थे । युद्धमा जाऊँ भनेर कहिल्यै भनेनन् । प्रहरी सेना आएर सोधे भने बलजफ्ती गरे भन्नू, सके रुनू भनेर सिकाउँथे ।

मेरो एसएलसीको अघिल्लो दिन विनाकारण आमसभामा गोली चलाइयो । माओवादी भागेर मकैबारीमा मकैभन्दा धेरै चप्पल बनाए । नानी च्यापेर एक जना दिदीले घोप्टे लगाउँदै गरेको मेरो खुट्टा च्याप्प समातेर बचाइदिन हारगुहार गरिन् । झ्यालबाट लुकेर हेर्दा गोली हानाहान गरेको देखेँ । गोलीले स्कुलका भित्ताहरूमा प्वाल परे अनि बिस्तारै सेना प्रहरी देख्दा डर लाग्ने र माओवादी देख्दा दया लाग्ने हुन थाल्यो ।

ज्ञानेन्द्रको शासनताका अस्कल पढ्थेँ । राजाको शासनमा सेनाहरूबाट उसै प्रताडित बन्न पऱ्यो । रिस सेनासँग होइन, ज्ञानेन्द्रसँग उठ्थ्यो । राजनीति बुझ्दै गएँ । गणतन्त्र प्रिय लाग्न थाल्यो ।

माओवादी पार्टीको सदस्य त कहिल्यै पनि भइनँ तर पहिलो संविधानसभा ताका म खरो माओवादी थिएँ । पार्टी प्रतिनिधि भएर निर्वाचन क्षेत्रमा पनि बसेँ तर दोस्रो संविधानसभा पुग्दासम्म गणतन्त्रका लागि मात्रै माओवादीको समर्थक बन्न पऱ्यो ।

गणतन्त्रपछिको पहिलो संसदीय निर्वाचनमा वामपन्थी गठबन्धनले स्थायी सरकारको आशा देखायो । विदेशमा थिएँ तर वामगठबन्धनकै लागि भोट मागेँ । सरकार चल्दै गर्दा केपी ओली मात्रै होइन, नेकपा र तिनका नेताहरू नै पार्टी व्यवस्थापन र सरकार सञ्चालनमा अलोकतान्त्रिक, अपारदर्शी र भ्रष्ट भए । तिनलाई काँध हालिरहन सकिएन ।

दुईतिहाइको जनमत पाएर पनि मुख्यतः केपी ओली र नेकपाले पूरा कार्यकाल चलाउन सकेनन् । कहिल्यै बहुमत नल्याएको भए एकपल्ट ल्याउँदा केही फरक पर्थ्यो कि भनेर अझै आशा गर्ने ठाउँ हुन्थ्यो होला तर झन्डै दुईतिहाइ ल्याउँदा पनि आफैँभित्रको छुद्रताले सकिएपछि अब फेरि पत्याउनु मूर्खताबाहेक केही हुन्न ।

काङ्ग्रेस, कम्युनिस्ट (सबै) का अधिकतम दोस्रो पुस्ताका नेता देख्दा पनि निराशा नै बढाउँछन् । यस्तोमा वैकल्पिक राजनीतिकको सम्भावना पनि छ ।

गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्ष (अझ संविधानमा यसबारेमा केही नलेख्ने) मेरा राजनीतिक विचार हुन् । यसमा जोडिएर आए वैकल्पिक राजनीतिलाई समर्थन नै हुनेछ । नत्र, सबै भन्दा कम खराब छान्ने त हो ।

 

मलाई मन नपर्ने नेता केपी ओली नै हुन् : ईश्वरा शिवा

ईश्वरा शिवा

अधिकांश युवा जमातमा राजनीतिको नाम सुन्नेबित्तिकै नाक खुम्च्याउने प्रवृत्ति देख्न सकिन्छ । म पनि त्यही वर्गको युवा थिएँ जो राजनीतिलाई अति नै घृणा गर्ने गर्दथे । कारण एउटै थियो कि गैरजिम्मेदार नेता र तिनका हर्कतहरू ! तसर्थ बुबा कम्युनिस्ट विचारधाराका हुनुभए पनि उहाँको राजनीतिप्रतिको लगाउ मलाई भने लिँडेढिपीजस्तो मात्र लागिरह्यो । हामीजस्ता भुईँमान्छेका लागि राजनीति भनेको कार्यकर्तामै सीमित हुने र नीति निर्माणको तहमा पुग्न कहिल्यै नसकिने आकाशको फल मात्र हो भन्ने मेरो बुझाइ थियो ।

केही समयअघि कवि कृष्ण विश्वकर्मासँगको संसर्गमा आएपछि भने ममा वैचारिकी निर्माण हुन पुगेको छ । मलाई कम्युनिस्ट विचारधारा मन पर्छ । यसर्थ पनि उहाँका क्रान्तिकारी कविता अध्ययन गरेर कम्युनिस्ट सिद्धान्तप्रतिको प्रतिबद्धता देखेर म प्रभावित बनिरहेको हुन्छु । उहाँका अनुसार राजनीति भनेको पेसा नभई जिम्मेदारी हो । तसर्थ हामी युवाले हाम्रो भागको जिम्मेदारी पूरा गर्नुपर्दछ । अन्याय विरुद्ध क्रुद्ध हुन सकिएन भने हामी नाममात्रका युवा हुन्छौ भन्ने तथ्य मैले बुझ्न थालेको छु । यसरी मलाई अप्रत्यक्ष रूपमा एक सामान्य महिलाबाट चेतनशील मान्छेमा रूपान्तरण गर्नुहुने कृष्ण विश्वकर्मा मेरो प्रिय नेता हुनुहुन्छ । उहाँ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य हुनुन्छ ।

नेपालको वर्तमान राजनीति संसदीय व्यवस्थामा आधारित छ । अझ भनौँ दलाल पुँजीवादको चक्रव्यूहमा फसिसकेको छ । जसले सिङ्गो देश र जनतामाथि ब्रह्मलुट मच्चाइरहेको छ भने राजनीतिक जगत्‌लाई नै कलङ्कित बनाइरहेको छ । केपी ओली प्रवृत्ति यसको ज्वलन्त उदाहरण हो । मलाई मन नपर्ने नेता पनि केपी ओली नै हुन् जसले सत्ताका लागि आफ्नो कार्यकालमा दुईपटकसम्म संविधानको अवमूल्यन गरिदिए । उनीजस्ता निरङ्कुश शासक जन्माउने यो दलाल संसदीय व्यवस्थाको विकल्प खोज्नुपर्ने देखिन्छ ।

आजसम्म हाम्रो समाजमा जात व्यवस्थाले जरा गाडिरहेको छ । देश पछि पर्नुमा जात व्यवस्थाको मुख्य भुमिका रहँदै आएको प्रस्ट छ किनभने यसले श्रमिक वर्गलाई दलन गरेर धूर्तहरूलाई प्रोत्साहन दिइरहेको हुन्छ । त्यसकारण, सामाजिक रोग जात व्यवस्थाको उन्मूलन गरेर उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्दै युवाको सक्रियतामा वैकल्पिक राजनीति स्थापना गर्नु आजको टड्कारो आवश्यकता हो ।

अतः हामी युवाले राजनीतिलाई फोहोरी खेल सम्झेर यसबाट भाग्ने नभई यसभित्रका फोहोर सफा गरिछाड्ने सङ्कल्प लिने समय आइसकेको छ । अकर्मण्य नेताहरूलाई सरापेर बस्न छाडी अब देश बनाउने जिम्मा हामीले लिनैपर्दछ । हामीले मनन गर्नैपर्दछ कि देश भनेकै युवा हो, युवा भनेकै देश हो ।

 

टेस्टेड नेतृत्वका भरिया नेताबाट आश गर्ने ठाउँ देखिन्न : सङ्घर्ष छेत्री

सङ्घर्ष छेत्री

जिन्दगीभर काङ्ग्रेस मन परेन ।

केही वर्षअघि काङ्ग्रेस सभापति देउवालाई नेपाली राजनीतिको खराब पात्रका रूपमा चित्रित गरिँदै थियो, प्रकारान्तरले त्यस कुरालाई गलत साबित गऱ्यो कि भन्ने लाग्छ ।

अहिले परिस्थिति उल्टिएको छ । अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई खराब नेतृत्वको रूपमा बुझ्ने जमात ठूलै छ । जसरी ओलीलाई खराब भन्नेको मत बाहुल्य छ, त्यसैगरी नेता भनेकै ओली हुन् र देशका लागि ओली नै आवश्यक हुन् भन्ने जमात पनि कम छैन ।

ठ्याक्कै मेरो पार्टी नै भन्ने चाहिँ छैन ।

वास्तवमा कुनै पार्टीको सदस्य र शुभेच्छुकसम्म पनि नहुन सकिन्छ कि भन्ने सोच्दै छु ।

आस्थाले कम्युनिस्ट हुँ । कम्युनिस्ट भनिएका पार्टीहरू पुँजीवादी कित्तामा ढल्किँदै गर्दा नेपालबाट कतै ढिलोचाँडो कम्युनिस्ट पार्टीको अवसान नै त हुँदैन भन्ने लाग्छ । विपीलाई साहित्यमा मैले अघ्घोरै मान्छु तर राजनीतिमा जसरी महामानव भनिएको छ, उस्तो लाग्दैन । राजा र राजतन्त्रसँग मेरो घाँटी जोडिएको छ भन्ने विपीले पुष्पलाललाई अविश्वास गरे त्यसको परिणति हो अकण्टक तीस बर्से पञ्चायती शासन । जसरी अघिल्ला वर्षहरूमा सत्ता सहकार्य गरेका प्रचण्डले काङ्ग्रेस सभापति देउवालाई धोका दिँदै एमालेसँग मिल्न गए, कतै विपीले पनि पुष्पलाललाई त्यस्तै सोचे कि ?

अहिलेको राजनीतिको कुनै स्पष्ट दिशा देख्दिनँ ।

अकुत कमाउने व्यापारी, अस्थिरता चाहने देशी/विदेशी शक्ति र यहीँका केही राजनीतिक ठेकेदारहरूका लागि अहिलेको अवस्था अनुकूल छ । धमिलो पानीमा माछा मार्न खोज्ने प्रवृत्ति व्याप्त छ । एमाले, काङ्ग्रेस र माओवादीको नेतृत्व विकृत हुँदै जाँदा नेपाली राजनीतिमा एउटा स्पेस बाँकी छ, त्यो वैकल्पिक ठाउँ विवेकशील साझाले लिन्छ कि भन्ने लाग्थ्यो तर सबैको साझा बन्ने ध्याउन्नमा विवेकशील साझाले आफ्नो विवेक गुमाउँदै छ । कुरा नेतृत्वको हो, एकातिर सङ्घीयताको पक्षपाती र आफूलाई प्रगतिशील देखाउन खोज्ने जमात छ भने अर्कातिर कतै बहुसङ्ख्यक हिन्दूको मत बटुलेर छिटो सत्तामा पुग्न सकिन्छ कि भन्ने प्रवृत्ति देखिँदैछ ।

मुद्दालाई छलफलको विषय बनाएर महाधिवेशनको माध्यमबाट पार्टीको आधिकारिक धारणा तय गर्नुपर्थ्यो ।

मदन भण्डारी मलाई मन पर्ने नेता हुन् ।

मन नपर्ने नेतामा ईश्वर पोखरेल हुन्, सबैभन्दा विकृत र सम्पत्तिमोह उनको मूल समस्या हो ।

शेरबहादुर देउवालाई अहिले दोष लगाउने ठाउँ छैन । अहिलेको परिस्थितिको जड माधव नेपाल, प्रचण्ड र केपी ओली नै हुन् । महाधिवेशनबाट केपीलाई पराजित गर्न सकिन्न, अहिल्यै हटाउनुपर्छ भन्ने माधव नेपालको बालहठमा एउटा कम्युनिस्ट पार्टी भनिएको आकारले ठूलो पार्टीको नेता हुने प्रचण्डको अभिलाषा र मबाहेक अरू कोही छैन भन्ने ओली अहंले गर्दा नेपाली राजनीति धमिलिएकै हो ।

नेपाली राजनीतिमा कोर्स करेक्सन जरुरी छ ।

तर यिनै नेतृत्व र युवा नेतृत्व भनिएका राजनीतिको टेस्टेड नेतृत्वको भरिया नेताबाट आश गर्ने ठाउँ देखिन्न ।

 

वैकल्पिक शक्तिहरू आफू आफू जुधेर खरानी हुन्छन् : मोहन सङ्ग्राम

मोहन सङ्ग्राम

जन्मैबाट भनेको कस्तो हुन्छ ? काङ्ग्रेस परिवारमा जन्मिँदा जन्मैबाट काङ्ग्रेस भइन्छ भने मेरो नाममा पनि मोहन पोखरेलपछि काङ्ग्रेस लेखिदिए हुन्छ । मैले कहिल्यै काङ्ग्रेसको सदस्यता लिइनँ न त आस्था नै कहिले राखेँ । कुनै मुद्दामा समर्थन गरियो होला कुनैको खुलेर विरोध । म सङ्गठित भएको र आस्था राखेको पार्टी नेकपा (एमाले) हो । म हुर्केको ठाउँमा अनेरास्ववियु (एमालेको भातृ सङ्गठनच)को एउटा रचनात्मक र अत्यन्तै ऊर्जाशिल टिम थियो त्यतिचबेला मलाई त्यो मन पऱ्यो, अहिले मलाई मन परेका थुप्रै कुराहरू छन् । हुन त चित्त नबुझेका कुराहरू पनि छन् दुवै खाले कुराको छुट्टै चर्चा गरौँला ।

म युवा एमाले । मन पर्ने या मनै नपर्ने नेता (व्यक्ति विशेष) को विषयमा चाहिँ म आफैँ पनि प्रस्ट छैन । तपाईँले यही देशको जीवितमध्येको नेता सोध्नुभएको होला । मेरा अभिव्यक्तिहरू हेर्दा सबैभन्दा मन पर्ने नेता केपी ओली होला भनेर धेरैले आकलन गर्छन्, केपी ओली मैले आस्था राखेको र मेहनत गरेको पार्टीको सबैभन्दा सिनियर नेता हुन्, नेतृत्व हुन् । जुन बेला केपी ओलीमाथि यथार्थभन्दा धेरै आक्रमण हुन्छ त्यो बेला मैले उनको बचाउ गर्छु तर जहाँ मान्छेहरू केपी ओलीका बारेमा वास्तविक टिप्पाणी या चर्चा गर्न तयार हुन्छन् म पनि त्यसका लागि तयार हुन्छु ।

मनै नपर्ने त को भन्नु र ? यत्रो धेरै सङ्घर्ष र दुःख गरेका नेताहरू सबैप्रति सम्मान छ । मन नपर्ने भनेको हर्कत हो, कहिले कसको मन पर्दैन कहिले कसको ।

अहिलेको राजनीतिको अवस्था अत्यन्तै सङ्क्रमित छ । सत्तामोह, बदला, घमण्ड, ईर्ष्या, स्वार्थ र शक्ति दुरुपयोगको चरमरूप यति बेलाको राजनीतिमा देखिएको छ, यस्तो बेला निर्वाचन हुनुपर्थ्यो, राजनीति र नेताहरू यति नाङ्गा भएका बेला जनताले यसको मूल्याङ्कन गर्थे तर निर्वाचनबाट भयभीत एउटा तप्का जसलाई आफू सानै सङ्ख्यामा भएको भए पनि कहिल्यै निर्वाचन नहोस् भन्ने लाग्छ उसले विभिन्न षड्यन्त्रहरू गऱ्यो र दुर्भाग्यवश उनीहरू सफल भए । त्यो तप्का अहिले हाबी भएको छ, यसको अन्त्य कसरी हुन्छ, त्यो हेर्न बाँकी छ ।

वैकल्पिक राजनीति भनेर मुद्दा र आन्दोलन नभएका, सेन्टिमेन्ट मात्र क्याच गर्न खोज्नेहरूभन्दा अर्को ठुलो मजाक मैले सुनेको छैन/देखेको छैन । उनीहरू नयाँ बोतलको पुरानो रक्सी मात्र हैनन् नयाँ बोतलको बिग्रिएका रक्सी हुन् । योभन्दा धेरै उनीहरूका बारेमा समय खर्च गर्न जरुरी छैन तर विकल्पका रूपमा दोस्रो पुस्ताचाहिँ मैले देखेको छु । राजतन्त्र र पञ्चायतको फाइदा नउठाएको, छलछाम र तिकडमको लामो इतिहास/अनुभव नभएका दोस्रो पुस्तासँग केही अपेक्षा राख्न सकिन्छ तर चिचीको पनि पापाको पनि लोभ भएका, जता भिड देख्यो उतै दौडिने वैकल्पिक शक्तिहरू आफू-आफू जुधेर खरानी हुन्छन् । रवीन्द्र मिश्र प्रकरण यसको पछिल्लो उदाहरण हो ।

 

मैले आजका मितिसम्म पार्टीको साधारण सदस्यता लिएको छैन : भेषराज बुढाथोकी

भेषराज बुढाथोकी

हरेक मान्छेसँग विचार हुन्छ । ऊसँग भिजन हुन्छ । ऊसँग सिद्धान्त हुन्छ । नेपालमा अझै पनि प्रायः गाउँतिर, बाबु, बाजे, आमा जुन पार्टीको हुनुहुन्छ वा उहाँहरूले जुन पार्टीको झन्डा बोकिरहनुभएको छ छोराछोरीले पनि त्यही पार्टीको झन्डा बोक्ने एउटा पुरातनवादी चलन अझै छ ।

यो पुरातनवादी सोचबाट म पनि अछुत रहने कुरा भएन किनकि म पनि टोलको एउटा अङ्ग, समाजको एउटा हिस्सा न हुँ । म पनि बाको जुन पार्टी थियो, बाजेको जुन पार्टी थियो । त्यही पार्टीको छत्रछायामा गोलबन्द हुन पुगेँ । यसको मतलब यो पनि होइन कि मैले मेरो विचारलाई तिलाञ्जलि दिएँ वा मेरो विचारलाई हात धोएर फालेँ । यो होइन बुबाको पार्टी मलाई पनि मन पर्नु संयोग हो तर कुरा के भने नि बुबालाई मन पर्ने नेता मलाई मन पर्दैनन् । यसर्थ एउटै पार्टीभित्र गुट अलग-अलग छन्; बाको र मेरो ।

मैले आजको मितिसम्म पार्टीको साधारण सदस्यता लिएको छैन; लिन्नँ पनि तर मलाई नेपालका चलिआएका पार्टीहरूमा मन पर्ने पार्टी नेकपा एमाले हो । मेरो पार्टी छैन तर मलाई मन पर्ने पार्टी चैँ एमाले नै हो । यसका विविध कारणहरू छन् ।

मलाई मन पर्ने नेता केपी शर्मा ओली नै हो । भन्नेहरूले जेसुकै भनून् त्यो भन्नेहरूको कुरा हो तर मलाई अरू नेताभन्दा ओली मन पर्छ । मैले जुन बेलादेखि केपी ओलीलाई पढेँ । मलाई उहाँको “क्विक डिसिजन क्यापासिटी” असाध्यै मन पर्छ । राजनीतिक विश्लेषक सौरभले एक ठाउँ भनेका थिए, “ओली नेपाली राजनीतिको सर्जन हुन् । मलाई सर्जन मन पर्छ ।” मेरो पनि कुरा यही हो ।

ओलीसँग पछिल्लो समय मेरा थुप्रै असहमति थिए र छन् पनि । ओलीले जनताको अपेक्षाअनुरूप काम गर्न सकेनन् । यो कुरा घामजस्तै छर्लङ्ग छ तर केही गर्दै नगरेका पनि होइनन् । भारतले लगाएको तत्कालीन नाकाबन्दीको डटेर सामना गर्ने ओलीको त्यो आँटको म डाईहार्ट फ्यान हुँ । चुच्चे नक्सा सार्वजनिक गर्ने ओलीको नेतृत्व क्षमताको प्रशंसा गर्नैपर्छ । ओलीले गरेका उत्कृष्ट काम लगभग यिनै हुन ।

ओलीसँग रिलेटेड सानो संस्मरण सुनाउँछु । ७० सालको चुनाबमा म कक्षा ९ मा पढ्थेँ । चुनावको पूर्वसन्ध्यामा एक दिन गाउँमा यस्तो प्रचार भयो कि, “भोलि डोगडीमा नेता ओली आउँदै हुनुहुन्छ । चुनावी आमसभाको सम्बोधन गर्नुहुनेछ । तपाईँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ । ”

अब ओली, आफूलाई मन पर्ने नेता आउनुहुने भएपछि म स्कुल नगएर ओली हेर्न गएँ । ओली त ओली नै आए तर जिल्लाकै ओली थरको नेता लालबहादुर ओली आउनुभयो । केपी ओली आउनु भएन ।

मलाई मनै नपर्ने नेता प्रचण्ड हुन् । यिनको अनुहारसम्म मलाई हेर्न मन लाग्दैन । किनकि मेरो बालक मानसपटलमा यिनलाई लिएर कैयौँ आला घाउहरू ताजै छन् । तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वमा मेरो परिवार र मेरा बालाई बहुत दुःख दिएको कारण मलाई यो पार्टी र प्रचण्ड मन पर्दैनन् ।

धेरै गाउँलेहरू नभइदिएको भए आज मैले बा उच्चारण गर्न त सक्थेँ तर मेरा बा, मसँग हुनु हुन्थेन होला । बालाई अभियानका लागि भनेर लिने, बालाई जङ्गल जङ्गल खेद्ने, महिनौँसम्म बाको अनुहार देख्नबाट हामी छोराछोरी वञ्चित गराउनेजस्ता कुकर्म गर्ने प्रचण्ड मलाई किन मन परून् र ??

यसको पनि सानो संस्मरण छ । ६२/६३ को जनआन्दोलनको एक साँझ एक खाइलाग्दो माओवादी कमरेडले घरभित्र पसेर भन्यो, ” भोलि अभियानमा जानुपर्छ है घरको एक जना । अछामको रामारोशनसम्म ।”

आमासँग सानी बहिनी भएकीले, आमाले नजाने निर्णय गर्नुभो । बा शिक्षक होइसिन्थ्यो । जाऔँ तर भोलि केही भयो भने, वा भिडन्तमा परेर घर नफर्किनुभयो भने हाम्रो बिचल्ली हुने । नजाऔँ, माओवादी आएर नै उर्दी जारी गरी सक्यो । नगए थप दुःख दिन्छन् ।

हामीले एउटा उपाय झिक्यौँ । बाको दाहिने घुँडामा चोट लागेको, घाउ भएको बाहना बनायौँ । घुँडा वरिपरि बेसार र गाउको जडीबुटी लगायौँ र पट्टी बाध्यौँ अनि हिँड्न पर्दा लट्ठीको सहयोग लिन पर्ने “फल्स इभिडेन्स क्रियट” गऱ्यौँ । भोलिपल्ट बालाई अर्को गाउँसम्म त लगे तर त्यहाँबाट फिर्ता गरिदिए र घर पठाइदिए र त आज मसँग मेरा बा हुनुहुन्छ । यसैले यस्ता घटनाक्रमको कारण मलाई प्रचण्ड र उनको पार्टी पिटिक्कै मन पर्दैन ।

वर्तमान राजनीति र वर्तमान नेतालाई लिएर खास टिप्पणी गर्नु छैन । तथापि चिन्तित भने अवश्य छु नै । अब देशले राजनीतिक आन्दोलन खोजेको छैन । अब देशले राजनीतिक द्वन्द्व खोजेको छैन । अब देशले विकसित आन्दोलन खोजेको छ । देशले एउटा मान्छे खोजेको छ, जसले देश, देशजस्तो बनाओस् । देश,  आफ्नो छातीमा आगो बलेको देख्न चाहन्न । देश, सबैको चुल्हामा आगो बलेको देख्न चाहन्छ । त्यसैले राजनीतिक उथलपुथलभन्दा पनि विकासको हिसाबले देश उथलपुथल भएको हेर्न मन छ ।

मलाई व्यक्तिगत रूपमा नेपालको राजनीतिको “दोस्रो पुस्ता” भनिएको एउटा समूहसँग बढी चिन्तित छु । दोस्रो पुस्तासँग प्रस्ट भिजन, विचार र सिद्धान्त हुनुपर्नेमा यिनीहरू शीर्ष नेताको ज्युँदै मलामी जान्छन् । गुटको शोक सभा मनाउन जान्छन् । शीर्ष नेताहरूले “दूघ कालो हुन्छ । रगत पहेँलो हुन्छ ।” भने भने यिनीहरू “हो हो! सही भन्नुभो” भनेर थपडी बजाउँछन् । यसै कारणले यिनीहरूसँग म असन्तुष्ट छु । यिनीहरूलाई देखेर वितृष्णाको बाढी आउँछ ।

अब नयाँ पुस्ताले राजनीतिलाई नयाँ बाटामा हिँडाएर देशलाई नयाँ युगमा प्रवेश गराउन आवश्यक छ । त्यसका लागि हामीले हाम्रो तर्फबाट सकिने सहयोग गर्नुपर्छ । हरेक युवासँग राजनीतिक चेतनाचाहिँ हुनुपर्छ है भनेर भन्छु मचाहिँ ।