गलत ठेगाना लिएर हिँड्नेहरुले भन्दिए –
म प्रेम गरेकै कारण बर्बाद भएँ,
प्रेमले सधैँ रुवाउँछ मात्रै
खराब नशा हो
कमजोरी हो
भ्रम हो

..
.

तर तिम्रो कुरा अर्कै छ
तिम्रो प्रेमले –
बर्बाद हुनबाट बचेँ
हाँस्ने सिकायौ तिमीले नै
नशा त हो,
मलाई तिम्रो नशा संसारैकै सुन्दर लाग्छ
कमजोरी पनि होला,
प्रेमको बजन थेग्न नसक्नेहरूका लागि
तर तिम्रो प्रेमले मलाई बलिष्ठ बनाएको छ
अँ, तिम्रो आगमनले मात्र पनि म तृप्त बनेको छु ।

जिन्दगीलाई जिन्दगी जसरी जिउन
एउटा जिन्दगी नै काफी हुन्छ
र, काफी एउटा जिन्दगीका लागि चाहिन्छ –
सानो घर – जहाँ मनको शान्ति होस्
सानो सपना – जहाँ सहकार्य होस्
थोरै रोमाञ्चकता – जहाँ रमाइलो होस्
थोरै जिम्मेवारी – जहाँ सहजता होस्
अलिकति बेचैनी – जहाँ समाझदारी होस्
अलिकति शङ्का – जहाँ हार्दिकता होस्
सबैभन्दा ज्यादा प्रेम – जहाँ आनन्दको एउटा छुट्टै संसार होस्
र, यी सबै मेरो लागि तिमी हौ
आऊँ,
हामी एउटा घर बसाऔँ ।