
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)ले यसपटकको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ जेठ १५ गतेदेखि सुरु गर्ने भएको छ।
हरेक वर्ष वैशाख २ गतेदेखि सुरु हुने उक्त प्रदर्शनी यस वर्षदेखि जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर सुरुआत गर्न लागिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले जानकारी दिनुभयो। उहाँका अनुसार यसरी जेठ १५ देखि प्रदर्शनी सुरु गर्ने यो पहिलो अभ्यास हुनेछ। उक्त प्रदर्शनीको तयारी तीव्र रुपमा अघि बढेको छ।
‘गणतन्त्र दिवस नेपालीको ठूलो उत्सव हो, त्यसैले हामीले प्रदर्शनीलाई त्यही उत्सवको अवसर पारेर सुरुआत गर्न लागेका हौं, यो प्रतिष्ठानका लागि पहिलो अभ्यास हो’, काफ्लेले जनाउनुभयो ।
ललितकला क्षेत्रको राष्ट्रिय उत्सव मानिने उक्त प्रदर्शनी एक महिनासम्म चल्नेछ। प्रदर्शनीका लागि कला कृति बुझाउने म्यादसमेत थप गरिएको छ। उहाँका अनुसार अब चैत १५ गतेसम्मका लागि कलाकृति बुझाउने समय सीमा तोकिएको छ।
चैत १५ गतेसम्म ल्याइने कलाकृति प्रतियोगितामा समावेश गरिनेछन् । झण्डै दुई महिना ललितकला प्रज्ञा प्रतिष्ठान नेतृत्वविहीन भएकाले यसरी कलाकृति बुझाउने म्याद थप गरिएको हो। यसअघि दुई पटक कलाकृति बुझाउने समय थप भइसकेको छ।
यसपटकको प्रदर्शनीमा झण्डै एक हजार कलाकृति समावेश गर्ने लक्ष्य राखिएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो। उहाँका अनुसार प्रदर्शनीमा नेपाली ललितकलाको सबै क्षेत्रका कलाकृति हेर्न पाइनेछ। यसले ललितकला विकास तथा प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ। नयाँ कलाकारलाई सिक्ने र सिकाउने अवसर पनि प्रदान गर्ने भएकाले प्रदर्शनी महत्त्वपूर्ण हुनेछ।
अन्य प्रदर्शनी एकल वा सामूहिक रुपमा सीमित कलाकारको सहभागितामा वा निजी ग्यालरीमा हुनेगर्छ । यस्ता प्रदर्शनीले मुलुकको मौलिक पहिचानलाई विश्वसामु पुर्याउन सहयोग पुग्ने कुलपति हार्तम्छालीले बताउनुभयो। प्रतियोगितात्मक कार्यक्रमले कलाकारलाई कलाकृतिमा निखारता ल्याउन हौसला प्राप्त हुने उहाँको भनाइ थियो ।

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
