काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘अक्षरको यात्रा’ नामक कला प्रदर्शनी सुरु भएको छ ।

नक्सालमा आयोजित उद्घाटन समारोहमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपालका विभिन्न लिपिहरू लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै तिनको संरक्षणमा जोड दिनुभयो । उहाँले यस्ता प्रदर्शनीहरूले हराउँदै गएका लिपिहरूको संवर्द्धन र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदर्शनीमा राखिएका कलाकृतिहरूमा क्रान्ति, स्नेह, भविष्य, इतिहास र वर्तमानका भावनाहरू समेटिएको उपप्रमुख डङ्गोलले बताउनुभयो । उहाँले कला, इतिहास र लिपिप्रति चासो राख्नेहरूलाई समेट्दै यस्ता कार्यक्रमलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अक्षर केवल एउटा चिह्न मात्र नभई भावना र कलाको सौन्दर्य प्रकट गर्ने माध्यम भएको बताउनुभयो । उहाँले अक्षरलाई रङ, रेखा र आकारसँग जोडेर विम्बिकरण गरी सूचना सम्प्रेषण गर्न सकिने र यसको लालित्यलाई पनि उजागर गर्न सकिने बताउँदै यो प्रदर्शनी एउटा सुरुवात मात्र भएको र आगामी दिनमा यसलाई अझै परिष्कृत बनाइने उल्लेख गर्नुभयो ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले करिब ४ हजार वर्षअघि मेसोपोटामियामा विकास भएको ध्वनि प्रतीक चिह्न नै आजको लिपिको प्रारम्भिक रूप भएको बताउनुभयो । उहाँले नेपालका अन्य लिपिलाई समेट्दै प्रदर्शनीको अर्को संस्करणलाई अझ बृहत् बनाउने योजना रहेको जानकारी दिनुभयो ।

बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले आजको युगमा अक्षरबिनाको जीवनको कल्पना गर्नै नसकिने बताउनुभयो । उहाँले प्रत्येक भाषाको आफ्नै लिपि हुने र कलाकारहरूले आफ्नो भावनालाई समेटेर ती लिपिहरूलाई कलाकृतिमा उतारेको बताउनुभयो ।

चैत २५ गतेसम्म चल्ने यस प्रदर्शनीमा नारदमणि हार्तम्छाली, किरण मानन्धर, केके कर्माचार्य, वत्सगोपाल वैद्य, मदन चित्रकार, राधेश्याम मुल्मी, लालकाजी लामा, पाल्साङ्मो लामा, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय बान्तवा, अरूणा हिङमाङलगायतका कलाकारहरूको सहभागिता रहेको थियो । प्रदर्शनीले हराउँदै गएका नेपाली लिपिको संरक्षणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।