वरिष्ठ कवि एवम् कलाकार नरेन्द्रबहादुर श्रेष्ठसँग ‘ललितकला संवाद’ सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान नक्सालमा प्रज्ञाप्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेस्वर महतोले स्वागतमा संवाद भएको हो ।
कार्यक्रमको उद्घाटन ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीबाट पानसमा दीप प्रज्वलन गरेर आरम्भ गरिएको थियो ।
कवि कलाकार नरेन्द्रबहादुर श्रेष्ठको व्यक्तित्व र कृतित्वलाई साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले प्रकाश पारेका थिए ।
जरामा अर्थ खोज्ने कविले सिर्जना गरेको कलाकृतिको वृत्तचित्र प्रदर्शन गरिएको थियो । उक्त वृत्तचित्र जीवनाथ धमलाले निर्माण र निर्देशन गरेका थिए । माधव घिमिरे, सत्यमोहन जोशीलगायतको विश्लेषण उक्त वृत्तचित्रमा रहेको थियो ।
नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो कला यात्राबारे सभालाई जानकारी गराएका थिए । सभाकक्षको बीचमा श्रेष्ठले तयार गरेको जरा, काठका कलाकृति राखेर प्रदर्शन गरिएको थियो ।
प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पानी रङ, बाँसका जरा काला जस्तै काठका जरा कलालाई पनि कलाको नयाँ विधाको रूपमा छलफल गरी मान्यता दिन सकिने, वरिष्ठ कलाकार श्रेष्ठका कलालाई प्रज्ञाप्रतिष्ठानले अभिलेखीकरण गरिने बताएका थिए ।
कार्यक्रममा अशेष मल्ल, सावित्री मल्ल, राजेन्द्र शलभ, जीवनाथ धमला, रमेश खनालले श्रेष्ठसँग भएको भेट र कलाकृतिबारे बोलेका थिए ।
उपस्थितहरू मध्ये पत्रकार दिलिप श्रेष्ठ , साहित्यकार दिव्य गिरीले सोधेका प्रश्नका जवाफ कलाकार श्रेष्ठले दिएका थिए ।
प्रज्ञाप्रतिष्ठानका उपकुलपति लालकाजी तामाङले कलाकार श्रेष्ठको कलाकृति बारेको दृष्टिकोण प्रकाश पारेका थिए ।
#शब्दपथ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।