नक्सालस्थित नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा पुस्तक प्रदर्शनी शुरू भएको छ ।
गएको आइतबारदेखि सुरु गरिएको यस पुस्तक प्रदर्शनीमा एक दशकभन्दा अघिदेखि हालसम्म प्रतिष्ठानले प्रकाशन गरेका पुस्तकहरू बिक्रीमा राखिएको प्रतिष्ठानका कुलपति केके कर्माचार्यले जनाउनु भएको छ ।
गत साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले यस प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो ।
प्रतिष्ठानले गरेको यो पहिलो पुस्तक प्रदर्शनी हो ।
कुलपति कर्माचार्यले बजारमा कलासम्बन्धी पुस्तकहरु पाउन गाह्रो भएकाले सर्वसुलभताका लागि प्रदर्शन गरिएको बताउनुभयो । उहाँले कलाकारले कलासिर्जना पो गर्ने हो त, पुस्तक पनि लेख्छन र ? भन्ने आम भनाइ रहेको भन्दै कलाकारले सिर्जनासँगै दस्तावेजका लागि पुस्तक पनि लेख्छन् भन्ने जवाफ प्रदर्शनीले दिएको बताउनुभयो ।
कलाका विद्यार्थी लगायत कलासम्बन्धी अनुसन्धानकर्ता, अध्येता र कलाप्रेमीहरूले यस प्रदर्शनीबाट फाइदा लिन सक्ने कर्माचार्यले बताउनुभयो ।
प्रदर्शनीमा पुस्तक खरिद मूल्यमा ४० देखि ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । प्रदर्शनी भदौ ४ गतेसम्म जारी रहने बताइएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।