माननीय मन्त्री,
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरबार, काठमाडौं
विषयः ललितकला प्रज्ञा–प्रतिष्ठान र प्रज्ञा नियुक्तिबारे ।
माननीय मन्त्री ज्यू,
जेनजी आन्दोलनलगत्तै सम्पन्न आमनिर्वाचनमा लगभग दुईतिहाइ मत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले देशमा ‘उथलपुथल’ हुने गरी परिवर्तनका संकेतहरू देखाएका छन् । यही उथलपुथलका बीच सरकारले अध्यादेशमार्फत १५ सयभन्दा बढी राजनीतिक नियुक्ति तत्काल खारेज गरेको छ । यही अध्यादेशका कारण नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरूसमेत पदमुक्त भएका छन् । सरकारले बिनारोकावट र विनाझन्झट निर्वाध रूपमा कार्यसम्पादन गर्न क्षमतावान पदाधिकारीहरू नियुक्त गर्न चाहनु अन्यथा होइन । यद्यपि अध्यादेशबाट हठात् पदमुक्त गराउनुपर्ने कारण के होला ? भन्ने विषय भविष्यको बहसको विषय बन्ला नै ।
यसै सन्दर्भमा अब आउने प्रज्ञासभा कस्तो बन्ला ? र तिनले प्रतिष्ठानको उद्देश्य र औचित्य पूरा गर्न सक्लान् वा नसक्लान् ? भन्ने आमचासो बढेको छ ।
माननीय मन्त्री ज्यू,
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको उद्देश्य र औचित्यबारे तपाईं आफै साहित्य र कलाका गहन अध्येता भएको नाताले जानकार हुनुहुन्छ भन्ने विश्वास गर्दछु । वास्तवमा ललितकला मानव सभ्यता र समाज निर्माणको आधार हो । वर्तमान अवस्थामा कलाले देशको अर्थतन्त्र विकासमा ठूलो योगदान दिनुका साथै देशको मौलिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्न सहयोग पुर्याएको छ ।
कलालाई आफ्नो चरित्रअनुसार व्यवस्थित रूपमा अगाडि बढाउन हरेक देशमा ललितकला प्रज्ञा–प्रतिष्ठानहरूको स्थापना गरिएको हुन्छ । हामीकहाँ पनि कलाको विकास र प्रवर्द्धन गर्न भनेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको गठन भएको छ । यसमा २४ जना प्रज्ञाहरू नियुक्त गरिएका हुन्छन् र उनीहरू प्रतिष्ठानको उद्देश्यभित्र रहेर काम गर्छन् । हामीकहाँ ललितकला प्रज्ञा–प्रतिष्ठान गठन भएको त्यति लामो भएको छैन । तथापि हालसम्म नियुक्त हुने पदाधिकारीहरू वास्तविक प्राज्ञिक हुन सकेनन् भन्ने आरोप लाग्दै आएको छ ।
प्रज्ञा भनेको के हो भन्नेबारेमा एकछिन चर्चा गरौँ न ।
‘प्रज्ञा’ शब्दको अर्थ उच्च ज्ञान, बुद्धि, विवेक वा चेतना भन्ने हुन्छ । ज्ञान (Wisdom) भन्नाले यस्तो ज्ञान जसले सत्य र असत्यको पहिचान गराउँछ ।
विवेक र बुद्धि (Intelligence/Intellect) भन्नाले सोच्ने, बुझ्ने र निर्णय लिने क्षमता ।
चेतना (Consciousness), जसले प्रखर वा शुद्ध बुद्धि भन्ने जनाउँदछ ।
प्रज्ञा त्यो हो जसले प्राज्ञिक विमर्श गरी सुसभ्य असल संस्कृतिको निर्माण गर्दछ । हामीले यस्तै गुणले सम्पन्न क्षमतावान व्यक्तिहरू नियुक्ति होस् भनेर अपेक्षा गर्नुपर्छ । अब नयाँ नियुक्त हुने प्रज्ञाहरूले नेपाली कलाको गहिरो अनुसन्धान गरी यसको संरक्षण, प्रवर्द्धन र बजारीकरण गर्नुका साथै नेपाली कलाकारको हकहित र जीवनयापन ग्यारेन्टी गर्ने नीति र नियम तर्जुमा गर्न सक्नुपर्छ । हिजोका दिनहरूमा प्रतिष्ठानमा चरम राजनीतिक हस्तक्षेपका कारण प्रज्ञा र प्रतिष्ठानको औचित्यमै प्रश्नचिह्न लागेको थियो । अपवादबाहेक प्रतिष्ठानको न्यूनतम मर्म नबुझ्नेहरूकै बाहुल्यताका कारण प्रतिष्ठानको गरिमालाई विस्तारै क्षयीकरण गर्दै लगेको थियो । आशा गरौँ, अबदेखि प्रतिष्ठानहरूमा राजनीतिक हस्तक्षेपको पुनरावृत्ति हुनेछैन ।
माननीय ज्यू,
तपाईंलाई अवगत गराउँछु, नेपालका अधिकांश कलाकारहरूको वर्तमान अवस्था र भविष्य कल्पना गरेर म निकै झस्कन्छु । जीवनभर कुनै जागीर नखाई कलाकर्म र सिर्जनालाई नै आफ्नो जीवन ठान्ने धेरै कलाकारहरूको सामाजिक र आर्थिक जीवनस्तर निकै कमजोर अवस्थामा छन् । एकछिन कल्पना गरौँ त, कहीँ कतै जागीर नखाई दिनरात कलाको माध्यमद्वारा राज्यलाई योगदान गर्ने ती कलाकारहरू कुनै दिन कलाकर्म गर्न नसक्ने अवस्था आयो वा कुनै दुर्घटनामा परी कला सिर्जना गर्न नसक्ने अवस्था आयो भने तिनको अवस्था कस्तो होला ?
म आफै पनि कहिलेकाहीँ झस्कन्छु र सोच्छु, आफूसँगै उच्चशिक्षा लिएका केही साथीहरू विश्वविद्यालयमा अध्यापन गरिरहेका छन् भने केही सरकारी निकायको उपल्लो तहमा पुगेका छन् । हामीचाहिँ जीवनभर कलालाई नै आफ्नो गन्तव्य बनाएर हिँडेका मानिसहरू भोलि के हुने हो, केही टुंगो छैन । यद्यपि कलाकारहरू स्वाभिमानी छन् र आफ्ना वेदना हत्तपत्त अरूलाई सुनाउँदैनन् पनि । राज्यले तिनलाई के कति गर्यो गरेन, कुनै गुनासो पनि छैन । तर राज्यले आफै आफ्नो कर्तव्य सम्झी कम्तीमा भैपरी आउने बेला उनीहरूका लागि केही त गर्नै पर्छ । जस्तो कि कलाकारहरूको निःशुल्क बिमा गराउने वा तिनको आवश्यकता हेरी केही न केही आर्थिक प्याकेजको घोषणा गरिनुपर्दछ । हैन, सकिँदैन भने कम्तीमा कलाकारका कलाकृतिहरूलाई खरिद गरिदिनुका साथै देशविदेशमा तिनका कलाकृति निरन्तर प्रदर्शनी गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।
त्यसो त नेपालमा कलाकारहरूका अनगिन्ती समस्या र चुनौतीहरू छन् । सबैभन्दा टड्कारो विषय चाहिँ नेपालमा राष्ट्रियस्तरका कला ग्यालरीहरू छैनन् । भएको एउटा राष्ट्रिय ग्यालरी पनि भूकम्पले थिलथिलो पारेपछि अझै पुनः सञ्चालन हुन सकेको छैन । त्यस्तै कलाकारहरूलाई स्वतन्त्र रूपमा कला सिर्जना गर्ने स्टुडियो, कलाग्राम र कला भिलेजहरू अझै बनेका छैनन् । यसका बाबजूद पनि नेपाली कलाकारहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलामञ्चमा आफ्नो दमदार उपस्थिति देखाइरहेका छन् ।
माननीय मन्त्री ज्यू,
नियुक्ति प्रक्रिया शुरू भएसँगै केही कलाकारहरू आफ्नो मूल कर्म छोडेर फेरि पनि हिजोजस्तै नेताको वरपर घुम्ने, साइनो लगाउने र आशीर्वाद लिई नियुक्ति पड्काउने ध्याउन्नमा लागेका छन् रे । सचेत रहनु होला ।
६२/६३ को लोकतान्त्रिक जनआन्दोलनबाट प्राप्त नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान आफ्नो स्थापनाकालबाट आजसम्म आइपुग्दा कति सफल र असफल भयो, त्यतातिर नजाऔँ । तर अब नियुक्ति हुने प्रज्ञाहरू वास्तविक ललितकलाका विज्ञ, आफ्नो विधामा प्रखर ख्याति कमाएका, अनुभवी र प्रशासनिक ज्ञान भएका कलाकारहरूको नियुक्ति हुन सक्यो भने नेपाली ललितकलाले अवश्य फड्को मार्नेछ । परिवर्तित सन्दर्भमा तपाईंजस्तो बौद्धिक व्यक्तित्वले कुनै पनि आग्रह र पूर्वाग्रह नराखी सही र सक्षम व्यक्तिको छनोट गरी प्रतिष्ठानको गरिमा कायम गर्नु हुनेछ भन्ने अपेक्षा गरेको छु ।
उही
नारायण बहादुर गुरुङ (एन.बी. गुरुङ)
ललितकलाकर्मी तथा अध्यक्ष, अन्तर्राष्ट्रिय जलरंग कला समाज नेपाल



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










