एनबी गुरुङ

साहित्यपोस्टले ललितकला संयोजकमा चर्चित कलाकार एवं पत्रकार एनबी गुरुङलाई नियुक्त गरेको छ । चित्रकलामा छुट्टै पहिचान बनाउनुभएका चित्रकार एनबी गुरुङलाई नेपाली चित्रकला, मुर्तिकला एवं सम्पूर्ण ललितकलाका विषयवस्तु समेट्ने गरी संयोजक नियुक्त गरेको हो । साहित्यपोस्टले शनिबारमात्र ललितकलाका सामग्री पस्कने गरेकोमा गुरुङको आगमनपछि अन्य दिनमा पनि कलाका समाचारहरू प्रकाशन हुने भएको छ ।

चारपटकसम्म एकल कला प्रदर्शनी गर्नुभएका गुरुङले बेलायतमा समेत एकल कला प्रदर्शनी गरिसक्नुभएको छ । नेपालमा तीन दर्शनभन्दा बढीपटक सामूहिक कला प्रदर्शनीमा भाग लिनु भएका गुरुङ् दसाैँपटक सामूहिक कला प्रदर्शनीमा भाग लिन विश्वका विभिन्न मुलुकमा समेत पुग्नुभएको छ । एकल र सामूहिक कला प्रदर्शनीबाहेक उहाँका दर्जनौँ स्वदेश एवं विदेशी कलाकारसँग वर्कसपमा भाग लिइसक्नुभएको छ ।

नेपाल ललितकला मञ्चका सचिव रहनुभएका गुरुङ अन्तर्राष्ट्रिय वाटर कलर सोसाइटी नेपालका अध्यक्ष हुनुहुन्छ । उहाँ ट्रान्सपरेन्ट वाटर कलर सोसाइटी नेपालका उपाध्यक्ष, आर्टिस्ट सोसाइटी नेपाल र क्यानका सदस्यसमेत हुनुहुन्छ ।

गुरुङ नेपालमा महङ्गा कलाकारमध्येमा पर्नुहुन्छ । उहाँका चित्रहरू लाखौँ रुपियाँमा बिक्री भएको रेकर्ड छ । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभएका गुरुङले विगत एक दशकदेखि लतिलकलामाथि कलम चलाउँदै आउनुभएको छ । साहित्यपोस्टमा विगत एक वर्षदेखि फ्रिलान्सर रहेका गुरुङले ललितकलाको संयोजकको रूपमा काम सुरु गरेपछि यसको स्तरीयतामा अझ वृद्धि हुने विश्वास गरिएको छ ।

‘एनबी गुरुङ नेपाली ललितकला क्षेत्रमा सुपरिचित नाम हो । यस्ता व्यक्तित्व हामीसँग जोडिनु गौरवको कुरा हो ।’ साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला भन्नुहुन्छ, ‘उहाँको आगमनले नेपाली ललितकलाभित्र लुकेका धेरै समाचारहरू पाठकहरुले पढ्न पाउनु हुनेछ भन्ने विश्वास लिएको छु ।’

साहित्यपोस्टसँग जोडिन पाएकोमा एनबी गुरुङले पनि खुसी व्यक्त गर्नुभएको छ । ‘नेपाली ललितकलामा धेरै कुरा बाहिर आउन सकेको छैन । खासमा कलाकारितासम्बन्धी समाचारहरू बाहिर आउनै पाएको छैन । त्यो कमी पूरा गर्ने प्रयास मेरो हुनेछ ।’ गुरुङ भन्नुहुन्छ, ‘केही हदसम्म त्यो पूरा हुनेमा म विश्वास पलाएको छ ।’