प्रसंग-१

फोनको घण्टी बज्यो। फोन उठाएँ । फोनमा एउटा सुमधुर आवाज आयो ।

एन.बी. गुरूङ

“इज दिस एनबी गुरुङ? आई ह्याभ हर्ड यु अ लट आई वान्टु सि सम अफ योर वर्क, क्यान आई भिजिट योर स्टुडियो?”

“अफकोर्स यु क्यान,” मैले भनेँ।

स्टुडियोको ठेगाना बताएको भोलिपल्टै उनी मेरो स्टुडियोमा आइन्। उनी राजधानीकै प्रतिष्ठित ग्राण्डी अस्पतालसँग सम्बन्धित व्यक्ति रहिछन्। केही समय भलाकुसारी गरेपछि मसँग उपलब्ध केही कलाकृतिहरु देखाएँ । उनले सरासर चार वटा पेन्टिङ एकातिर छुट्याइन् र निकैबेर घोरिएर हेरिरहिन् । एकछिनपछि उनले चित्रको मूल्य सोधिन् । मैले मेरा चित्रका प्रचलित मूल्यभन्दा अलि बढी नै भनेँ। तिनले ब्यागबाट पैसा गनेर दिइन् । म एकछिन दंग परेँ। दंग पर्नुका केही कारणहरु थिए ।

एक, मैले भनेकै पेन्टिङको मूल्य उनले तिरेकी थिइन् ।

दोस्रो, पेन्टिङको मूल्यमा कुनै बार्गेनिङ गरेकी थिइनन्। छुट्टिने बेलामा मलाई केही कुरा सोध्न मन लागेको थियो ।

“तपाईलाई एउटा कुरा सोध्न सक्छु ?”

“एस प्लिज,” उनले भनिन् ।

“पेन्टिङको मूल्यमा कुनै बार्गेनिङ गर्नु भएन नि ?”

उनले मृदुमुस्कानका साथ जवाफ फर्काइन्, “अ ट्रु रेस्पेक्ट टु आर्टिस्ट।”

फेरि पनि केही चित्र किन्ने वाचासहित उनी बिदा भइन्। केही दिनपछि पेन्टिङलाई फ्रेमले सिगारेर घरको भित्तामा झुन्डाएको तस्बिर मलाई पठाइन् । मन प्रफुल्लित भइरह्यो। हामीजस्तो ठाउँमा कलाकार, तिनले सृजना गर्ने चित्रको मूल्य र त्यस्को महत्त्वलाई नबुझ्ने समाजमा “अ ट्रु रेस्पेक्ट टु आर्टिस” भन्ने वाक्यले धेरै दिन मनलाई छोइरह्यो।

प्रसंग -२

सन २०१० मा क्यमलिन कलर फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा प्रोफेसनल समूहअन्तर्गत प्रथम पुरस्कार ग्रहण गर्न भारतको कोलकाता जानुपर्ने भयो। आयोजकले स-सम्मान फर्स्ट क्लास ट्रेन टिकटसहित निकै स्तरीय होटलमा खाने र बस्ने प्रबन्ध मिलाइदियो। भोलिपल्ट पुरस्कृत पेन्टिङसहित छनोटमा परेका चित्रहरुको भव्य समुद्घाटन गरियो । दिग्गज जुरी प्यानलले सेलेक्सन गरेर प्रदर्शनीमा राखिएका कलाकृतिहरु राम्रा हुने नै भए। छ्या भन्नुपर्ने कुनै पेन्टिङहरु थिएनन्। कृति अवलोकन गरिरहँदा अचानक मेरो आँखा एउटा कलाकृतिमा गएर टक्क रोकियो । कलाकृति अत्यन्त्यै समसामयिक र आधुनिक शैलीको थियो। केहीछिन घोरिएर हेरेँ । कलाकार छेउमै बसेका रहेछन् । हेर्दा दुब्लो र पातलो ज्यानका । दुःख गरेर पेन्टिङ विषय पढेका रहेछन् । एकछिन उनीसँग भलाकुसरी गरे । कला विषयमा भर्खर एम.एफ.ए.को अन्तिम वर्षको जाँच दिएर बसेका रहेछन्।

पेन्टिङको मुनि यसो हेरे “नटफर सेल” भनेर लेखिएको थियो। मैले भने- “तिम्रा कलाकृति यति राम्रा छन् कि बेच्नु परे यी कृति सजिलै बिक्री हुन्छन तर तिमिले किन बेच्न चाहेनौ?

प्रतिउत्तमा उनले भने, “विद्यार्थी जीवनमा मैले दु:ख गरी पढेर बनाएको कुनै पनि चित्र भविष्यको मिठो सम्झनाको लागि नबेच्ने निधो गरेको छु।” कलेजमा आज भर्ना हुन नपाउँदै भोलि नै चित्र बेचिहाल्नु पर्ने हाम्रो मानसिकतालाई यस्ले व्यंग्य गरेजस्तो लाग्यो। उनको कुराले मलाई धेरै समयसम्म छोइरह्यो।

प्रसंग -३

दुई वर्षअघि चीनको आर्थिक सहर हान्जाउबाट अन्तर्राष्ट्रिय चित्रकला कलाकार्यशालामा भाग लिन भनी निम्ता आयो ।मैले सहर्ष स्वीकार गरेँ । आतेजाते जहाज टिकटसहित खानबस्नको सुविधा उपलब्ध गराइएको थियो। नेपालबाट म लगायत विश्वका विभिन्न देशबाट सहभागी कलाकारको उपस्थिति थियो। स्थानीय विमानस्थलमा ओर्लेदेखि नै चिनियाँहरुको भव्य स्वागत पाउँदा कलाकार हुनुको बेग्लै अनुभव महसुस गरिरहेको थिएँ। भोलिपल्ट सहभागी राष्ट्रका राष्ट्रिय झण्डासहित कला प्रदर्शनीको भव्य उद्घाटनमा सहभागी हुन पाउँदा गौरव महसुस गरेको थिएँ ।

उद्घाटनको अर्को दिन निर्धारित समयअनुसार नै बिहानको ६ बजे बस आइपुग्यो। ४०० किलोमिटरको दुरीमा रहेको कार्यक्रमस्थल लिसुई पुग्न पाँच घन्टा पनि लागेन । आयोजकहरुले सो ठाउँलाई विकट गाउँ भनेर चिनाए । तर सडक सन्जाल र भौतिक सुविधा देख्दा गाउँ भनेर सजिल्यै पत्याई हाल्ने अवस्था थिएन। अलिक पर देखिएका पुराना घरका छाप्रा देख्दा भने गाउँ नै रहेछ भन्ने विश्वास लाग्यो । पछिल्लो समय चिनियाँहरुको समाजिक, आर्थिक र भौतिक विकास भएसँगै स्थानीय बासिन्दालाई अझ बढी सुविधा दिन नयाँ तथा आधुनिक सुविधा सम्पन्न घरमा पुनस्थापना गरिएका रहेछन्। अर्कोतर्फ पुराना घरहरु र ऐतिहासिक ठाउँको जगेर्ना र भाविपुस्ताले सजिलै अवलोकन गर्न पाओस् भनेर सिंगो गाउँलाई खुला संग्रालयमा परिणत गरेका रहेछन्। त्यस्तैगरी बहुमूल्य सामग्री र स्थानीय कलाको संरक्षण र अवलोकन गर्न आधुनिक कला संग्रालयको व्यवस्था गरेका रहेछन्। गाउँमा पनि कला र संस्कृतिको संरक्षण गर्नका लागि भनेर बनाइएका भव्य संरचना देख्दा चिनियाहरुको इतिहास र कलाप्रतिको लगाव देख्दा दंग भएँ।